मौलिक शब्दहरूको प्रयोग किन ?

मौलिक शब्दहरूको प्रयोग किन ?
हामी भारतवर्षीयले गर्व नै गर्ने र हाम्रो पहिचान, मान्यता र सिद्धान्तलाई स्वीकार्य बनाउदै केही शब्दहरू विश्वब्यापी अर्थात् विश्वका सबैशब्दकोशमा जस्ताको तस्तै प्रयोग हुन थालेका छन् | आज योग, गुरू, निर्वाण, मोक्ष, कर्म, संस्कार र धर्मशब्दहरू संस्कृतभाषाका भए पनि अंग्रेजी, फ्रेन्च, जर्मन बनेका छन् | यी शब्दसंगै विदेशीहरूले हाम्रा मौलिकताहरू चिन्ने, जान्न प्रयत्न गर्ने अवसरहरू बढेका छन् |
तर उपरोक्त शब्दहरू केवल प्रतिनिधी उदाहरण मात्रै हुन् | ऋग्वेदबाट आरम्भ भएको भारतवर्षीय साहित्यहरूमा एस्ता लाखौंलाख शब्दहरू छन्, जो आफ्नो मौलिक भावका कारण अनुवादका माध्यमबाट बुझ्न सकिन्न | उदाहरणको लागि वेदको अर्थ बुझ्नका लागि “वेद” शब्दको प्रयोगको विकल्प छैन किनभने संस्कृत वाहेक अन्य सभ्यता र संस्कृतिमा वेद नै छैन र भविष्यमा वेद हुने कुनै संभवना पनि छैन |
वेद, उपनिषद, कल्प, स्मृति, पुराणआदि हरेक विषय र यी साहित्यसंग जोडिएका विषयवस्तुहरू आफैमा पूर्ण मौलिक छन् | यिनको मौलिकता बुझ्न यिनै शब्दको प्रयोग हुनुपर्छ | ब्रतबन्धको अर्थ बुझ्न अंग्रेजी समाजमा तेस्तो संस्कार नै हुंदैन | “holy thread wearing ceremony” ले ब्रतबन्धको भाव प्रकट कसरी प्रकट गर्न सक्छ ?
सबैथोकको दोषारोपण विदेशी र अंग्रेजीलाई थोपर्नुको कुनै अर्थ छैन | हाम्रा विश्वविद्यालय, विद्यालय र शिक्षाक्षेत्रमा अनुसन्धान गराउने प्राध्यापकहरूले हरेक मौलिकशब्दहरूको अंग्रेजी अनुवाद सोच्ने रोगबाट मुक्त हुनुपर्छ | आफ्ना मौलिक शब्दहरूलाई स्वाभिमानपूर्वक जस्ताको तस्तै प्रयोग गर्ने साहस देखाउनुपर्छ | साइन्स र विज्ञानले एकै भाव दिन्नन् तर हाम्रा प्राध्यापकहरू विज्ञानलाई साइन्स भनेर भन्न, सिकाउँने “आदत”बाट मुक्त भई विज्ञान अंग्रेजी सेनटेन्सका वीचमा “विज्ञान” प्रयोग गर्ने हिम्मत गर्न सकिरहेका छैनन् |
निश्चय नै अंग्रेजी आजको लोकप्रिय भाषा हो | अंग्रेजीको उपेक्षा गर्न कत्तिपनि आवश्यक छैन | तर अंग्रेजीको मोहमा जव हाम्रा प्राध्यापक, अनुसन्धाताहरूले आफ्ना मौलिक शब्दहरूले अधकल्चो अर्थ दिने अंग्रेजी शब्दसंग स्थानापन्न गर्छन्, तेसले आत्मघाती मानसिकता भित्रिन्छ | एस्तो मानसिकताले आफ्नो मौलिक भाषा, संस्कृति तथा सिद्धान्तमा विश्वास गर्न सक्दैन | आफ्नै पहिचानप्रति अविश्वास गर्न थाल्छ |
अंग्रेजीमा भात हुँदैन र नेपालीले राइस खाँदैनौं | अंग्रेजीमा चिता हुँदैन तर नेपालीमा चिहान हुन्छ | अंग्रेजसंग होली हुँदै, तीज हुँदैन, एकादशी हुँदैन | हामीसंग पनि अंग्रेजसंग भएका धेरै थोक हुँदैनन् | एउटा अभियन्ता, शिक्षक, राजनीतिज्ञ, अनुसन्धाता, प्राध्यापकका रूपमा स्वाभिमान पूर्वक एत्ति प्राकृतिक नियम स्वीकार्दै आफ्नै शब्दको प्रयोग गरिदिए पुग्छ | अंग्रेजले हामीलाई अंग्रेजी सिकाउनु स्वभाविक हो तर हामीले अंग्रेजलाई नेपाली र संस्कृत नसिकाउनु अस्वभाविक हो |
हरेक धर्म, संस्कृति त भाषाभाषीले आफ्नो भाषा बोल्ने, धर्म मान्ने तथा संस्कृतिको अनुकरण गर्ने जनसंख्या बढेको देख्न चाहन्छ | अंग्रेज, फ्रेन्च, जर्मन, अमेरिकन आदिले यो काम अत्यन्त सजगता तथा योजनापूर्वक गरिरहेका छन् | लाग्छ, हामी हरेक कुरामा तिनमा तिरोहित भैरहेका छौँ | राजनैतिक सिद्धान्त, शैक्षिक परिपाटी, खानपान र भाषामा समेत हामी परनिर्भर भएका छौँ | एस्तो आत्मघाती परिवेश तयार हुँदा पनि खुसी हुने हामी भन्दा अभागी को होला ?
हामीले हाम्रा मौलिक शब्दहरूको जस्ताको तस्तै प्रयोग गर्ने वानी बसाल्दै जानुपर्छ | संस्कृत, नेपाली, मैथिली, नेवारीआदि हरेक मौलिक शब्दहरूको अनुवाद खोज्ने प्रचलन र प्रयोग आत्मघाती हुन्छ | विदेशी भाषाको प्रयोग बढ्दै जाँदा मौलिक शब्दहरू मासिन्छन् | शब्दहरू मासिएपछि ती शब्दले बोक्ने भाव मासिन्छ | भाव मासिएपछि संस्कृति नै मासिन्छ |
प्रत्येक भाषाका एक-एक शब्दहरूको उत्पत्ति स्थानीयता, सांस्कृतिक, दार्शनिक तथा मनोबैज्ञानिक आवश्यताका आधारमा भएको हुन्छ | अंग्रेजी शब्दहरूले अंग्रेजहरूको भाव र संस्कृति बोकेको हुन्छ भने संस्कृतका शब्दले भारतवर्षको संस्कृतिको | तेसैले अनुवाद र स्थानापन्न गरिएका शब्दहरूबाट मूलभावनात्मक स्वरूप प्रकट हुन सक्दैन |
सामान्य (दाजुभाई, बहिनि, आउनु, जानु, खानु पिउने) जस्ता शब्दहरूको अनुवाद स्वभाविक भए पनि मौलिक, सिद्धान्तको ज्ञान दिने, भावप्रकट गर्ने शब्दहरूको अंग्रेजी शब्दहरू खोज्नु प्राकृतिक न्याय विपरित कार्य हो | हाम्रो प्रयत्नचाहिं हाम्रा मौलिकशब्दहरूले अर्को संस्कृति र भाषाकोशमा जस्ताको तस्तै प्रवेश प्राप्त गरूँन् भन्ने हुनुपर्छ |
उदाहरणका लागि भक्ति, त्याग, योग, धर्म, बैराग्य, ज्ञान, सगरमाथा, सालिग्रामआदि हजारौंहजार शब्दहरूको निकटतम अनुवाद गर्नु आवश्यकता छैन | यी शब्दको अंग्रेजीमा अनुवाद गर्दा (अंग्रेजीमा शालिग्रामलाई Fossil भनेर अनुवाद गरिन्छ, यो अनुवादले शालिग्राम वैदिकहरूका लागि पुज्य हुन्छ र एस्तो पूजासंग हिन्दूहरूको भावनात्मक आदर्श जोडिएको हुन्छ भन्ने बुझ्न सकिन्न) तेस्तै राधाकृष्ण कृष्णको प्रेम हिन्दुहरूका लागि आधात्मिक विषय हो भने एसको सांस्कृतिक पक्ष नबुझेका विदेशीहरूका लागि केटाकेटीको सामान्य प्रेम नै हो |
तेसैले हरेक अभियन्ताले आफ्ना मौलिक तथा मूलशब्दहरूको जस्ताको तस्तै प्रयोग गर्नु पर्छ, जसले कालान्तरमा ती शब्दहरूले (अंग्रेजभाषीहरू वीच) मूलधारको स्थान प्राप्त गर्छन् | जसरी योग, कर्म र धर्म शब्द स्थापित छन् तेसरी नै ध्यान, ज्ञान, यम, धारणा, ध्यानजस्ता मौलिक शब्दहरू प्रयोग गरिनुपर्छ |
तर सबै शब्दहरूमा एस्तो आवश्यकता छैन | केवल सबैभन्दा बढी प्रयोग हुने र सिद्धान्त विनिर्माणमा प्रयोग हुने शब्दहरू जस्ताको तस्तै प्रयोग गर्न सकिन्छ | हामीले आफ्ना मौलिक शब्दहरूको तिनको मूलरूप नै प्रयोग गरेरमात्र आफ्नो पहिचानलाई विश्वब्यापी बनाउन सकिन्छ |
जेरी, यमारी, कोदो, वेद, ऋषि, मुनि, आचार्य, गुरू, धृति, क्षमा, दम, अस्तेय, मन चौपारी, श्राद्ध, संस्कार, ब्रतबन्धजस्ता शब्दको निकटतम शब्द प्रयोग गर्दा यिनले दिने भावको मृत्यु भएको हुन्छ | अंग्रेजी भाषामा लेख्नेहरूले मूल लेखमा यी शब्दजस्ताको तस्तै राख्ने तर फुट नोटमा भने यी शब्दले दिने मौलिक अर्थको ब्याख्या गर्दा धेरैराम्रो हुन्छ |
नेपालको मौलिकतामा विश्वास गर्ने व्यक्ति, संस्थाहरूले सहकार्य गरेर आफ्नै मौलिक शब्दहरूको वर्चस्व स्थापित गर्न सहकार्य गर्नुपर्छ | आफ्नो जरोकिलो जोगाउने र तेसको स्वीकार्यता विश्वब्यापी बनाउन यो भन्दा राम्रो सुरुवात केही हुनैसक्दैन | संवाद, सहकार्य र स्वाभिमसंग यो काम हुनुपर्छ | समय र जनमतको अनुकूलता कुरेर बस्न सकिन्न |
हामीले एस्तो गरे, हाम्रा शब्दहरू वैश्विकतहमा स्थापित हुनेछन् त ती शब्दहरू संगै हाम्रो मौलिक भाव पनि विश्वब्यापी हुन्छ र हाम्रो मौलिकतासंग जोडिएको संस्कृति, सभ्यता, दर्शन, मनोविज्ञान विश्वब्यापी हुन्छ |
सबैको जयहोस्

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *