गुन्द्री तथा सुकुलको ब्यथा !!
पहाडी समुदायका लागि धानको परालले बुनेको गुन्द्री नौलो वस्तु होइन | धान थन्क्याएपछि अलि सप्रेका धानको पराल अलग्गै राखेर, पुस माघको चीसोमा आँगनको घाम ताप्दै आमाले गुन्द्री बुन्नु हुन्थ्यो | आज पनि बुन्नुहुन्छ | नयाँ पढेलेखेका पुस्ताहरू वेवास्ता छन् | तीन-चार दिनमा एउटा गुन्द्री सकिन्थ्यो बुनेर | हामी केटाकेटी नयाँ गुन्द्रीमा सुत्न र वस्न पाउँदा निकै रमाइलो मान्थ्यौं | पाहुनापाछा वा ज्वाई-चेली आउँदा नयाँ गुन्द्रीमाथि “राडी” ओच्छ्याउनुको सानै अर्को हुन्थ्यो |
चारकिला गाडेर, बाबियोको घरबाट हातले बाटेका जेउराले तान तयार गरेर, एकएक गरी परालको पोयोहरू तानमा छिराउँदै काठबाट बनेको “हत्केलो ले ठोक्दै” गुन्द्री तयार हुन्छ | गाउँघरमा आज पनि परालको गुन्द्री बुन्ने गरिन्छ | गुन्द्री बुन्ने तरिका निकै मेहनतिलो हुन्छ र जति मेहनत गरिन्छ तेसअनुसार यो गुनिलो पनि हुन्छ |
चिसोबाट जोगिन यो भन्दा भरपर्दो अरू केही छैन | लगभग दूईवर्षसम्म लगातार प्रयोग गर्न सकिने तानमा बुनेको नेपाली गुन्द्री पूर्णतया नेपाली मौलिक रैथाने सीप हो र हजारौं वर्ष देखि पहाडी नेपालीहरू(महिला)हरूले बुन्दै आएका छन् | बाक्लो, न्यानो र सजिलैसँग संग उत्पादन गर्न सकिने नेपाली परालको गुन्द्री सबैको लागि प्यारो हुन्छ |
वांसको चोया काडेर निर्माण गरिने डोको र सनपाटबाट निर्माण गरिने नाम्लो लगभग लोपोन्मुख छन् | यी दुवैलाई प्लास्टिकका थैलाले विस्थापित गरेको छ | अव इण्डियन र चाइनिज म्याटले गुन्द्रीलाई विस्थापित गर्दै छ | ५०० वर्ष भन्दा बढी समय नगल्ने प्लास्टिकको साटो रैथाने गुन्द्रीहरू धेरै गुणकारी हुन्छन् भनेर हाम्रा बालबालिकाले न आफ्ना पाठ्यपुस्तकमा पढ्न पाउँछन् न विद्यालयको घमाइलोमा तान बाँधेर यो रैथाने सीप सिकाउँन सरकारी तन्त्रको चासो छ | विदेशी आइएजिओहरू नेपाललाई अमेरिका र बेलायतझैं बनाउने सपना बेच्न तयार छन् तर नेपालको रैथाने गुन्द्री बुन्न सिकाउने सीप सिकाएर आत्मनिर्भर बनाउनतिर कसैको चासो छैन |
आज पूजाआज्ञा र क्रिया वस्दा गुन्द्रिको प्रयोग बढेको छ | गुन्द्री प्राकृतिक भएकोले पवित्र मानिन्छ | गाउँघरमा “कोरा” बार्न गुन्द्रिको प्रयोग गरिन्छ तर आजभोली नयाँ पुस्ताले जाँगर र सीप दूवै गुमाएकोले गुन्द्री-संस्कृति सङ्कटमा परेको छ | अमेरिका र बेलायतबाट फर्केर क्रिया वस्दा गुन्द्री खोज्ने तर यी रैथाने सीपको विस्तार र प्रवर्धन गर्न ध्यान नदिने – उचित भएन | आज विदेश जाने धेरै मान्छेहरू गुन्द्री मै हुर्केका हुन् भन्ने ग्यारन्टी म दिन्छु तर उनीहरूले गुन्द्रीको संरक्षणमा ध्यान नदिंदा मन दुख्छ |
गुन्द्री एतिबिध्न न्यानो हुन्छ कि असजिलो परेको बखतमा ओड्ने र ओच्छ्याउने दूबै काममा प्रयोग गर्न सकिन्छ | मुख्य कुरा चिसोबाट जोगिनु हो – एसले चीसोबाट जोगाउने ग्यारेन्टी गर्छ | तर विदेशीको नक्कल गर्न मात्र खप्पिस नेपालीहरू स्वदेशी वस्तुको मूल्य र उपयोगिता चिन्दैनौ र चिने पनि स्वीकार गर्न लाज लाग्छ | यदि पाठ्यक्रममा यी रैथाने सीपहरू सामेल गरिदिएको भए आज “गुन्द्री” ब्रान्डमा विश्वभरि नेपाली गुन्द्रीहरू विक्री हुन्थे | प्लास्टिकको प्रयोगबाट वाक्क भएका अमेरिकी र युरोपेलीहरू सजिलैसंग गल्ने गुन्द्री किनेर प्रयोग गर्न तछाडमछाड गर्थे |
पुराना काठमाडौँ उपत्यकाका वासिन्दाहरूका लागि “सुकुल गुण्डा” भन्ने शब्द नौलो छैन किनभने सिरक-डसना किन्न नसक्नेहरूले वाहिर राम्रो लुगा पहिरेर निस्के पनि घरमा भने सुकुल अर्थात् काठमाडौँ उपत्यकाको रैथाने गुन्द्री ओढेर ओच्छ्याएर रात काट्थे | एसको अर्थ हो – गुन्द्रीले काठमाडौँ उपत्यकाको चिसो सजिलैसंग रोक्थ्यो | मलाई लाग्छ, आज पनि सही तवरले गुन्द्रीका गुणहरू बुझ्ने हो भने असंख्य बालबालिकाहरूलाई चिसोबाट जोगाउन सकिन्छ निमुनियाबाट उनीहरूको ज्यान जोगाउन सकिन्छ |
अव हामीले मौलिक सीपहरूमा आधारित रैथाने उत्पादनहरूको पहिचान गरेर तिनको संरक्षण र प्रवर्धन गर्न आवश्यक भैसकेको छ | जागौं, “गुन्द्रीको पनि अमेरिकाले कपीराइट गर्यो अरे !” भन्ने समाचार पढ्नु भन्दा पहिला नै आफ्नो गुन्द्रीको महत्व चिनौं र स्थानीयतहबाट नै एसको प्रवर्धन गर्न पहल गरौँ | विद्यालयहरूमा तान ठोकेर बालबालिकालाई गुन्द्री बुन्ने तालिम दिउँ र तेसको मूल्यांकन गरेर उत्तीर्ण अंकमा समावेश गरौँ |
यदि हामी समय मै जागेनौं भने हाम्रा मौलिक सीपहरू विदेशीले पेटेन्ट गर्ने छ र हामी फेरी तेही सीप महँगोमा किनेर प्रयोग गर्न बाध्य हुनेछौँ | गुन्द्रीको चियोचर्चो छाप्ने समाचारपत्रहरूले पनि गुन्द्री शब्द प्रयोग गरे वापत रोयलिटी तिर्नु पर्ने छ | आफ्नो जरोकिलो जोगाउनु छ भने आफैले अग्रसरता लिउँ | हामी सघाउँन तयार छौँ |

