अग्निदहन पढेपछि

अग्निदहन पढेपछि

अग्निदहन पढेपछि

“जुन कुरासंग डर लाग्छ तेसैसंग नजिक हुन खोज्यो भने डर विस्तारै हराउंदै जान्छ | डर पनि कुकुर जस्तै हो डराएर भाग्यो भने झन् लखेट्छ | नडराईकन रोकिने हो भने रोकिन्छ” ( अग्निदहन, पेज ११५)
विज्ञानका विद्यार्थी, नेपाली भाषाका साधक लोकमणि पौडेलले लेखेको उपन्यास “अग्निदहन”को सारतत्वलाई मैले उपरोक्त भनाईमा बुझें | नेपाली जनजीवनमा आज पनि प्रचलित र स्वीकृत बोक्सी र झाँक्री परम्पराभित्र अनेकौं विकृति छन् | विकृतिले जन्माएका अन्धविश्वास र परम्पराले समाज पिडित छ | अग्निदहन अन्धविश्वास विरुद्धको बौद्धिक आन्दोलन हो |
तर आजको मनोविज्ञानले बोक्सी तथा झाँक्री प्रथाका सकारात्मक पक्षलाई मानवीय कल्याणका रूपमा अस्वीकार गरेको छैन | यदि मन्त्र, तन्त्र, यन्त्र वा प्रथाहरूले मान्छेको सोच-प्रणालीमा सकारात्मक विश्वास प्रवाहित गरेर मानसिक स्वास्थ्य असल बनाउन मदत गरिरहेको छ भने स्वीकार्य नै ठहर्छ | तेसको लागि बोक्सी वा झाँक्रीको अस्तित्व भन्दा पनि विश्वासको बढी महत्व हुन्छ |
उपन्यासले उठाएका घटनाहरू चरमअन्धविश्वाससंग जोडिएका छन् तर विज्ञानको आडमा हरेक कुरालाई अन्धविश्वासको गर्तमा झोक्नु उचित हुँदैन | आधुनिक विज्ञानको उदय नहुँदासम्म इनै विश्वास र परम्पराहरूले मान्छेमा जिउने विश्वास भरेका थिए | आज पनि एस प्रथाका सकारात्मक पक्षहरू अनुभव गर्ने धेरै छन् | बोक्सी/बोक्सोका नाममा फलाना व्यक्तिहरूप्रति समाजले गरेको दुर्ब्यवहार दण्डनीय हुनुपर्छ |
बोक्सी तथा झाँक्री (डर र अन्धविश्वासको पाटो हटाउने हो भने) नेपालको यो मौलिक परम्परा मानसिक उपचारको पद्यति (Boksi-Therapy, Jhankri Therapy) का रूपमा विश्वमा स्थापित हुनसक्छन् | हामी कति गहिरिए अनुसन्धान गर्न सक्छौं, फरक कुरा हो |
बोक्साबोक्सी बाहुन पुरुष वा महिला पनि हुन्छन् | अन्जलीको डर उसको उमेर भन्दा निकै बढी छ | अन्य पात्रहरू सुसंगत छन् | मेरो लागि यो उपन्यासको नाम “डरदहन” बढी उपयुक्त लाग्यो | अन्धविश्वासहरूमा रुल्मुलिएर डरालु जीवन विताइरहेका, अन्धविश्वासहरू विरुद्ध सङ्घर्ष गरिरहेका र डरमनोविज्ञानमा अभिरुचि राख्नेहरूले यो उपन्यास अवश्य पढून् |
गोरखा पब्लिकेशन्स प्रालि
मूल्य : ३२५ मात्र रहेको छ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *