दार्शनिक सीमामा परामानववाद
चिन्तनको संसारमा तीनटा शब्दहरू परामानववाद (Trans-humanism), अपर-मानववाद (Post-humanism) र अतिमानववाद (Ultra-humanism) निकै चलनचल्तिमा छन् | यी तीनै शब्दहरूको सम्बन्ध भविष्यको मानव विकासको भविष्यसंग सम्बन्धित छन् | विज्ञानको अझै उच्चतर विकास हुँदैजाँदा मान्छेका सम्पूर्ण क्षमताहरू असीमित रूपमा बढ्ने र विगत र वर्तमानका तुलनामा आफ्नो शक्ति, सामर्थ्य तथा क्षमतामा अतुलनीय हुने विश्वासमा आधारित छ | विज्ञानको द्रुततर विकास हुँदैजाँदा मान्छेको जीवनशैली र क्षमतामा आएको परिवर्तन चाख लाग्दो र आश लाग्दो भएको अनुभवगम्य तत्थ्य हो |
मान्छेको भविष्यकस्तो होला ? भन्ने जिज्ञासा मानवीय अस्तित्वको उदयसंगै भएको हो | ऋग्वेदमा पनि थोरै भए पनि भविष्यको मान्छे “सहयोगी, बुद्धिमान, मिलनसार, अर्काको मन बुझ्ने, समान विचार भएका (ऋग्वेद १०/१९१) भन्ने विश्वास गरिएको छ | अर्कोतिर, भविष्यपुराणनै लेखेर भविष्यको मानव-समाजवारे बताउने प्रयत्न गरिएको छ | श्रीमद्भागवतको १२ औं स्कन्ध होस् वा अन्य महापुराण सबैले भविष्यको मान्छेका विषयमा आफ्ना मत प्रस्तुत गरेका छन् | दुर्भाग्यवस, पुराणहरूले भविष्यको मान्छेलाई “कमसल चरित्र र कम आयु भएको” उल्लेख गरेका छन् | जुन आधुनिक विज्ञानको प्रस्तावनासंग मिल्दैन |
पाश्चात्य दार्शनिकहरूले पनि भविष्यको मान्छे वारे चर्चा गरेका छन् | गिलमेस नामक काव्यमा ग्रीकेलीहरूले अजरअमर मान्छेको कल्पना गरेका छन् भने वैदिक साहित्यहरूमा त झन् अष्ट चिरन्जीवी, अमरदेवता, अमर ऋषिहरूको प्रसस्त प्रसंगहरू छन् | इतिहासलाई नियाल्ने हो भने बुद्धको पहिलो गृहत्याग नै दु:खमुक्ति र अमरताको प्राप्ति थियो भने योगदर्शन होस् वा तन्त्र दर्शन दूवैले आ-आफ्नो अभ्यास गराएर मान्छेको भविष्यलाई शक्तिशाली, निरोग र अमर बनाउनु नै थियो भन्न मिल्छ |
यसै शिलशिलामामा भारतीय दार्शनिक अरविन्दले “अतिमानव”को उत्पत्ति हुने भविष्यवाणी गरेका छन् भने अरविन्दका अनुयायीहरू आजको मितिमा पनि अतिमानवको प्रतिक्षामा छन् | अरविन्दको विश्वास र भविष्यमा “मसीह आउने” इसाई मुस्लिमहरूको विश्वास फरक छ | मुस्लिम-इसाईको विश्वास धार्मिक विश्वासमा आधारित छ भने अरविन्दको विश्वास “सावित्री”मा आधारित छ | यी केही प्रतिनिधि उदाहरण भए पनि आधुनिक परामानववादका सिद्धान्तकार फ्रेन्च विचारक तथा बायो-बैज्ञानिक जुलियन हक्सले ( १८८७-१९७५) लाई मानिन्छ | उनले आफ्नो बायो-विज्ञानको अनुसन्धानका आधारमा परामानवको परिकल्पना गरेका हुन् | प्राध्यापक जुलियनले पहिलो पटक १९५७ “परामानव” वारे चर्चा गरेका थिए |
यद्यपि यस अधि जर्मनदार्शनिक नित्सेले “अतिमानव”को अवधारणा अगाडी सारेका थिए जसको प्रतिफल हिटलर भन्न सकिन्छ भने रसीयन दार्शनिक फैड़ोरोभ र सन् १९२३ मा ब्रिटिश बैज्ञानिक हेल्दानले भविष्यको मान्छे वारे चर्चा गरेका थिए तर अधिकारिक सिद्धान्तकार भने जुलियनलाई नै मानिन्छ किनभने यिनले आफ्नो बैज्ञानिक (बायोलोजिस्ट)का रूपमा भविष्यको मान्छे परामानव हुने भविष्यवाणी गरेका छन् | सन् १९५७ पछि परामानववादका पक्षमा अनेकौं चलचित्रहरू, उपन्यासहरू, सिरियलहरू निर्माण भएका छन् | विज्ञानजगतमा विश्वास गर्नेहरू र विचारजगतमा विश्वास गर्नेहरूका विचमा परामानववादका पक्ष र विपक्षमा बहस चलिनैरहेका छन् |
हक्सलेका विचारमा “उत्पत्तिबाट अहिलेसम्म मान्छेको जीवन अत्यन्त कष्टपूर्ण, क्रूरताले भरिएको र अस्तित्वका लागि सङ्घर्षपूर्ण थियो | विज्ञानको विकासले मान्छेको यथास्थितिलाई पूर्णरूपान्तरण गर्ने छ | मान्छेले विज्ञानको उपयोग गरेर वर्तमान अवस्थाबाट परामानवमा अवतरण गर्ने छ | यो व्यक्तिगत र सम्पूर्ण मानव विश्वका लागि रुपान्तरण हुने छ |” (हक्सले २०२३) यो एउटा सकारात्मक सोच हो | यदि अहिलेको मानवीय विश्वलाई हेर्ने र बुझ्ने हो भने मनुष्य समाज विगतभन्दा धेरै शान्त छ, निरन्तर अन्वेषण अनुसन्धानमा केन्द्रीत छ र रोग र भोकबाट केही सीमा सम्म मुक्त छ | उदाहरणका लागि वि.स. २०३५सम्म नेपालीको औसत आयु केवल ४० वर्ष थियो भने आजको मितिमा ७२ वर्ष छ | संचार र शिक्षामा भएका द्रुततर सकारात्मक परिवर्तनले मान्छेको जीवन सरल र सहज बनेको छ | मान्छेको अस्तित्व विगतका तुलनामा धेरै सुरक्षित छ |
परामानवतावादी चिन्तन विज्ञानको विकासमा निर्भर भए पनि वैदिक अवतार वा पुनर्जन्मवादसंग निकै मेल खान्छ | वैदिक कर्म सिद्धान्तले “असल कर्म गर्नेले अर्को जन्ममा झन् उच्चतर जीवनशैली प्राप्त गर्ने छ र कमसल कर्म गर्ने जीव निम्नतर जीवनशैलीमा पुनर्जन्म लिने छ” भन्ने कुरा जताततै घोषणा गरेकै छ | गीतामा श्रीकृष्णले उत्तम कर्म गर्ने योगीको जन्म उत्तम कुलमा हुने छ जहाँ उसको प्रगति उच्चतर अवस्थाका लागि हुने छ” (गीता ६/६/४१-४६) सम्म वर्तमान मानवनै परामानवका रूपमा अवातारित हुने प्रष्ट पारेका छन् | वैदिक दर्शनले हरेक जीवलाई जीवनको सर्बोत्तम लक्ष “मोक्ष”मा अवतरण हुने विश्वास गर्छ जहाँ, शोक, भोक, चिन्ता, रोग, मृत्युआदिको पूर्ण अवशान हुने छ | पश्चिमाहरूले सम्भवत: अवतारवादको सिद्धान्त पढेको भए, भविष्यको मानववारे अझैं व्याबहारिक सिद्धान्त निर्माण गर्थे |
विज्ञानले पुनर्जन्मको सिद्धान्त त मान्दैन तर विज्ञानले यसै मान्छेलाई जन्म, मृत्यु, बृद्धावस्था र मृत्युबाट मुक्त बनाउने छ, यही नै मान्छेको परामानव अवस्था हो भन्न सङ्कोच गर्दैन | परामानववाद होस् वा अपरमानवतावाद नै किन नहोस् – यी दूवैले कर्मवादको सिद्धान्तलाई नकार्न सक्दैन | उदाहरणका लागि जापानी विचारक नोबोरु कवाजोइले “टेक्नोलोजीको विकासले मान्छेको कानमा नै सम्पूर्ण मान्छेका विचारहरू सुन्न र बुझ्न सक्ने क्षमता आउने छ र मान्छे एउटा परिवार बन्ने छ” भन्ने विचारहरू श्रीमद्भागवतको ध्रुवको तपस्यासंग तुलना गर्न सकिन्छ जहाँ बालक ध्रुवको श्वास रोकिंदा सम्पूर्ण विश्वको श्वास-प्रश्वासमा समस्या आएको वर्णन छ | यो घटनापछि ध्रुव सानै उमेरमा “सबै शास्त्रहरू जान्ने महाविद्वान्”का रूपमा रुपान्तरित भएका छन् | यी कथा हरू हक्सलेले परामानवतावादको सिद्धान्त निर्माण गर्नुभन्दा हजारौं वर्ष पहिले नै वैदिक समाजमा प्रचलित थिए | हक्सलेको परामानव विज्ञानबाट बन्ने छ र त्यो मान्छे र मान्छेको समाज आजभन्दा अकल्पनीय रूपमा विकसित, ज्ञानी, सहयोगी, दीर्घजीवि र रोग, शोक, डर एवं शत्रुतामुक्त हुने छ भने प्राह्लाद र ध्रुवजस्ता पौराणिक पात्रहरूले उपर्युक्त उन्नत जीवन प्राप्त गरेको आख्यान वैदिक साहित्यमा उपलब्ध छ |
विज्ञानको काँधमा चढेर आउने भनिएको उन्नत मानव-समाजको परिकल्पना निकै महत्वपूर्ण छ र जसरी टेक्नोलोजी विकास भइरहेको छ, यो आशा गर्न सकिन्छ | तर मान्छेको टेक्नोलोजी मोह र सुखसुविधा भोगी बन्दैजाँदा माछापुच्छ्रेबाट हिउँ हराएको छ | काठमाडौंमा बर्खेझरी बिलाएको छ भने माघमै काफल फाल्न थालेका छन् | नव-निर्वाचित अमेरिकी राष्ट्रपतिले “पर्यावरण सन्धी” निरस्त गरिदिएका छन् | विज्ञानले मान्छेलाई सुखी र दीर्घजीवि त बनायो र बनाउने छ तर मान्छेको एकमात्र निवासस्थल पृथ्वीलाई रोगी बनाएको छ | परामानवको अवस्था प्राप्त गर्ने सामर्थ्य भएको टेक्नोलोजीको विकास हुँदासम्म मान्छे अस्तित्व के हुने हो – परामानववादीहरूले यसतिर पनि ध्यान दिनुपर्छ | प्राचीन वैदिक साहित्यले कल्पना गरेको परामानव “ध्यान वा समाधि” विषय थियो जुन मानव र प्रकृतिको अस्तित्वका लागि समस्या थिएनन् | विज्ञानको बुई चढेर मान्छे परामानवमा रुपान्तरित हुँदासम्म के-कस्तो प्राकृतिक त्रासदी भोग्नु पर्ने हो ? यस विषयमा पनि बोल्नु, लेख्नु र अनुसन्धान गर्नु पर्ने हुन्छ |
वर्तमान मान्छे विज्ञानको सहयोगबाट परामानवमा रुपान्तरित हुने आशा गरिरहंदा विश्व १५०,००/- शक्तिशाली अणुबमहरूले आतंकित छ भन्ने तत्थ्य पनि विर्सनु हुँदैन | यदि कुनै कारण वा प्राकृतिक दुर्घटनाका कारण ती बमहरू विस्फोट भए भने विज्ञानले मान्छेलाई परामानवमा कहिल्यै पनि रुपान्तरित गर्न सक्ने छैन | मान्छेले बनाएको विज्ञानले प्रकृतिको चक्रमा घातक प्रहार गरिरहेको छ | यदि विज्ञान र बैज्ञानिक साधनहरूबाट मान्छेलाई परामानवमा रुपान्तरित गर्ने कल्पनालाई साकार बनाउने हो भने प्रकृति चक्रमा समस्या आएर हुने मानवीय विनाश र विनाश गर्ने तत्वहरू (प्रदूषण र शक्तिशाली बमहरूको विकास) तुरुन्त रोक्नुपर्छ | म चिन्तित छु, विज्ञानको बढ्दो हस्तक्षेपका कारण विश्वमा मकै, गहुँ, धानआदि फल्न छोडे भने मान्छेको कुन गति होला ? अहिलेको मान्छेले परामान्छे हुनुभन्दा पहिले यसको दीगोसमाधान खोज्नुपर्छ र त्यो समाधान जीवनमा लागु गर्नुपर्छ |
परामानववादले भविष्यका मान्छेको क्षमताको आँकलन गर्छ भने अपरमानवतावादले समसमायिक मानव-समाजमा देखापरेका विगत भन्दा भिन्न क्षमताहरूको विश्लेष्ण गर्छ | अतिमानववादले विज्ञानले मान्छेको क्षमतालाई असाधारण रुपमा विस्तार गर्ने र मान्छेले अतिमानव (Ultra-Human) भएर काम गर्न सक्ने सुनौलो सपना देख्छ | साथै, अतिमानववादले वर्तमान मान्छेका विशिष्ट क्षमताहरूका विषयमा पनि परिचर्चा गर्छ | प्रस्तुत सन्दर्भ केवल परामानववादसंग जोडिएको हुँदा अन्य दूवै विषयमा पुन: चर्चा गरिने छ | अतिमानव भौतिकवाद र धार्मिकहरूको पनि प्रिय कल्पना भएकोले विज्ञान धर्म दूवैको विषय हो | उदाहरणका लागि जिसस, मोहम्मदआदि अतिमानवका उदाहरण हुन् भने आइन्स्टाइन, एलोन मस्क आदि पनि अतिमानवकै रूपमा बुझ्न सकिन्छ |
परामानवको कल्पना असम्भव विषय होइन तर आजको मितिसम्म वैज्ञानिकहरूले “मान्छेको बौद्धिक क्षमतालाई कम्युटर (AI) ले जित्ने छैन” भन्ने विश्वासका आधारमा अनेकौं भविष्यवाणी गरिरहेका छन् | AI मानवीय आविष्कार हो र यसले प्रकृतिबाट प्राप्त मानवीय क्षमतालाई अतिक्रमण गर्ने छैन भन्ने विश्वास कति विश्वसनीय छ ? कसैले अनुमान गर्न सक्दैन | भविष्यका रोबटहरू मानवीय बुद्धिको क्षमता भन्दा तीब्र हुने छन् – यो सत्य अहिलेनै स्थापित भैसकेको छ | मान्छे भन्दा मसीनहरू करोडौं गुणा शक्तिशाली छन् तर वर्तमानसम्म विकसित भएका मसीनहरू मानव-बुद्धिद्वारा नियन्त्रित छन् तर भविष्यका मसीनहरू पनि मानवीय बुद्धिको नियन्त्रणमा रहने छन् ? भन्ने कुनै ग्यारेन्टी छैन | आजको मितिमा नै AI ले प्राकृतिक मान्छेको बौद्धिक क्षमतालाई चुनौती दिंदैछ | अर्थात्, परामानवको रुपान्तरित अवस्था प्राप्त हुनु पूर्वनै मान्छेको भन्दा अत्याधिक क्षमता भएका यन्त्र-मानवहरू प्राकृतिक मान्छेका नियामक हुने छैनन् – भन्ने कुनै ग्यारेन्टी छैन |

