दर्शनशास्त्रका पांच समस्या

दर्शनशास्त्रका पांच समस्या

दर्शनशास्त्रका पांच समस्या
दर्शनशास्त्रमा अभिरुचि राख्ने विद्यार्थी तथा जिज्ञासुले “असलमा दर्शनशास्त्र के हो ?” भन्ने विषयमा निकै अलमल परेको बुझिन्छ | सर्वसाधारण तथा जिज्ञासुले निम्न केही विषयहरूलाई दर्शनशास्त्र हो भन्ने विश्वास देखिन्छ :
(१) धार्मिक विश्वासहरू दर्शनशास्त्रका विषय हुन् |
(२) परम्परागत सांस्कृतिक विषयहरू दर्शनशास्त्र हुन् |
(३) ईश्वर, आत्माजस्ता अलौकिक विषयहरू दर्शनशास्त्र हुन् |
(४) सैद्धान्तिकतहको कुरा गर्ने विषय दर्शनशास्त्र हो, र
(५) गहन चिन्तनमनन गर्नुनै दर्शनशास्त्रको विषय हो |
उपरोक्त विश्वासहरू अर्धसत्य हुन् | अर्धसत्य यस अर्थमा हुन् कि हरेक व्यक्तिले आफु परिवारिको वातावारण र पारिवारिक पृष्ठभूमिका आधारमा ज्ञान प्राप्त गरेको हुन्छ भने केही विश्वासहरूको निर्माण सार्वजनिक सरोकारसंग जोडिएको हुन्छ | धर्म, संस्कृति, परम्परा, राजनीति, समाज तथा विश्वास र विज्ञान सबै विषयको स्रोत मान्छे नै हो | तेसैले दर्शनशास्त्र पनि कुनै अद्भूत, अलौकिक वा चौथो लिंगी विषय होइन |
दर्शनशास्त्र के हो भनेर बुझ्न दर्शनशास्त्रका विद्वान बर्त्रेंट रसेल र न्यायकार गौतमले दर्शनशास्त्रका १६ बटा आधारभूत समस्याहरू सुझाएका छन् | तर पनि दर्शनशास्त्रका समस्याहरूलाई सरल रूपले निम्न पांच प्रश्नमा व्यक्त गर्न सकिन्छ :
(१) यो विश्व ब्रह्माण्ड कसरी निर्मित भयो ?
(२) ज्ञान के हो ?
(३) असल र कमसल के हो ?
(४) चिन्तन क्रिया कसरी हुन्छ ?
(५) मूल्य के हो ?
उपरोक्त समस्याहरूको सार जीवन र जगत हो | जीवनको अर्थ मानवीय अस्तित्व, समाज, संस्कृति, हुर्काई, बुझाई तथा सिकाई हुन् | विचार र निर्णय क्षमता नै यसका पूर्व मान्यता हुन् अर्थात् मानवीय चेतनाको उपस्थिति अत्यावश्यक हुन्छ | अन्यथा दर्शनशास्त्रको आरम्भ नै सम्भव हुँदैन |
पहिलो समस्या विश्वब्रह्माण्ड, जीव-जगत तथा अस्तित्वको उपस्थितिसंग सम्बन्धित छ | जीव-जगत आफै बनेको हो भन्नेहरू “भौतिकवादी” बने भने विश्वको रचनाकार ईश्वर हो भन्नेहरू अध्यात्मवादी कहलाए | विज्ञानले पहिलो धारको नेतृत्व गर्छ भने दोश्रोधारको नेतृत्व धर्म, अध्यात्मआदिले गर्छन् | मूलभुत समस्या अस्तित्व सम्बन्धि जिज्ञासा र तेसको उत्तरसंग जोडिएको हुन्छ | यसरी दर्शनशास्त्रको पहिलो समस्याले विज्ञान तथा अध्यात्म दूवै धारका समस्याहरूको तार्किक समाधान खोज्ने प्रयत्न गर्छ |
दोश्रो समस्या ज्ञान अर्थात् सूचना प्राप्ति, तेसको उपयोगिता तथा सीमासंग सम्बन्धित छ | ज्ञान के हो, कसरी बन्छ र के गर्छ भनेर सोध्नु भन्दा पहिला आजको मितिसम्म आफ्नो र अर्काका लागि ज्ञानको पुनप्रयोग मान्छेले मात्रै गर्न सकेको देखिन्छ | भौतिकवादीहरूले यही जीवनमा सुख, सन्तोष र पूर्णता प्राप्त गर्ने/गराउने साधन ज्ञान हो भन्ने गरेका छन् भने अध्यात्मवादीहरूले ज्ञानको सार्थकता “आत्मज्ञान” वा “परमात्मा प्राप्ति” हो भन्दै सिद्धान्तहरू निर्माण गरेका छन् | उदाहरणका लागि विश्वका सबैजसो धर्महरूले ईश्वरको कृपा प्राप्त गरेर अनन्त स्वर्ग प्राप्त गर्नुमा बुद्धिलाई स्थीर बनाउने सूचना-सामग्रीनै सार्थक ज्ञान हो भन्ने गर्छन् | यसै वरिपरी सिद्धान्त निर्माण भएका छन् |
विश्वभरी नै असल-खराव, पापपुण्य, धर्म-अधर्म, राम्रो नराम्रो तथा शुभ-अशुभको वहस चलिनैरहेको हुन्छ | कुनै पनि अभिभावकले होस् वा सरकारले खराव वा अधर्मी बन्ने लक्ष राखेको हुँदैन | याद गरौ, हाम्रा अभिभावकले हाम्रो लागि सबैभन्दा बढी भनेको कुरा नै “असल बन्नु” हो | तर असल किन बन्ने र कमसल किन नबन्ने प्रश्नको उत्तर सम्भवत: थोरै मान्छेसंग हुन्छ | मूल्य-विज्ञान, मोरल साइन्स, नीतिशास्त्रआदि पाठ्यक्रमका माध्यमबाट हामीले असल र कमसल किन ? भन्ने प्रश्नको जवाफ प्राप्त गर्ने प्रयत्न गरिरहेका हुन्छौं तर देश, काल र समाजको संरचना र आवश्यकता तथा बुझाई अनुसार “असल”को अर्थ फरक हुन सक्छ तर असल बन्नुपर्छ भन्ने कुरामा कुनै पनि प्रकारको द्विविधा हुँदैन | दर्शनशास्त्रले “मोरल-विज्ञान”का रूपमा बौद्धिक प्राणी मान्छेलाई असल-कमसलका विचमा रोज्ने अवस्था सृजित गरिदिन्छ |
एथिक्सको पठनपाठन गरेपछि मान्छेले थोरै भए पनि असल किन बन्नु पर्छ र खराव वा कमसल किन बन्नु हुँदैन ? भन्ने तत्थ्यका विषयमा निर्णय गर्न सक्छन् | समाज, धर्म, संस्कृति तथा आफ्नो व्यक्तिगत तथा सामाजिक उन्नयनमा बाधक व्यबहारलाई त्यागेर असल व्यबहार, चिन्तन रोज्न सक्छन् | स्मृति तथा नीति ग्रन्थहरूले “असल नियत र नीति” दूवैको विवेचना गर्छन् |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *