निर्विकल्प गीता

निर्विकल्प गीता

निर्विकल्प गीता

श्रीमद्भगवद्-गीता सनातन वैश्विक लघु ग्रन्थ हो | यसका ७०० श्लोकले सम्पूर्ण आध्यात्मिक, मानसिक र भौतिक चिन्तन र जीवनशैलीको सुन्दर प्रस्तुति गर्दछ | यसै कारणले होला प्रथम शंकराचार्यपछि लगभग ४३८ बटा टीकाहरू लेखिएका छन् | प्राचीन संस्कृत भाषामा ५८ बटा टीका र हिन्दी, नेपाली, बंगाली, अंग्रेजीआदिको कुनै गणना नै छैन |
अंग्रेजी भाषामा अनुवाद गरिएको यो दोस्रो पुस्तक हो र पहिलो गीत गोविन्द हो | पहिलो अनुवाद चाल्स विकिंसले सन् १७८८ मा गरेका थिए | त्यसपछि गीताका अनेकौं अनुवाद अंग्रेजीमा गरिए तर ती अनुवादहरू बाइबललाई श्रेष्ठधर्म ग्रन्थ सावित गर्न प्रायोजित थिए | एड्लास हक्सले, थोरो, ओपनहेमर, मनोविज्ञानिक कार्ल जुंग इत्यादि गीताबाट अत्याधिक प्रभावित भएका थिए | सबैभन्दा अचम्मको तत्थ्य के हो भने जसजसले अंग्रेजी वा अन्य पाश्चात्य भाषामा गीताको अनुवाद गरे, पछि ती सबै हिन्दू बने | यहाँ उल्लेख गर्नु पर्ने नै जानकारी के हो भने तत्कालीन बृटिशबाट मिसनरी (इसाई धर्मप्रचारक गुरू)का रूपमा भारत आएका भेरीर अल्विन (Verrier Elwin) गीताको बाइबल परक अनुवाद गर्ने उपक्रममा सनातनी बनेका थिए |
आजभोली “हाम्रा गुरूले लेखेको गीताको टीका नै श्रीकृष्णका उपदेशको मर्म हो, अन्य टीकाहरू अप्रमाणित हुन्” भन्नेहरूको निकै भीड बढेको छ | गीताका प्रथम टीकाकार आचार्य शंकरले गीताको अद्वैतपरक टीका अवश्य गरे तर उनले “मैले गरेको टीका नै कृष्णले भन्न खोजेको हो” भनेर कहीं पनि उल्लेख गरेनन् | किनभने कृष्णले भनेका श्लोकहरूको अर्थ संस्कृत जान्ने जो कोहीले संस्कृतका श्लोक पढेपछि घामझैं छर्लंग बुझ्न सक्छ |
गीताको गुरुतानै एस्तो छ कि विद्वानहरूले गीताका भनाईहरूलाई आफ्नो अभिमत पुष्टिका लागि उपयोग गर्छन् | आचार्य शङ्करले अद्वैतवाद, अभिनव गुप्तले शिवाद्वैत, आचार्य रामानुजले विशिष्टाद्वैत, जगदगुरु निम्बार्काचार्यले द्वैताद्वैत, मध्वचार्यले द्वैतमत र अन्य आचार्यहरूले पनि आफुले अङ्गीकार गरेको अभिमत प्रष्ट पार्न गीताको भाष्य गरेका हुन् | प्रस्थानत्रयी (गीता, ब्रह्मसूत्र र उपनिषद्) को व्याख्या गर्नु तेसवखतका सिद्धान्तकारहरूका लागि अनिवार्य नै थियो |
केही विद्वानहरूले “गीता वैष्णव ग्रन्थ हो | शाक्त तथा शैव अर्थात् स्मार्तहरूका लागि त्यति उपयोगी छैन” भन्ने पनि सुनेको छु | तर उहाँको यो विचारलाई १० सौं शताब्दिका शैव-शाक्त आचार्य अभिनव गुप्तले गीतमा भाष्य लेखेर अस्वीकार गरेका छन् | गीता प्राचीन पांच प्रमुख सम्प्रदायहरू : शाक्त, शैव, वैष्णव, गाणपत्य तथा सौर्यआदि सबैको साझा चिन्तनलाई सारभूत रूपले मान्यता प्रदान गर्ने ग्रन्थ हो | केही आधुनिकहरूले गीतालाई वैष्णव र शाक्तको पगडी भिराए पनि गीता सनातन संस्कृतिको सर्वमान्य सारग्रन्थ हो |
नेपाली समाजको संरचना वैदिक संस्कृतिमा अडिएको छ | नेपालका हरेक गाउँटोल, शहरका हरेक गल्लीहरूमा शक्तिपीठहरू छन् | विष्णु मन्दिरहरू छन् | शिवालयहरू छन् | गणपतिका मूर्तिहरू छन् | प्रसिद्ध हिमवतखण्डमा पनि आसामको कामाक्षबाट ब्रह्मा, विष्णु र शिव नेपालमा आएर तीर्थहरूको (हरिहर) तथा शक्तिस्थलहरूको दर्शन र स्थापना गरेको बर्णन पाइन्छ | तेसैले गीता, गङ्गा (काली गण्डकी) तुलसी, शालीग्राम – यी चारबटा पवित्रप्रतिमानहरूमा नेपाली जीवन शैली अडिएको छ | आजको दिनमा पनि हरेक नेपालीका घरमा तुलसीको मठ अवश्य देखिन्छ | गीता पाठ गर्नुपर्छ, दान दिनुपर्छ भन्ने भाव बलियो छ भने तुलसी धारण गरेपछि झूटो बोल्नु हुँदैन, मासु खान हुँदैन जस्ता विश्वासहरू जीवित नै छन् |
गीता शक्तिको ग्रन्थ हो किनभने हरेक व्यक्तिलाई स्वधर्म रक्षाको लागि आत्मोत्सर्ग गर्न अभिप्रेरित गर्छ | मानसिक रूपमा अशक्त भएका अर्जुनलाई श्रीकृष्णले स्वधर्मको उपदेश गरेपछि अर्जुनले स्वयं धर्मरक्षाको लागि युद्ध लड्ने आफूखुसी निर्णय गरेका हुन् | श्रीकृष्णले “यथेच्छसि तथा कुरू:” भनेर अर्जुनलाई आत्मनिर्णयको अधिकार दिएका थिए | स्वधर्मे निधनं श्रेय:” को अर्थ स्वधर्मको रक्षालाई योगकै तहमा स्वीकार्नुपर्छ भन्ने हुन्छ | अन्तत: अर्जुनले स्वधर्म रक्षारूप यज्ञ तथा योगका रूपमा युद्ध लड्ने निर्णय गरे |
गीतामा सनातन धर्मका सबैजसो सिद्धान्तहरुको सरल तर अत्यन्त सङ्क्षेपमा बर्णन भएको छ | उदाहरणका लागि मान्छे, मान्छेको धार्मिक, सामाजिक, सांस्कृतिक दायित्व, नैतिक तथा आर्थिक क्रियाकलाप, परमतत्वको आराधना, सत्यको आग्रहआदि विषयहरू गीताले प्रष्टरूपमा निर्देशन गरेको छ | गीताको सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने यसले कुन धर्म मान्ने वा नमान्ने भन्ने विषयमा आदेश गर्दैन र स्वधर्म, संस्कृति तथा नैतिक जीवनका सवालमा स्वविवेकले कर्म गर्न प्रेरित गर्छ | यदि कसैले गीतालाई “मेरा गुरुले लेखेको गीतामात्र सत्य हो” भन्छ भने सनातन संस्कृतिको अपमान हुन्छ | श्रीकृष्णले अर्जुनलाई भनेका वाक्यहरू “गीता”का रूपमा एकएक अक्षर विद्यमान छन् | मेरो गुरुको गीता सत्य भन्नेहरू आफ्नो सम्प्रदायभित्र सत्य छन् तर समग्र सनातन संस्कृतिप्रति उनीहरू अज्ञानी ठरिन्छन् |
गीताका धेरै विशिष्टताहरू छन् : ज्ञान, कर्म र भक्तिका आधारमा सम्पूर्ण मानव-अभिमुख (orientation) पहिचान गर्नु, सत्व, रज र तमोगुणका आधारमा ज्ञान, कर्म र भक्तिको मार्ग निर्धारित हुनु, दैव तथा आसुरी व्यक्तित्वका आधारमा हरेक व्यक्तिको कर्म (ब्राह्मण, क्षत्री, वैश्य तथा शूद्र) निर्धारित हुने तर अभिमुखको निर्धारण प्राकृतिकमा प्राप्त हुने भए पनि व्यक्तिको व्यक्तिगत सङ्कल्प स्वतन्त्रता र कर्मस्वतन्त्रतालाई अवाध मान्नु र अन्तत: परमलक्षका रूपमा मोक्षलाई अंगीकार गर्नु पर्छन् |
म अधिकार पूर्वक भन्छु कि जसरी लाघुकाय गीताले मानवशास्त्रका रूपमा मान्छेको विशिष्टतालाई स्वीकार गरेर सङ्कल्प र कर्मको स्वतन्त्रता प्रदान गर्छ, विश्वका कुनै पनि धार्मिक ग्रन्थले गर्न सक्दैन | जातीयता, क्षेत्रीयता, जातिवाद, लिंगवाद, भूगोलवाद, वर्ण, आर्थिक क्षमता, शैक्षिक क्षमता, भौतिक सुविधा तथा भाषागत आधारमा खण्डखण्डमा विश्वलाई खण्डित गरेर घृणावादलाई पोषित गर्ने प्रवृत्ति विरुद्ध गीता एकता तथा प्रेमको संदेश हो | प्राचीनकालदेखि आजको मितिसम्म गीताका जे-जति व्याख्या भएका छन्, ती व्याख्याहरूले व्याख्याताहरूको गीताप्रतिको बुझाई र विश्वासलाई प्रकट गर्छन् | व्याख्याताका अनुयायीहरूका लागि व्याख्या स्वीकार्य हुनु स्वाभाविक हो तर मूल संस्कृतका सवालमा कुनै पनि विवाद हुँदैन | गीताको गुरुता यही हो |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *