भगवान् धन्वन्तरी र आयुर्वेद

भगवान् धन्वन्तरी र आयुर्वेद

भगवान् धन्वन्तरी र आयुर्वेद

विक्रम सम्वंत २०३४ सालमा तत्कालीन श्री ५ को सरकारले आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको हुलाक टिकट छापेर टाँचा लगायो | आयुर्वेदका गुरूहरू, प्रयोगकर्ता, विद्यार्थी तथा वैद्यहरुको (आज भोली डाक्टर भन्न बढी मन पराउँछन्) लागि निकै गर्वको विषय हुनुपर्छ |
श्रीमद्भागवतको अष्टम स्कन्धको आठौँ अध्यायको प्रसंग अनुसार धन्वन्तरी समुद्र मन्थनको क्रममा प्रकट भएका हुन् | उनी प्रकट हुँदा उनको दाहिने हातमा जीवनधारीलाई अमर बनाउने अमृतको कलश थियो | उनी भगवान् विष्णुका अवतार मानिन्छन् |
आयुर्वेदकाअनुसार भगवान् धन्वन्तरी आयुर्वेदका प्रवर्तक हुन् | ऋग्वेदमा धन्वन्तरी र अश्विनी कुमार यी दुई देवताका वैद्यहरूको खुव चर्चा गरिएको छ | चरकआदि सबैजसो प्रसिद्ध आयुर्वेदाचार्यहरूले भगवान् भगवान् धन्वन्तरीको सम्झना गरेका छन् |
हिजो भगवान् धन्वन्तरी प्रकट भएको तिथी थियो | पक्कै पनि केही आयुर्वेदका कलेजहरूले उहाँलाई सम्झे होलान् | तर नेपाल सरकारले घोषित रूपमा कुनै बक्तब्य दिएको, कार्यक्रम गरेको वा कुनै पनि मिडियाहरूले एस विषय को उठान गरेको सुनिएन, देखिएन |
मान्छे मर्न चाहन्न | तर रोग र मृत्युलाई उसले रोक्न सक्दैन | रोग र मृत्युलाई जित्ने प्रवल इच्छाले आयुर्वेद जन्माएको हो | अमृतको परिकल्पना पनि मृत्युको डरले निम्त्याएको हो | वेद, उपनिषद तथा पूराणहरूमा अमृतको खुवै चर्चा परिचर्चा भएको छ | अजम्वरी बूटीको पनि चर्चा छ | तै पनि आजसम्म कुनै पनि अजरअमर भेटिएको छैन | तर आयुर्वेद, एलोपेथि, युनानीआदि औषधि वैज्ञानिकहरू मान्छेलाई रोग र मृत्यु मुक्त गर्न प्रयत्नशील छन् |
रामायणकाअनुसार घाइते भएका लक्ष्मणलाई जोगाउन हनुमानले संजिवनी बूटी खोज्न नेपालको हिमाली भागमा आएका थिए | बूटी चिन्न नसकेकोले पहाड नै बोकेर लगे र लक्ष्मणको ज्यान जोगियो | यो प्रसंग निरापद छैन | हनुमानले पहाड बोके कि बोकेनन् यो विवादको विषय होला तर हिमालमा अमर बूटी खोजेको कुरा सत्य हो |
हनुमानको कथाले नेपाल रामायणकालदेखि नै आयुर्वेदको केन्द्र रहेको भन्ने स्पस्ट छ | नेपालको भौगोलिक बनावट नै जडिबुटीहरूको लागि अनुकुल भएकोले आयुर्वेदको केन्द्र नेपाल हुन्छ | सर्वोच्च हिमाल र सबैभन्दा तल्ल्तो भूभागमा पाइने जडिबुटी नेपालमा मात्र सम्भव छन् |
मेरो स्पस्ट मान्यता छ – नेपालले विश्वमा निर्यात गर्न सक्ने विषयवस्तुमा ज्ञान र आयुर्वेद (जडिबुटी) नै हुन् | हामीले विज्ञान (भौतिक) निर्यात गर्न सक्दैनौ तर विज्ञान अर्थात् प्राचीन ऋषिमुनिको ज्ञानमा आधारित सिद्धान्त तथा ब्यबहारहरू निर्विध्न निर्यात गर्न मिल्छ | मैले केही नेपाली आयुर्वेदाचार्यहरूलाई चिनेको छु, जसले विदेशमा नेपालको आयुर्वेदको लागि काम गरेर दाम र नाम कमाउनु भएको छ |
सनातन हिन्दू धर्म संस्कृतिको जरोकिलोका रूपमा रहेका भगवान् धन्वन्तरीप्रति हाम्रो भक्ति केवल आयुर्वेदको विकासमा ध्यान दिएर स्थापित गर्नुपर्छ | म आयुर्वेदको विद्यार्थी होइन तर प्रकृतिका जडिबुटीहरूमा प्राणीलाई अमर बनाउने क्षमता छ भन्ने विश्वास गर्छु |
नेपालको सबैभन्दा पुरानो आयुर्वेदको निकाय “सिंहदरवार वैद्य खाना” हो | राणाकालदेखि नै एसले आयुर्वेदको क्षेत्रमा काम गरिरहेको छ | राजनैतिक उपेक्षा र चलखेलका कारण कहिले तन्ग्रिन्छ त कहिले रोगी हुन्छ भन्ने कुरा सुन्दै आएको छु | अहिले पनि वैद्यखानाका औषधिहरू उम्दा मानिन्छन् | केही वर्ष अगाडी प्राचीन आयुर्वेदको संग्रह “चन्द्र निघंटू” प्रकाशित गरेको छ जसमा नेपालमा पाइने जडिबुटीको सचित्र वर्णन गरिएको छ |
मैलेझैं विश्वास गर्ने धेरै नेपाली र विदेशी छन् | नेपाली आयुर्वेद क्याम्पसहरूले अव नेपाललाई केन्द्र बनाएर आयुर्वेदको अनुसन्धानमा ध्यान दिनुपर्छ | हाम्रा प्रोडक्टहरू एतिविध्न विश्वनीय हुनुपर्छ कि “नेपाल” लेखेको देखेपछि बिक्नुपर्छ | र जडिबुटीको क्षेत्रमा यो सम्भावना छ | यो सम्भावनालाई मूर्तरूप दिने काम नेपाली आयुर्वेदाचार्यहरूले गर्नुपर्छ भने सरकारी तथा गैरसरकारी निकायहरूले उनीहरूलाई आर्थिक लगानी गरेर अनुसन्धानमा सघाउनु पर्छ | अवको आयुर्वेद टपरटुइया पाराले चल्नेवाल छैन |
नेपालमा आयुर्वेदले धेरैको जीवन धानेको छ | यो असाध्ये राम्रो कुरा हो | अनुसन्धानका आधारमा औषधि निर्माण गर्ने थोरै कम्पनिहरू छन् | जरोकिलो प्रतिष्ठान नेपालजस्ता केही संस्थाहरूले आयुर्वेदमा अनुसन्धान गर्नुपर्छ भन्ने आवाज उठाइरहेका छन् र स्वदेशी लगानीमा मात्र आयुर्वेदको प्रवर्धन गर्नुपर्छ भनिरहेका छन् |
अन्त्यमा, आयुर्वेदका औषधिहरूले साइड- इफेक्ट गर्दैन भनेर आफै औषधि किनेर खाने वानी गर्नुहुँदैन | हरेक औषधिमा औषधिजन्य गुण हुन्छ र तेस गुणको प्रभावले रोग निको हुन्छ | रोग निको हुनुनै इफेक्ट हो | वैद्यराजबाट रोग परीक्षण गराएर मात्र औषधि सेवन गर्नुपर्छ | एलोपेथिक औषधिझैँ एसको प्रभावकारिता तुरुन्त नदेखिने हुँदा केहीधैर्यतापूर्वक निरन्तर औषधि सेवन गर्नुपर्छ | आत्तिनु हुँदैन र मात्राहरू सही तवरके सेवन गर्नुपर्छ |
औषधिको सेवन रोग लागेपछि गरिन्छ | नियमित ब्यायाम, सात्विक आहार र शरीरले सक्ने काम गरेर निरोगी रहन सकिन्छ | कत्तिपनि ब्यायाम नगर्ने, जथाभावी खाने र जथाभावी यौनाचार गर्नेहरू बढी रोगी हुन्छन् | निरोगी जीवनका लागि असल आचरणको पालना गर्नुपर्छ – विना शर्त |
प्रत्येक पटक औषधि सेवन गर्दा ( जुन सुकै औषधि) भगवान् धन्वन्तरीको मन्त्र जपेर निल्नुहोला | मन्त्र फोटोमा छ, जुन मैले नेटबाट साभार गरेको हुँ | भगवान धन्वन्तरीले हामी सबै नेपालीको कल्याण गरुन् |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *