राजनीतिमा रुचि !

राजनीतिमा रुचि !

मलाई राजनीतिप्रति पटक्कै रुचि छैन | एसका दूइवटा कारण छन् – पहिलो राजनीति शब्द छल, ढोला, भ्रष्टाचार तथा ठगीको पर्याय बनेको छ, दोस्रो मेरो स्तरको मान्छेले राजनीतिलाई बाटो दिने हो, राजनीति गर्ने होइन | तर नेपालको राजनैतिक विकासक्रमहरू देखेर/भोगेर खुसी हुने ठाउँछैन | नेपालको वर्तमान राजनैतिक अवस्था र ब्यबस्था जनताका लागि बोक्नै नसकिने निराशाको भारी बनेको छ | यो राजनैतिक ब्यबस्थाको नेतृत्व गर्ने समेत निराश, हतास र किम्कर्तव्य विमूढ छन् |
मैले आफ्ना विद्यार्थीहरूलाई सोधें – के तपाईंहरू वर्तमान राजनैतिक परिदृश्यसंग सन्तुष्ट हुनुहुन्छ ? सबैको जवाफ थियो छैन | युवाहरूमा राजनीतिप्रति असन्तोष छ | एस्ता धेरै युवाहरूले अमेरिका वा युरोप देखेका छैनन् | अमेरिका वा वेलायत उनको कल्पनामा मात्र छ | उनीहरू नेपाल अमेरिका वा वेलायतजस्तो होइन नेपालजस्तै बनोस् भन्ने चाहन्छन् | युवाहरूको प्राथमिकताको नेपाल र नेताहरूको प्राथमिकताको नेपालमा आकाश-पातालको फरक छ | युवाहरू स्वप्नजीवि अवश्य छन् तर वर्तमान राजनैतिक नेतृत्वजस्तो विदेशीले दिएको सपनामा बाच्ने छैनन् |
तर मलाई थाहा छ : परिवर्तन गर्न सक्ने क्षमता राजनीतिमा बाहेक केही छैन | तैपनि राजनीति मेरो प्राथमिकताको विषय होइन | दर्शनशास्त्रको विद्यार्थी भएको नाताले नेपाली राजनीति-जगतको समालोचना त गर्न सकिन्छ | मेरो प्रश्न ओझो छ – के अहिलेको राजनैतिक ब्यबस्थाले देश सकारात्मक दिशातिर अगाडी बढ्ला ? साच्चिकै भन्ने हो भने यो प्रश्नको जवाफ आफै प्रधानमन्त्रीसंग पनि छैन | उनीहरू एउटा अध्येरो सुरुंगबाट अगाडी बढिरहेका छन् | एस्तो सुरुंगमा जसमा प्रवेश गरेपछि अगाडी बढ्ने बाहेक पछाडी फर्केर पुनरावलोकन गर्न मिल्दैन | सुरुंगमा एतिधेरै मोडहरू छन् कि अगाडी हेर्न सकिन्न |
नेपालीहरूले आफ्नो प्राचीन इतिहास र सम्पदाको जगमा समयानुकुल राजनैतिक शक्तिको रैथाने विकास गर्न सकेनन् | यो हाम्रै पूर्खाहरूको दोष हो वा उनीहरू भविष्यदर्शी थिएनन् | अहिलेको यथार्थ नेपालको राजनैतिक वर्तमान र भविष्य विदेशी राजनैतिक सिद्धान्तको जगमा उभिएको छ | नेपाली-राजनीतिले विदेशी कोट लाएर उभिएको छ | प्रजातन्त्र, साम्यवाद, समाजवादीआदि राजनैतिक सिद्धान्तहरूको जग नेपालमा छैन | युरोप र अमेरिकामा जग हालेर नेपालमा घर बनाउन सकिन्न | यो विज्ञानको नियम हो | नेपालको विद्यमान राजनैतिक संरचनाहरूको जग विदेशमा छ – भन्ने कुरा मैले भन्नु पर्दैन |
मेरो विश्वासले भन्छ : नेपाली राजनीतिका सबै नेताहरू अव्वलका देश भक्त छन् | उनीहरू देशको विकास गर्न चाहन्छन् | तेसैका लागि काम गर्न चाहन्छन् पनि तर उनीहरूको हातमा सधैं असफलता नै लागिरहेको छ | नेपाली जनताको मुहार फेर्ने उनीहरूको प्रयास सधैं असफल भएको छ | विदेशमा रहेको जगमा नेपाल खडा हुनसक्दैन भन्ने विषय उनीहरूले बुझ्न सकेनन् | विज्ञानको सरल नियमलाई चिन्न सकेनन् |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *