दाम्पत्य जीवनका स्वर्ण सूत्र

दाम्पत्य जीवनका स्वर्ण सूत्र

दाम्पत्य जीवनका स्वर्ण सूत्र

(१) प्रेम देखाउने विषय होइन | ब्यबहारमा देखिने र अनुभूत हुने विषय हो | फिल्मी शैलीमा प्रकट गरिने सम्वोधन, एकअर्काले प्रदर्शन गर्ने प्रेमको आयु छोटो हुन्छ | एकआपसमा गाढा प्रेम भएका दम्पतिहरूले मौन रहेर एकअर्काप्रति प्रेम गर्छन् | सुखदुखमा सहयोगी बन्छन् | तेसै भएर प्राकृतिकरूपमा एकआपसमा प्रेम गर्ने दम्पतिहरूको प्रेम बाटोमा देखिन्न | उनीहरूको प्रेम, समर्पण तथा सहृदयता मौन हुन्छ |
(२) प्रेम मनको ब्यापार हो | एकआपसमा गाढा प्रेम भएका दम्पतिहरूले एकअर्कालाई होच्याउने गरी वोल्दैनन् | कथंचित मुखबाट होच्याउने शब्द निस्कीहाल्यो भने सहजरूपमा केही घण्टाभित्रै क्षमा माग्छन् | नारद भक्तिसूत्रले भन्छ “जव प्रेम बाहिर देखिन्छ, त्यो आत्मिक हुदैन | भावनात्मक अनुभूतिको यो स्तर भावनात्मक रूपमा मात्र बुझिन्छ |
(३) दम्पति जीवनलाई स्थाई राख्न चाहने पतिपत्नीले एकआपसमा सम्बोधन गर्दा आफ्नो धार्मिक, सामाजिक तथा सांस्कृतिक धरातलको मर्यादा पालन गर्छन् | एकान्तमा होस् वा सामुहिक रूपमा सम्बोधनको क्रम एउटा नै रहन्छ | तँ. तपाईं, तिमी, हजुरआदि सम्बोधनको प्रयोग कसैले घोकाएर होइन, आफ्नो सांस्कृतिक मर्यादाका आधारमा प्रयोग गर्छन् | सम्बोधन तेही हो जसले प्रेम वर्धन गर्छ |
(४) सेक्स दाम्पत्यजीवनको अनिवार्य पक्ष हो | विना प्रेम सेक्स हुन सक्छ तर एकआपसमा गाढा प्रेम गर्ने दम्पत्तिले एकअर्काको शरीरलाई जवजस्ती भोग्दैनन् | सहमतिको सेक्सले प्रेम बढ्छ | केवल वासनापूर्ती गर्ने सेक्सले दाम्पत्यजीवन जीवनमा दुर्घटना निम्त्याउँछ | विवाह जवरजस्ती सेक्स गर्ने लाइसेन्स कदापि होइन | विवाहलाई केवल सेक्स-अधिकारको रूपमा बुझ्नेको दाम्पत्य जीवन दिगो हुँदैन |
(५) दाम्पत्यजीवन विश्वासको जगमा उभिएको हुन्छ | हरेक स्वास्थ दम्पत्तिले एकअर्काउपर निर्विकल्प विश्वास गर्छन् | प्राकृतिक प्रेम भएका दम्पत्तिले सबै विषयमा खुलेर कुरा गर्छन् | अविश्वासको आयु छोटो हुन्छ, विश्वासको आयु लामो हुन्छ | स-साना विषयमा शंका गर्ने पतिपत्नीको दाम्पत्य जीवन सधैं अशान्त हुन्छ | एकआपसमा गहिरो विश्वास गर्ने दम्पतिको दाम्पत्य जीवन सधैं रमाइलो हुन्छ |
(६) दाम्पत्य जीवन दुई जना फरक-फरक लिंग र व्यक्तिको एकआपसको सहमतिले खडा भएको हुन्छ | फरकफरक मन भएका दुईजना मान्छेमा बैचारिक तथा ब्यबहारगत पार्थक्य हुनु स्वाभाविक हो | स्वास्थ्य प्रेम भएका दम्पत्तिले परिस्थितिअनुसार आगोपानीको महत्व बुझेका हुन्छन् | लोग्ने रिसाउँदा पत्नी मौन रहन्छिन् भने पत्नी रिसाउँदा पति शीतल बनेर पत्नीलाई पोखिन दिन्छ |
(७) पतिपत्नीमा कुनै प्रकारको पर्दा हुँदैन | लुकाउने ब्यबहार हुँदैन | गोप्य राख्न खोजिएको बुझेपछि तेस्तो गोप्यताको सम्मान गर्न तत्पर हुन्छन् | पार्दशिता स्वास्थ्य पतिपत्नीको प्रमुख गुण हुन्छ | एकआपसमा खुला कितावसरहको ब्यबहार गर्ने पतिपत्नीको जीवनमा ग्रहण लाग्नै सक्दैन |
(८) सुखी दम्पत्तिको महत्वपूर्ण पक्ष भनेको उनीहरूले हरेक काम एकआपसमा सरिक भएर गर्छन् | सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिक तथा घरायसी कामहरूमा एकअर्काको सहमति खोज्दछन् र एकअर्कालाई सहभागी गराउँछन् |
(९) स्वास्थ्य दम्पतिहरूले एकअर्काको कुरा ध्यान दिएर सुन्छन् | सुनेको र बुझेको कुरामा तार्किक वहस गर्छन् तर दोषारोपण गर्दैनन् | पति वा पत्नीले भनेको बोलेको विषय ध्यान दिएर सुन्नु र तेस विषयमा बडो सहृदयता पूर्वक क्रियाप्रतिक्रिया दिने दम्पत्तिहरूको दाम्पत्य जीवन सुखी हुन्छ |
(१०) प्रेम र हिंसामा प्रेम बलियो हुन्छ | प्रेमी दम्पत्तिले एकआपसमा मानसिक, वाचसिक तथा शारीरिक रूपमा कुनै प्रकारको हिंसा गर्दैनन् | प्रेम अरूलाई देखाउने विषय होइन | यो मानसिक संवेग हो | जुन सधैं सकारात्मक, सहयोगी तथा निष्काम हुन्छ | प्राकृतिक दम्पत्तिहरूको सम्बन्ध व्यापारिक हुँदैन | ब्यापारीहरू पार्टनरहरू हुन्छन् | दम्पत्तिहरू पार्टनर होइनन् | सहयात्री हुन् | सहयोगी हुन् | सहकर्मी हुन् | सबैभन्दा माथि, निस्वार्थ प्रेमी हुन् |
(११) धोका, घृणा, नकारात्मकता, अपारदर्शीपन, असहयोग, झूट, असम्वादआदि दाम्पत्य जीवनका शत्रु हुन् | कहिलेकाहीं मजाक, कहिलेकाहिं प्रेमकलह, कहिलेकाहिं सिकायत र कहिलेकाहिं मौनले प्रेम बढ्छ | दम्पत्तिको कलहले प्रेम बढ्नुपर्छ – यो सोचेर झगडा गर्ने दम्पत्तिहरू सधैं सुखी, खुसी र आजीवन दाम्पत्य जीवन प्राप्त गर्न सफल हुन्छ |
अन्त्यमा, विवाह दाम्पत्य जीवनको पहिलो सूत्राधार हो | विवाहले दुई विपरित लिंगी (महिला र पुरुष) दम्पत्ति बन्छन् | दम्पत्तिको अर्थ – घर, सम्पत्तिका साझा मालिक हो | ऋग्वेदमा १४ पटक दम्पत्ति शब्दको प्रयोग भएको छ भने अथर्ववेद ९ पटक | एसको अर्थ हो – वैदिक विधिबाट विवाह गरेर निर्मित भएको दाम्पत्यले पतिपत्नी अर्धनारीस्वर हुन्छन् भने केवल कामवासनापूर्तिका लागि विवाह गर्नेहरू सधैं “पार्टनर” हुन्छन् | पार्टनरसिपको आयु पूर्वनिश्चित हुन्छ | दाम्पत्य जीवनको कुनै आयु हुँदैन अर्थात् सधैंका लागि हुन्छ |
बाइबल, कुरान, जेन्दावस्ता सबैजसो धर्मग्रन्थले विवाह संस्थालाई महत्व दिनुको कारण बुझौं र मनन गरौँ | च्वाइस तपाईंको आफ्नो हातमा छ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *