के वैदिक परम्परामा धर्म र दर्शनशास्त्र अलग हुन सक्छन् ?
पश्चिमेली दार्शनिक समाजमा धर्म र दर्शन फरक विषय हुन् भन्ने विषयमा एकमत छ | उनले धार्मिक अध्ययनलाई “थियोलोजी” भनेका छन् भने थियोलोजीमा रहेका दार्शनिक पक्षहरूको अध्ययनलाई “धर्मदर्शन” भनेका छन् | धर्म र दर्शनको कित्ताकाट र क्षेत्र प्रष्ट छुट्टिएको छ | बाइबल र कुरान मान्ने धार्मिक र तर्कका आधारमा सत्य खोज्ने प्रयत्न गर्ने दार्शनिक ! तर वैदिक संस्कृतिमा भने विचार र बाटो फरक छ : धर्मले दर्शनको प्रयोग गरेर पूर्णसत्य (मोक्ष वा निर्वाण) प्राप्त गर्ने अकाट्य लक्ष लिएको हुन्छ | यस्तो अवस्थामा हाम्रो मनमा प्रश्न उठ्नु स्वाभाविक हुन्छ कि के वैदिक परम्परामा धर्म र दर्शनशास्त्र अलग हुन सक्छन् ?

भारतवर्षीय संस्कृतिमा धर्म र दर्शनलाई एक्लाएक्लै हिड्ने सुविधा छैन | धर्ममा दर्शन र दर्शनभित्र धर्म एकआपसमा मिसिएका छन् | “धर्म र दर्शन” एकआपसमा जोडिएका छन् | ऋग्वेद धार्मिक ग्रन्थ मानिन्छ तर असलमा यो दार्शनिक ग्रन्थ हो | त्रिपिटकलाई केवल धार्मिकग्रन्थ मान्नु भूल हुने छ भने जैनआगमहरूका विषयमा पनि यही तत्थ्य लागु हुन्छ |

भारतको कलकत्ता कलेजमा सन् १८८२ मा अंग्रेजी माध्यमबात दर्शनशास्त्र (Philosophy) को अध्ययन आरम्भ भएपछि भारतवर्षमा विकसित भएका दार्शनिक चिन्तनहरूको कुरा उठुनु स्वाभाविक थियो | जुन स्कुलिंगबाट अंग्रेजी शिक्षा प्रणाली विकसित भएको थियो, त्यसमा धर्म र दर्शन नितान्त फरक विधा हुनु स्वाभाविक थियो | अंग्रेजहरू भारतवर्षीय दर्शनमा धर्म र दर्शन फरक गर्न खोजे | सम्भवत: अंग्रेजहरूको राजनैतिक भविष्यका लागि पनि “धर्म र दर्शन अलग विषय हुनुपर्छ” भन्ने आन्दोलन अनुकुल थियो | तेसैले अंग्रेजहरूले “विभाजन गर र राज्य चलाउँ” भन्ने नीतिअनुसार नै वैदिक, जैन, बौद्ध दार्शनिक चिन्तन र धार्मिकता फरकफरक विषयवस्तु हुनुपर्छ दृष्टिकोण अगाडी बढाए |

लोर्ड म्याकलेले सन् १८३५ मा पहिलो पटक भारतमा पनि अंग्रेजी माध्यमबाट शिक्षादीक्षा दिनुपर्छ भन्ने रिपोर्ट बनाएर | त्यसैका आधारमा सन् १८५७ मा पहिलो अंग्रेजी माध्यमको स्कूल खोलियो | त्यस अधि भारतीय महाद्वीपमा गुरुकुल, विहार र मदरसाहरूले आ-आफ्नो पद्धतिअनुसार शिक्षादीक्षा दिन्थे | खासगरी हिन्दू र जिनी गुरुकुलहरूले प्राचीन भारतवर्षीय दार्शनिक धाराहरू जस्तै तर्कसंग्रहका रूपमा न्याय दर्शन, वैष्णव पद्धतिका रूपमा अद्वैत, द्वैतवाद आदिको अध्यापन गराउँथे | धेरै मान्छे अशिक्षित थिए, थोरै मान्छे शिक्षित थिए | दर्शनशास्त्र प्राचीन गुरुकुल सिलेबसको अभिन्न अंग थियो | केही इतिहासकारले भारतमा ८४ हजार गुरुकुल रहेको जिकिर गरेका छन् तर विश्वास गर्ने प्रमाण पुर्याउन गाह्रो छ |

धर्म र दर्शनमा प्राचीन कुन् होला ? इतिहासकारहरूले धर्मलाई प्राचीन मानेका छन् | तर यो दृष्टिकोण पश्चिमा इतिहासकारको हो | वैदिक संस्कृतिमा धर्म र दर्शनको इतिहास छुट्याउने वा समय चिन्हित गर्न सजिलो छैन | एउटा धार्मिक पुस्तक, एउटा तीर्थस्थल, एउटा संस्थापक, एउटा ईश्वर र एउटा धर्म (Religiosity) भित्र हुर्केका माइन्ड-सेटमा यी चारबटा प्रतिमान नभएको कुनै संस्कृति धर्म हुन्छ भन्ने बुझ्न सक्ने कुनै उपाय हुँदैन | जैन एउटा विकसित धर्म हो तर ईश्वर मान्दैन | तेस्तै बौद्धहरूले पनि ईश्वरको अस्तित्व स्वीकार गर्दैनन् तर धर्मनै मानिन्छ | भारतवर्षमा विकसित भएका हरेक सम्प्रदायहरू स्वतन्त्र धर्म पनि हुन् र त्यो धर्मको जग बलियो दार्शनिक दृष्टिकोणमा उभिएको छ | धर्म पनि छ, दर्शन पनि छ | स्वतन्त्र पनि छ, गाँसिएको पनि छ | द्वैताद्वैत (निम्बार्क)लाई दर्शनबाट अलग गर्न सकिन्न |

भारतका पूर्वराष्ट्रपति राधाकृष्णन्, दास गुप्ता, चटर्जीजस्ता दार्शनिकहरूले भारतवर्षमा विकसित भएका धर्म र दर्शनको परम्परालाई छुट्याएर अध्ययन गर्ने प्रयत्न गरेका हुन् |यस्तो प्रयत्नको मुख्यजरो अंग्रेजको शिक्षा पद्धति नै हो | उपर्युक्त दार्शनिकहरूले धर्मको इतिहासलाई “गौण” ठानेर दार्शनिक इतिहासको विवेचना गरेका छन् | उदाहरणका लागि भारतीय दर्शनमा डा. राधाकृष्णन् का लागि श्रीकृष्ण एउटा (सम्भवत: इतिहासका पात्र कम र मिथकीय व्यक्ति बढी हुन् तर राधाकृष्णन् ले गीताको स्वतन्त्र ब्याख्या गरेका छन् | श्रीकृष्णले उपदेश गरेको गीता (दार्शनिक ग्रन्थ) स्वीकार गर्ने तर कृष्णको अस्तित्व अस्वीकार गर्ने दुईजीब्रे बौद्धिकता अंग्रेजी शिक्षाले मात्र रोप्न सक्थ्यो | एउटा धार्मिक व्यक्तिका लागि कृष्ण र गीता मध्ये उपदेशक मिथकीय र उपदेश बास्तविक हुनै सक्दैन | व्यबहारमा राधाकृष्णन् हरूको प्रयत्नले कुनै काम गरेको देखिन्न |

-धर्म र दर्शन फरकफरक विषयवस्तु भएको र विश्वविद्यालयहरूले धर्मसंग दर्शनशास्त्र अलग राखेर पठनपाठन गर्नु पर्छ भने बौद्धिक मांग भारतका देवोराम चट्टोपाध्याय, कौशाम्बीआदिले जोडतोडका साथ उठाएको पढ्न सकिन्छ भने जानेर वा नजानेर केही गैरवामपन्थी दार्शनिकहरूले पनि “भारतीय परम्परामा दर्शन र धर्मलाई अलग अलग गर्नुपर्छ” भन्ने आन्दोलनमा सहयोग गरेको पढ्न सकिन्छ | नेपालमा पनि ठूलो बामपन्थीहरूको खेमा “दर्शनशास्त्र र धर्म अलग हुनुपर्छ” भन्ने मान्यतामा कामगरिरहेको छ | तर राधाकृष्णन्, चटर्जी, गुप्ता तथा चट्टोपाध्यायहरूसंग वैदिक साँस्कृतिक परम्परामा “धर्म र दर्शनलाई कसरी अलग गर्न सकिन्छ ?” भन्ने कुनै ठोस उपाय या दिशा निर्देश पढ्न पाइन्न | रह्यो बामपन्थी दार्शनिकहरूको, उनीहरूका लागि धर्मको कुनै मूल्य नभएको हुँदा, धार्मिकता समाप्त गरेर भए पनि दार्शनिकधार जीवित राख्नुपर्छ | यसमा पनि केवल भौतिकवादी (मार्क्सवादी) धारमात्र प्रमाणिक मानिने छ |

अव मूल प्रश्नमा फर्किनु उचित हुन्छ | के वैदिक, जैन तथा बौद्ध सांस्कृतिक, धार्मिक तथा उपासना पद्धतिभित्र धर्म र दर्शनलाई अलग-अलग राखेर अध्ययन गर्न सकिन्छ ? निश्चय नै यस प्रश्नको उत्तर सजिलो छैन | बौद्ध संस्कृतिको निर्माण नै दार्शनिक रुपमा दु:ख बोधबाट भएको छ | अनित्यता, क्षणभङ्ग, प्रतित्य समुत्पाद र धर्मचक्रको ज्ञान र अभ्यास संगै जोडिएका छन् | यदि कसैले साच्चिकै बौद्ध धर्मको अभ्यास गर्न चाहन्छ भने उसले बौद्ध दार्शनिक पद्धति बुझेको हुनुपर्छ | सैद्धान्तिक रूपमा बौद्ध दर्शनको प्राध्यापन हिन्दू, जैन, इसाई वा धर्मनै नमान्ने नास्तिकले पनि गर्न/गराउन सक्छ तर धार्मिक विश्वासमा रमाउने उपासकहरूका लागि यस्तो अध्ययन/अध्यापनको मूल्य अत्यन्त थोरै हुन्छ | बौद्ध धर्म र दर्शन एकआपसमा जोडिएका मात्र होइन, एउटा अर्कोको जगमा उभिएका छन् | यही सत्य अन्य भारतवर्षीय दार्शनिक चिन्तनमा फलिभूत हुन्छ |

चुरोको कुरा के हो भने यदि वैदिक, बौद्ध जैनहरूको धार्मिक तथा साँस्कृतिक निरन्तरतालाई जीवन्त देख्न चाहन्छौं भने भारतवर्षका धार्मिक सम्प्रदायहरू र तिनको दार्शनिक चिन्तनलाई संगै बुझ्नुपर्छ | सेमेटिक दृष्टिकोणले वैदिक, जैन बौद्ध धर्म र दर्शनको पक्षलाई बुझ्नु र बुझाउने प्रयत्न गर्नु मूलत: यहाँका मौलिक साँस्कृतिक, धार्मिक तथा सामाजिक परम्पराहरूको हत्या गर्नु सरह नै हुन्छ | साच्चिकै भन्नुपर्दा भारतवर्षका तीर्थस्थलहरू, मठमन्दिरहरू, त्यससंग जोडिएका श्रद्धालु र पुरोहित, गुरू, आचार्यहरू र सर्वसाधारणका कारण आजको मितिसम्म वैदिक संस्कृति जीवन्त छ | उपर्युक्त श्रद्धालुहरूले नै भारतवर्षको इतिहास, संस्कृति, परम्परा र गौरवलाई निरन्तरता दिएका छन् | पश्चिमा पद्धतिमा आधारित शिक्षा व्यबस्थाले भारतीय परम्परामा एकआपसमा अभिन्न रहेका धर्मदर्शनलाई छुट्याएर हत्या गर्ने पहिलेदेखिनै प्रयत्न गरेको हो र आजको मितिमा पनि त्यही गरिरहेको छ |

यो आरोप होइन | भारतवर्षमा विकसित भएका धर्म र दार्शनिक दृष्टिकोण अभिन्न छन् र फरकफरक हेर्न मिल्दैन भन्ने तत्थ्यको साक्ष वैदिक, बौद्ध, जैन समुदायहरूले निरन्तररूपमा गरिरहेको साधना र उपस्थिति हो | केही घृणावादीहरूले सेमेटिक माइन्ड-सेटका आधारमा ऐतिहासिक रूपमा नै फरकफरक रहेका तर व्याबहारिक रूपमा एकअर्काले एकअर्काको शेयर गर्ने संस्कृति निर्माण गरेका मूलाधारका वैदिक, जैन र बौद्धहरूलाई अलगअलग पार्ने प्रयत्न गरिरहेका छन् | अर्कोतिर, विश्वविद्यालयहरूमा “मिथ”का नाममा लिखितरूपमा रहेका “शब्दप्रमाण”हरूको उपस्थितिलाई होच्याउने चक्र चलिनैरहेको छ | धन्यवाद दिनुपर्छ, आधुनिक सामाजिक मिडियाहरू र निरपेक्ष रूपमा सत्यको खोज गर्ने विद्वान् हरूलाई जसको सत्यशील प्रयत्नले वैदिक, जैन तथा बौद्धहरूको दार्शनिक दृष्टिकोण र धार्मिक अभ्यासको प्रसारप्रचार हुँदैछ | अझै महत्वपूर्ण तत्थ्य, अलिअलि गरेर अंग्रेजहरूले निर्माण गरेको माइन्ड-सेटमा खिया लाग्दैछ |

सत्य हो कि हरेक व्यक्तिमा आफ्नो स्कुलिंगप्रति अलिकति पूर्वाग्रह रहन्छ | प्रस्तुत विचार पूर्वाग्रह होइन केही रुपमा आग्रहयुक्त अवश्य छ | आफ्नो मौलिकता र त्यसमा रहेका ऐतिहासिक तथा तत्थ्यगत विचारहरूलाई संस्थागत गर्ने अधिकार र कर्तव्य सबैको हुन्छ | वैदिक, बौद्ध तथा जैन संस्कृतिमा धर्म र दर्शन एकआपसमा अवछिन्न छन् | धर्म र दर्शनलाई विलग गरेर “सेमेटिक” संस्कृति थोपर्न खोज्नु तार्किक र व्याबहारिक रूपमा उचित हुँदैन | सबैले जानेकै बुझेकै कुरा हो दर्शनशास्त्रको जानकार त्यसको अभ्यासकर्ता नहुन सक्छ र धर्मको अभ्यासकर्ताले दर्शनशास्त्रको गहनता नबुझेको हुनसक्छ तर धर्मका अभ्यासकर्ताले दर्शनशास्त्रलाई पनि बोकेर हिंडेका हुन्छन् | यसरी वैदिक संस्कृतिमा विकसित भएका धार्मिकहरूसंग दार्शनिक दृष्टिकोण र दार्शनिक दृष्टिकोणहरूको ज्ञान धार्मिक क्रियाकलापका रूपमा विद्यमान रहन्छ | सम्पूर्ण भारतवर्षीय धर्मदर्शनको यही विशिष्टता र महानता हो | यस्तो तत्थ्यवारे लेख्नु र बोल्नुलाई “पूर्वाग्रह, दुराग्रह वा अतिग्रह” भन्न मिल्दैन |

वैदिक संस्कृतिमा विकसित भएका चारबाटा मूल सम्प्रदायहरू छन् : स्मार्त, शाक्त, शैव र वैष्णव | यी बाहेक गाणपत्य र सौर्य तथा कुमार परम्पराको पनि चर्चा छ | पछि, गाणपत्य र सौर्य सम्भवत: उपर्युक्त चारधाराकै अंग बन्न पुगे | यिनै चारबटा विचारधाराका आधारमा तिनका आ-आफ्ना अनेकौं उपसम्प्रदायहरूहरू विकसित भए | स्मार्तहरूले स्मृतिहरूलाई बढी महत्व दिएका छन् भने वैष्णवहरूले आगमलाई बढी महत्व दिए | तर दुवै सम्प्रदायहरूले एकआपसमा आगम र स्मृतिको प्रमाणिकतालाई अस्वीकार गरेको भेटिन्न | विकसित भएका उपसम्प्रदायहरूले वैदिक दार्शनिक दृष्टिकोण (ईश्वर, आत्म, पुनर्जन्म, कर्म, कर्मफलजस्ता मौलिक विषयहरू) न्युनाधिकरूपमा अवलम्बन गरेर धार्मिकता र दार्शनिकताको अभ्यास गरिनेरहेका छन् | तार्कीक दृष्टिकोणले बुझ्दा वैदिक परम्परामा विकसित भएका सम्प्रदायहरूका साहित्यबाट धर्म र दार्शनिक चिन्तनलाई अलग पार्ने हो भने यी सम्पूर्ण सम्प्रदायहरूको अवशान हुन्छ | दर्शनशास्त्र यी सम्प्रदायहरूको जग हो भने धार्मिकता यिनका शाखाहरू, पात र फलफुल हुन् |

तेसैले पश्चिमा दार्शनिक दृष्टिकोणका आधारमा भारतवर्षीय धार्मिक सम्प्रदायहरूलाई तिनको दर्शनशास्त्रबाट भिन्न गरेंर बुझ्नुको कुनै आवश्यकता छैन | पश्चिमाहरूले आफ्नो मौलिक दृष्टिकोणमा उन्नति गरुन् भने वैदिक, जैन तथा बौद्धहरूले पनि आफ्नो धर्मदर्शनको समबाय अभ्यासलाई पराम्परागत परिवेशमै अभ्यास गरेर उन्नति गरूँन् | दूवैका लागि आ-आफ्ना बाटा उचित छन् | तेसैले हरेकले आ-आफ्नो औचित्य निर्माण आफै गरोस् | हस्तक्षेप गर्नु बेइमानी हो | खासगरी, वैदिक परम्पराका धर्मदार्शनिक पक्षमा प्रवेश गरेर धर्म र दर्शन अलग हुनुपर्छ भन्ने बेइमानी गर्नु अनुचित हो | सन् १९८२ पछि को निरन्तर दार्शनिक अभ्यासले पनि वैदिक परम्परामा विकसित भएका धर्मदर्शनका परम्परा छुट्याएर हिड्न नसकिने, बुझ्न नसकिने रहेछ भन्ने सिद्ध भएको छ | वा दुराग्रह गर्नु उचित हुन्न |

-सबैको मङ्गल होस् |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *