वर्णाश्रमको आधुनिक स्वरूप
“गुण र कर्मको आधारमा मैले चार वर्ण र चारबटा आश्रमको सृष्टि गरेको हुँ भने हरेक प्राणी जन्मदा शूद्रसरह नै हुन्छन् र कर्म अर्थात् संस्कृत भएपछि द्वीज हुन्छन् भन्ने गीताकारको भनाई निकै युगजयी छ | यी बाक्यहरूले छुवाछुतको परम्परामा प्रहार गरेको छ | तेस बेला श्रीकृष्णका यी कथनहरू धेरैलाई अपाच्य भएका थिए होला भन्ने लाग्छ |
कुनै बखत सनातनिहरूले कठोर वर्णाश्रम ब्यबस्थाको पालन गर्थे | तेस बखत छुवाछुत, जातिपाति निकै प्रवल थिए | आजको नजरियाले हेर्दा तेस बखतको ब्यबस्था शोषणयुक्त देखिए पनि स्वीकार्य नै थियो | समाजले स्वीकार गरेको ब्यबस्थाको पक्षमा लेखिनु उचितै थियो |
समयले कोल्टे फेरेको छ | आजको समाज मनुस्मृति, नारदस्मृति, पराशर स्मृतिको ब्यबस्थाले चल्दैन | आज वर्णाश्रमको अवधारणा जीवित रहे पनि तेसको स्वरूप फेरिएको छ | साच्चिकै भन्नुपर्दा आज न वर्णब्यबस्था शुद्ध छ न आश्रम ब्यबस्था नै | तर कठोर कानुनी ब्यबस्थाले निषिद्ध गरिए पनि छुवाछुतजस्ता केही प्रचलनहरू जीवन्त छन् |
प्राचीन वर्णाश्रम ब्यबस्थालाई आजको आदर्श मान्ने हो भने तेसमा भएका गुणअवगुण दूबैको स्वामित्व लिनुपर्छ | ब्राह्मणहरू र सन्यासीले भिक्षा मागेर खानुपर्छ | सन्यासीहरू एउटा गाउँमा एक रात भन्दा बढी बस्न पाउने छैनन् | (वैश्य)ब्यापारीहरूले आफ्नो कमाईको १०% धार्मिक तथा समाज सेवाको लागि अनिवार्य छुट्याउनु पर्छ | शूद्रहरूले सेवा गर्नुपर्छ |
आज न उपरोक्त वर्णाश्रम ब्यबस्था बाध्यकारी छ न स्वीकार्य नै र न समयोचित र न्यायोचित नै छन् | एस्तो अवस्थामा प्राचीन वर्णाश्रम ब्यबस्थाको पक्षमा वकालत गर्नुको कुनै औचित्य छैन | वर्णाश्रमको आधुनिक ब्याख्या गर्दैमा त्यो नवीन हुँदैन | न विवादरहित नै हुन्छ | तेही भएर होला, धेरै विद्वानहरूले प्राचीन वर्णाश्रमको नवीनतम (मानवाधिकारवादी) ब्याख्या गर्ने थालेका छन् |
जसरी ब्याख्या गरे पनि प्राचीनतहको वर्णाश्रम फर्कन सक्दैन | तर सत्य केहो भने आज पनि विश्वको मानव समाज वर्णाश्रमको प्राकृतिक ब्यबस्था पालन गर्न बाध्य छ | हो, केवल मान्यता र स्वरूपमात्र फेरिएको हो | मान्यता वदलिंदैमा ब्यबस्था बदल्न सकिन्न भन्ने तत्थ्यको यो प्रमाण नै हो | केही व्यक्तिहरू प्राचीनकालको वर्णाश्रम ब्यबस्थालाई पुनस्थापित गर्न चाहन्छन् भने तिनको यो केवल दिवास्वप्न हो |
आज पनि ब्राह्मण अर्थात् पढ्ने/पढाउने, सामाजिक तथा धार्मिक कार्यको नेतृत्व गर्ने/गराउने तथा दान दिने र लिने समुदाय विश्वभरी छ | यो वर्गले केवल बौद्धिक परिश्रण गरेर जीवन यापन गर्छ | दोस्रो वर्ग हो क्षत्रीको | यो वर्ग पनि विश्वभरी छ – यसले अर्काको र आफ्नो सुरक्षा वा कठोर शारीरिक श्रम देखाएर आफ्नो सौर्यप्रदर्शन गर्छ | तेस्रो वर्ग ब्यापारी अर्थात् वैश्यहरूको हो जसले व्यापार गरेर आफ्नो जीवन यापन गरिरहेको छ |
चौथो र अन्तिम वर्ण शूद्र हो जुन आज पनि जस्ताको तस्तै विद्यमान छ र नोकरी-चाकरी गरेर जीवन यापन गर्छ | नेतृत्व गर्ने गुण हुँदैन | फरक एत्ति हो कि प्राचीन समयमा छुवाछुतआदि उंचनिचका ब्यबस्था थिए र आज तेस्तो उंचनीचको आधार सम्पत्तिले लिएको छ | भौतिक छुवाछुत हराउँदै जाँदा आर्थिक छुवाछुतको उदय भएको छ |
तेस्तै ब्रह्मचर्य आश्रमलाई आजको अनिवार्य रूपमा पढ्नु/लेख्नु पर्ने ब्यबस्थालाई पुनर्जीवित गरेको छ | प्राचीन आश्रम ब्यबस्थामा ५ देखि २५ वर्षको उमेरलाई पढ्ने/लेख्ने र सिक्ने अवस्थाका रूपमा स्थापित गरेको थियो जुन समयसापेक्ष रूपमा जीवित छंदैछ | गृहस्थाश्रमको ब्यबस्था आज पनि उस्तै छ | विवाह, पतिपत्नी, सन्तान, करियरआदिका रूपमा बुझ्ने गरिन्छ | गृहस्थआश्रम अझैं बलियो भएको छ |
वानप्रस्थ आश्रम उमेरको औं ५१ वर्षमा आरम्भ हुन्छ | आज पश्चिमाहरू ५० वर्षपछि रिटायर जीवन विताउँन चाहन्छन् | छोराछोरीले व्यापार-बिजनेश सम्हालेपछि घुमन्ते हुनुको विकल्प रहँदैन | नेपालमा भने यो अवस्था “छोराछोरी विदेशिएका ले निम्तिएको छ | हामीले प्राचीन आश्रमब्यबस्थाको अपहेलना गर्यौं तर समयले एकलवादी परिवार सृजित गरेर “बूढाबुढी”मात्र घरमा बस्ने वातावरण तयार परिरहेको छ | ठूलो परिवार हुँदैहुँदै, परिवारप्रति मोह हुँदाहुँदा पनि बूढाबूढीमात्र घरमा हुन्छन् |
सन्यास आश्रमको गाँठो अलि फरक छ | प्राचीनकालमा राजाहरू समेत ७०-७५को उमेरमा सन्यास ग्रहण गरेर जीवनको अन्तिम भाग विन्दास स्वतन्त्रता पूर्वक व्यतीत गर्थे र स्वेच्छाले आफ्नो मरण चुन्थे | तर आज सन्यास बाध्यकारी भएर उपस्थित भएको छ | घरपरिवारबाट परित्यक्त भएर वृद्धाश्रममा बस्नु के सन्यास होइन त ? प्राचीन सन्यासको मरण गौरवपूर्ण थियो भने अहिलेका सन्यासी (परिवारबाट परित्यक्त) को मरण दुखमय र वासनामय रहेको छ |
प्राचीनकालको विश्व छोटो थियो | एउटा संभ्यता, संस्कृति तथा धर्मले अर्को सभ्यता, धर्म वा संस्कृतिमा प्रभाव पार्न सारै गारो थियो र धेरै समय लाग्थ्यो | तर आज एउटा बटन थिच्ना साथ हामीले अर्कोलाई प्रभावित पार्न सक्छौं र प्रभावित हुनसक्छौं | वैदिक संस्कृतिले अवैदिक संस्कृतिलाई प्रभावित पारेको छ भने अवैदिक संस्कृतिको प्रभाव पनि वैदिक संस्कृतिमा परेकै छ | असल र खराव दूबै प्रकारका प्रभावहरू हामीभित्र छिरेका छन् |
फरक एत्ति हो कि पश्चिमाहरूले आफ्नो प्रभाव बडो विचार, योजना र विधिपूर्वक हामीमा छरिरहेका छन् भने हामी तेसका तुलनामा असंगठित छौँ | हामी आफ्ना असल कुराहरू खोज्नम व्यक्त गर्न र प्रचारप्रसार गर्न उदासीन छौँ | योग विश्वब्यापी हुनु पनि मेरा लागि त काकताली नै हो | वैदिक-बौद्ध जैन संस्कृतिका धेरै कुराहरू यही काकतालीमा विश्वब्यापी बन्न सफल भएका छन् |
अव हामीले अग्रसरता लिनुपर्छ | हामी’ले अत्यन्त आत्मविश्वासका साथ कमसल संस्कृति, विचार, ब्यबस्था छोड्नुपर्छ भने आफ्ना असल तत्थ्यहरू निर्धक्कसँग विश्वमा पस्किनुपर्छ | विदेशीका सबै कुरा ठीक र हाम्रा सबै खराव भन्नु र हाम्रा सबै असल र विदेशीहरूका सबै खराव भन्नु अतिवादीपन हो | एस्तो अतिवादी चिन्तनले हाम्रो हित गर्दैन |
वर्णाश्रम ब्यबस्था खाट्टी वैदिक सिद्धान्त निर्मित भएको हो | पश्चिमाहरूले एसको जरोकिलो कुनै पनि अवस्थामा बुझ्न सक्दैनन् | ब्रह्मचर्य होस् अथवा एकपत्नी वा एकपति (दम्पती) ब्यबस्था, सन्यासी जीवन होस् अथवा कामशास्त्रको निरपेक्ष प्रयोग नै किन नहोस्, पश्चिमा विद्वानहरूका लागि दुर्बोध्य विषय हुन् | तर घुमन्ते रमा (जिप्पी)हरूप्रति चरम अनुदार र जातिवादी ब्यबहार गर्ने पश्चिमा गोराहरूले नेपालमा भने छुवाछुतको नाममा मानवाधिकारको प्रश्न उठाउँछ | यो भन्दा चरम हास्यास्पद अरू के नै हुनसक्छ र !!
निश्चय नै, छुवाछुत आधुनिक समयानुकुल छैन | तर वर्णाश्रम ब्यबस्था भित्रबाट नै “छुवाछुत” समाप्त पार्ने प्रयत्न भैरहेको छ | यिनै वर्णाश्रमवादीहरूले नै अग्रसरता लिएर छुवाछुत विरोधी कानुन बनाएका छन् | छुवाछुत गर्ने/गराउनेलाई दण्डित गर्ने ब्यबस्था गरेका छन् | छुवाछुतको कुप्रथा विरुद्ध उत्रिएका सनातनिहरूको प्रयत्न नदेख्नेहरू डलरका दास हुन् भन्ने तत्थ्यमा विवाद छैन | साथै जेजति छुवाछुत जीवित छ, यो मानवता विरुद्ध छ भन्ने कुरामा पनि विवाद छैन |
नेपालमा छुवाछुत विरोधी आन्दोलनको आरम्भ जोसमनी सन्तहरूले गरेका हुन् | तर ती भन्दा अगाडी भक्तिवादीहरूले “हरि भजे सो हरिको होइ” भनेर भक्ति मार्गबाट र विश्व नै ब्रह्मको अभिव्यक्ति हो भन्दै वेदान्तिहरूले पनि छुवाछुतलाई निरुत्साहित गरेकै हुन् | साच्चिकै भन्ने हो भने जोसमनी, ज्ञानवादी र भक्तिवादीहरूले चलाएको छुवाछुत विरोधी आन्दोलनमा मान्छेको अपनत्व थियो भने पश्चिमाहरूले मानवाधिकारका नाममा चलाएको छुवाछुत विरोधी आन्दोलनमा चरमघृणावाद र जातिवाद विरुद्ध अर्को जातिवादको सृजना छ | एसले एकै ऋषिका सन्तानहरू वीच सधैंका लागि घृणाका वीऊ रोपेको छ |
हामीले साच्चिकैमा सहअस्तित्व, सहगमन र सहकार्यको पद्धति स्वीकार्नुपर्छ | प्राचीन कालका धेरै विषयवस्तु र ब्यबहारहरू त्याग्ने योग्य छन् | ती त्याग्नुपर्छ भने केही आधुनिक प्रचलन पनि अनुचित छन् ती छोड्न प्रतिबद्ध हुनुपर्छ | वैदिक वर्णाश्रम ब्यबस्था निर्विकल्प छ तर तेसमा रहेका अनुचित अभ्यासहरू निर्विकल्प त्याज्य छन् |
हामी उदार हुँदा विश्व परिवार बन्छ भने हामी अनुदार हुँदा विश्व अनुदार बन्छ | एसको अर्थ, अर्कोको लागि आफ्नो जरोकिलो काट्नेसम्मको त्याग निन्दनीय हुन्छ | आफ्नो पनि रक्षा गरौँ र अर्काको पनि रक्षा होस् – यही हाम्रो कामना हुनुपर्छ |

