त्रिकदर्शन अर्थात् प्रत्यभिज्ञा दर्शनका कुरा
आचार्य वसुगुप्तले (सन् ८०० तिर ) सपनामा भगवान शिवको दर्शन गरी “शिवसूत्र” प्राप्त गरेको भन्ने त्रिकदार्शनिकहरूको विश्वास छ | समस्त त्रिकदर्शन एसै शिवसूत्रको जरोकिलोमा उभिएको छ | आचार्य वसुगुप्त कश्मीरमा जन्मेका हुनाले त्रिकदर्शनलाई कश्मीर शैवमत, त्रिकदर्शन, प्रत्यभिज्ञा दर्शन इत्यादि नामले पनि चिनिन्छ | स्पन्दकारिका, शिवदृष्टि, प्रत्यभिज्ञाकरिका, तन्त्रालोक, परमार्थसारआदि त्रिकदर्शनका मुख्य ग्रन्थ हुन् भने वसुगुप्त, सोमानन्द, उत्पलदेव, अभिनव गुप्त, क्षेमराजआदि यस सम्प्रदायका प्रमुख आचार्य हुन् | यी मध्ये आचार्य वसुबंधु, उत्पलदेव र अभिनव गुप्त निकै प्रसिद्ध छन् |
त्रिकदर्शनका अनुसार शिवतत्व नै परमतत्व हो | यो नै परमशिव, परमेश्वर तथा परमात्मा तत्वका रुपमा अभिधेय हुन्छ | यो अद्वय, चैतन्य, शक्तिरूप, स्वाभाविक क्रियाशील तथा स्वतन्त्र छ | यो परमशिवतत्व आत्मचेतना र प्राकृतिक आनन्दले अभिपूरित छ | यही सदाशिव पराशक्ति स्वरूप छ | सूर्य र सूर्यको प्रकाश अभिन्न भएझैं शिवतत्व र शक्तितत्व अभिन्न छन् | शुद्ध चैतन्य, आत्मचेतना, परमस्वतन्त्रता र अनन्तआनन्द शिवतत्वका आफ्ना विशेषता हुन् |
उपरोक्त शिवतत्व शिवशक्तिरूप, ज्ञानक्रियारूप र प्रकाशविमर्शरूमा अवस्थित छ | एस्तो शिवतत्वमा कर्मको अपूर्णता होइन क्रियाको स्रोततत्वका रूपमा अनन्तता विद्यमान छ | स्वाभाविक स्पन्दपूर्णता, शुद्ध अहन्ता, स्वातन्त्रता र पूर्णआनन्दको मुहान नै सदाशिवतत्व हो | यही शिवतत्व ज्ञान, ज्ञाता तथा ज्ञेय विषय हो | शिव चैतन्य तत्व भएकाले ज्ञातातत्व हो | स्वतन्त्र कर्ता हो र भने शक्ति विमर्शरूप हो | शक्तिका अभावमा शिवतत्वलाई आफ्नो पनि ज्ञान हुनैसक्दैन | शक्ति विना शिव शव हुन्छ किनभने शक्तिका अभावमा शिव स्पन्दनरहित हुन्छ |
त्रिकदर्शनका अनुसार शिव अद्वैततत्व हो | शिव र शक्तिको नाममा द्वेध भए पनि मूलत: यी अपृथक छन् तेसैले शिवतत्व अद्वय नै छ | त्रिकदर्शनले शिव र शक्तिवीचको तादात्म्य र अपृथक् सम्वन्धलाई नै अद्वैतका रूपमा ब्याख्या गरेको छ | शक्तिकै कारण शिवतत्व तरंगित हुन्छ | यही स्पन्दनणा इच्छा, ज्ञान र क्रियाको सामन्जस्य हुन्छ शिव तथा शक्तिका बीचको अद्वय सामरस्य नै त्रिकदर्शनको मौलिकता हो |
अव शिवतत्व र जीवजगतको सम्वन्धका विषयमा चर्चा गरौँ | त्रिक अर्थात् प्रत्यभिज्ञा दर्शनकाअनुसार जगत तथा जीव शिवरूप नै हुन् | जगत परमशिवको लीला हो | परमतत्वशिव नै स्वेकीय चित्शक्ति, स्वतन्त्रता तथा परमानन्द स्वभावका कारण जीव तथा विश्वका रूपमा अभिव्यक्त भैरहेको छ | अवतारहरू शिवको स्वेच्छामय लीला हो जसले उनी स्वतन्त्र छन् भन्ने प्रमाणित गर्छ | बसुगुप्त लेख्छन् “परमशिवले स्वेच्छाद्वारा आँफुभित्रनै विचित्र आभासहरू प्रकट गर्छन् | एस्तो गर्नका लागि कुनै प्रकारको उपादानकारण चाहिन्न | निरुपादानसम्भारमभित्तावेव तन्वये | असलमा, यो विश्वब्रह्माण्ड शिवतत्वका आभास हुन् |
त्रिकदर्शनको जगतलाई सांख्यझैं परिणाम वा वेदान्तझैं विवर्त मान्न सकिन्न | शिवतत्व परमसत्य भएकाले उसको आभास पनि तेतिनै सत्य हुन्छ | किनभने परमशिवतत्व “भित्र तथा वाहिर”को प्रपन्चबाट सर्वथा मुक्त छ तेसैले उ विश्वात्मक र विश्वोत्तीर्ण दूवै छ | शिवतत्व मानवबुद्धिको पाशबाट उन्मुक्त भएकाले उसको स्वातन्त्रता अवर्णनीय छ |
त्रिकदर्शनले ३६बटा तत्वहरूको अस्तित्वलाई स्वीकार गर्छ | यी ३६ बटा तत्वहरू शिवतत्व, विद्यातत्व र आत्मतत्व अन्तर्गत विभाजित छन् | शिवतत्वभित्र शिव र शक्ति पर्छन् | विद्यातत्वभित्र सदाशिव, ईश्वर र शुद्धविद्या – यी तीनबटा तत्व पर्छन् | उपरोक्त पांचबटा तत्वहरू अध्वा अर्थात् विशुद्ध सृष्टि हुन् | यी तत्वहरू क्रमशः चित्, आनन्द, इच्छा, ज्ञान र क्रियाका रूपमा अभिव्यक्त हुन्छन् | असलमा, यी पांचतत्वहरूका माध्यमबाट नै सदाशिवत्वको अभिव्यक्ति बुझिन्छ |
आत्मतत्व अन्तर्गत माया, कला,विद्या, राग, काल, नियति (यी छबटा तत्वहरूलाई कन्चुक अर्थात् जीवको पाश भनिन्छ) जीव पुरुष, प्रकृति, महत, अहङ्कार, मनस, पन्चज्ञानेन्द्रीय, पन्च तन्मात्र, पन्च कर्मेन्द्रीय तथा पन्चमहाभूत पर्छन् | त्रिकदर्शनले सांख्यदर्शनको १२ सङ्ख्यामा पुरुषलाई राखेको छ भने तेसपछिका तत्वहरू सांख्यबाट उधारो लिएको छ |
कास्मिरमा विकसित भएको शैवदर्शनलाई प्रत्याभिज्ञा दर्शन भनेर जानिन्छ | यो प्रत्यभिज्ञा मोक्ष र मोक्षसाधन दुवै हो | प्रत्यभिज्ञाको शाब्दिक अर्थ “परिचय अर्थात् जान्नु” हो | आफ्नो विर्सिएको वास्तविक स्वरूपलाई जान्नुनै प्रत्यभिज्ञा हो | अभिनव गुप्तकाअनुसार प्रत्यभिज्ञा स्मृति र प्रत्यक्षज्ञान भन्दा फरक तर मिसिएको स्वरूप हो | शिवशक्तिको समन्वित रूप “परमशिवतत्व” प्रत्यभिज्ञाअन्तर्गत स्मृति र प्रत्यक्षको सामरस्य मान्नुपर्छ | यही सामरस्य नै एसको भिन्नता हो | हामीले बुझेकै तत्थ्य हो कि स्मृति संस्कारजन्य ज्ञान हो भने प्रत्यक्ष इन्द्रीयजन्य ज्ञान | तर प्रत्यभिज्ञा भने पूर्वसंस्कार र इन्द्रीयजन्य ज्ञानको सामरस्यबाट उत्पन्न हुन्छ | तेसैले ज्ञानशास्त्रीय दृष्टिकोणले प्रत्यभिज्ञा अन्य परम्परागत दार्शनिक चिन्तन भन्दा फरक तर तादात्म्ययुक्त रहेको बुझ्नुपर्छ |
प्रत्यभिज्ञा दर्शन प्राचीन कश्मीरको अतिमहत्वपूर्ण दार्शनिक दृष्टिकोण हो | नेपालमा अभिनव गुप्तको तान्त्रिक दर्शनको ब्यापक प्रभाव परेको छ | नेपाली विश्वविद्यालयमा अभिनव गुप्तका कृतिहरूको अध्यापन गरिनेमात्र होइन उपासना पनि गरिन्छ भन्ने भनाई तन्त्रका नेपाली प्राध्यापकहरूको भनाई छ | तर मुस्लिम अतिक्रमणले गर्दा आफ्नो जन्मभूमि काश्मीरबाट नै प्रत्यभिज्ञा दर्शनको ब्यबहारिक ज्ञान लोपोन्मुख भैरहेको छ |
जीव, पशु र पशुपति
सर्व दर्शनसंग्रहमा माधवाचार्यले चारबटा शैवमतको उल्लेख गरेका छन् – नकुलीश-पाशुपत, शैव, प्रत्याभिज्ञा र रसेस्वर | तेस बाहेक कापालिक र कालमुख सम्प्रदायहरूको पनि उल्लेख पाइन्छ | भारतीय दक्षिणी राज्यहरूमा बीरशैव र लिंगायत यी दूई पन्थमा शैवमत विभक्त छ | आजभोली लिंगायतहरूले आफु छुट्टै “धर्म” भएको दावी गर्न थालेका छन् |
शैव सिद्धान्तका २८ बटा आगमहरू छन् | मइकन्दरको “शिवज्ञानबोधम्” शैवसिद्धान्तलाई बलियो दार्शनिक आधार दिने ग्रन्थ हो | श्रीकण्ठ शिवाचार्यले ब्रह्मसूत्रमा शिवसिद्धान्त परक भाष्य लेखेर वैदिक आधार दिएका थिए | एस बाहेक तिरूमुरै, तिरू बासगम्, शिवार्कमणि दीपिकाआदि शैवागम प्रसिद्ध छन् | एसमा शिवज्ञान सिद्धयर नामक ग्रन्थ पनि उल्लेखनीय छ |
शैवदर्शनले आफुलाई “शुद्धाद्वैत”का रूपमा प्रकाशित गर्छ | शुद्धको अर्थ निर्विशेष र अद्वैतको अर्थ भेदरहित द्वैत गरिएको छ | द्वैत तत्वत: सही छ भने अद्वैत सम्वन्धका आधारमा सत्य छ | जीव तथा जगत मूलत: शिवतत्व भन्दा अलग तत्व हुन् तर यी दूवै बीच र शिवतत्वका बीच अभेद सम्वन्ध छ | संसारिक दृष्टिकोणले शिव र जीवा फरक तत्व हुन् भने शिवको दृष्टिकोणले शिव-जीव अपृथक तत्व हुन् | जीव, जगत र शिव तिनैबटा तत्वहरू सत्य, नित्य र अभेद छन् |
शिव नै पति हुन् किनभने उनी सबैका स्वामी हुन् | आत्मसत्ता, प्राकृतिक शुद्धता, स्वानुभूति, अनन्त ज्ञान, स्वतन्त्रता, अनुग्रह वा प्रेम, सर्वशक्तिमत्ता तथा अनन्त आनन्द – यी आठबटा गुणहरू शिवमा अनन्त छन् | यिनै आठबटा गुणहरूले शिव पशुपति अर्थात् समस्त जीवहरूका स्वामी हुन् | यिनै शिव जगतका निमित्तकारण हुन् भने उनकी शक्ति माया उपदान कारण हुन् | शिव र शक्तिका बीचमा अभिन्न सम्वन्ध छ | शिव विना शक्ति त शाक्ति विना शिवको परिकल्पना नै हुँदैन |
नेपालमा शैव तथा शाक्त सम्प्रदाय
वेदहरूले रूद्र उपासनाको पुष्टि गर्छन् | यजुर्वेदमा त झन् रूद्राष्टध्यायी अर्थात् आठबटा अध्याय रूद्र अर्थात् शिवमा समर्पित छन् | रुद्रको अर्थ डरलाग्दो हुन्छ भने शिवको अर्थ शान्त हुन्छ | तेसै भएर तैत्तिरीय आरान्यकमा विश्वलाई रूद्र-शिव रूप भनेर वर्णन गरिएको छ | निश्चय नै विश्व विपरित गुणवाला भएकोले शिवरूद्र रूप नै छ |
यदि शैव सिद्धान्त र सम्प्रदायहरूको उत्पत्तिको इतिहास हेर्ने हो भने धेरैजसो “पहाड वा हिमालसंग” जोडिएको छ | कास्मिर, तमिलनाडु तथा नेपाल मूल शैव तीर्थ हुन् | बुद्धको आगमन भन्दा हजारौंवर्ष पहिला नै नेपालमा शिव अर्थात् रूद्रको उपासना हुन्थ्यो भन्ने निर्विवाद इतिहास छ | शक्ति र शिव संगै हुन्छन्, रूद्र र शक्तिमा वीचमा अभिन्न सम्वन्ध छ र शिवशक्तिकै लीला नै संसार हो भन्ने दार्शनिक मान्यता नेपाली देन हो जस्तो मलाई लाग्छ |
जव रूद्र वा शिवको कुरा हुन्छ, तेस बखत प्राकृतिक रूपमै शक्ति उपासनाको तत्थ्य पनि जोडिन्छ | वेदहरूमा शक्ति उपासनाका प्रसस्त उदहारण छन् | “उमा हैमवती” वैदिक शक्ति हुन् | पछि इनै शक्तिलाई देवी, चण्डी, चामुण्डा, दुर्गा, उमा आदि नामले सम्वोधन गरियो | नेपालका पहाडहरूमा “कोट”हरूले शक्ति आराधनाको प्रतिनिधित्व गर्छन् |
यसरी शिव र शक्तिको अनुपम आराधना स्थल नेपाल हो | मुख्यकुरा, बौद्ध र बोनहरूमा प्रचलित धेरैजसो तान्त्रिक पद्धतिमा आधारित क्रियाहरू “शाक्त तन्त्रबाट ग्रहण गरिएका हुन् | मन्त्र, तन्त्र तथा यन्त्रको समुचित प्रयोग शाक्ततन्त्रका प्राण हुन् |
केही वर्ष अगाडीसम्म नेपाली समाजमा महिलाको नामपछि “देवी” राख्ने चलन शाक्त परम्पराको उत्कर्ष हो भने सिद्धार्थ (बुद्ध) की आमाको नाम पनि माया देवी” शाक्त परम्पराकै निरन्तरता थियो | यो परम्परालाई जैन, बौद्ध,सहित वेदान्तीहरूले पनि स्वीकार गरेका छन् |
नेपाली समाजको सांस्कृतिक तथा धार्मिक परम्परालाई हेर्दा र बुझ्दा रुद्र र शाक्त परम्पराको बढी प्रभाव अनुभूत गर्न सकिन्छ | अहिंसक भएर पनि मासु खाने बौद्धहरू, “पशुबलि” स्वीकार्ने वैदिकहरू र राष्ट्रदेवका रूपमा पशुपतिलाई स्वीकार्ने परम्पराले नेपाली समाजको प्राकृतिक सम्वन्ध “शैव-शाक्त”संग जोडिएको प्रमाण दिन्छ |
तर नेपालको सम्वन्ध गाणपत्य, वैष्णव परम्परासंग छैन भन्ने मूर्खतापूर्ण सिद्धान्त मेरो लक्ष होइन | शिवसंग जोडिएको शान्ति र अहिंसा कसरी न्यून आँक्न सकिन्छ र ? चार नारायणहरूको अस्तित्वले वैष्णव परम्पराको जरोकिलो पनि नेपाल मै थियो कि भन्ने सुझाव त दिन्छ नै |