Govinda Sharan

वैकल्पिक राजनैतिक शक्तिको वहस

वैकल्पिक राजनैतिक शक्तिको वहस

फेरी नेपाली राजनैतिक आकाशमा एउटा रैथाने राजनैतिक शक्तिको बलियो आवश्यकताको वहस चुलिएको छ | २००७ देखि विद्वान राजनैतिक अग्रजहरूले विदेशमा विकसित भएका राजनैतिक चिन्तनहरूलाई आत्मसात गरेर नेपाल र नेपालीको लागि समयोचित र समाधानमूलक राजनैतिक परिवर्तन संस्थागत गर्ने प्रयत्न गर्नुभयो |
उहाहरूको नियत ठीक भए पनि आत्मसात गरेका राजनैतिक परिवर्तनहरू एकएकगरी असफल भए | निकै महत्वपूर्ण परिवर्तन ठानिएको गणतन्त्र पनि अजर-अमर हुनेछैन | विदेशमा जरो भएका राजनैतिक चिन्तनले नेपाल परिवर्तित हुँदैन भन्ने तत्थ्य उहाहरूले बुझ्न सक्नुभएको छैन | विश्वमा असफल र नेपाल मै पनि असफल भएको राजनैतिक दर्शनप्रति बर्तमान नेतृत्व किन मरिहत्ते गर्छ ?
स्वर्गीय राजा महेन्द्र, वी.पी. कोइराला, मदन भण्डारी र वर्तमान प्रम मा. ओलीजी, पुष्पकमलजी आदि नेतृत्वले नेपालमा केही गर्न खोजेको हो भन्ने नियतमा शंका गर्नुपर्दैन | तर उहाँहरूले प्रयोग गर्ने साधन नै कसल छन् | कमसल साधनहरू प्रयोग गरेर असल प्रतिफल प्राप्त गर्नसकिन्न | जुन लाइन र बाटोबाट उपरोक्त आदरणीय नेतृत्वहरू आउनुभएको छ, यी सबै असफल पथ हुन् | एस्तो असफल पथ भनेको राष्ट्रराज्य र बहुराष्ट्रिय अवधारणाबाट आरम्भ हुन्छ र नेपाली समाजको वस्तुगत यथार्थतासंग मेल नखाएपछि फेल हुन्छ |
आफ्नो देशले खेपिरहेको असफल राजनीतिको इतिहास खोतल्दा पिरलो लाग्छ | ज्यादै नकारात्मक भयो कि भनेजस्तो लाग्छ | तर इतिहास मीठो र भावनात्मक हुँदैन | नेपाल असफल राजनैतिक सिद्धान्तको प्रयोगशालामात्र भएको छ | हामी नै एसका साक्षी हौँ |
जानेर होस्नअथवा नजानेर नेपालका हरेक राजनैतिक परिवर्तनले दुईवटा कुरालाई बढी र महत्व दिएर संस्थागत गरेको सबैले अनुभव गरिरहेका छौँ – भ्रष्टाचार र कानुनी दुरुहता |
देशमा भ्रष्टाचार बढेको बढै छ भने तेसलाई नियन्त्रण गर्ने नाममा एकसेएक जटील कानुन निर्माण हुँदैछन् | जटील कानुन बनाएरमात्र भ्रष्टाचार नियन्त्रण गर्न नसकिने “केस” नेपाल बनेको छ |
सरकारले जतिधेरै नियमकानुन बनायो, जनतामा सरकारले काम गरिरहेको छ भन्ने भ्रम उत्पन्न हुन्छ | अनि, एस्तो भ्रमलाई राजनैतिक शक्ति बनाउन आंकडाहरू सहितका केही योजनाहरू सृजित गरिन्छन् | उदाहरणका लागि २६ वर्ष अगाडी आरम्भ गरिएको मेलम्चीलाई लिउँ | एउटा साधारण उद्योगी, ब्यापारी वा शिक्षकले सानो गल्ति गर्दा दण्डित गर्ने सरकारी तन्त्रले ५ वर्षमा सकिने भनिएको आयोजना २० बर्षढिलो हुँदा किन केही गर्दैन ?
उत्तर स्पस्ट छ – काठमाडौं उपत्यकाका जनतालाई पानी चाहिएको छ र जुन सुकै मूल्यमा !! अनि, म्याद थप, पैसा कमाउ | परियोजना सकियो भने एजेन्डा र दाम दुवै सकिन्छन् | हामी जनता रमाइला छौँ, घैटोमा पानी सकिएपछि जोरजोरले उफ्रिन्छौँ, विकल्पका लागि आतुर हुन्छौं तर आफ्नो घैटो भरिंदासाथ अरूतिर नफर्कि सुटुक्क घरभित्र छिर्छौँ |
नेपाली राजनैतिक चिन्तन (जानेर होस् वा नजानेर) दुरुहता निम्त्याएर भ्रष्टाचार नियन्त्रण गर्ने सपना देखाउंछ तर सबैजसो कानुनहरूको प्रयोग भ्रष्टाचार संस्थागत मै हुन्छन् | यही नेपाल र नेपालीको दुर्भाग्य बनेको | कुनै पार्टीलाइन नभएका वा पार्टीलाइनकै असलहरू कसरी सीमान्तीकृत पारिन्छन् भन्ने उदाहरण मैले दिनुपर्दैन |
पहिलो, कुनै राजनैतिक परिवर्तनले “मुखमा राम राम र बगलमा छुरी”को दोहोरो चरित्रमा अंकुश लगाउन सकेका छैनन् | हिजो भन्दा आज भ्रष्टाचार झन् बढी संस्थागत हुँदैछ | भ्रष्टाचारमा नियन्त्रण गर्नुहुँदैन भन्ने विषयमा सभ्य-सहमति छ | यी सबै भ्रष्टाचार गर्नुपर्छ भन्ने विषयमा सदाचारी छन् | यो चरित्र काकताली नभई संरक्षितरूपमा अगाडी बढिरहेको छ |
दोस्रो, कुनै पनि राज्यको पहिलो प्राथमिकता “सेवामा सरलता र सीघ्रता” हुनुपर्छ | २००७ सालपछिका हरेक सरकारले जनतालाई दिने सेवाहरूमा केवल जटिलतामात्र थपेका छन् | एउटा निकायले एउटा टेवलबाट गर्ने काम आज दसवटा टेवलबाट पनि हुँदैन | एउटा उद्योग नवीकरण गर्नु पर्यो भने ९ ठाउँमा जानुपर्छ | एस्तो जटिलता निम्त्याउनेहरूले जनतालाई सेवा होइन धोका दिइरहेका छन् |
एस्तो जटीलताले “भष्टाचार निवारण गर्न सरकार सक्रिय छ भन्ने भ्रम उत्पन्न गराएर भ्रष्टाचारलाई अझैं संस्थागत गर्ने काम गरिरहेको छ |” विदेशीहरूले जटिलतम कानुन निर्माण गर्न आर्थिक सहयोग गर्छन् | एसको उदेश्य स्पस्ट छ – भूमरीले सबै वस्तुलाई आफूतिर तानेर नचाउँछ |
एस्तो जटिलताबाट देश निक्सन सक्छ | तर आफुलाई माया नगरेर अर्को अर्थात् जनतालाई माया गर्ने राजनैतिक ब्यबस्था आत्मसात गर्ने राजनैतिक सिद्धान्त र पार्टीको आवश्यकता छ |
राज्यराष्ट्रको अवधारणासंग आएको र युवाहरूले नेतृत्व गर्ने भनिएको “जरोकिलो नेपाल मै भएको रैथाने शक्ति”ले के उपरोक्त भुमरीहरूलाई चिरेर राजनैतिक विकल्प दिन सक्ला ? यो प्रश्नको उत्तर सजिलो छैन | तर आत्मकेन्द्रीत तथा विदेशी चिन्तन र प्रभावमा विकसित तथा संचालित अन्य राजनैतिक शक्तिहरू भन्दा (जुन वाहिर बाट फरकफरक देखिन्छन् तर भित्र एकैप्रकारका छन्) यो फरक भएकोले आशाचाहिं गर्नुनैपर्छ |
राजनीति निस्वार्थ खेल हुँदैहोइन | तर राजनीतिमा स्वार्थको उपयोग अर्कोको लागि प्रयोग हुनुपर्छ भन्ने सैद्धान्तिक मान्यतामा आधारित छ | एस्तो मान्यता आजका राजनैतिकदलका लागि जनतालाई भावनाताम्करूपले ब्लाकमेलिंग गर्न प्रयोग भैरहेको छ | नाम जे होस्, कोट जस्तो होस् – ब्लाकमेलिंगको यो लिगलिगेमा असलहरू उठ्नै नसक्नेगरि थालिएका छन् | एस्तो विसन्चो जनताको मनभित्र पसेर “निराशा”का रूपमा विकसित भरहेको छ |
एकोहोरो रोइलोले देश, समाज र व्यक्ति आफ्नो पनि हित हुँदैन | सबैभन्दा महत्वपूर्ण कुरा हो – बलियो इच्छा शक्ति | नेपालमा चुनौतिका पहाड होलान् तर इमानदारी र सहअस्तित्वको बलियो इच्छाशक्तिले ती परिवर्तन संस्थागत गर्छ | दुईटा नाउँमा खुट्टा राखेर गण्डकी तर्न सकिन्न | विकल्पलाई निर्विकल्प शक्तिका रूपमा चुनावको बाटो रोज्नैपर्छ |
एकातिर दिगो र परिवर्तनशील विकल्प चाहिएको छ अर्कोतिर जनताहरू आफ्नो परम्परागत राजनैतिक शक्तिप्रतिको आस्था त्याग्न सकिरहेका छैनन् | प्रचलित दलहरूबाट परिवर्तन हुनैसक्दैन भन्ने जान्दाजान्दै पनि कातर भएर भोट त्यहीं प्रयोग गर्छन् | पुरानो पुस्तामा (उमेरले ३५ काटेका) एस्तो नैतिक उहापोह बढी छ | उनीहरू निर्णयमा आफ्नै मानसिक ब्ल्याक-मेलिंगले पिडित छन् |
नयापुस्ताहरू सरकारका लागि रेमिटेन्स ब्यांक हुन् | यो पुस्ता विदेशी भूमिमा मेहनत गर्छ र फुर्सदको बेला फेसबुकबाट नेपाल र नेपालीप्रति चिन्ता जाहेर गर्छ | बोर्डिंग स्कुलका उत्पादनहरू अमेरिका र बेलायत छिर्न आतुर छन्, उनीहरूलाई देश र जनताभन्दा व्यक्तिगत “करियर” महत्वपूर्ण छ | जरोकिलोका लागि यी दूबै असली “शक्ति” हुनसक्छन् |
स्वदेशीलाई प्राथमिकता दिने र असल विदेशीहरूलाई उपयोग गर्ने नीतिसहित आफ्ना विचारहरू प्रक्षेपण गरिरहेको “जरोकिलो” प्रचलित राजनैतिक शक्तिहरूका लागि चुनौति र जनताका लागि वलियो विकल्प बन्ने बलियो सम्भावना छंदैछ | तर आजका जनताको मनोविज्ञान बुझ्दा एउटा निर्विकल्प राजनैतिक शक्ति चाहिएको छ तेस्तो निर्विकल्प शक्ति “हामी बन्ने छौँ ” भन्ने परीक्षा जरोकिलोले उत्तीर्ण गर्नुकोचाहिं विकल्प छैन | उनीहरूका अगाडी निर्विकल्प नै एउटा विकल्प छ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *