निराशा के हो !

निराशा के हो !

निराशा के हो

निराशा के हो – निराशा (frustration) के हो – मनोबैज्ञानिक रूपमा निराशाको अर्थ हो धेरै परिश्रम गर्दागर्दै, आफु योग्य हुँदाहुँदै, काम गर्दागर्दै पनि आफुले लक्ष लिएको काम गर्ने वातावारण नमिल्नु वा विविधकारणले लक्षप्राप्तिमा अवरोध सृजना हुनु | जव हाम्रो लक्षमा अवरोध सृजना हुन्छ, त्यसले हाम्रो मनमा बेचैनी, अविश्वास र हलुका रीसको अनुभव हुन्छ | हाम्रो मानसिक सम्वेदना नकारात्मक हुन्छ | अनि, हामीले आफुलाई, वातावरणलाई वा अन्यलाई यसका लागि जिम्मेवार ठान्न थाल्छौं | ‘अव म/हामी असहाय भएँ’ भन्ने तीब्रतर मानसिक अनुभूति नै निराशा हो | लक्षप्राप्तिमा आएको अवरोधले निम्त्याएको मानसिक समस्या हो |
निरासा दूई प्रकारले अनुभूत हुन्छन् – बाह्य र आन्तरिक | देश, समाज वा आफुवरिपरिको वातावरण आत्मविकास योग्य नहुँदा, सहयोगीहरूले सहयोग नगर्दा, आफुलाई माया गर्ने मानिसहरू पर जाँदा, आफुले खाईपाई आएको सुविधा हट्दा वा प्राकृतिक विपत्तिका कारणले चिताएको काम गर्ने वातावारण नहुँदा उत्पन्न हुने निराशा बाह्य हुन् भने लामो विरामी भएर, एक्लो जीवन विताउनु पर्दा, आत्मबल कम्जोर हुँदा उत्पन्न निराशा आन्तरिक हुन्छ | आन्तरिक निराशाले हीनताबोध जगाउँछ भने बाह्य निराशाले क्रोधआदि | अहिले नेपाली समाजमा देखिएको निराशा बाह्य कारणहरूले उत्पन्न भएको हो भन्न अनुचित हुँदैन |
भगवान् बुद्धको दर्शन निराशावादमा आधारित छ | हामी जीवनमा निराश हुन चाहन्नौं तर निराशा र मानवीय जीवनको अचम्मको सम्वन्ध छ | निराशाको अनुभव नगरेको मान्छे नै भेट्न सकिन्न | हालैको भूइँचालो होस् अथवा अधिकारप्राप्तिका नाममा चलिरहेका मानवीय द्वन्द, आफन्तको मृत्यु, दीर्घ रोग आदि घटनाहरू निराशाका कारक हुन्छन् | जुन घटनाले हाम्रो भविष्यप्रतिको आशावादीतामा अवरोध पुर्याउने सबै घटनाले निरासा जन्माउँछन् |
हरेक नेपाली २०५३ सालदेखि विकसित भएको हिंसा र त्यसले निम्त्याएको ‘चरमनिराशा’को अन्त्यका लागि वि.स. २०६३ सालपछि नेपालले काँचुली फेर्ने अनुमान धेरैले गरेका थियौं | हामी नेपाली जनताको आशा र अनुमान ठीक भएन | राजनैतिक खिचातानी र स्वार्थको बलिवेदीमा हामी नेपालीको आशावादिता स्वाहा भयो | हाम्रो सकारात्मक सोच र आशावादिताको संसारमा जवरजस्त तुसारापात भयो | आम नेपालीहरूमा पुन: निराशाका घनावादलहरू देखा पर्न थालेका छन् |
जसरी अहिले नेपाली समाजको धार्मिक, सामाजिक, सांस्कृतिक र जातीय सद्भावहरू भत्किन्दै छन् र छिमेकीहरू बीच जातीय सीमानाहरू प्रति आकर्षण बढ्दो छ, यसले आम नेपालीहरू निराश भएका छन् | चियापसलहरूमा ‘नेपाल खतम भयो, सबै नेताहरू चोर हुन्, अव नेपालमा बाँच्न पनि नसकिने भो, अव नेपाल बस्न नसकिने भयो, अब नेपाल मान्छे बस्न लायक रहेन, मलाई त आफ्नो दशा देखेर मर्न वा मार्न मन लागिरहेको छ, म सारै निराश भएको छु, नेपालमा केही पनि गर्न सकिन्न जस्ता उद्गारहरू आम बनेका छन् |
युवायुवतीले आफ्नो भविष्य नेपालमा देखिरहेका छैनन् | अभिभावकहरू आफ्ना बालबच्चाको भविष्यका विषयमा निराश छन् | भुइचालोले दिएका घाउँले निराशालाई अझै मलजल दिएको छ | चरम निराशाका कारण आत्महत्याका घटनाहरू बढेका छन् |
निराशामा के हुन्छ ?
निरासा जीवनको अनिवार्य अंग हो | हामी कुनै एक परिस्थितिमा निराश हुन्छौं र केही समय, दिन वितेपछि पुन: आफ्नो काममा लाग्छौं | मनोवैज्ञानिकहरूकाअनुसार निराशाबाट पिडित व्यक्तिहरू छिटो र स-सानो कुरामा रिसाउने, अत्याधिक झर्किने, रक्सी सेवन गर्न मन लाग्ने, हरेक काम अहिले नै सक्नुपर्छ भनेर आत्तिने, एकाग्र भएर बस्न नसक्ने, एकोहोरोपन, कुनै पनि काम गर्न मन नगर्ने र संसार व्यर्थछ, के गरेर के हुन्छ, संसारमा बाँचेर के नै हुन्छ र ? जस्ता विचारहरू निराशाका लक्षण हुन् | निराशाका लक्षणहरू लामो समयसम्म रहनु आत्मघाती हुन्छ |
को निरास हुने सम्भावना हुन्छ :
मैले अघिनै निवेदन गरें कि परिवेश विशेषमा सबैले निरासा अनुभव गर्न सक्छन् | तर परिश्रम गर्ने ईच्छा हुँदाहुँदै पनि वातावरण नमिलेका, वारम्वार विद्यालय बन्द भएर पढ्न नपाएका, योग्य भएर पनि योग्यताअनुसारको रोजगारी प्राप्त नगरेका, राम्रो काम गर्दा पनि धन्यवाद नपाउने, आर्थिकस्तर न्यून भएका, परिश्रम गर्दा पनि परीक्षामा राम्रो गर्न नसक्ने, औषधि उपचार गर्दा पनि रोग निको नहुनेजस्ता समुदायहरू निराशाको भुमरीमा पर्न सक्छन् | समस्याको प्रकृतिअनुसार निरासाको समय पनि हुन्छ | लामो समयसम्म मनमा निराशा रह्यो भने मानसिक दवाव (depression) को विकास हुन्छ | मानसिक दवावका धेरै कू-प्रभावहरू छन्, यी विषयमा फेरी चर्चा गर्नेछौँ |
निरासाबाट यसरी जोगिने – मनोकल्पित विचारका कारण हामी निरास हुन्छौं | हाम्रो पहिलो प्रयास आफ्नो र अर्काको मनमा निरासाका वादलहरू उठ्न नै नदिनु हो | तर यो कुरा सधैं सम्भव हुँदैन | यसका लागि हामीले जीवनमा घटित हुने हरेक घटना र त्यसबाट उत्पन्न हुने परिणामका विषयमा केहीनकेही जानकारी हुनुपर्छ | जव हामीलाई कुन घटनाको कस्तो परिणाम हुन्छ ? भन्ने अनुमान हुन्छ, त्यसले हाम्रो निरासापन न्यून गर्न मदत गर्छ |
जीवन र समस्याहरू जोडिएका तत्थ्य हुन् | कुनै पनि मान्छे समस्या र सन्देहरहित हुँदैन |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *