लौन ?
दर्शनशास्त्र विषय लिएर पढियो | त्रिविविले जागिर दिएको छ | त्रिविविमा वी.ए. सम्ममात्र दर्शनशास्त्रको पठनपाठन हुन्छ | त्रिविविमा पनि दर्शनशास्त्रमा स्नातकोत्तर चलाउने वारे छलफल भैरहेको छ | नेपालका अन्य विविवि सहित त्रिविविमा दर्शनशास्त्रमा एम.ए. तथा विद्यावारिधिको आरम्भ होस् भन्ने चाहना छ | नेपालको प्राचीनतम गौरवनै दर्शनशास्त्र हो | देशका १७ बटा विवि मध्ये जसले आरम्भ गरे पनि म नि:शुल्क सघाउँन तयार छु |
दर्शनशास्त्रमै एमए नभए पनि वैदिक र बौद्ध दर्शनका परिचयात्मक कोर्सहरू विभिन्न विषयहरूले समेटेकै छन् | तर पनि विश्वको सबैभन्दा पुरानो र महत्वपूर्ण विधामा उच्चअध्ययनको व्यबस्था नहुँदा मन खिन्न हुँदो रहेछ | विविहरूका बाध्यता छन् : तुरुत्त प्रतिफल दिने विषयहरूको कोर्स निर्माण गर्ने र ती विषयहरू पढाउनु पर्ने | तैपनि दर्शनशास्त्र विना कुनै पनि विषयहरूले पूर्णता प्राप्त गर्दैनन् भन्ने तत्थ्यचाहिं सत्य हो | अन्य विषयहरूमा विद्यार्थी घटिरहेको अवस्थामा दर्शनशास्त्रजस्तो सैद्धान्तिक विषय पढ्ने विद्यार्थी को होलान् भन्ने प्रश्न पनि अस्वाभाविक होइन |
दर्शनशास्त्रसंग जोडिएको एउटा अति महत्वपूर्ण विषयहरू वारे पाठकले जान्नैपर्छ | पहिलो कुरा नीतिशास्त्र (मूल्य शास्त्र, आचरणशास्त्र, सदाचारशास्त्र) आजको समाजका लागि सबैभन्दा बढी चाहिएको विषयवस्तु हो | नीतिशिक्षाका नाममा अनेकौं सम्प्रदाय वा व्यक्तिका विचारहरू नेपाली विद्यालयहरूमा थोपरिएको छ | असल-कमसल, शुभअशुभ, उचित-अनुचित, राम्रो-नराम्रो, सदाचार-दुराचारजस्ता विषयहरुको बैज्ञानिक निर्क्यौल दर्शनशास्त्रीले गर्ने हो | यस विषयमा नेपाली शिक्षा जगत चुकेको छ | भ्यालु-एजुकेशनका नाममा त्रिविविले एउटा भारतीय सम्प्रदायका विचारहरू पस्केको पाएको छु | यो उचित होइन |
विश्वले मानवतावाद, समानता, अधिकार तथा कर्तव्यको अभ्यास गर्दा अधिकतम नैतिकताको मांग गरिरहेको छ | यस्तो अवस्थामा दर्शनशास्त्रीहरूको बढी नै महत्व हुन्छ | नीतिशास्त्र दर्शनशास्त्रको एउटा अभिन्न अङ्ग हो जसले मानवीय सदाचारको सर्वोच्च अवस्था वैश्विक प्रतिमान निर्माण गर्ने र त्यसलाई बालबालिकादेखि सबैलाई पस्कने काम गर्छ | मानवतावाद केवल मान्छेको स्वार्थमा केन्द्रीत हुनुहुँदैन, समानताको अर्थ क्षमताको विचार नगर्नु होइन, अधिकारको अर्थ कर्तव्यको बलिदान होइन, स्वतन्त्रताको अर्थ र प्रयोजन स्वच्छन्दता होइन भन्ने जनाकारी दर्शनशास्त्रले बाहेक अन्यले दिन सक्दैन |
अर्को सपना पनि मनमा छ, दर्शनशास्त्र, दार्शनिकता तथा चिन्तनको कुरा आउँदा हिमाल, पहाड़ र ऋषिमुनिको कुरा तेसै आउँछ | हिमाल देखिने ठाउँमा एउटा दार्शनिक अभ्यासको “कुटी” निर्माण गर्ने र तेहा वैदिक, बौद्ध, जैन तथा पश्चिमा मनिषीहरूले निर्माण गरेका सिद्धान्तहरूको अभ्यास गर्ने र दार्शनिक सिद्धान्त निर्माणको प्रशिक्षण दिने/लिने रहर छ |
म दर्शनशास्त्र विश्वविद्यालयको कुरा गर्दिन तर नेपाली गौरवलाई विस्तार गर्न “दर्शनशास्त्रको सैद्धान्तिक र व्याबहारिक अभ्यास गराउने/गर्ने ठाउँ हुँदा विश्वभरिका मान्छेहरूले नेपालको मौलिकता जान्ने/बुझ्ने मौका पाउने छन् | नेपालले विज्ञानका क्षेत्रमा भविष्यमा उत्कृष्ट काम गर्ला तर सिद्धान्त (दर्शन)का रूपमा पहिलेनै भएका सिद्धान्त (प्रायोगिक दर्शन)लाई अभ्यास गरेर नेपाललाई विश्वमा चिनाउन सकिन्छ | लौन, केही गरौँ र सुझाव पनि पाउँ |

