दलितवाद होइन दलित बंशावली खोजौं

दलितवाद होइन दलित बंशावली खोजौं

दलितवाद होइन दलित बंशावली खोजौं
दलित समुदाय हेपिएका छन् भन्ने कुरामा द्विमत छैन तर यही दलनलाई देखाएर राजनीति, धर्मपरिवर्तन, एनजीओ कर्म र घृणावाद चम्काउने वर्गहरूको विकास भएको छ | यो एस्तो वर्ग हो जसले जुनसुकै मुल्यचुकाएर पनि दलितवाद कायम राख्न चाहन्छ | असलमा, दलितवाद र बाहुनवाद दूबै शब्द र तिनको अर्थ नै गलत छन् | असली समस्या विभेदकारी चिन्तनमा छ | एस्तो विभेद हजारौं वर्षदेखि संस्थागत भएको हो |
राजनीति, धर्मपरिवर्तन, एनजीओ कर्म र घृणावादको विस्तारले सकारात्मक परिवर्तनको बाटोलाई घृणावादमा परिवर्तित गरिएको छ | यसले गर्दा हट्दै गरेको छुवाछुतजस्तो सांस्कृतिक समस्या भोट, धर्मपरिवर्तन र आर्थिक प्रयोजनका लागि झनै बलियोसँग पुनर्जागृत भएको हो कि भन्ने शंका उत्पन्न भएको छ |
धेरै लेखक र बुद्धिजीवीहरूले छुवाछुतवादी चिन्तन र ब्यबहारलाई वैदिकशास्त्रहरूले दिएको कु-फल भन्ने विचार व्यक्त गर्छन् | केही विद्वानहरू एस्तो शास्त्रीय चिन्तनलाई आधुनिक रूपमा संशोधन गर्नुपर्ने विचार अगाडी सार्छन् | दूबैको नियत असल होला तर आजको राजनीति वेद वा मनुस्मृतिका आधारमा चल्दैन | वकिलहरूले मनुस्मृतिका श्लोकहरूका आधारमा बहस गर्दैनन् |
मूलकुरा शास्त्रको होइन, विद्यमान कानुनको कार्यन्वयन, सवलीकरण तथा संचेतनाको हो | छिमेकी बाहुन वा दलितलाई गालीगलौज गरेर, धर्मपरिवर्तन गराएर समस्याको समाधान हुँदैन | यदि तेसो हुन्थ्यो भने धर्मपरिवर्तन गरेर इसाई बनेर चर्चबाट बाहिर निस्कदा साथ सामाजिक-सांस्कृतिक स्वीकार्यता बढ्नुपर्ने हो | तर आजभोली इसाई बने पनि दलितपृष्टभूमिका आधारमा इसाईहरूले पनि आरक्षणको सुविधा पाउनुपर्ने मांग उठिरहेको छ |
यदि तेसो हो भने बाहुन, क्षेत्रीजस्ता गैर-दलित समुदायबाट धर्मपरिवर्तन गरेकाहरूले पनि आरक्षण पाउनुपर्ने देखिन्छ | अन्यथा वर्तमान संविधानले जसरी जातिजातिवादी सोचलाई संस्थागत गरेको छ, तेसरी नै धर्मजुनसुकै माने पनि, जतिसुकै पैसावाल भए पनि जन्मका आधारमा आरक्षण पाउनु पर्ने देखिन्छ | संविधानले एस्तै गरेको छ |
अभियन्ताहरूले बुझ्नुपर्छ छुवाछुतवादी चिन्तनको बाहक हिन्दू समाज हो | विगतको तुलनामा यो समाजले धेरै प्रगति गरेको छ | धेरै ठाउँमा छुवाछुतवादी चिन्तन परास्त भएको छ | तर एत्तिले मात्र पुगेको छैन | धेरै काम गर्न बाँकी छ | हजारौं वर्षदेखि आएको संस्कार निर्मूल हुन पनि सयवर्ष त लाग्ला नै |
यसका लागि नेपाल सरकार र अभियन्ताहरूले दलित समुदायलाई आफ्नै जरोकिलो अर्थात् सनातन धर्मसंग जोड्ने अभियान छेड्नुपर्छ | यसका लागि शास्त्रमा रहेक छुवाछुत विरोधी विचारहरू, उदाहरणहरू र गैर-छुवाछुतवर्गसंग रहेको रगत र गोत्रको नातोलाई पाठ्यपुस्तकमा समावेश गरेर प्राथमिक तहदेखि नै पढाउने ब्यबस्था मिलाउनुपर्छ |
घिमिरे, गोतामे, लामिछाने, पौडेलआदि थर भएका दलितहरूको रगतको नाता अर्थात् बंशीयार र अंसियरको नाता प्रमाणित गर्ने काम गर्नुपर्छ | एसले गर्दा गर्दा पुस्तान्तरणमा दलित-गैरदलितको घृणावादी सोचको अन्त्य हुन्छ | जव बालबालिकाले दलितहरू पनि दधिची, भृगु, अत्रि, वशिष्टआदि ऋषिहरूकै सन्तान रहेको कुरा बुझ्ने छन्, दोस्रो वा तेस्रो पुस्तामा छुवाछुतको भावना रहने छैन |
कसैले पनि दलितवाद वा बाहुनवादको विवाद गर्नु आवश्यक छैन किनभने यी दूबै शब्दहरूको स्रोत धर्मपरिवर्तनकारी तथा साम्राज्यवादी शक्तिहरूसंग जोडिएको छ | छुवाछुतको पीडाबाट मुक्ति दिने काम पनि उसै समुदायको हो जुन समुदायबाट यो आरम्भ भएको थियो | र एस्तो मुक्तिको यात्रा आरम्भ भैसकेको छ तर पर्याप्तचाहिं छैन |
मेरो विचारमा, हरेक दलित अगुवा वा गैरदलित अगुवाहरूले छुवाछुतले पिडित समुदायहरुको बंशावली खोज्नुपर्छ | बेलायतमा बस्ने प्राडा.कृष्णप्रसाद अधिकारीजस्ता Krishna Adhikari केही विद्वानहरूले यसतिर केही काम गर्ने प्रयत्न गरिरहेका छन् | सघाउनु हामी कर्तब्य हो |
दलितसमुदायको बंशावली स्थापित भएर नेपाली पाठ्यपुस्तकहरूमा तेसको आधिकारिक पठनपाठन आरम्भ भएपछि छुवाछुतवादी चिन्तन र ब्यबहार इतिहासको विषय बन्ने निश्चित छ | तर यसको लागि राजनीति, धर्मपरिवर्तन, एनजीओ कर्म र घृणावादको विषबाट मुक्त हुनु आवश्यक छ | समानानुभूतिको आधारमा काम गर्ने हो भने दलितहरू आफ्नो जरोकिलोसंग जोडिन्छन् |
छुवाछुतको कुप्रधाको बाहक हिन्दू समुदाय हो | हिन्दू समुदायको ठूलो वर्गले छुवाछुत अस्वीकार्य हो भन्ने बुझिसकेको छ र एसको निवारणका लागि निरन्तर काम गरिरहेको छ | उल्लेख्य रूपमा छुवाछुतवादी ब्यबहार र सोचमा सुधार पनि भएको छ | तैपनि हिन्दू समुदायले नै छुवाछुतवादलाई समाप्त पार्न आफै प्रयत्न गर्नुपर्ने छ | विदेशीहरूले विभेदका नाममा घृणावादलाई मलजल गर्ने हुन् | तर सबै विदेशीहरूलाई एकै घानमा हाल्नु उचित हुँदैन |
जतिसुकै मीठा कुरा गरे पनि विभेद-विभेद नै हो | देशको ठूलो समुदाय छुवाछुतबाट पिडित छ | हामी सबैको लक्ष दलनबाट मुक्ति हो | तर एस्तो दलनबाट मुक्त हुन घृणावादको प्रयोग कत्त्ति पनि स्वीकार्य हुँदैन | मन, बचन र कर्मको संकल्पमा छुवाछुत निवारण गर्ने प्रवलता हुनुपर्छ भने छुवाछुतको विभेदमा परेकाहरू,मा पनि आफ्नो बंशसंग जोडिने प्रवल संकल्प हुनुपर्छ | विजय सत्य कै हुन्छ |
मेरो विचारसंग सहमत हुने ठीक अरू बेठीक भन्ने एकात्मवादी सोच पश्चिमाहरूको देन हो | एस्तो सोच र संस्कृतिले घृणावाद बाहेक अरू जन्माउन सक्द्दैन | नेपाली समाजमा शिक्षाको माध्यमबाट एस्तो एकात्मवादी चिन्तनको विस्तार भरहेको अवस्था छ | छुवाछुतवाद विरुद्ध खुलेर बोल्नेहरूमा गैरदलितहरूको ठूलो उपस्थिति छ | एनजीओवादले एस्तो उपस्थितिलाई ठाडै अस्वीकार गर्छ र “दलित वाहेकका अभियन्ताहरू नक्कली हुन् वा इमान्दार छैनन्” भन्ने संदेश दिन्छ | यही नै एकात्मवादी चिन्तनको स्रोत हो |
एसै सन्दर्भमा गुल्मीको सदरमुकाम तम्घास देखि करिव ४५ किलो मिटर उत्तर वाग्लुङ्गको सिमाना गंगारे र गुल्मी म्याले वडचौर टापुको देवालयका पुजारीहरू विश्वकर्मा छन् र तिनको गोत्र गौतम रहेको स्थानीयहरूले स्वीकार गरेका छन् | तेस मन्दिरका प्रमुख पुजारी नै विश्वकर्मा हुन् र बाहुनआदि सबैले तिनको हातबाट प्रसाद ग्रहण गर्ने कुरा स्थानीयहरू बताउँछन् | जनश्रुतिका अनुसार ती विश्वकर्माहरू ब्राह्मण निशेल गौतन गोत्रका हुन् | निसेल गौतमको देवलमा आज पनि सबैजात जातिले पूजाआजा गर्छन् | प्रेम सुनारले दिएको यो जानकारीले (https://www.ebaglung.com/archives/8112) दलित र बाहुनक्षेत्रीको एकै गोत्र र पूर्खाहरू भएको कुरामा ढुक्क हुनुपर्छ | मैले धेरै ठाउँका कोटहरूमा दलितहरू नै पुजारी भेटेको छु |
प्राचीन वैदिकशास्त्रहरू विरुद्ध विष-बमन गरेर सामाजिक रूपमा छुवाछुतको अन्त्य हुन्छ भन्ने सोच निकै खोटपूर्ण छ | छुवाछुतको अन्त्य हुनु जतिधेरै आवश्यक छ तेतिनै आवश्यक सामाजिक सद्भाव तथा आफ्नो जरोकिलोसंग जोड्ने प्रयत्न गर्नुमा छ | छुवाछुत निवारणका नाममा अम्वेडकरले पलायनवादको बाटो देखाउने अपराध गरे भने इसाईहरूले छुवाछुतलाई धर्मपरिवर्तनको हतियार बनाए | यी दुवै अतिवादको अन्त्य दलितहरूको बंशावली स्थापित गरेर हुन्छ | बंश वृक्षसंग जोडिएपछि कसैले पनि चुडेर लैजाने अपराध गर्ने छैन | र दलितसमुदायलाई धर्मपरिवर्तन गर्ने आवश्यकता पनि रहने छैन |
सकारात्मक विचार राखौं | परिवर्तनका पक्षमा इमानदार बनेर लागौं | घृणावादको प्रतिकार गरौँ र छुवाछुतको विभेदमा परेका तर रगतको नातो भएका समुदायसंग सहकार्य गरौँ | संगै हिडौ, संगै भोजन गरौँ विभेद विरुद्ध मिलेर काम गर्ने प्रतिबद्धता गरौँ | छुवाछुतबाट पिडित समुदायलाई आफ्नो जरोकिलोसंग काट्ने षड्यन्त्र विरुद्ध प्रतिकार गरौँ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *