धार्मिकता र साम्प्रदायिकता !

धार्मिकता र साम्प्रदायिकता !

धार्मिकता र साम्प्रदायिकता !
म इंग्ल्यान्डमा भ्रमण गर्ने क्रममा ओमानको विमानमा यात्रा गरिरहेको थिए | मेरो र एकजना गोरी महिलाको सीट जोडिएको थियो | स्वाभाविक रूपमा हामी कुरागर्न थाल्यों | विविध कुरा गर्दै जाँदा उनले मसंग सोधिन् – तपाईंको धर्म के होला ? मैले भने म हिन्दू हुँ | उनी नेपालमा क्याथोलिक धर्म प्रचार गर्ने क्रममा तीन महिना बसेकी रहिछन् | उनको भंगीमाले मेरो हिन्दुपनमा घृणा गरिरहेको बुझ्न असजिलो भएन |
कुरा बुझेपछि मैले धर्म-विषयक वादप्रतिवादमा अरुचि लिए | मैले भने “म नास्तिक हुँ तर हिन्दू नै हुँ | उनले पनि भनिन् “कुनै पनि इसाई नास्तिक हुनैसक्दैन | कि उ नास्तिक हुन्छ कि इसाई नै हुन्छ | मैले सोधिहालें “के नास्तिकहरू ईश्वरका सन्तान हुँदैनन् र ? उनी केही अक्मकाइन् | उनले भनिन् “जिससमा विश्वास गरेपछि सबै पापको क्षमा हुन्छ | हिन्दू, नास्तिक सबै परमेश्वरमा पुग्छन् | यही धर्मको कितावले भन्छ |” मैले धार्मिक कुरामा रुचि नलिएपछि कुरा यहीं टुंगियो |
तर मेरो मस्तिष्कमा “धर्मको किताव” भन्ने शब्द बेसरी कोचियो | के साच्चिकै कितावमा सबै धर्मको कुरा अटेको छ ? धर्म भनेको पापको अभाव हो कि ईश्वरले क्षमादान दिएको अवस्था हो वा जिससमा विश्वास गरेको अवस्था हो ? मेरो मनमा कुरा खेलिनै रह्यो | मैले सोचें “यदि धार्मिक कितावको कुरा सही हो भने म पापी हुँ तर मैले कुनै पापकर्म त गरेको छैन | यदि विश्वास नै धर्म हो भने अन्धविश्वास पनि धर्म नै हो, जुनसुकै कारणले उत्पन्न भएको विश्वासलाई अधार्मिक भन्न मिल्दैन | त्यसो भए धर्म के हो त ? मैले नेपाल फर्केर आएपछि संस्कृतका प्राचीन पुस्तकहरू खोलें | मैले आफ्नो धर्म पहिल्याउने प्रपत्न गरें |
संस्कृत शब्द धर्मका तीनबटा अर्थ लाग्ने मेरो अध्ययनबाट पत्ता लाग्यो – धर्म अर्थात् धारण, धर्म अर्थात् अभ्युदय र धर्म अर्थात् प्राकृतिक गुण वा नैतिक गुण | ऋषि जैमिनीले धर्मको परिभाषा गर्दै भने “यतो ऽभ्युदयनिःश्रेयससिद्धिः स धर्मः अर्थात् जसले जीवनलाई अभ्युदय, श्रेयस र प्रगतितिर प्रेरित गरेर भौतिक तथा लौकिक उन्नति प्रदान गर्छ, तेही धर्म हो | यसको अर्थ धर्मको सम्वन्ध ईश्वर अथवा पवित्र कितावसंग छैन | नैतिकतापूर्ण कर्म गर्दै आध्यात्मिक तथा भौतिक उन्नति प्राप्त गर्ने उद्योगसंग छ | शर्त एत्ति हो कि कर्महरू अनैतिक हुनुहुँदैन
दोस्रो धर्मको परिभाषा मैले पढे – चोदना लक्षण जसले धर्म अर्थात् जसले मानवीय चेतनालाई असल कर्मतिर प्रेरित गर्छ तेही नै धर्म हुन्छ | मनुस्मृतिकार महात्मा मनुले यसको ब्याख्या गर्दै धृति, क्षमा, दम, अस्तेय, शौच, इन्द्रीय निग्रह, बुद्धिमता, विद्या, सत्य अक्रोध यी दशबटा गुणहरूप्रति जसले मानिसको बुद्धिलाई प्रेरित गर्छ त्यही नै धर्म हो भनेर लेखे | यहाँ पनि कुनै पवित्र पुस्तक वा व्यक्ति विशेषमा विश्वास गर्नु धर्म हो भनेर परिभाषा गरिएन |
तेस्रो परिभाषा धर्म अर्थात् धारणसंग सम्बन्धित (धर्म धारणमित्याहु) छ | पानी गुण चिसो हुनु, आगोको गुण तातो हुनु जस्तै मानिसको गुण बौद्धिकता तथा शुभाशुभको परख गर्दै असल गुणहरू धारण गर्नु र कमसल गुणहरू त्याग्नु हो | गीताले दैवीगुणहरूलाई धारण गर्न योग्य र आसुरीगुणहरूलाई त्याग्न आग्रह गर्छ | सत्य, अहिंसा, अस्तेय, ब्रह्मचर्य, अपरिग्रह, शौच, संतोष, तप, स्वाध्याय, क्षमाआदि नैतिक गुणहरूअङ्गिकार सत्य अर्थात् ऋत स्वीकार्नु नै धर्म हो |
धर्मका यी तीनैबटा परिभाषाहरूले ती गोरी-महिलाले भनेको धार्मिकता बुझिन्न | उपरोक्त धर्मका परिभाषाहरूले व्यक्ति विशेषमा विश्वास, पुस्तक-विशेषमा अन्धविश्वास गर्नुनै धर्म हो, धार्मिकता हो भनेर पटक्कै सिकाउँदैन | अनि, मैले बुझें मलाई मेरा पाठ्यपुस्तकहरूले बुझाएको धर्म र मेरा पूर्वज ऋषिमुनिहरूले हाम्रो लागि निर्मित गरेको धर्म नितान्त भिन्न रहेछन् | मैले रेलिजन नै धर्म हो भन्ने बुझेको रहेछु तर हाम्रा ऋषि-मुनिहरूले मलाई धर्म भनेको असलगुणको अवलम्बन र धारण, आधात्मिक तथा भौतिक उन्नतिको नैतिक प्रयत्न तथा धर्म, अर्थ, काम र अन्त्यमा मोक्षको प्राप्तिका लागि आफ्नो बुद्धिलाई प्रेरित गर्ने स्व-प्रयत्न नै धर्म रहेछ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *