संस्कार शिक्षा
आज भोली नेपाली र भारतीय अभिभावकहरू विच यी दूई शब्द वारे निकै चर्चा हुन्छ | सबै अभिभावकहरू आफ्ना बालबालिकाहरू संस्कृत अर्थात् संस्कारयुक्त होउन् भन्ने चाहन्छन् र धेरैजसो विद्यालयहरूको उपक्रम पनि यसैमा केन्द्रीत भएको बुझिन्छ | तर संस्कार भन्ने अवधारणा सबैको लागि एकै हुँदैन भने सबै संस्कारहरू समय सापेक्ष र गतिशील पनि हुँदैनन् | उदाहरणका लागि गुरुकुल शिक्षा एउटा राम्रो संस्कार हुन सक्छ तर आजका कुनै पनि अभिभावकहरूले जङ्गलका विचमा, झोपडीहरू भएको, विद्यार्थीहरूले आफै भिक्षा मांगेर ल्याएको अन्नले गुरू र शिष्य दुवै पालिनु पर्ने तथा विहान ब्रह्ममुहुर्त (३:३०) मा उठेर स्नानआदि गरेर सन्ध्यावन्दनआदि गर्दै गर्दा चीसोले कठ्याङ्ग्रिएर वेदपाठ गरिरहेका आफ्ना बालबालिकाको परिकल्पना गर्दैन |
संस्कृति निरन्तर गतिशील हुन्छ | प्रकृतिका हरेक विषयवस्तुहरू गतिशील हुन्छन् | साच्चिकै भन्ने हो भने आजका अभिभावकहरूले आफ्ना बालबालिकाको संस्कार कस्तो हुनुपर्छ ? भन्ने प्रश्नको ठीकठीक जानकारी नै छैन | उदाहरणका लागि सनातनी हिन्दूहरूमा संस्कारहरूको निर्माण वैदिककालदेखि निरन्तर चलिआएको छ | यदि अलिअलि फर्केर हेर्ने हो भने आजभन्दा केवल ५०वर्ष अगाडिको समाज र आजको समाजमा ३५६” डिग्री भिन्नता आएको छ | हिजोको समाज, तेसको चेतना र संस्कार हिजोको जस्तै थियो र आजको चेतना, संस्कार र परिवेश आजको जस्तै छ | केवल १२ वर्षपछि वर्तमान परिवेशहरूमा पनि धेरै फरक पर्ने छ |
निश्चयनै प्राचीन वैदिक संस्कारग्रन्थहरू अब्बल छन् तर ती ग्रन्थहरूको संस्कार तेतिवेलाको समयलाई सम्बोधन गर्न तयार गरिएको थियो | केही वैश्विक संस्कारहरू जसमा सत्य बोल्नु, गुरूहरूको सम्मान गर्नु, आमावुवाको मान राख्नुजस्ता आदर्शहरू आज पनि बान्छनीय छन् तर उपरोक्त संस्कारहरू उपदेशका भरमा स्थापित हुने कुनै पनि सम्भावना छैन | उपदेश, सल्लाहसुझाव, मोटिभेसन तथा कितावले संस्कार निर्माण गर्न सक्दैनन् | वैदिक संस्कृतिका अधिकांश संस्कारहरू उपदेशमा आधारित छन् | सम्भवत: हामीले आफ्ना बालबालिकाहरूले उपदेशको भरमा असल संस्कार सिक्छन् भन्ने आशा गरिरहेका हुन्छौं, जुन भ्रम बाहेक केही हुनै सक्दैन |
मूल्य र प्रतिमान यी दुई विषयहरू सिकाईका क्रममा निकै महत्वपूर्ण हुन्छन् | विश्वभरीका मान्छेको मूल्य “सत्य” हुन सक्छ, मातापिताको सम्मान हुन सक्छ, अहिंसा हुन सक्छ तर त्यो सामाजिक व्यबहारमा प्रकट हुँदा (व्यबहार गरिंदा) फरक रूपमा प्रकट हुन सक्छ | असलमा, मूल्य एउटा असल लक्ष मात्र हो भने प्रतिमान मूल्यहरूको प्रकट व्यबहार हो | उदाहरणका लागि तिब्बतेलीहरू एकआपसमा भेट्दा अतिआदर गर्न, सम्मान प्रकट गर्न टाउको जोड्छन् तर भारतवर्षका हिन्दूहरू अतिआदर प्रकट गर्न “चरण छुन्छन् वा साष्टांग प्रणाम गर्छन् | मूल्य (लक्ष) असल संस्कार हो तर दुई फरक समुदायमा त्यो आदर चरण छुने र टाउको जोड्ने रूपमा प्रकट हुन्छ | कुनै पनि तिब्बतेली अभिभावकहरूले चरण छुनुलाई असल वा खराव आचरणका रुपमा भन्दा अचम्मको चलनको रूपमा लिन्छन् | तेसैले मूल्यहरू गतिशील भएझैं प्रतिमानहरू पनि गतिशील हुन्छन् तर प्रतिमान परिवर्तन भने अत्यन्त सूक्ष्मगतिमा हुन्छन् |
प्रतिमानहरू मूल्यका व्यक्त अवस्था हुन् | एकपटक प्रतिमानहरू निर्माण र स्थापित भएपछि ती रूढ हुन्छन् | सम्बन्धित समुदाय तथा व्यक्ति ती प्रतिमानहरूप्रति आशक्त हुन्छन् | तर संस्कार र आशक्ति दूवै फरक अवस्था हुन् | संस्कारले गतिशीलता खोज्छ तर आशक्तिले गतिको निरोध गर्छ | उदाहरणका लागि एउटा सन्यासीले असल व्यबहार के हो भनेर उपदेश दिएको कुरा समाजले ध्यान दिएर सुन्छ | सन्यासीको सम्मान पनि गर्छ तर आफ्नो सन्तान सन्यासी बनेर उपदेश गरोस् भनेर चाहना राख्नेहरू अति थोरै हुन्छन् | तेसरी नै उपमन्युको गुरु भक्तिप्रति नतमस्तक हुने धेरै अभिभावक हुन्छन् तर आफ्नो सन्तानले “उपमन्यु”को बाटो स्वीकार गरोस् भन्ने चाहन्नन् | सायद, उपमन्युको समयमा पनि “उपमन्यु”को जीवन उसका मातापिताका लागि रुचिकर थिएन |
यदि हामी हिन्दु हौँ भने आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक तथा राजनैतिक संस्कृत (असल) संस्कारहरूको पहिचान, ती संस्कार जीवित राख्ने र पुस्तान्तरण गर्ने कार्यको जिम्मा पनि हिन्दू समुदाय मै हुन्छ | हिन्दू समुदायका लागि पहिलो संस्कार “हामी/म किन हिन्दु हौँ वा हुँ?” भन्ने तत्थ्य प्रष्ट रूपमा बुझ्ने, बुझाउने र आचरण गर्नसंग सम्बन्धित हुन्छ | विडम्वना नै भन्नुपर्छ, मैले बजारमा भेटाएसम्मका “संस्कार, नैतिक बालपुस्तक होस् वा प्रौढ, कुनैले पनि “म किन हिन्दू ?” भन्ने प्रश्न उत्तर दिंदैनन् | चारवेद, १८ पुराण, १०८ उपनिषदहरू देखाएर “तिमी हिन्दू हौँ” भन्ने संस्कार सिद्ध हुनै सक्दैन | प्रसिद्ध मनोबिज्ञानिक अल्वर्ट बन्दुराको लामो अनुसन्धानले सिद्ध गरेको छ कि बालबालिकाहरू त्यो व्यबहार सिक्छन् जुन सम्बन्धित बालबालिकाका अमवुवा, परिवार, समाज र विद्यालयका शिक्षकहरूले गर्छन् | उपदेशका आधारमा बालबालिकाले केवल ५% संस्कार ग्रहण गर्छन् |
सदाचार, संस्कार, असल व्यबहार, धर्म, संस्कारआदि शब्दहरूको मूलमा लामो इतिहास र निर्माण प्रक्रिया लुकेको हुन्छ | अंग्रेजीमा ethics, morality, character इत्यादि शब्दहरूको व्याबहारिक प्रयोग नेपाली वा भारतेली समाजभन्दा भिन्न हुन सक्छ | उदाहरणका लागि छोराछोरीले वुवाआमा वा आफु भन्दा उमेरमा ठूलालाई सम्बोधन गर्दा “तपाईं, हजुर मौसुफ”आदिलाई आदरार्थीका रूपमा प्रयोग गर्नु “सदाचार वा संस्कारी” होला तर अंग्रेजी, फ्रेन्च, जर्मनजस्ता देशका भाषाहरूमा you ek बाहेकका शब्द नै छैनन् | उनीहरू “हजुर वालाई तपाईं आउनुहोस् भन्न सक्दैनन् | तिनीहरूको शब्दकोशमा तपाईं भन्ने शब्द नै छैन तर अंग्रेजी भाषाको लक्ष हजुर वालाई अपमान गर्ने पक्कै होइन | यदि हामीले वैदिक संस्कृतिमा मात्र सबैभन्दा उत्तम आदरार्थी शब्द छ, त्यो “हजुर” हुन्छ भन्ने सिकायौं भने नेपाल र भारतमा ठीक होला तर अमेरिकामा बुझिन्न | तेसैले “मेरो प्रतिमान संस्कार अर्काको प्रतिमान कू-संस्कार” भन्न मिल्दैन |
-हिन्दूहरूले असल संस्कारका रूपमा थुप्रै प्रतिमानहरू खडा गरेका छन् | उदाहरणका लागि “अभिवादन शीलस्य नित्यं बृद्धोपसेविन | चत्वारी तस्य बर्धन्ते आयु:विद्यायशोवलम्” अर्थात् जसले आफूभन्दा बढी उमेर भएका पाकाहरूप्रति अभिबादनको भाव राख्छ र तिनको सेवा गर्छ, पुरस्कारको रूपमा आयु, विद्या, यश र बल बढ्छ” भनेर असल आचरण गर्न अभिप्रेरित गरिएको छ | हिन्दुहरूका लागि एस्तो गर्नु असल संस्कार हो | तर यी सिद्धान्तलाई व्यबहारमा स्थापित गर्न सम्बन्धित बालबालिकाका आमावुवाले तिनका आमावुवाको सम्मान र हेरविचार गरेको हुनुपर्यो | विद्यालयहरूका पुस्तकहरूमा आमावुवा वा बृद्धजनहरूको सेवामा बल दिएको हुनुपर्यो र साथै विद्यालयहरूले घरपरिवारमा पुगेर आफुभन्दा ठूलालाई प्रणाम गर्ने, नमस्कार गर्ने वा अन्य किसिमका अभिवादनहरू गरेर देखाउनु र गर्न लगाएर सिकाउनु पर्यो | नेपाली बालबालिकाका लागि उपर्युक्त श्लोकको अर्थापन यदि वृद्धाश्रम लगेर गरिन्छ, त्यसले सबैभन्दा बढी बिमूढ़ता जन्माउँछ | अभिवादन र निरन्तर बृद्धहरूको सेवा गर्ने उपदेश वृद्धाश्रमको यात्राले तिरस्कार गर्छ | घरघरमा अभिवादन र सेवा प्राप्त गरेका बृद्धहरू आफ्नो परिवारबाट टाढा वृद्धाश्रममा हुनुहुँदैन |

