धर्म र राजनीति
१. इसाई तथा मुस्लिम पन्थहरूलाई धार्मिक समुदायका रूपमा भन्दा पनि राजनैतिक धर्मका रूपमा बुझ्नुपर्छ | मैले भन्नु नपर्ला आज विश्वमा इस्लाममा आधारित ५३ बटा राष्ट्रहरू छन्, इसाई धर्मसंग आबद्ध ७८ राष्ट्र छन् र बौद्ध धर्मसंग जोडिएका १२ बटा र एउटा राष्ट्र यहुदीहरूसंग सम्बन्ध छ | मैले उल्लेख गरेका राष्ट्रहरूको सूचि इन्टरनेटमा उपलब्ध छ | तर विश्वको तेस्रो सबैभन्दा बढी जनसंख्यालाई प्रतिनिधित्व गर्ने “हिन्दू”हरूको आफ्नो धर्ममा आधारित कुनै राष्ट्र छैन | विश्वमा एकमात्र हिन्दू राष्ट्र “नेपाल” थियो भन्ने अव इतिहासमा पढ्नु पर्ने विषय बनेको छ |
२. जव नेपाली तथा भारतीयहरूले धर्म र राजनीतिको कुरा गर्छन् धर्म शब्दलाई रिलिजनको पर्यायवाचिका रूपमा उपयोग गर्छन् | के धर्म रिलिजन हो त ? यो प्रश्नको उत्तर खोज्ने र प्रतिमान स्थापित गर्ने दिशातिर हाम्रो राजनीति र विश्वविद्यालयहरू पूर्ण रूपमा उदासीन छन् | गुण र धारण बाचक शब्द “धर्म”लाई कविलाको चालचलन (रिलिजन)को समानान्तर ब्याख्या गर्नु र तेसै अर्थमा धर्मशब्दलाई बुझ्ने र बुझाउने प्रयत्न गर्नु हिन्दू संस्कृतिप्रतिको गम्भीर अपराध हो | यदि रिलिजन र धर्म पर्यायवाची बनेका छन् भने पनि नेपाली संविधानले धर्मनिरपेक्षताको व्याख्या गरेझैं स्पष्टीकरण दिनु आवश्यक छ |
३. अहिले जुन धर्म र राजनीतिको प्रसंग छ, त्यो सन् ८८८ मा युरोपमा क्याथोलिक पोपले रोमका राजाउपर इसाई धर्मदण्डको प्रधानता हुनु पर्ने व्यबस्था गरेपछि आरम्भ भएर सन् १६०० को अन्त्यतिरको “क्याथोलिक शासन”को अवधिलाई “डार्क एज” भनिन्छ | यो अवधिमा युरोपका सबै राष्ट्रहरू प्रत्यक्ष रूपमा पोपको आदेशमा चल्थे | राजा र राष्ट्रहरू पोपका प्रतिनिधि थिए | राजाहरू पोपका कारिन्दासरह थिए | पोपको आदेशलाई सर्वप्रथम जर्मन मार्टिन लुथरले चुनौति दिए | पछि, पोपको आदेशमा प्रोस्टेस्टेन्टहरूलाई जिउंदै जलाएर मार्ने काम भयो, यो होलोकास्टका नामले जानिन्छ | सन् ९०० देखि सन् १७०० सम्मको अवधिलाई क्याथोलिकहरू गोल्डेन एज मान्छन् भने क्याथोलिक शासनबाट मुक्ति प्राप्त गर्नेहरू डार्कएज भन्ने गर्छन् | धर्मबाट राजनीतिलाई अलग गर्नुपर्छ भन्ने आन्दोलनको आरम्भ सन् १६००को आरम्भबाट भए पनि नजिता भने सन् १८००को अत्याबाट मात्र प्राप्त हुन थालेका हुन् |
४. आज रिलिजनलाई धर्म बुझ्नेहरूले देशको मौलिक चिन्तन र व्यबहार प्रणालीमैं प्रहार गरिरहेका छन् | धर्मको अर्थ असल गुण हो र असल गुण सबैका लागि हुन्छन् | स्वधर्म देशकाल सापेक्ष हुन्छ, व्यक्तिगत हुन्छ भने साधारण धर्म विश्वका लागि हुन्छ | याज्ञवल्क्य, मनु, असीत नारदले मात्र होइन बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा तथा खप्तडबाबाले पनि यही भन्नुभएको छ | केवल पश्चिमा प्रतिमानलाई मात्र राजनीति ठान्ने विपी कोइराला, मदन भण्डारी तथा प्रचण्डहरूको पूर्वाग्रहले धर्मलाई रिलिजन र रिलिजनलाई धर्म देख्छ र यसैका आधारमा धर्म र राजनीति अलगअलग हुन् भन्ने धारणा राख्छ |
५. सन् १६०० को अन्त्यतिरबाट रिलिजन र राजनीति अलग हुनुपर्छ भन्ने चर्चा चलेको हो | सन् ८८८ देखि रोमन क्याथोलिकहरूले राष्ट्रहरूलाई रोमन-क्याथोलिक सापेक्ष बनाएर विश्वका हरेक घटना तथा विविधताहरूलाई बाइबलको चस्मा लगाएर हेर्ने अनिवार्यताको अनुज्ञा जारी भएपछि युरोपेली जनताले चर्चविरुद्ध विद्रोह गरेका हुन् | असलमा, चर्च र राजनीति अलगअलग हुनुपर्छ भन्ने युरोपेली मान्यतालाई नेपाल र भारतमा धर्म र राजनीति अलगअलग हुनुपर्छ भएर बुझ्ने प्रतिमानका रूपमा स्थापित गरियो |
६. अव प्रश्न उठ्छ के युरोपेली र तिनका बर्चश्वमा स्थापित राज्य व्यबस्थाहरू बास्तवमा रिलिजनबाट मुक्त छन् त ? अमेरिकी राष्ट्रपतिले बाइबल छोएर सपथ ग्रहण मात्र गर्दैनन् न्युजिल्यान्ड, अस्ट्रेलिया, क्यानाडाजस्ता अनेकौं देशहरूले राष्ट्रीय धर्मका रूपमा इसाईका दुई प्रमुख सम्प्रदाय रोमन क्याथोलिक वा प्रोस्टेस्टेन्टलाई स्वीकार गर्दै आएका छन् | जनताको सांस्कृतिक तथा साम्प्रदायिक चेतनामा “इसाई बर्चश्व” छंदै छ | जहाँसम्म मुस्लिम राष्ट्रहरूको कुरा छ, विश्वका ५२ मुस्लिम राष्ट्रहरूले प्रत्यक्ष रूपमा “धर्म र राजनीति अभिन्न” छ भन्ने घोषित गरेकै तत्थ्य हो | यस विषयमा चर्चा गर्नु पर्दैन | थप तत्थ्यचाहिं के हो भने विश्वको जुनसुकै कुनामा बसेको एकजना मुसलमानले पनि भविष्यमा आफ्नो निवास कुनै मुस्लिम राष्ट्रमा भएको आसा गर्छ | मुस्लिम मनमा डेमोक्रेसी, लोकतन्त्र, प्रजातन्त्रजस्ता राजनैतिक प्रतिमानहरूका लागि कुनै ठाउँनै छैन |
७. वि.स. २०७२ देखि नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेको छ | धर्म निरपेक्षताको घोषणा र स्वीकार्यता नेपाली समाजका लागि निकै विवादित छ | राजसंस्था र धर्मनिरपेक्षताका सवालमा नेपाली नेतृत्वले सधैं विवाद खेप्नु परिरहेको छ किनभने यी दुई विषयहरूका विवादलाई जनमत सङ्ग्रह गराएर टुंगो लगाउने मानसिक बल यिनले जुटाउन सकिरहेका छैनन् | एकपटक पूर्वप्रम माधव कुमार नेपालले “कतिपय राष्ट्रका लागि दीर्घकालीन हित हुने कुराहरूमा राष्ट्रिय जनमत गराउनु हुँदैन, जनतासंग सोध्नु हुँदैन” भन्ने अभिव्यक्ति दिंदै प्रजातन्त्रको सबैभन्दा कुरूप अनुहार पेश गरेका थिए | माधवकुमार नेपालको यो भनाई प्रति नेपालका सबैजस्तो “कुपू”दलहरूले स्वामित्व ग्रहण गरेका छन् |
८. हाल भारत जोड़ो यात्रा गरिरहेका भारतीय कांग्रेसका नेता राहुल गांधीले “त्रिपुंड” धारण गरेको फोटो सार्वजनिक गरेका छन् भने ब्राहमणहरूको टुप्पीसम्म काट्ने आदेश दिएका पूर्वप्रम प्रचण्डले विविध अवसरमा पूजाआजा गरेको फोटो सार्वजनिक गरेका छन् | आजीवन पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनीसंग शत्रूतापूर्ण व्यबहार गर्ने ओली, देउवा, प्रचण्डआदि पनि धार्मिकताको नाटक गरिरहेका छन् | यस्तो नाटक गर्नु पर्ने उनीहरूको वास्तविक चरित्रभन्दा निकै फरक तत्थ्य हो | नेपाल र भारतीय संस्कृतिमा जुन धर्म र धार्मिकताप्रतिको पवित्र रुझान र विश्वास छ, यी सबैबाट उनीहरू बाध्य भएका हुन् |
९. धर्म र राजनीति अलग हुन् भन्ने वहस नेपाली जनताले आरम्भदेखि नै बुझेका थिएनन् र न भविष्यमा बुझ्ने सम्भावना नै छ | नेपाली तथा भारतीय समाजले धर्मलाई राजनीतिको विषय नै मान्दैन | महाराज मनु र चाणक्यका अनुसार धर्मले राजनीतिलाई शिक्षा दिनुपर्छ | धर्म असल चरित्रको निर्माण हो | राज्य संचालक धार्मिक (असल चरित्र) हुँदा मौलिकता र परिचय स्थापित हुन्छ | राज्यको कुनै धर्म हुँदैन तर राज्यका संचालक धार्मिक हुनैपर्छ | किनभने सद्गुण (अधार्मिक) रहित राज्य संचालक स्वार्थी र पूर्वाग्रही हुन्छ | पूर्वाग्रहरहित हुनु र निष्पक्ष हुनु धार्मिक राज्यका प्रमुख लक्षण हुन् | नेपाल र भारत धार्मिक राष्ट्र भएकाले वैदिक इतर सम्प्रदायहरूले (बौद्ध, जैन, शिख, मुस्लिम, इसाई, यहुदी, पारसीआदि)ले यहाँ सहज रूपमा सम्मान प्राप्त गरे र गरिरहेका छन् | तथाकथित धर्मनिरपेक्षवादीहरूले जवाफ दिनुपर्छ कि किन २१ औं शताब्दिमा पनि इसाई र मुस्लिमहरूले हिन्दू तथा बौद्धहरूको धार्मिक अस्तित्व अस्वीकार गरिरहेका छन् ?
१०. धर्मनिरपेक्षताको पूर्वाग्रहले भरिएको चिन्तन बोकेर हिडिरहेका राजनीतिज्ञ तथा तिनका मतियारहरूसंग प्रश्नको तार्किक जवाफ छैन तर नेपाली समाजको मौलिक सांस्कृतिक चरित्र विरुद्ध नेपाली समाजमा हावी हुँदै गरेका एकेश्वरवादी (कोरान र बाइबलमा विश्वास गर्ने)ले जुन “कट्टरता”को बीऊ रोप्दै छन् तेसले अनन्त: नेपालको प्राकृतिक धार्मिक स्वभावलाई नष्ट गर्ने छ | कुनै वेला इस्लामलाई स्वीकार गरेको अफगानिस्तान, पाकिस्तान , बंगलादेश तथा कुनै वेला इसाईलाई स्वागत गरेको ग्रीस, इटाली, अनेकौं साउथ अफ्रिकन राष्ट्रहरूले आफ्नो मौलिकता गुमाएका छन् | तेसैले नेपाल र नेपालीको दीर्घकालीन भलोका लागि “धर्म र राजनीति” फरक हुनुपर्छ भनेजस्ता धूर्त्याइँपूर्ण बहस सधैंका लागि अन्त्य हुनुपर्छ |
११. जव नेपालको मौलिक चरित्रमा रिलिजनको कुनै चरित्रनै छैन भने धर्म र राजनीति फरक हुनुपर्छ भन्ने वहस निरर्थक ठहरिन्छ | हो, नेपालको धार्मिकतालाई खलल पुर्याएर राज्यसत्ता हत्याउने “रिलिजन”हरूप्रति सचेत हुनै पर्छ | सचेततालाई प्रमाणित गर्न रिलिजनहरूलाई “तिमीहरूले नेपालका मौलिक धर्म, संस्कृति तथा परंपरा विरुद्ध कुनै क्रियाकलाप गर्न पाउने छैनौं र तिम्रो बजेटबाट नेपालका रैथाने धर्म, संस्कृति तथा परम्पराको जगेर्ना गर्नका लागि (मठमन्दिर, चैत्य, गुम्वा, तलाउँ, पोखरी, पाटी, विश्वसम्पदा, पुस्तक) अनिवार्य रूपमा बजेट नियोजन गर्नुपर्छ” भन्ने शर्त राख्नुपर्छ | नेपालीको धार्मिक समाजका लागि एकेश्वरवादी तथा एकलकाटे रिलिजनहरू क्यान्सर हुन् | क्यान्सरको पहिचान भैसकेको छ तर धूर्त रिलीजीयस नेतृत्वका कारणले उपचार रोकिएको छ |
१२. धार्मिकताले अर्कालाई निषेध गर्दैन | रिलिजनले सधैं अर्काको निषेध गर्छ | नेपाली राजनीतिमा रिलिजनको असाध्य रोग लागेको छ | फलत: हरेक चुनावमा एकअर्कालाई निषेध गरेर सत्ता प्राप्त गर्ने नाटक मन्चन गरिन्छ | साच्चिकै भन्ने हो भने रिलिजनबाट विकसित भएको राजनैतिक प्रतिमान भित्र अर्काको अस्तित्व नै स्वीकार्य छैन | यदि कहीं स्वीकार्य भैरहेको छ भने त्यो सत्ता प्राप्तिको बाध्यता हो | नेपाली राजनीतिमा एतिबिध्न निषेध बलियो भएको छ कि विगतका चुनाव र सदनमा अभ्यास गरिएका निषेधका लागि प्रयोग गरिएका “गालीगलौज” सङ्कलन गर्ने हो भने २१ सौं शताब्दिको लागि नेतृत्व विकास गर्ने हाते पुस्तिका” बन्ने छ |
१३. अन्त्यमा, धर्मलाई रिलिजनका रूपमा स्वीकार गर्न जनतामा दवाव दिने धूर्त राजनीतिज्ञहरूले “धर्म कि धर्मनिरपेक्षता”मा जनमत सङ्ग्रह गराउने हिम्मत गर्नु पर्यो | धेरै नेपाली जनताले यस विषयमा चुनौति दिइरहेका छन् | दोश्रो कुरा, पश्चिमा प्रतिमानको (रिलिजन र राजनीति अलग हुनुपर्छ) धर्मनिरपेक्षताको मोडेल नेपालमा कदापि स्वीकार्य छैन र भविष्यमा एस्तो अस्वीकर्यता अझैं बढ्ने निश्चित छ | बरू समय छँदै, रिलिजनलाई धर्म भन्दै नेपालको मौलिक गुण धर्ममा प्रहार गर्ने क्रियाकलाप बन्द गरेमा कल्याण हुनेछ | नेपाली समाजका लागि धर्म र राजनीति अभिन्न छन् र अनन्तकालसम्म धर्मले राजनीतिलाई दिशा निर्देशन गरिरहने छ | सर्वं धर्मे प्रतिष्ठितम् अर्थात् सम्पूर्ण विश्वनै धर्म (सद्गुण)मा अडिएको छ |

