Govinda Sharan

कार्लमार्क्स : दार्शनिक कि अर्थशास्त्री ?

कार्लमार्क्स : दार्शनिक कि अर्थशास्त्री ?

कुनै नेपालीले साम्यवादी दार्शनिक सम्प्रदायको आविष्कार गरेको होइनन् | नेपाली साहित्यमा बामपन्थ शब्द हिन्दीबाट उधारो लिइएको हो जुन १८ रौँ शताब्दिको फ्रान्सेली राज-सभासंग सम्वन्धित छ | परिवर्तनवादीहरू राजाको सिंहासनको देब्रेतिर बस्थे भने त्यसबेलाका जहानियाहरू दाहिने | एस परम्परामा कार्लमार्क्स, लेनिन. माओआदिको विद्रोही राजनैतिक चिन्तनलाई भारतीयले “वामपन्थ”को पहिचान दिएका हुन् भने नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्दा पुष्पलालले यो शब्दको नेपालीमा प्रयोग गरेको हुनुपर्छ |

निश्चय नै पुष्पलालको बेलामा बामपन्थी चिन्तनलाई राष्ट्र सापेक्ष गरिनुपर्छ भन्ने कुनै मान्यता थिएन तर मदनभण्डारीले “जवज”को राजनैतिक सिद्धान्त अगाडी सारेपछि नेपाली साम्यवादीहरूले रूस, चाइनाआदिले प्रयोग गरेको राजनैतिक चिन्तन नेपालमा नेपाली-समाज सापेक्ष स्थापित गर्न गर्नुपर्छ भन्ने मान्यता स्थापित भएको हो | त्यसपछि पुष्पकमल दाहालले प्रचण्डपथ पनि अन्तराष्ट्रिय साम्यवादी आन्दोलनको नेपाली स्वरूप नै थियो | यद्यपि मोहनविक्रम सिहले पनि आफ्ना लेखमा रूस वा चाइनामा प्रयोग भएको साम्यवादी मोडेल नेपालमा जस्ताको तस्तै प्रयोग हुन नसक्ने जिकिर गरेका छन् |

उपरोक्त राजनैतिक विकास साम्यवादी राजनैतिक ब्यबस्था नेपालमा स्थापित गर्ने प्रयत्नका क्रममा भएका हुन् | अनेकौं चरणहरू पार गरेको नेपाली साम्यवादी राजनैतिक आन्दोलन आजका दिनमा आफ्नो सर्वोच्च बर्चश्वमा स्थापित भएको छ | नेपालमा धेरै बामपन्थी राजनैतिक दलहरू छन् तर हाल एमाले र एमाओवादी एकठाउँमा आएपछि आंशिकरुप मै सही नेपालमा स्वतन्त्ररुपले बामपन्थीहरूको प्रजातान्त्रिक सरकार निर्माण हुने भएको छ |

बामपन्थीहरूको उपरोक्त उत्कर्ष त्यतिकै उपलब्ध भएको होइन | नेपालमा फैलिएको गरिवी र छुवाछुत यसको लागि निकै उर्वर सावित भएका हुन् | पछिल्लो चरणमा वर्गीय सामाजिक ब्यबस्था विरुद्ध बोल्ने मार्क्सवादलाई नेपालमा जातीय-पहिचानका रूपमा समेत संस्थागत गरेर जातिजाति विरुद्ध घृणा फैलाएर लोकप्रियता प्राप्त गरिएको तीतोसत्य हो | गरिवी र छुवाछुतको आगोको तातोमा वामपन्थीले मात्र हात न्यानो नपारेर इसाईहरूले समेत आफ्नो उपस्थिति सशक्त रुपमा दर्जा गरिसकेका छन् | नेपालमा मार्क्सवादले इसाईहरूसंग प्रत्यक्ष रूपले गठबन्धन गरेको छ र धार्मिक स्वतन्त्रताका नाममा धर्म परिवर्तन गर्ने प्रेरणा बनेको छ |

वामपन्थी चिन्तनसंग सहमत सृजनाहरूलाई नेपाली वामपन्थीहरूले “प्रगतिशील” भन्ने शाब्दिक पहिचान पाएको छ | यो शब्द बंगाली दार्शनिक देवीराम चट्टपाध्यायका कृतिहरूबाट सापटी लिएको हुनुपर्छ भन्ने अनुमान मैले गरेको छु | किनभने नेपालमा बामपन्थी राजनैतिक शक्तिको बलियो उपस्थिति नहुँदै सोवियत सरकारले प्रकाशित गरेका साम्यवादी साहित्यहरू बंगाली र हिन्दीमा अनुवाद भई छापिएका थिए | नेपाली बामपन्थीहरूले आफ्नो राजनीतिको आरम्भ इनै वामपन्थी साहित्यहरू पढेर गरेका हुनुपर्छ |

साम्यवादी राज्य-व्यवस्थाको लक्ष लिएको मार्क्सवादी अर्थ-दर्शनको प्रभाव विश्वभरी परेको छ | अझैं भन्नुपर्दा युरोपेली र अमेरिकीहरूले साम्यवादी अर्थतन्त्रको कार्यन्वयन ब्यबहारिक रूप मै गरेका छन्, यद्यपि त्यहाँ साम्यवाद शब्दको प्रवेश समेत बर्जित गरिको अवस्था छ | अमेरिकी र युरोपेलीहरू वामपन्थी अर्थ ब्यबस्थासंग घृणा गर्छन् तर मार्क्सवाद कै छहारीमा आफ्ना जनताका आवश्यकताहरू पूरा गर्ने अर्थतन्त्र तयार गर्न सफल भएका छन् | अर्कोतिर, साम्यवादी राज्यव्यबस्था स्थापित गरेको भनिएका राज्यहरू गर्लम्म लडेका छन् |

विश्वमा बामपन्थीहरूका राज्यव्यबस्थाहरू असफल भए पनि विश्वभरीका साहित्य, दर्शन, विज्ञान, संस्कृति तथा सभ्यताहरू एसबाट प्रभावित भएका छन् | नेपाली साहित्य, अर्थ, सामाजिक तथा दार्शनिक क्षेत्रमा पनि एसको प्रभाव नपर्ने कुरै भएन | एस लेखमा मैले नेपाली चिन्तन जगतमा खासगरी दर्शनशास्त्रमा साम्यवादी चिन्तनको कसरी विकास भएको छ ? राजनैतिक साम्यवादले नेपाली दार्शनिक साम्यवाद प्रभावित छ कि नेपालमा विकसित भएको साम्यवादी चिन्तनको छहारीमा राजनीति गतिशील छ ? भन्ने विषयमा केन्द्रित रहेर समालोचनात्मक विचार उत्प्रेषण गर्ने प्रयत्न गरेको छु |

नेपालको पहिलो बामपन्थी दार्शनिक को हो ? यस प्रश्नको उत्तर सजिलो छैन | साम्यवादी आन्दोलनका अगुवा, कार्यक्रता र समर्थक ई तीनै समुहले आफु सानोतिनो नै मार्क्सभएझैँ प्रस्तुत गरेको देखिन्छ | यो स्वाभाविक पनि हो किनभने विचारको स्रोतसंगै विचारको संवाहकको रुपमा आफुलाई प्रस्तुत गर्दा एस्तै हुन्छ | सन् १९४९ मा भारतको कलकत्तामा स्थापित भएको नेपाली वामपन्थी आन्दोलनले सात दशक पूरा गरेको अवस्थामा बामपन्थी राजनीतिलाई उर्जा प्रदान गर्न विभिन्न कालखण्डमा सहयोगी दार्शनिक चिन्तन पनि प्रवाहित भएकै छन् |

मैले भनिसकें मेरो उदेश्य राजनैतिक विषयमा टिप्पणी गर्नु होइन तथापि जसरी इस्लाम एउटा सम्प्रदाय भए पनि उसलाई राजनीति बाहिर राख्न सकिंदैन त्यसैगरी साम्यवादको चर्चा गर्दा राजनैतिक विमर्शबाट अलग रहन सकिन्न | साम्यवादको आधारशीला द्वन्दात्मक भौतिकवाद भए तापनि यसको उद्देश्य साम्यवादी राज्यब्यबस्थाको प्राप्तिका लागि सैद्धान्तिक जग निर्माण गर्नु हो | अझैं भन्नुपर्दा साम्यवादमा अर्थदर्शनको प्रभुताले दार्शनिक दृष्टिकोणलाई थिचेको छ | एस अर्थमा कार्लमार्क्स अर्थशास्त्री हुन्, दार्शनिक होइन |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *