gsharan icon

उन्मत्त दार्शनिक देवकोटा

उन्मत्त दार्शनिक देवकोटा

लक्ष्मीप्रसाद देवकोटा महाकवि हुन् भन्ने धेरै छन् | निवन्धकारका आफ्नै समालोचना देवकोटाले आफै गरेका छन् | अहिलेसम्म लक्ष्मीप्रसाद देवकोटाका लेखनलाई केन्द्रीय विषय मानेर थुप्रै विद्यावारिधि, स्नातकोत्तर शोधहरू भएका छन् | शोध-सिधान्तअनुसार शोधकर्ताहरूले देवकोटालाई आफ्नो सिधान्तमा ढाल्ने भरमग्दुर प्रयत्न गरेका छन् | सफल भएर नै होला विश्वविद्यालयहरूले उपाधि प्रदान गरेको | विज्ञहरूले स्वीकृत गरेको | यी सबैबाट एउटा कुरा सिद्ध हुन्छ : देवकोटा चिन्तनशक्तिका भण्डार थिए | उनको चिन्तन शक्तिले नै उनलाई ‘देवकोटा’ बनाएको हो | लक्ष्मीप्रसादको थर ‘देवकोटा’ भएकोले देवकोटा थरका मानिस भेट्नेबित्तिकै लक्ष्मीप्रसाद कै सम्झना आउँछ |
भारतको आगरा विश्वविद्यालयको (हालमा डा. भीमराव अम्वेडकर वि.वि.) आंगिक क्याम्पस वृन्दावनको प्राच्यदर्शन प्रतिष्ठानबाट १९९१ मा मैले दर्शनशास्त्रमा एम.ए. गर्दा म २१ वर्षको थिएँ | त्यसपछि के गर्ने भन्ने मसंग कुनै योजना थिएन | पीएचडी गर्नुपर्छ भन्ने सोचाइ पनि थिएन | मैले निम्वार्क संस्कृत महाविद्यालयका तत्कालीन प्राचार्य प्रा. हरिशरण उपाध्यायसंग भागवत पढ्न थालें | श्रीउपाध्याय नेपाली भएर पनि संस्कृत क्षेत्रमा धाक जमाएका विद्वान थिए | अध्ययनका क्रममा नेपालबाट विद्यावारिधि गर्न आएका ब्रतराज आचार्यलाई देखें | हरिशरणजीसंग विद्यावारिधि गर्ने वारे सल्लाह गर्दै गरेको सुने | एक-दूई महिनापछि उनले आगरा विश्वविद्यालयमा पीएचडीका लागि आवेदन गरेछन् | मैले ब्रतराजजी संग कहिल्यै दोहोरो संवाद गरिन | उनले के विषयमा त्यहाँबाट पीएचडी गरे, आजसम्म मलाई थाहा छैन | तर यी दूईको संवादले मलाई पीएचडी गर्नुपर्छ भन्ने महत्वकांक्षा रोप्यो |
मैले आफ्ना गुरू प्रा.डा. जगदीश राम यादवसंग आफ्नो चाहना भनें | १९९१ को ब्याचमा दर्शनशास्त्रमा एम.ए. गर्ने म एक्लो नेपाली थिएँ | मभन्दा पहिलो ब्याचमा हाल प्रणामीसम्प्रदायका धर्म गुरू टहल किशोर थिए | एम.ए. मा मैले धेरै राम्रो नम्वर ल्याएकोले महाविद्यालयका प्राचार्य लगायत दर्शनशास्त्रका प्राध्यापकहरूले मसंग स्नेह गर्थे | मेरो कुरा सुनेर प्राडा यादवले ‘के विषयमा शोध गर्ने विचार छ ?’ भनेर सोधे | मेरो विचारमा कुनै टपिक नै थिएन | साँचो भन्नुपर्दा ‘विषय’का वारेमा म रनभूल्ल थिएँ | केही नेपाली लेखकहरूको नाम सुनेको भएतापनि तिनका कृति पढेको थिइन | मैले नाम सुनेका र केही कविताहरू पढेका नेपाली विद्वानहरूमा भानुभक्त, मोतीराम, धरणीधर, लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा र मोदनाथ प्रश्रित थिए | मोदनाथको देवासुर संग्राम त्यसताकाको समालोचनात्मक पुस्तक थियो | वामपन्थीधारका नेपाली विद्यार्थीहरू बडो अभिरुचिका साथ यो पढ्थे | कांग्रेसीधारका विद्यार्थीहरू यसको आलोचना गर्थे |
मैले संस्कृत पढ्ने आफूभन्दा सिनियर विद्यार्थीहरूसंग आफ्नो कुरा राख्ने | संस्कृत पढ्ने विद्यार्थीहरूलाई हामी कलेज पढ्ने विद्यार्थीको पाठ्य-सामग्री वारे कुनै अनुमान हुन्दैथ्यो | तर संस्कृत विश्व विद्यालयले आचार्यसम्म नै नेपाली विषय राखेको हुनाले नेपाली साहित्यको क्षेत्रमा तिनको जानकारी राम्रो थियो | आसामी नेपाली जगदीश र मोरंगका ठाकुर प्रसादले लक्ष्मीप्रसादका विषयमा त दिनानाथ पाँचथरका दीनानाथ शर्मा र ज्ञानप्रसादको राय बालकृष्णसममा रह्यो | मैले लक्ष्मीप्रसाद देवकोटाको लक्ष्मी निवन्ध संग्रह र समको ध्रुव पढेको थिएँ | मुनामदन त नपढ्ने कुरै भएन | तर मैले यी पुस्तकहरू विद्यावारिधी गर्ने प्रयोजनले पढेको थिइन | मैले यी रचनाहरू आफु नेपाली भएकोले नेपाली पढ्नुपर्छ भन्ने हिसावले पढेको थिएँ | नेपाली जान्ने हिसावले | अनि, मैले यिनका रचनाहरू फेरी खोजेर पढें | त्यहाँ फेरी खोज्दा थप फेला परेका रचनाहरूमा शाकुन्तल र मसान थिए | यिनका आधारमा विद्यावारिधिको विद्यार्थी बन्न सम्भव थिएन | यस बीचमा मैले प्राडा यादवलाई ‘पाँचवटा चाहिने कुरा’को विषयवस्तु पढेर सुनाएँ | उनले थप सामग्री खोजेर प्रस्तुत गर्न भने |
सन् १९९२ जुन महिनामा म पहिलोपटक काठमाडौं आएँ | मेरो लागि काठमाडौंमात्र होइन समग्र नेपाल नै नौलो थियो | मेरो नेपालीको ज्ञान र बोलाई, बुझाई सबै ‘ब्रोकेन’ भन्नुपर्छ | काठमाडौंको १० दिने प्रवासमा मैले त्रिविविको पुस्तकालय, केशर महलको पुस्तकालय, मदनपुस्तकालय, साझा, राजकीय प्रज्ञाप्रतिष्ठान सहित रत्नपुस्तक भण्डार चाहार्न भ्याएँ | लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसादका कृति र चुडामणि बन्धु, बासुदेव त्रिपाठी र केशव प्रसाद उपाध्यायका केही कृतिहरू संकलन गरें | त्यस बीचमा पहिलोपटक नियमित आकस्मिकता पढें | यो किताव पढ्ने सल्लाह सम्भवत: केशव प्रसाद उपाध्यायले दिएका थिए | सुलोचना आफैं पढें किनभने त्रिविविमा भेटिएका एकजना विद्यार्थीले मलाई देवकोटाले द्वन्दात्मक भौतिकवादलाई सुलोचनामा व्यक्त गरेको सुनाएका थिए |
काठमान्डौबाट फर्कंदा मसंग देवकोटाका सबैभन्दा बढी कृति थिए | तरूण तपसीले पनि मलाई तानेको थियो तर वासुदेव त्रिपाठीको घुमाउरो नेपाली भाषाले मलाई रनभुल्लमा पार्यो | वालकृष्ण समको विषयमा मेरो अवधारणा नाटककारका रूपमा बन्यो | देवकोटाको उन्मुक्त चिन्तनले मलाई भाववादी बनाएर छोयो | यिनको पूर्वाग्रहरहित चिन्तनधाराले प्रभावित बनायो | एउटा दार्शनिकका लागि पूर्वाग्रह रहित हुन जति आवश्यक हुन्छ, देवकोटाको चिन्तनमा त्यसभन्दा बढी उन्मुक्तता छ | सत्यप्रति जिज्ञासा छ | यो बेग्लै कुरा हो कि विद्यावारिधिको विषयवस्तु देवकोटा र सम दुवैलाई बनाए | साढे तेइस वर्षमा मैले विद्यावारिधि गर्दा दार्शनिक बनाइएका महाकवि मेरा लागि आज साच्चिकै दार्शनिक भएका छन् | त्यो पनि रामकृष्ण परमहंस, रवीन्द्रनाथ टैगोर भन्दा पनि उच्चस्तरीय |
दर्शनशास्त्रको विद्यार्थी भएका नाताले मैले एउटा कुरा राम्ररी बुझेको छु : सर्वप्रथम कुनै पनि मान्छे दार्शनिक हुन्छ त्यसपछि, कवि, नाटककार, बैज्ञानिक वा अरू केही | मैले देवकोटाका कृतिहरूलाई एउटा दार्शनिकका आँखाले पढें | देवकोटालाई दार्शनिकका रूपमा बुझ्ने प्रयत्न गरें | मेरो विचारमा देवकोटा दार्शनिक नभएको भए महाकवि पनि हुन सक्दैनथे | उनी अब्बल नम्वरका दार्शनिक भएकोले महाकवि बन्न सके | उनले आफ्ना कविताका माध्यमबाट जीवन जगतका वारेमा आफ्नो बुझाई प्रकट गरेका हुन् | एउटा दार्शनिकका लागि बन्धनहरू स्वीकार्य हुँदैन | देवकोटाको लेखन र ब्यबहारिक जीवनलाई कुनै वन्धन स्वीकार्य थिएन | यो कुरो सबैले बोलेका छन् | फरक कुरा के हो भने वामपन्थी चस्मा देवकोटालाई हेर्नेहरूले सुलोचनामा भौतिकवादी देवकोटा भेटे भने समाजवादीहरूले गरीव र मन्दिरका माध्यमबाट समाजवादी | कसैको चस्मामा देवकोटा बिझाएन् | मुनामदन पढ्नेहरूले देवकोटालाई आध्यात्मवादी भन्लान् | ‘आखिर श्रीकृष्ण रहेछ एक’को उद्गार पढ्नेहरूले देवकोटामा कृष्णभक्त भेट्ने छन् | तर देवकोटा आफैलाई थाहा थिएन कि देवकोटा के हो ?
दार्शनिक हुनुको एउटा गजवको मज्जा हुन्छ | हरेक पल मनमा जीवन र जगतप्रतिको सम्वन्ध खोज्ने आगो बलिरहेको हुन्छ | उसमा आफ्नो र अर्काको अस्तित्व बुझ्ने चर्को अभिलाषा हुन्छ | यो चर्को पनमा धेरैपटक आफैलाई विर्संछ | देवकोटाले आफैलाई धेरैपटक विर्सेका उदाहरण छन् | अस्तित्वको खोजको रन्कोमा उनले ‘पागल’ सृजना गरे | कहिले आफ्नो अस्तित्वको मुहान ‘प्राचीनसंसार’मा खोज्ने प्रयत्न गरे भने कहिले ‘प्रकृतिले बनाएको विश्व’मा | कहिले प्रकृति र प्राचीन संसार दुवैलाई नजरअन्दाज गर्दै आफ्नो अन्तरात्मामा | उनलाई शिक्षामन्त्रीको अहंकारले छोएन भने घरघर ट्युसन पढाउने मास्टरको दिनचर्याले उनलाई दुखाएन | उनी आफ्नो जीवनलाई आफुले चाहेजस्तै गरी बाँचे | निश्चय नै क्यान्सर उनको चाहना थिएन | तर पनि यसलाई उनले ‘अस्तित्वमा बिलाउने’ साधनका रूपमा स्वीकार गरेर मोक्षको आनन्दमा बिलाए |
मैले बुझेका दार्शनिक देवकोटा ‘उन्मत्त-दार्शनिक’ थिए | आफ्नो संस्कृति, परम्परा, सभ्यताको औधि माया गर्ने तर त्यसलाई ‘मानवता’को सीमासम्म माया गर्ने र सुरक्षा गर्ने | उनले आफुलाई कुनै मत वा सम्प्रदायको कित्तामा उभ्याएनन् तर कुनै पनि चालचलन र परम्पराको उलंघन पनि गरेनन् | सबै कुरा मानेर पनि केही नमान्ने चिन्तन नै देवकोटाको उन्मत्तता हो | लाइबनित्जलाई ईश्वर उन्मत्त दार्शनिक भनिन्छ | देवकोटा ‘मानवीयताको गुणबाट उन्मत्त’ दार्शनिक हुन् | होइन भने ‘गाईलाई पनि मीठो खान मन लाग्छ’ भनेर खर्पन भरी फुलगोपी बोकेर किन घर पुग्थे !!! यसको अर्थ देवकोटामा मानवीय कमजोरी थिएनन् भनेर देवत्वकरण गरेको बुझिनु हुँदैन | उनी पनि हाडछाला कै मान्छे थिए | तर उनको सत्यनिष्ठा र सहजताका सामु कमजोरीहरू निर्वल बने |
देवकोटाको जन्म शताब्दिका आयोजक ‘नई’ले देवकोटालाई निकै खोतल्ने प्रयत्न गरे | त्यसमा ती सफल पनि भए | तर तिनले देवकोटाको ‘दार्शनिक व्यक्तित्व’लाई छुन सकेनन् | दुर्गा प्रसाद अर्यालले साहित्यिक चस्मा लगाएर देवकोटाको दार्शनिकता बुझ्ने प्रयत्न गरे | तर दार्शनिकता नभई साहित्य जन्मन सक्दैन भन्ने कुरामा यिनले हेक्का पुर्याएन् | दर्शन अर्थात चिन्तन साहित्यको दास हुन सक्दैन | दर्शनको उपज साहित्य हुन्छ र साहित्य दर्शनलाई बुझ्ने माध्यम | देवकोटाले साहित्यकार, कवि भन्दा पनि दार्शनिकका रूपमा आफ्नो अस्तित्वलाई बुझेको हुनुपर्छ | त्यसैले उनी आफ्नो ब्यबहारिक जीवन देखि लिएर लेखकीय जीवनसम्म अवाध, स्वत्रन्त्र र निर्झर र कुन्ठारहित रहे |
त्रिभुवन विश्व विद्यालयले आफ्ना योजनाकार देवकोटाको चाहनालाई सम्मान गर्न सकेको छैन | देवकोटाले ‘पांचओटा चाहिने कुरा’ माध्यमबाट केवल आफ्नो दार्शनिक मत जाहेर न गरेर ‘नेपाली विश्वविद्यालय’ले दर्शनशास्त्रको अध्ययनलाई प्राथमिकता दिनुपर्छ’ भन्ने मत पनि जाहेर गरेको हुनुपर्छ | नेपालीजनता र आध्यात्मिकताका बीचमा नङ र मासुको सम्वन्ध छ भन्ने राम्ररी बुझेका थिए | ‘ईश्वर, आत्मा, अमरता, स्वर्ग र नर्क’ हरेक नेपालीको विश्वाससंग गाँसिएको छ | हाम्रा पूर्वजहरूले सृजना गरेका वेद, पुराण, उपनिषद्, आयुर्वेद, धनुर्वेद, ज्योतिष, योग इत्यादि विधाहरू र उपरोक्त पांचबटा तत्वहरूको अवछिन्न सम्वन्ध छ | बाहिर चरम बामपन्थी देखिनेहरू पनि भित्रभित्र यी सबै कुरा मान्छन् | हामी नेपालीको दैनिकी दार्शनिकसरह आरम्भ हुन्छ | हाम्रो पहिचान र अस्तित्व यिनैसंग जोडिएको छ | देवकोटाका चाहिने कुराको सम्मान गर्दै त्रिविविले दर्शनशास्त्रमा स्नातकोत्तरका कक्षाहरू संचालन गर्न पहल गर्नुपर्छ | यो नै दे लक्ष्मीपूजा अर्थात् जन्मदिनको अवसरमा देवकोटाप्रति गरिने उच्चतर सम्मान हुनेछ | नेपाल सरकारले पनि यस विषयमा पहल गर्नु उचित देखिन्छ | देवकोटाको सम्मान गर्नु भनेको उनको चाहनाको सम्मान हो र यो चाहना नेपाल मै दर्शनशास्त्रमा उच्चस्तरीय अध्ययन/अध्यापनको ब्यबस्था गरेर प्रदर्शन गर्नुपर्छ | यही नै दार्शनिक देवकोटालाई गर्न सकिने उच्चतर सम्मान हुनेछ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *