सम्मान नारीको कि नारीदिवसको ?
आज बानेश्वरमा एकजना परिचित महिला मित्र भेट हुनुभएको थियो | शिष्टाचारका कुराहरू पछि उहासंग जिस्किंदै मैले सोधें “भोली नारीदिवस, मनाउने होइन ? उहाले दिएको जवाफ एस्तो छ –
म नेपाली नारी हुँ | नेपालका धर्म, संस्कृति तथा संस्कारहरूले मेरो पहिचान र नारीत्व निर्माण भएको छ | हो, पुरुषहरूले महिला भएकै कारणले हेपेको मन पर्दैन तर आफ्नो पारिवारिक जीवन गुमाएर प्राप्त हुने अधिकारप्रति मेरो अरुचि छ | नारीका नाम हुने पाँचतारे होटलमा हुने गोष्ठीहरूको खर्चले महिलाहरूका लागि ठाउँठाउँमा मूत्रालयको निर्माण हुँदा मैले आफ्नो अधिकारको सुरक्षा भएको ठान्ने छु |
विवाह मैले मात्रै गरेको होइन | विवाह-पुरुष र महिलाका विचमा हुने सांस्कृतिक सम्बन्ध हो | म र मेरो लोग्ने दुवैले आगोलाई साक्षी मानेर एकअर्कालाई आफ्नो आधाशरीर मान्ने प्रतिज्ञा गरेका थियौं | अहिलेका अधिकारवादीहरूले आफ्नै संस्कृतिले सिकाएको यो अधिकारप्रति प्रतिबद्धता जनाउन प्रेरित गर्ने अभियान चलाउने हो भने धेरै समस्याहरूको समाधान हुन्छ | आफुले गरेको धार्मिक प्रतिज्ञा मान्ने हाम्रो स्वभाव नै छ |
मैले त भन्छु, विदेशीहरूको नक्कल गर्दै मनाउने नारी-दिवसका कारण कतिधेरै महिलाहरू घरवारविहिन भए ? कति नारीहरूको पारिवारिक जीवन भताभुंग भयो ? भनेर खोज्नु पर्ने देखिन्छ | नारी आर्थिकरूपमा सवल हुनु राम्रो हो तर तेस्तो सवलतासंग पारिवारिक जीवन पनि सुखमय हुनुपर्छ | के यो नारीदिवसले अधिकारयुक्त नारीहरूको पारिवारिक जीवन सुखमय हुन्छ भन्ने ग्यारेन्टी प्रदान गर्न सक्छन् ?
हामी नेपाली नारीहरूले विवाह-संस्थालाई औधि सम्मान गर्छौं | पुरुषहरूले पनि घर भनेको पत्नी नै हुन् भनेर मानेकै छन् | लोग्नेलाई पति भन्दा दासत्व हुने, टीका लगाउँदा दासत्व हुने, चुरापोते लगाउँदा दासत्व हुने, पतिदेव भनेर लोग्नेप्रति माया भाव व्यक्त गर्दा दासत्व हुने, तीज दासताको पर्व रे ? के शरीर नाङ्गो पार्ने, माया र सद्भावका कारण तपाईं हजुर भनेको लोग्नेलाई “त तिमी भनेर बोलाउने, आफ्नो धर्म, संस्कृतिलाई अन्धविश्वास भनेर अपहेलित गर्नु नै नारीअधिकार हो त ? मैले मेरो लोग्नेलाई हजुर भनुं कि त भनुं मलाई विदेशीले सिकाउनु पर्दैन | मेरो विचारमा हाम्रो संस्कृति भित्रै नारीलाई अधिकार दिने थुप्रै अवधारणाहरू छन्, हरेक नारी दिवसमा तिनको ब्याख्या हुनुपर्छ र ती कुराहरू हरेक नेपाली महिलापुरुषको काममा पुग्नुपर्छ |
नारीलाई विद्रोहमा उतार्ने र पारिवारिक जीवन अस्तव्यस्त बनाएर “एता न उता”को पार्ने कर्तब्यहिन विदेशी नक्कलको नारी-अधिकारले देश, परिवार र व्यक्तिगतरुपमा म नारीकै कल्याण हुनै सक्दैन | तेसैले यो नारी-अधिकारको सरकारी र गैरसरकारी नारालाई मैले विदेशीहरूको चापलुसीका रुपमा बुझ्ने गरेकी छु | यसलाई अर्धसत्यका रुपमा बुझ्ने गर्छु |
मेरो नारिपनभित्र मेरो मातृत्व, मेरी पत्नीपन, मेरो बुहारीको दायित्व र बूढा सासु-ससुराको सेवा गर्ने प्राकृतिक चेतना लुकेको छ | मैले यो चेतना आफ्ना पूर्खाबाट पाएकी हुँ | मलाई मेरो संस्कतिले पतिसंग डेटिङ र सेटिंग गर्न सिकाउँछ | मैले मेरो समाज. परिवार र संस्कृतिप्रति घृणा फैलाउने कुनै पनि नारी-दिवसको समर्थन गर्न सक्दिन | यदि नारी-दिवसले मेरो सम्मान नै गर्छ भने मेरो आफ्नै सामाजिक मान्यताभित्र रहेर मेरी नारी-स्वाभिमानको कुरा गरोस्, मेरो नारी-स्वभाव तेसमा समर्पित हुन्छ | आफुले जन्माएका बालबालिकालाई “शरीरमा नारीको अधिकार भन्दै” दूध नचुसाउन वकालत गर्ने पश्चिमेली नारीवाद मेरो गन्तब्य हुँदैन |
संसारको जुनसुकै कुनामा महिलाप्रति हिंसा भए पनि त्यो मेरो नै हिंसा हो – मेरो संस्कृतिले सिकाएको यही हो | बसुधैव कुटुम्बकम् | तर महिलाअधिकारका नाममा विवाह संस्थामा अनास्था फैउलाउने, मायालु पति प्रति विद्रोह जगाउने, पारिवारिक मुल्यहरूप्रति वितृष्णा उत्पन्न गराउने र लैंगिक अधिकारका नाममा पुरुषहरूलाई तारो बनाउने नारीवाद मेरो गन्तब्य होइन | सार्वजनिक ठाउँमा नारी-अधिकारको कुरा गर्ने तर आर्थिक आर्जनका लागि भन्दै तिनै पुरुषहरूको मनोरंजन गर्न सिनेमाका पर्दाहरूमा अंगको मानसिक व्यापारलाई अधिकारका रुपमा लिने मेरो संस्कृतिको नारीवादमा अटाउन सक्दैन |
जव नारीवाद कुरा आउँछ, नेपालका प्रबुद्धहरू पश्चिमा इतिहासको पाना पल्टाउछन् | के नारीहरूको १५ शताब्दि अगाडी कुनै इतिहास नै थिएन ? के सन् १८८९ मा क्लारा नै नारीकी पहिला प्रतिनिधि हुन् ? किन २६ सयवर्ष पहिला आफ्ना पति याज्ञवल्क्यसंग विदोह गर्दै आफ्नो अधिकारको प्रसंग उठाउने गार्गी प्रथम अधिकारवादी महिलाका रूपमा सम्मानित गर्ने इतिहासका पक्षमा नेपाली अधिकारवादीहरू उभिन्नन् ? जुन दिन जनकपुरकी गार्गीलाई राष्ट्रसंघले महिलाअधिकारवादीहरूको पहिलो सूचिमा सुचिकृत गर्ला मैले ८ मार्चको नारीवादमा गर्व गरुँला | नत्र क्लारालाई सम्मान गर्दागर्दै पनि आजको नारी-दिवस विदेशीहरूको नक्कल बाहेक केही होइन | के नेपाली अधिकारवादी नारीहरू गार्गीको आत्म-सम्मानलाई विश्वमंचमा पुर्याउने आँट गर्न सक्छन् ? सक्दैनन् किनभने तेसो हुँदा डलर गुम्छ |
नारीवादप्रति नारीका रुपमा मेरो चासो नहुने कुरै हुँदैन | तर ८ मार्चको नारीवादका बीजहरू “घृणावाद”मा आधारित छन् | कुरा मजदुर नारीहरूको उत्थानको गरिए पनि यसमा पहुँचचाहि “पहूँचवाल” कै छ | सबैभन्दा नारी-दिवसको नशामा सरकारी उच्च ओहदावाल, आइएनजीओ तथा एनजीओ कर्मी नै डुवेका हुन्छन् | नारी-अधिकारका लागि गर्नु पर्ने,चाल्नु पर्ने कदमको कम चर्चा हुन्छ | पुरुषहरू;ले महिलाउपर अत्याचार गरे, दासी बनाए, नारीहरूका अधिकारहरूको हनन गरे भनेर पुरुषप्रति घृणावादको राजनीति बढी खेलिन्छ | जुन दिन नारीवादको आन्दोलनले मातृसत्ता वा पितृसत्ताको घृणावादी चिन्तन त्यागेर सहृदयता, प्रेम, सहवास, सहभोजन र सहकर्मको वकालत गर्ला त्यो घडी मैले ८ मार्चलाई नारी दिवसको रूपमा स्वीकार गरूँला |
मेरो कुरा सुनेर धेरै पश्चिमा-नारीवादीहरूलाई घोच्ने छ | मेरो नारीवाद कर्तव्यहिन अधिकार र घृणावादी कित्ताको समर्थनमा उभिन सक्दैन | मलाई मेरो नारी अधिकार चाहिएको छ तर त्यो नारीवादसंग मेरा पतिको मायालु छाया, वुवाको प्रेमपूर्ण गाली, छोराछोरीको मिठो सिकायत, सांस्कृतिक जीवनका रङ्गीन चाडवाडहरू र स्वदेशी स्वाभिमानको आत्मसम्मान चाहिन्छ | पश्चिमा नारीवादले यी सबै थोक दिन सक्छ ?
मेरो विचारमा विदेशीहरूले विकास-निर्माणका कार्यमा सहयोग गर्नु ठीकै होला तर नारीपुरुष विचको मानवीय सम्वन्धलाई हस्तक्षेप गर्ने काम गर्नु अक्षम्य छ | उनीहरूले हरेक क्षेत्रमा हस्तक्षेप गर्छन् | उनीहरूले नेपाली नारी-पुरुषहरूका सम्बन्धमा हस्तक्षेप गर्दैछन् | हामीलाई कस्तो अधिकार चाहिएको छ यसको निर्धारण हामीले गर्ने हो |
महिला मन्त्रालयले नारी दिवसका नाममा गर्ने खर्चले काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरा, विराटनगरआदिमा नारीहरूका लागि शौचालय निर्माण गरी दिए “चापेर” हिड्नु पार्ने र तेसले निम्त्याउने रोगहरूबाट मजस्ता धेरै नारीहरू मुक्त हुन्थे | विदेशीको नक्कली राजनैतिक नारीदिवस भन्दा एउटा सुलभ शौचालयले मेरो अधिकारको संरक्षण गर्छ |
मेरो बोल्ने ठाउँ नै रहेन | तपाईं नि ?
