यसरी विग्रन्छ दाम्पत्य जीवन !
संसार दम्पत्तिहरूले चलाएका छन् | दम्पत्तिको अभावमा कुनै पनि सांसारिक ब्यबहार चल्न सक्दैनन् | पश्चिमाहरूले समलिंगी विवाहलाई मान्यता दिएर प्रकृतिलाई चुनौती दिएका छन् | एसले प्राकृतिक दम्पत्तिको पुरुषार्थमा नकारात्मक प्रभाव पर्ने निश्चित छ | जव दम्पत्तिको मनमा नकारात्मक प्रभाव पर्छ, घर, परिवार, देश नै दुख्छ |
दाम्पत्य जीवनलाई सरल, सहज, पूर्ण, सुखी तथा प्राकृतिक राख्नका लागि न्यूनतम रुपमा हरेक दम्पत्तिले तललेखिएको ब्यबहार गर्नुहुँदैन | दाम्पत्य जीवनका शत्रु के हुन् ? भन्ने बुझ्नेहरू अन्यका तुलनामा सुखी हुन्छन्, अन्यका तुलनामा खुसी हुन्छन् |
(१) वैदिक दाम्पत्यको अर्थ नै भौतिक तथा आध्यात्मिक सम्पत्तिमा समान अधिकार हो | अग्निको सातपटक परिक्रमा गरेर गरिएको प्रतिज्ञा पतिपत्नी दूबैले पालन गर्नुपर्छ | सम्पत्तिमा केवल “मेरो अधिकार छ, सम्पत्तिका सवालमा मेरो एकल निर्णय हुनुपर्छ” भन्ने मान्यता बोक्नेहरूले दाम्पत्य जीवनमा सुखी राख्न सक्दैनन् |
(२) भोजन जीवनको सबैभन्दा महत्वपूर्ण कार्य हो | भोजन विना कुनै पनि प्राणी जीवित रहन सक्दैन | सहभोजनले परिवार, समाज र राष्ट्रहरू जोडिन्छन् | भोजनले घर निर्मित भएको हुन्छ | पकाएको भोजनको आलोचना गर्ने, संगै भोजनका वेलामा डिस्कस गर्ने, परिवारसंगै सहभोज न गर्ने र सधैं वाहिर भोजन गर्न रुचाउने, बाहिर भोजन गरेर आउनेहरूले आफ्नो दाम्पत्य जीवनको सुख, सम्मान र विश्वास गुमाउँदै जान्छन् | विना कारण सहभोजन त्याग्नेहरूको दाम्पत्य जीवनको आयु छोटो हुन्छ |
(३) कुनै पनि मान्छेले प्रसंसा तथा असल कामको अनुमोदन चाहन्छ | यो मान्छेको स्वभाव हो | पतिपत्नीमा कहिलेकाहिं मतभेद हुनु र तेसैकारणले केही मन मुटाव हुनु प्राकृतिक कुरा हो | स-साना मतभेदहरूलाई मुद्दा बनाएर एकअर्कालाई होचो देखाउने अवसर खोज्ने, बोल्नेहरूको दाम्पत्य जीवनको आयु लामो हुँदैन | पति वा पत्नीप्रति नकारात्मक सोच र टिप्पणी दाम्पत्य जीवनको शत्रु हो |
(४) हरेक दम्पत्तिले विवाहका वखत अग्नि साक्षी राखेर एकआपसमा सुखदुखमा साथ दिने र हरेक परिस्थितिमा वेवास्ता नगर्ने प्रतिज्ञा गरेका हुन्छन् | योजना बनाएर वा विना योजना एकअर्कालाई “वेवास्ता” गर्ने गराउने ब्यबहार र सोच दाम्पत्य जीवनको ठूलो शत्रु हो | एकअर्काको वास्ता नगर्ने दम्पत्तिहरूले आफ्नो ब्यबहारमा परिवर्तन गर्नैपर्छ |
(५) आफ्नो मात्र स्वार्थलाई प्राथमिकता दिने पति वा पत्नीको दाम्पत्य जीवनमा ग्रहण लागेको बुझ्नुपर्छ | स्वार्थ हरेक मान्छेको प्राकृतिक भाव हो तर केवल आफ्नो स्वार्थलाई महत्व दिनेहरूले आफ्नो दाम्पत्य जीवन खतरामा पार्छन् | एउटा दम्पत्तिले अतिस्वार्थीपन त्याग्नैपर्छ |
(६) विश्वास र अविश्वासमा निकै कम दूरी हुन्छ | विश्वासले दाम्पत्य जीवनलाई मधुर, सहयोगी, तथा स्थाई बनाउने काम गर्छ | दाम्पत्य जीवनको सबैभन्दा बलियो खाँवो नै विश्वास हो | एकआपसमा कुरा लुकाउने, कुराहरू चपाएर गर्ने, आफुले खोजेकै जवाफ पाउनुपर्ने हठ गर्ने र स-साना कुरामा पति वा पत्नी उपर शंका गर्नेहरूको दाम्पत्य जीवन सुखी हुँदैन | विश्वास गर्नुस्, अविश्वास दाम्पत्य जीवनको सबैभन्दा ठूलो शत्रु हो |
(७) सेक्स जीवनको सबैभन्दा यथार्थ हो | हामी सबैको शरीर सेक्सकै उत्पादन हो | सेक्स सबैभन्दा रमाईलो अनुभूति पनि हो | तर हरहमेशा सेक्स रुचिकर तथा रमाइलो हुँदैन | एकआपसी सहमति र स्वीकृति विना “जवर्जस्ती” गरिने सेक्स बलात्कार हो | यदि दाम्पत्य जीवनमा तपाईंले सेक्समा एकाधिकार ठान्नुहुन्छ भने दाम्पत्य जीवनलाई खतरामा पार्दैहुनुहुन्छ |
(८) अभिमान, स्वाभिमान, अहंकार यी सबै मान्छेमा हुन्छ | तर यदि दम्पत्ति भएर हामीमा अभिमान छ, आफ्नो अभिमान पूर्तिका लागि अर्कालाई अपमानित गर्ने, नीचो देखाउने र “झार्ने” काम गर्दा सुख मिल्न थालेको छ भने हाम्रो दाम्पत्य जीवनको आयु छोटो हुँदैछ | आफ्नो अहंकारमा रमाउनेहरूले दाम्पत्य जीवन गुमाउनु पर्ने हुन्छ |
(९) सन्तान र परिवार दम्पत्तिका साझा सरोकारका विषय हुन् | सांस्कृतिक, धार्मिक, न्यायिक तथा सांस्कृतिक तवरले पारिवारिक दायित्वहरू तय भएका हुन्छन् | छोराछोरीप्रति पतिपत्नीको समान दायित्व हुन्छ | परिवार तथा सन्तानप्रतिको दायित्वप्रति उदासीनताले दाम्पत्य जीवनलाई कमजोर बनाउँछ | सन्तान तथा परिवारको दायित्वबाट पन्छिने वा एउटाको काँधमा बोकाउन प्रयत्न गर्नेहरूको दाम्पत्य जीवन असफलतातिर उन्मुख हुन्छ |
(१०) हरेक दम्पत्तिको जीवन सरल तथा सहज हुनुपर्छ | फिल्मीशैलीमा प्रेम जाहेर गर्ने, आवश्यकता भन्दा प्रेम देखाउने वा केयर गर्नेहरूको दाम्पत्य जीवनसहज हुँदैन | स्वास्थ्य दम्पत्तिहरूको प्रेम सेलेब्रेटी हुँदैन | उनीहरूको प्रेम झगडामा समेत प्रकट हुन्छ | हरहमेशा हामी “बरावर हौँ” भन्ने भावनाले दाम्पत्य जीवनको मधुरता र समर्पणलाई कमजोर बनाउँछ | एस्ता दम्पत्तिहरू सधैं स-सानो कुरामा कम्प्लेन गर्छन् | सधैं एकअर्काप्रति कम्प्लेन गर्नेहरूको दाम्पत्य जीवन सहज हुँदैन |
(११) धेरै मान्छेहरू अर्काको कुरा सुन्छन् वा सुनिएको कुराको परीक्षा गर्दैनन् | अरूतिर सुनेको. लेखेको वा देखेको आधारमा “आफ्नो निर्णय” लाद्ने गर्छन् | अरूको कुरा सुनेर “पति वा पत्नी”प्रति धारणा बनाउनेहरूको दाम्पत्य जीवन सधैं असजिलो अवस्थामा हुन्छ | आलोचनाले दाम्पत्य जीवन कमजोर हुन्छ | समालोचनाले दाम्पत्य जीवनलाई अझैं बलियो, विश्वसनीय हुन्छ | तेस्रो ठाउँमा एकअर्काको कुरा काट्ने “दम्पत्ति”को दाम्पत्य जीवन असजिलो हुन्छ |
(१२) हिंसा कसैलाई मन पर्दैन | हिंसाले कसैको भलो पनि गर्दैन | शारीरिक तथा मानसिक हिंसामा विश्वास गर्ने र एकआपसमा हिंसा गर्ने/गराउनेहरूको दाम्पत्य जीवनको आयु छोटो हुन्छ | पतिपत्नीका वीचको दाम्पत्य जीवनको सबैभन्दा ठूलो शत्रु शारीरिक तथा मानसिक हिँसा हो | एकपटक शारीरिक तथा मानसिक रूपमा हिंसा गरेका दम्पत्तिहरूको दाम्पत्य जीवनमा पीडा, दुख, अविश्वासका गाँठाहरू हुन्छन् |
(१३) नकारात्मक बोली, शंका गर्ने वानी, सधैं मान खोज्ने स्वभाव, अधिकार मात्र खोज्ने प्रबृत्ति, हरेक कुरामा कमेन्ट गर्ने, अनावश्यक कुरामा शंका गर्ने, निहुँ खोज्ने, विनाकारण सह-भोजन त्याग्ने, सेक्सलाई मात्र महत्वपूर्ण ठान्ने, सामाजिक रूपमा आफ्नो स्थान माथिल्लो हो भन्ने विचार राख्ने, आर्थिक कुरामा सहकार्य नगर्ने तथा परिवार तथा पारिवारिक दायित्वप्रति उदासीनता देखाउने र लागुपदार्थको व्यसनले दाम्पत्य जीवनलाई नकारात्मक असर पार्छ | यी वानी छोड्न आफैले पहल गर्नुपर्छ |
अन्त्यमा, दाम्पत्य जीवनकोको प्रथमआधार एकआपसी विश्वास हो | समालोचना हो | सहभोज हो | सहयोग हो | एकआपसी सहकार्य हो | दम्पत्तिहरूले हरेक विषयमा “खुलेर” कुरा गर्छन् | जीवनमा आइपरेका समस्यालाई संगै समाधानगर्नमा विश्वास गर्छन् | पतिपत्नीले सधैं याद राख्नुपर्छ – हामी पार्टनर होइनौं हामी दम्पत्ति हौँ |

