बोन अर्थात् बोन्पो धर्मको संक्षिप्त परिचय
१. वोन वा बोन्पो धर्मको परिचय
बोन, बोन्पो वा नेपालको डोल्पाको हिमाली भेकमा विकसित भई तिब्बत, भारतको लद्दाख, अफगानिस्तान र नेपालका अन्य भूभागमा फैलिएको प्राचीन धार्मिक, सांस्कृतिक तथा सामाजिक मान्यता हो | सनातन धर्मझैं एस पन्थको संस्थापक, संस्थापकको नाम र समय आदि अज्ञात छन् | महायानवादी बौद्ध-सम्प्रदायसंग पूजाआजाको पद्धति, लवाई-खवाई तथा रहन-सहन उस्तै देखिने हुनाले केही विद्वानहरूले एस सम्प्रदायलाई बौद्ध धर्मकै विचलनक रुपमा ब्याख्या गरेका छन् | स्वयं बोनहरूले भने आफु बौद्धवाट फरक भएकोमा विश्वास गर्छन् |
नेपालका हिमाली भेकमा बौद्ध धर्मको विकास हुनुभन्दापहिला बोन संस्कार प्रचलित थियो भन्ने विश्वास पनि गरिन्छ | न्यादरल्याण्डका विद्वान साम भन साइकले आफ्नो खोजमा भनेका छन् “तिब्बतमा बौद्धहरूको प्रभाव बलियो हुँदै जाँदा बोनहरू निकै कमजोर भएका थिए तर ११ रौँ शताब्दितिर एसको पुन: पुनर्जागर आरम्भ भएको थियो |” तिब्बती बौद्ध सम्प्रदायहरूमा प्रचलित अति तान्त्रिकताको पद्धति नै बोन्पो-सम्प्रदायको देन हो भन्नेहरू पनि धेरै छन् | उही महायान नेपालको काठमाडौँ उपत्यकामा फरक तवरले ब्यबहार गरिन्छ भने तिब्बतेलीहरूको तान्त्रिक विधि यहाँ भन्दा निकै फरक छ |
२. बोन्पो धर्मको उद्भव र विकास
मैले अगाडी नै भने कि बोन्पो धर्मको संस्थापक को थिए र यो कुन ठाउंबाट आरम्भ भयो ? भन्ने विषयमा धेरै अन्योल छ | तर पनि नेपालको डोल्पामा बोन-सम्प्रदायका प्राचीनतम मठ (गोम्पा) भएको नाताले नेपालबाट नै यो सम्प्रदायको आरम्भ भएको भन्न मिल्छ | केही इतिहासकारहरूले बोन्पो सम्प्रदायको अस्तित्व ई.पू. १६०० वर्ष पूर्वनै रहेको भन्ने छ | यो अनुमान ठिकै होला भन्ने मैले ठानेको छु किनभने तिब्बतेली बौद्धसम्प्रदायहरूको भेषभूसा, पूजाशैली र खानपीनमा भारतीयशैलीको कुनै प्रभाव छैन | हिमाली शैली नै तेहा राइछाई छ | तैपनि १४धौ शताब्दिका तिब्बतेली “लादेन न्याग्पो”ले बोन्पोमतको पुन: विवेचना गरेका हुन् |
म्हडो डस, जेर-मिंग, जी-ब्रि – यी तीन बोनशास्त्रहरूले टोन्पा सिन्मेव मिवोचेको (युनद्रोम्ग बोन) गाथा गाएका छन् | चौधो शताब्दिसम्म टोन्पा सिन्मेव मिवोचेका कथाहरू मौखिक रूपमा मात्रै जीवित थिए | लादेन न्याग्पोले यी गाथाहरू लेख्न लगाए | लादेन न्याग्पोलाई टोम्पाका अवतारका रूपमा सम्झना गरिन्छ | गाथाअनुसार टोन्पा सिन्मेव मिवेच एउटा अद्भूत सन्त थिए | उनको जन्म नौवटा पहाडका वीचमा भएको थियो | सम्भवत: यी पहाडहरू कैलास-मानसरोवर कै आसपास हुनुपर्छ |
उनले “नव-स्वस्तिक”लाई विश्वको आधारभूत तत्वका रूपमा स्वीकार गरेर जीव-हिंसामा लीन तिब्बतेली समाजलाई “जौबाट निर्मित पशुहरूको बलिदान दिने” ब्यबस्था गरे | बोन-सम्प्रदायमा कैलाश पर्वतको निकै आदर र सम्मान छ | यसरी, बोन धर्मका संस्थापक टोम्पा मिबोचे भएको, पूजाआजामा अत्याधिक पशुहरूको बलिदान दिने तत्कालीन सांस्कृतिक परम्पराको सुधारक भएको र नव-स्वस्तिकको उपासनाले निर्वाणप्राप्त गर्न सकिने मान्यता स्थापित गरेको भन्न मिल्छ | साथै, टोम्पो मीवोचे बुद्ध भन्दा निकै प्राचीन रहेको सिद्ध हुन्छ र तेसबेला भारतीय उपमहाद्विपमा मात्र होइन कर्मकाण्ड गर्दा अत्यधिक पशुबलि दिने प्रथा तिब्बेतेली वा हिमाली समाजमा पनि थियो भन्ने बुझिन्छ | टोम्पो महावीर र सिद्धार्थ भन्दा पनि पूर्ववर्ति रहेछन् भन्ने तत्थ्य “पशुबली”को विकल्प दिनाले बुझिन्छ |
केही विद्वानहरूले बोन धर्मको विकास चिनिया दार्शनिक लाओत्सेबाट भएको भन्ने मत प्रकट गरेका छन् भने केहीले बोन्पोको विकासमा कश्मिरी शैवदर्शनको प्रभाव रहेको जिकिर गरेका छन् | अन्य केहीले “बोन्पोको विकास महायान बौद्ध सम्प्रदायबाट नै भएको तर आरम्भकर्ताले प्राचीन बोन्पो परम्पराको स्रोतलाई प्रयोग गरेको” भन्ने रहेको छ | तर परम्परागत बोन्पोहरू बौद्धबाट बोन्पोको विकास भएको कुरा स्वीकारदैनन् |
तत्कालीन तिब्बतमा निग्मापा, काग्युपा, शाक्यपा, गोलुपा यी चारबटा बौद्ध सम्प्रदायहरूका वीच निकै हिंसक झडपहरू हुन्थे | मेरो विचारमा बोन्पोका अनुयायीहरू उपरोक्त बौद्ध-सम्प्रदायहरूबाट हिंसामा पर्थे | पछि, सामुहिक हिंसाबाट जोगिन बौद्ध-सम्प्रदायका केही आवरणहरू स्वीकार गरेको हुनुपर्छ | मुस्लिम भारतमा पनि मुस्लिमहरूको अत्याचारबाट जोगिन केही हिन्दू धार्मिक सम्प्रदायहरूले यही विधि अपनाएको देखिन्छ |
३. धार्मिक तथा दार्शनिक विश्वास
बोन मूलतः प्रकृति पूजक सम्प्रदाय हो | प्रकृति पूजामा पनि दैविकशक्तिहरूको आराधना गरिने कुरा हामी नेपालीहरूको लागि नौलो होइन | मूलमा बोन सम्प्रदाय “द्वैत-ईश्वर”वादी थियो भनिन्छ | द्वैत-ईश्वरवादको अर्थ हो – यो संसारको सृष्टि “पुरुष र महिला” ईश्वरहरूबाट भएको हो | यदि बौद्ध-परम्परामा रहेको तान्त्रिकता बोनबाट ग्रहण गरिएको हो भने बोन बहुदेववादी धार्मिक आस्था हो | बोन गोप्पाहरूमा बौद्ध गुरूहरूझैं देखिने टोम्पो, लादेन ग्याम्पो र सूर्य, नदी, अन्य स्वर्गीय र सुख, दुख, रक्षा, रोगमुक्तिआदिका देवताहरूको खुवै आराधना गरिन्छ | भन्नलाई बौद्धझैं निरीश्वरवादी हुन् तर ब्यबहारमा चरम बहुदेववादी हुन् |
बोन्पोहरूको आराधनास्थललाई गोम्पा नै भन्ने गरिन्छ | झ्वाट्ट हेर्दा यी बौद्ध गोम्पाझैं देखिन्छन् तर पूजाआजा र परिक्रमाको शैली नितान्त फरक हुन्छ | बोन्पोका अनुसार हरेक मोक्षकामी व्यक्तिले नौप्रकारको आर्यपथ पालन गर्नुपर्छ – (१) विश्वास फ्यावा गेसेन थेग्पा अर्थात् असल कार्यको भविष्यवाणीमा विश्वास (२) स्नाग गेसेन थेग्पा अर्थात् संसारलाई जस्ताको तस्तै बुझ्ने (३) फ्रुल गेसेन थेग्पा अर्थात् मानिसकरूपमा सचेत रहने (४) स्रिड गेसेन थेग्पा अर्थात् आफन्तको कल्याणको लागि अन्त्य संस्कार गर्ने (५) द्गने बेसेन थेग्पा अर्थात् सम्पूर्ण कार्यहरू मिलेर सम्पादन गर्ने (६) द्रंग-स्नाग थेग्पा गुरूको आज्ञा र गोम्पाका नियमहरुको आदर गर्ने (७) अड़कर थेग्पा अर्थात् आध्यात्मिक ध्वनि (ॐकार) मा विश्वास गर्ने (८)ए-गेसेन गेसेन थेग्पा अर्थात् आध्यात्मिक रूपमा सिद्ध गुरुहरूको अस्तित्वमा विश्वास गर्ने र (९) ब्लामेड थेग्पा अर्थात् हरेक व्यक्तिले पूर्णता प्राप्त गर्छ, मोक्ष प्राप्त गर्छ भन्ने सिद्धान्तमा श्रद्धा राख्ने | यी सबै साधनाहरू टोम्पा अर्थात् गुरू, शास्त्र र गोम्पाको प्रत्यक्ष निगरानीमा तान्त्रिक विधिबाट प्राप्त हुन्छ |
ध्यान, पूजाआजामा युम,ल्हा, सीपा र टोम्पा अर्थात् गुरूको निकै सम्मान हुन्छ | सम्पूर्ण पुजाआजामा पुरुष र स्त्री तन्त्रको प्रयोग हुन्छ | यी देवी-देवताहरू बिभिन्न स्वरूप र जिउडालका हुन्छन् | यी देवीदेवताको आराधना गर्नुको मूलकारणचाहिं मोक्षप्राप्तिको मार्गमा सहयोग प्राप्त गर्नु हो |
४. नेपालमा बोन सम्प्रदाय
नेपालमा बोन सम्प्रदायको मूलथलो हिमाली जिल्ला डोल्पा हो | डोल्पा जिल्लाको नाम नै बोन वा बोन्पोबाट लिएको हुनुपर्छ जुन अपभ्रंस भएर डोल्पो वा डोल्पा बनेको हो कि ? जेहोस्, डोल्पामा हाल ८ बटा ठूला गुम्वाहरू जसमा युंग द्रुंग, सुंग त्शल ग्रिंग, डार्यांग फुंग, यांग द्रोंग, विजेर गाउँको साम ग्लिंग, रिन्गो गाउँमा रहेको था श्रुंग गुम्वा, पुग्मो गाउँमा रहेको पुग्मो स्पुमेर मंदिरआदि बोन धर्मका प्रमुख पूजास्थल हुन् | यी गुम्वाहरू निकै पुराना र नेपालको रैथाने धर्म-संस्कृतिका धरोहर हुन् | यी गुम्वाहरू मध्ये केही गुम्वाहरूमा आज पनि वैदिकविधिले पूजाआजा हुने कुरा मैले सुनेको छु | यदि यो सत्य हो भने डोल्पाका गुम्वाहरू वैदिक र बोन धर्मका मिलन केन्द्र हुन् | एस विषयमा खोज-अनुसन्धान हुन आवश्यक छ |
नेपालमा बोन सम्प्रदायको प्रभाव निकै ब्यापक रहेको छ | बाहुनक्षेत्रीमा वा नेपालका अन्य जातजातिमा प्रचलित मस्टो पूजा होस्, धामीझाक्रीको प्रचलन नै किन नहोस् – बोन-सम्प्रदायको प्रभाव हो भनिन्छ | पश्चिमी नेपालको प्रमुख जाति गुरुङहरूका केही अगुवाहरूले आफ्नो मूलधर्म नै “बोन” रहेको भन्ने विश्वास गर्छन् | केही गुरुङ समुदायहरूले क्लेहेप्री निर्मित गरेर पूजाआराधना गरिरहेका छन् | पच्युँ, बोन्पो र क्लेहेप्री बोन धर्मका पुरोहित हुन् । त्यस्तै ज्योतिष शास्त्रको काम गर्नेलाई चाहिँ पैंडी भनिन्छ |
५. विदेशमा बोन सम्प्रदाय
सन् १९४७ ताका चीनमा सांस्कृतिक क्रान्ति हुँदा तिब्बतका धेरै गुम्वा र पूजास्थलहरू ध्वस्त पारिएका थिए | तेसै सुरसारमा दलाइलामाको भारत पलायन भयो | भनिन्छ, दलाईलामा भारतको हिमाचलमा निर्वासित भएको केही वर्षपछि बोनका प्रमुख गुरू पनि भारत पसेका थिए | बोन विश्वासका अनुसार हाल लोपोन तेंजिन नेमडाक बोन्पोका ३३ सौं प्रमुख हुन् र ती मेन्री गुम्वामा वस्छन् | नेपाल वाहेक तिब्बतमा भएका गोम्पाहरूका बोन गुरूहरू पनि भारतको हिमाचलमा निर्वासित जीवन विताइरहेका छन् वा विदेशमा आफ्नो धर्मको प्रचार गर्दै निर्वासित छन् | यो सम्प्रदायले पनि हाल दलाई लामालाई आफ्नो राजनैतिक प्रमुख स्वीकार गरेको छ |
अन्त्यमा, बोन धर्म नेपालको मौलिक रैथाने सम्प्रदाय हो | यो सम्प्रदायका विषयमा थोरैमात्र अनुसन्धान भएका छन् | विज्ञहरूले यो सम्प्रदायतिर ध्यान दिएर अनुसन्धान कार्य गर्नुपर्यो | नेपाल मै जरोकिलो भएका धर्म संस्कृति र तिनको अस्तित्व जोगाउनु हामी सबै नेपालीहरूको प्राथमिकता हुनुपर्छ | दोस्रो कुरा, बोन्पोमा सनातन धर्म र सनातन धर्ममा बोन्पोका प्रभावहरूको पनि अध्ययन हुनुपर्छ |

