बौद्ध कि बुद्धिज्म ?
सिद्धार्थ गौतमले जन्म, मृत्यु, जरा तथा ब्याधिबाट मुक्ति प्राप्त गर्न साधना गरेरका थिए | दुख, दुखको उदय, दुखहरूको कारण र दुख निरोधको साधन – यी चारबटा सत्यको साक्षात्कार गरे | यो सत्यसाक्षात्कार गरेपछि उनी जीवनमुक्ति रहेर आफ्नो ज्ञानको प्रचारप्रसार गर्दै “बुद्ध” भए |
नि:सन्देह, सिद्धार्थ गौतमले बेदको अपौरुषेयतालाई अस्वीकार गरेका थिए तर उनीलाई अवैदिक भन्नु र अवैदिकका रूपमा प्रचारप्रसार गर्नु उचित होइन | बुद्धले आफ्ना देशनामा जताततै वैदिक, उपनिषदीय पद्धतिको उद्धरण दिएका छन् | निर्वाणलाई मोक्ष भन्दा फरक अवस्था हो भन्नु तार्किक तथा बौद्धिकरूपले ठीक होइन |
दलाई लामाको भारत निष्काशनपछि तिब्बतेली ब्रान्डको बौद्ध संस्कृतिलाई पश्चिमाहरूले आफ्नो स्वार्थपूर्तिका लागि “बुद्धिज्म”मा रुपान्तरित गरे | तेसपछि इसाई तथा साम्यवादीहरूले एसको व्यापारिकरण गर्न थाले | आज बौद्ध दर्शन बुझ्नेहरू भन्दा बुद्धिज्म बुझ्नेहरूको जगजगी छ |
बुद्ध, बुद्धा भएका छन्, मण्डल मण्डलामा रुपान्तरित भएको छ | बौद्धिकतहमा शास्त्रार्थ गरेर आफ्नो प्रभाव विस्तार गर्ने बौद्धवाद “हिन्दू देवीदेवता”हरूको आलोचना गर्न अभिप्रेरित भएको छ |
प्राचीन समयदेखि नै अस्वीकृत भएको बौद्ध थेरवाद अर्थात् बौद्धसम्प्रदायभित्रको प्रोस्टस्टेन्ट नेपाली समाजमा हावी हुँदै गइरहेको छ |
नेपालको मौलिक बज्रयानलाई तिब्बतेली ब्रान्डको (इसाईसंग तुलना गर्दा क्याथोलिक) महायान र थेरवाद दूबै मिलेर बज्रयानको तेजोवध गर्न लागि परिरहेका छन् | नेपाली साम्यवादीहरू यिनी असहिष्णु सम्प्रदायहरूको मतियार बनेर कट्टरपन्थी बुद्धिज्मलाई मलजल गरिरहेका छन् |
नेपाली परिवेशमा उपरोक्त ब्रान्डका बुद्धिज्मलाई महत्व दिनुको अर्थ हो प्रोस्टेस्टन्ट र क्याथोलिक सम्प्रदायसंग मिलेर नेपाल र नेपालीको मौलिकता (हिन्दू तथा बज्रयानी)हरूको जरोकिलो समाप्त पर्ने षडयन्त्रको मतियार बन्नु | मैले नेपाल र नेपाली संस्कृतिको रक्षा र विकासप्रति लागिपरिरहेका विद्वानहरूप्रति मेरो सम्मान छ | सबैलाई एकै घानमा हाल्नु उचित हुन्न |
नेपाली संस्कृतिलाई माया गर्नेहरूले बुझ्नुपर्छ कि जव बौद्ध-धर्म संस्कृतिमा पश्चिमावादको प्रभाव बढ्यो तव बौद्ध संस्कृतिका धेरैजसो धार्मिक र सांस्कृतिक ब्यबहारलाई “धर्मनिरपेक्ष”, मानवतावादी, माइन्डफुलनेसजस्ता शब्दहरू सृजना गरेर बौद्धसनातन परम्परालाई उसको मूलधारबाट अलगथलग पार्ने प्रयत्न बढ्यो | तथाकथित नेपाली साम्यवादीहरूले आफुलाई हिन्दू धर्म-संस्कृतिबाट अलग देखाउन बुद्धिस्ट देखाउने अभ्यास थालेका छन् |
असलमा, यो विधिले हिन्दू र बौद्ध बीचको प्राकृतिक समन्वय र सहकार्यलाई क्रमशः ध्वस्त पार्छ | नेपाली परम्परामा बौद्ध-हिन्दूहरू पूजाआजा, विवाहब्रतवन्धमा संस्कृत भाषाको प्रयोग हुन्छ र कर्मकाण्डमा पनि केही समानता भेटिन्छन् | अर्थात् बौद्ध सहकार्य, सहअस्तित्वमा विश्वास गर्छन् भने बुद्धिस्टहरू बुद्धिज्मको साँघुरो घेरामा विश्वास राख्छन् |
हामी नेपालीका लागि बौद्धहरूमात्र स्वीकार्य छन् तर बुद्धिज्मका विषयमा विचार पुर्याएर स्वीकार तथा अस्वीकारको विकल्प रोज्नुपर्ने हुन्छ |

