अर्थववेदमा प्राप्त पाठ्यक्रम र गुरुकुल तथा स्कुल
अथर्ववेदमा जुन पाठ्यक्रमकोचर्चा गरेको छ, त्यो आजका प्राविधिक विद्यालयहरू भन्दा धेरै प्रगतिशील छन् पठनपाठनको पद्धति पनि प्रगतिशील नै छ | हो, समयक्रमले अहिले धेरै नया उपकरणहरू थपिएका छन् तर आधारभूतस्वरूपमा कुनै परिवर्तन आएको छैन |
अथर्ववेदमा पाक वा भोजन, वातावरण वा वर्षा, ब्रह्मचर्य, ग्राम-नगर निर्माण र संरक्षण, पारिवारिक संरक्षण, सामाजिक एकता, राजकर्म, युद्धकला, राज्य स्थापना र राज्य चयन, स्व-प्रायश्चित्त, कृषि, सफल गृहस्थाश्रम, औषधि विज्ञान, अरूलाई प्रभावित पार्ने कला, पानीको उपयोग, ब्यापार, ऋण-विमोचन (कर ब्यबस्था) अभिचार-निवारण, स्वास्थ्य जीवनशैली र यज्ञअनुष्ठानजस्ता सामाजिक, सांस्कृतिक र धार्मिक कर्मको ज्ञानजस्ता २९ विषयहरूको पाठ्यक्रम उल्लेख छ | यी सबै विषयको गुरुहरूले गुरुकुलमा आफ्ना शिष्यहरूलाई शिक्षा प्रदान गर्थे | (एस विषयमा छुट्टै रचना आउने छ)
पहिलो चरणमा यी विषयहरू बालबालिकाले नितान्त घोक्नु र कण्ठस्थ गर्नु पर्थ्यो | अर्थ ज्ञान नभए पनि सूत्ररूपमा “सिद्धान्त”को ज्ञान हुनै पर्थ्यो | आज पनि सूत्रहरू कण्ठस्थ गर्नुको विकल्प छैन | दोस्रो, चरणमा गुरूहरूले विषयअनुरुपको ब्यबहारिक शिक्षा दिन्थे | उदाहरणको लागि युद्धकलाका श्लोकहरू कण्ठस्थ गरेका विद्यार्थीले “एकआपसमा युद्धाभ्यास” गर्थे | खेतमा काम गर्थे, आफूभन्दा जुनियर वालबालिकालाई पाठको अभ्यास गराउथे |
माथिल्लोतहको विद्यार्थीले गुरुको निर्देशन र निगरानीमा तल्लोतहको विद्यार्थीलाई पाठअभ्यास गराउनु गुरुकुलको मुख्य अध्यापन प्रणाली हो | यही प्रणालीले आजका आधुनिक स्कुल र प्राचीन गुरुकुलको पठन-पठन पद्धति वीच भिन्नता स्थापित गर्छ | आधुनिक स्कुलहरू “जागिरे” गुरुमा निर्भर छन् भने प्राचीन गुरुकुल पद्धतिका विद्यालयमा प्रत्येक सिनियर विद्यार्थी जुनियर गुरू हुन्थ्यो |

