घृणावाद विरुद्ध एउटा अनाथालय
म बाहुनको छोरो | बाहुनको छोरो भएर जन्मनु मेरो चाहना होइन | कुनै जातमा जन्मिनु वा मर्नु अपराध हुन सक्दैन | म हिन्दू परिवारमा जन्मे, हिन्दूले सिक्नु पर्ने र गर्नु पर्ने क्रियाकलाप सिकें | पण्डितको छोरो भएको नाताले मैले वेद, चण्डी, लघुकौमुदी पनि पढें | मैले कुनै दलित, जनजाती, आदिवासी वा मधेसी जनताका बिरुद्ध प्रयोग गर्न यी सीप आर्जन गरेको थिइन | अझै भन्ने हो भने मैले आफ्नो सांस्कृतिक शिक्षा प्राप्त गरिरहंदा हिन्दू र गैरहिन्दू, दलित-गैरदलितको सीमारेखा पनि थाहा थिएन | आदिवासी-जनजाति, मुस्लिम वा थारूहरू फरक जात हुन् भन्ने ज्ञान त हुने कुरै भएन | त्यस बेला ममात्र होइन मेरो सिंगो गाउँमा जातीवाद थिएन | सांस्कृतिक निरन्तरता जातिवाद हुनसक्दैन |
समय वित्दै गयो, भारतबाट नेपालतिर बगिरहेको हावाले मजस्ता हजारौं र लाखौं जनताहरू ‘जाति’मा वदलिए | मजस्ता सामान्य मान्छेहरू ‘मान्छे’ बनेर बाच्ने अवसरबाट बन्चित पारिए | घृणावादको भयंकर रोग भारतीय सीमा हुँदै नेपाल भित्रियो | भारतीयहरूले राजनैतिक शक्ति प्राप्त गर्न प्रयोग गर्ने मानसिक रसायनले आज नेपाल आक्रान्त बनेको छ | नेपालीहरूको भाग्यमा घृणा, जातिवाद, आफ्नै सांस्कृतिक जीवनप्रति अनास्था गर्नेजस्तो निको नै नहुने रोग सल्कियो | रोग सल्काउनेहरू हाँसिरहेका छन्, रोग लाग्नेहरू रोइरहेका छन् |
अहिलेको डा. धर्मनिरपेक्षहरूले भित्र्याएको ‘जातीय घृणावाद’को रापले मजस्ता निरपेक्ष व्यक्तिहरू पनि प्रभावित गर्न थालेको छ | आफ्नै छिमेकिले आफुलाई ‘देशमारा’ भनेर सुन्ने क्षमता ह्रास हुँदै गएको छ | मेरो प्राकृतिक बाहुन मरेर मभित्र नै अराजक, जातीय, निष्ठुरी बाहुन जन्मिने डरले म आक्रान्त बन्न थालेको छु | मेरो बिग्रिएको मनलाई मैले कहिलेसम्म थाम्न सक्छु – भन्न सक्ने अवस्था र ब्यबस्था रहेन | आजका तारिखमा मजस्ता हजारौं व्यक्तिहरूले आफ्नो घृणा रोकेर राखेका छन् |
आज रक्षा बन्धनको पर्व हो | धेरै नेपालीहरू यसलाई जनैपुर्णिमाको पर्व भनेर मान्छन् | रक्षा सबैको साझा चाहना र संस्कृति हो | मन्त्र पढ्दै बाहुनले हातमा धागो बांधिदिन्दा आफु सुरक्षित भएको अनुभब गर्छु | कुनै पनि बाहुनले जाति वा नाक हेरेर धागो बाँधेको मैले देखेको र सुनेको छैन | भारत र तराइमा दिदीबहिनीले राखी बाँधेर दाई-भाईबाट आफ्नो सुरक्षा सुनिश्चित गर्छन् | मेरो सांस्कृतिक आस्थाका कारण मैले जनै धारण गर्छु, रक्षाबन्धनमा बांधिन्छु | यो मेरो अधिकार हो, यो मेरो संस्कृति र संस्कारप्रतिको प्रतिबद्धता हो | मेरो यो आफ्नो चाड हो, विदेशबाट बोकेर झिकाइएको धार्मिक पर्व होइन |
म आमाको पेटबाट बाहिर निस्केर नेपालको भूमिलाई स्पर्श गर्दा, ठूलो र सानोजातका आधारमा जातीय भेदभाव गर्न नपाइने कानुन बनिसकेको थियो | संविधानमा छुवाछुतको अस्तित्व थिएन | म विद्यालयमा जाँदा सबै जातजाति र नाकवाल संगै बसेर पढेका थियौं | गुरुङ, मगर, बाहुन क्षेत्रीहरू जातजाति होइन, सांस्कृतिक राष्ट्र थिए | कहीं कसैलाई छेकवार वा नाकको दम्भ थिएन | मैले धेरैपटक गुरुङको भात खाएको छु, गुरुङहरूले मेरो घरको | हाम्रो आफ्नै गाउँमा दलितहरू नभएको हुँदा, आफ्नै घरमा छुवाछुतको अनुभव देख्नु र भोग्नु परेन | घरबाहिर कहिल्यै पनि सानोठूलो जातीयताको अहंकार मैले सहनु परेन |
जातीयतामा सबैभन्दा पिडित वर्ग नै ‘दलित’ हुन् | दलितहरूप्रति गैरदलितहरूको दृष्टिकोण बदलिंदै गर्दा नेपालमा जातीयघृणावाद झाँगिएको छ | पिडितहरूका नाममा गैरपिडितहरू हिरो बनेका छन् | अचम्मको कुरा, डलरवादीहरूले पुन: ‘दलित’ पहिचानका रूपमा जातिवाद स्थापित गर्ने प्रयत्नगरिरहेका छन् | यदि ब्राह्मण, क्षेत्री हुनु जातीयता हो भने दलित हुनु वा मगुराली हुनु पहिचान कसरी हुन सक्छ ? जातीहरू बीच घृणाका बीऊ रोप्नेहरूका लागि उपरोक्त प्रश्नको जवाफ युरोपीयन होटलमा लेखिन्छन् |
नेपालमा एमाओवादीले मार्क्सवादको अचम्मको ब्याख्या गरे | युरोपबाट चाइना हुँदै नेपालमा पसेको माओवादी चिन्तन ‘जातीवाद’मा परिवर्तीत भएको छ | बाइबलको चिन्तन धारामा आफ्ना प्राचीन संस्कृतिहरू गुमाएका ‘बैचारिकअन्धा ‘युरोपियन गुरूहरूसंग माओवादको फ्युजन हुन्छ | जातिविशेष विरुद्ध धेरै जातिहरूलाई उचालेर घृणावाद फैलाउन यी सफल हुन्छन् | बाइबलको चिन्तनको पृष्ठभूमिमा अन्धा बनेका र मार्क्सवादको पृष्ठभूमिमा आफ्नो प्राकृतिक आधार गुमाएका समुहहरूको मिलनले नेपालमा जातीयघृणावादको विकास भएको छ | अब यो फैलँदो छ | फैलिंदै गर्दा अवसरवादीहरू तछाड र मछाड गरेर लाभ उठाउन खोज्दैछन् |
विगत १२ वर्षदेखि मैले एउटा दलित बालअनाथालयका बालबालिकाहरूलाई ‘धागो बाँध्ने’ गरेको छु | हुन त यो अनाथालयमा सबै जातजातिका बालबालिका बस्छन् त्यैपनि दलित समुदायका बालबालिकाको बाहुल्यता छ | स्याङ्जाको सुवेदी, धरानको घिमिरे, भोजपुरको राई, पाँचथरको लिम्बु, नवलपरासीको थारू, पाल्पाको कुमाल, मकवानपुरको चेपांग, रोतहटको यादव, बाग्लुंगको मगर र लपुको नेवारहरू मिलेर बसेका छन् | यहाँ हुर्किएका केही बालबालिकाहरू विदेशमा उच्चअध्ययन गरिरहेका छन् | यहाँ सबैको एउटा पहिचान छ – नेपाली | धार्मिक, जातीयताको घृणावादबाट यी बालबालिकाहरू सुरक्षित छन् | यहाँ मधेश छ तर पहाडीप्रति घृणावाद छैन, मधेश छ तर पहाडीप्रति माया घटेको छैन | यहाँ हिमाल छ तर बाहुनक्षेत्रीप्रति घृणावाद छैन | यहाँ दलित र गैरदलितको डलरवादी घृणा छैन | यहाँ नेपालीपन र एकताको अमृत छ | एकाध घरको प्रेम छ | यहाँ कसैले आफ्नो पहिचान लुकाएको छैन | कसैले आफ्नो पहिचान पनि गुमाएको छैन | डा. धर्मनिरपेक्षले निम्त्याएको घृणावादको यहाँ नजर नलागोस् !!
यी बालबालिकाहरूले चुच्चो नाक र थेप्चेनाकका आधारमा युरोपीय गुरूहरूका माध्यमबाट डा. धर्मनिरपेक्षहरूले भित्र्याएको घृणावादको विषबाट जोगाउनु नै हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ | आज तथाकथित डा. धर्मनिरपेक्षहरूले गुम्दै नगुमेको पहिचान र संविधानत: अन्त्य भएको छुवाछुतलाई पुन: घृणावादरूपमा स्थापित गरेर आफ्ना ‘प्रभु’हरूप्रति आफ्नो भक्तिभाव प्रदर्शन गर्ने प्रयत्न गरिरहेका छन् | यी आन्दोलनहरूका अभियन्ताहरूले ‘गरीव वा सीमान्तिकृत’ समुदायलाई नेतृत्वमा पुग्न पूर्णत: रोक लगाएका छन् | डलरमा घृणावाद बेच्नेहरू सबै हुनेखाने छन्, नहुनेहरू सडकमा छन् |
मैले आज अनाथालयका बालबालिकालाई रक्षाबन्धन बाँधिरहेको अवस्थामा सोचें – हाम्रो देश यो अनाथालय सरह पनि बन्न सकेन | अनन्तकाल देखि गरिवी र अभावमा जीवनयापन गर्न बाध्य हामी नेपालीलाई प्रयोग गर्ने नै भेटिए | आज यो धागो बाँधेपछि म निश्चिन्त भएको छु – डा. धर्मनिरपेक्षताको फन्दामा परेर विरामी परेको नेपालको उपचार अनाथालयका बालबालिकाले गर्ने छन्, जातीयघृणावादलाई यिनले परास्त गर्ने छन् | म गर्व गर्छु कि तथाकथित यी एलिटहरू भन्दा अनाथालयका बालबालिकाहरूमा नेपालीपन र नेपालीमन सुरक्षित छ, रहने छ |
रक्षाबन्धनको धागो न हिन्दू हो न इसाई न यो राई, थारु वा मगर वा ब्राह्मण नै हो | यो नेपाली संस्कृतिको एउटा पूरातन इतिहास हो जसमा हामी नेपालीहरूको पहिचान र परम्परा बसेको छ | यो धागोले कसैको पहिचान मेटाउने काम गर्दैन, कसैको जात सोध्ने काम गर्दैन, कसैको धर्मलाई शैतान भनेर गालीगलौज गर्दैन | धागो बाध्दै गर्दा पढिने मन्त्रहरूले सबैको कल्याण गर्ने आशिर्वाद पोख्छन्, विश्वकल्याणको कामना गर्छन् |
रक्षाबन्धनको कथा सुनेर विदेशी महिलाले भनिन् – ”हामीसंग तपाईंहरूको जस्तो संस्कृति नै छैन | संस्कृतिको नाममा एउटा बाइबल हाम्रो लागि पर्याप्त छैन | आज यो धागोले मलाई नया सोच दिएको छ | मैले आजसम्म मानवमात्रको कल्याणका लागि पढिने मन्त्रका विषयमा सुनेकी थिइन | बाइबलले केवल इसाईहरूको रक्षा गर्ने बचन दिन्छ | तर वेदले त इसाईहरूको लागि पनि प्रार्थना गर्न छुट रहेछ | मैले यो सबै अमूल्य उपहारका रूपमा आफ्नो देशमा सजाएर लैजाने छु |”
रक्षाबन्धनको धागोले नेपालीहरूमा विकसित भएको जातीयघृणावाद र त्यसको मलजलमा मुख्यमन्त्रीको कुर्सी देख्नेहरूको विनाश गरोस् | नाक, वर्ण, भाषा, ठाउँहरू फरकफरक भए पनि हाम्रो नेपालीमन फरक नहोस् | रक्षाबन्धनको शुभकामना !!!

