वहसमा : दर्शनशास्त्र
२००२ देखि पुन: दर्शनशास्त्र वहसमा आएको छ | विज्ञान तथा प्रवन्धनशास्त्रले महत्व प्राप्त गरिरहेको बेला दर्शनशास्त्रले विश्व संस्थाका माध्यमबाट बहसमा प्रवेश गर्नुले महत्व राख्छ | विज्ञान र प्रवन्धनको विकासले सुखसुविधामा वृद्धि त् भएकै हो तर अर्थ र विज्ञानको दौडमा मानवीय सूचकांकहरू निकै पछाडी छुटेको तत्थ्य अस्वीकार गर्न पटक्कै मिल्दैन |
समस्या के हो भने हरेक देश आफ्नो स्वदेशी आवश्यकता वा नेतृत्वको बुझाइ अनुसार अधिकार तथा कर्तब्यको ब्याख्या गरिरहेका छन् | एस्तो ब्याख्याको आधार विवेकमा आधारित छैन | आफ्नो स्वार्थका आधारमा ब्याख्या भएको छ | यस्तो ब्याख्याले एकताको अवधारणा तथा सहकार्यको आधारभूत संभवानामा नै प्रहार भएको छ | जतिधेरै शान्ति र सहअस्तित्वको कुरा गरे पनि उपलब्ध हुन सकेको छैन | स्वार्थ विजयी भएंकोले सहअस्तित्व र शान्ति हारेको हारै छ |
असलमा, विज्ञानको विकासले प्रवन्धन र प्रवन्धनको विकासले मानिसभित्र स्वार्थलाई घनिभूत हुन मदत गरिरहेको छ | स्वार्थको सुरक्षाको चिन्तामा सत्य तथा मानवीयताको घांटी थिचेको छ | देखिएको नाङ्गो सत्य पनि ओझेलमा पारिएको छ | स्वार्थको मानवतावादी ब्याख्या भएको छ |
विज्ञान आफैमा असल वा कमसल छैन | बैज्ञानिक आविष्कारहरूको प्रयोग गर्ने र गर्न चाहेर पनि गर्न नसक्नेको द्वन्दले अहिलेको विश्व आहत बनिरहेको छ | धार्मिकता, जातीयता, क्षेत्रीयता,र राष्ट्रियता पनि अशान्तिका कारक तत्व हुन भन्ने कुरा नकार्न सकिन्न |
राजनैतिक भाषा र बुझाईबाट बाहिर निस्केर हेर्ने हो भने वर्तमान अशान्तिको प्रमुख कारण स्वार्थ नै हो | हाम्रो राष्ट्रियता होस् अथवा व्यक्तिगत बुझाई हामी सबैको लक्ष उपलब्ध सुविधाहरू घट्न नदिने र अन्य ठाउँमा प्राप्त सुविधाहरू प्राप्त गर्नमा केन्द्रीत छ | बलिया राष्ट्रहरू एस्तो स्वार्थ पूरा गर्न लागिरहेका छन् | साना राष्ट्रहरू (निर्धन राष्ट्रहरू) आफ्नो संसाधन सुरक्षित गर्न क्रियाशील छन् अथवा बलिया राष्ट्रहरूको छाया बनेर आफ्नैविच द्वन्द्व ग्रस्त छन् |
आफ्नो उदेश्यप्राप्तिका लागि बलिया राष्ट्रहरूले निर्वल वा निर्धन राष्ट्रहरूका जनताहरूमा धार्मिक, क्षेत्रीयता, वर्ण वा अन्य आधारहरूमा स्वत्व (परिचय) खोज्न उत्प्रेरित गरिरहेका छन् | ठूला राष्ट्रहरूको समर्थनप्राप्त “परिचय द्वन्द्व”ले राष्ट्रहरू आहत भैरहेको अवस्थामा ठूला राष्ट्रहरू त्यहाँको संसाधन कब्जा गरेर आफ्नो देशमा पुर्याउने नीतिमा सफल भएका छन् |
जुन विषय तथा राजनैतिक अधिकार र कर्तब्यको उठानमा शक्तिराष्ट्रहरूले आफ्नो राष्ट्रमा कडा प्रतिवन्ध लगाएका छन्, तिनै विषयहरूका लागि निर्वल देशमा लगानी गरिरहेका छन् | अफ्गानिस्तान, सिरिया, इजिप्टजस्ता देशहरू यसका उदहारण हुन् भने दक्षिण अफ्रिकेली देशहरू पनि खराव प्रतिविम्व हुन् | नेपालको वर्तमान राजनैतिक द्वन्द्व पनि परिचयसंग गाँसिएकोले स्वार्थको भूमि बनिरहेको प्रमाणित हुन्छ |
यो वर्ष युनेस्कोले बहसका लागि अगाडी सारेको विषय “मिलेर बस्ने बुझाई”ले विकसित छौँ भनेर घमण्ड गर्ने मानव-समाजलाई आदिम युगतिर फर्काएको छ | २१ सौ सताब्दिमा पुन: मान्छेले सबै मिलेर बस्ने सहिष्णुताको पाठ पढ्नु पर्ने भएको छ किनभने विज्ञानको विकासले मात्र मान्छेहरूमा सहिष्णुताको विकास हुँदैन भन्ने पुष्टी भएको छ |
अहिलेको विश्व पहिले भन्दा असुरक्षित छ | धर्मका नामना मान्छेहरू विभाजित छन् | विश्वका देशहरू मध्ये केवल ६ देशहरू मात्र द्वन्द्व रहित छन् | हरेक मिनटमा द्वन्द्वमा परेर ४१ जना मान्छे मारिन्छन् | यस्तो मानव-संहार स्वतन्त्रता, पहिचान, धार्मिक भिन्नता, सामाजिक भिन्नताजस्ता परम्परागत विषयहरूको प्राप्तिका लागि हुन्छ | अर्को शब्दमा भन्ने हो भने २१ सौं शताब्दिको मान्छे एतिविध्न स्वार्थी बनेर विकसित भएको छ कि उसले आफ्नो स्वार्थका लागि विभिन्न बहाना गरेर आफुजस्तै अर्कोको हत्या गर्दा गौरव ठान्छ |
स्वार्थले अन्धो भएको मान्छेले आफ्नो स्वार्थ रक्षाका लागि अणुवमहरू निर्माण गरेको छ | अस्त्रहरूको निर्माण गरेको छ र यी अत्याधुनिक हतियारहरूबाट सहयोग प्राप्त गरेर आफुसंग असहमति राख्नेहरूको नामोनिशान मेटाउन चाहन्छ | कहिले शस्त्रको बलमा जिसस कालीन समयमा फर्किन चाहन्छ भने कहिलो मोहम्मदको समयमा | विश्वका धेरैजसो अशान्तिहरू पुराना मूल्यहरू स्थापित गर्ने प्रयत्नमा भएका छन् | विश्व अचम्मको विरोधाभाषमा उभिएको छ |
प्राचीन ग्रीकेली दार्शनिकहरूको भावना विरुद्ध डार्कयुगको उदय भयो, पुन: पश्चिमेली डार्कयुगको विरुद्ध धर्मनिपेक्ष शक्तिहरूको विकास गरेको देखिन्छ | चर्च र बाइबल, पैगम्वर र कुरानले किचिएको बौद्धिकताबाट मुक्तिको बाटो लिएको युरोपेली चिन्तन दिग्भ्रमित देखिन्छ | उनीहरू ब्यबहारिक रूपमा धर्म त्याग्ने पक्षमा र सैद्ध्यान्तिक धर्मलाई च्याप्ने रोग पिडित छन् | एस्तो द्विविधापूर्ण छुतले विश्व नै असजिलो परिवेशमा फंसेको छ |
अहिलेको विश्व पश्चिमेली सिद्धान्तहरूको उपभोक्ता भएको कारण पिडित भएको हो | हामी नेपालीहरूले आफुविच सदियौंदेखि रहेका सिधान्तहरूको बजारीकरण गर्न नसक्नु र पश्चिमाहरूले आफुले निर्माण गरेका सिद्धान्तहरूको घेराभित्र पर्ने गरी सिद्धान्त निर्माण नभएसम्म अस्वीकार गर्ने द्वन्द्वमा पारेका छन् |
उदाहरणका लागि पहिचान र अधिकार युरोपेली सिद्धान्तका प्राथमिक मोडल हुन् र त्यसै मोडेलका आधारमा अमेरिकाआदि देशहरू विश्वमा शान्ति तथा सहअस्तित्वको प्रयत्न गर्छन् | यो मोडेलमा प्रत्येक भाषा, जाति तथा समान वर्ण भएका व्यक्तिहरू राष्ट्र हुन् | व्यक्तिहरू राष्ट्र हुने ब्यबस्थामा मान्छेहरू संगै मिलेर बस्छन् भनेर बुझ्ने सिद्धान्त नै गलत हो | जव सम्म हामीले युरोपेली राष्ट्रको यो बुझाइमा परिवर्तन गर्दैनौं तवसम्म सहअस्तित्व र सहिष्णुताको विकास सम्भव छैन | मलाई लाग्छ, पश्चिमेली विश्वविद्यालय र विद्वान्हरूले यो परिवर्तनका लागि तयार हुनुपर्छ |
दर्शनशास्त्रीले विचार दिने हो हतियार होइन | अहिलेको विश्व विचार र हतियारका कारण रुग्ण बनेको हो | खोटपूर्ण विचारहरूले हतियारलाई महत्व दिन्छन् | एकातिर शक्तिको कुरा गर्ने अर्कोतिर हतियार पनि बेच्ने दुई जिब्रे पद्यतिको अन्त्य नभए सम्म विश्वशान्ति असम्भव छ | मैले यसो भनिरहँदा के विर्सेको छैन भने विश्वशान्तिको स्थायित्व स्थापित गर्ने दायित्व पनि हामी मानव कै हुन्छ | हामी न अशान्तिसंग भाग्न सक्छौं न शान्ति विना रहन सक्छौं |
अशान्ति र शान्तिको बहस निकै प्राचीन हो, भनौं मान्छेले लडाई खेल्न थालेपछि हो | अव वेद कै कुरा गरौँ | ऋग्वेद विश्वको सबैभन्दा प्राचीन लिखित दस्तावेज भएको कुरा निर्विवाद छ | यसको इतिहास कमसेकम चारहजार वर्षभन्दा कमको छैन | यसमा पनि सहमति, सहिष्णुता, सहयोग, युद्ध विराम, तथा दिगो शान्तिका लागि थुप्रै चिन्तनहरू छन् | वेदलाई केवल हिन्दूहरूको धार्मिक ग्रन्थ मान्ने क्षुद्रतापूर्ण चिन्तनबाट माथि उठ्ने हो भने वेदका बाक्यहरूले दीगोशान्तिको बाटो खोल्छन् भन्ने विषयमा शंका गर्न मिल्दैन |
