(१) नीतिशास्त्र के हो ?
त्यस्तो शास्त्र जसमा देशकाल र पात्रकाअनुसार व्यबहार गर्ने कुरा हुन्छ र देशकाल र सामाजिक व्यबस्थाअनुसार देश, राष्ट्र वा व्यक्तिको आचरणको प्रबन्ध, शासन गर्ने कुरा सङ्कलित हुन्छन् (संस्कृत-नेपाली बृहत् शब्दकोश) | नीति शब्दको शाब्दिक अर्थ बाटो, लैजाने क्रिया, व्यवहारको तरिका, जनता वा व्यक्तिको भलाई गर्ने स्वेच्छिक नियम, देश, काल र समाजले आफ्नो सामाजिक, सांस्कृतिक, धार्मिक अवस्थालाई विचार गरेर निर्मित गरेका नियमहरू भन्ने बुझ्नुपर्छ | ग्रीकेली भाषाको इथोस् शब्दबाट एथिक्स र मोरे शब्दबाट मोरल साइन्स शब्दको निर्माण भएको हो जसको तात्पर्य पनि एउटा समाजले आफ्नो समाजका व्यक्तिहरुका आचरणको नियमका लागि निर्मित गरेका नियम भन्ने बुझाउँछ | यसरी नीति शब्दको अर्थ बाटो, कार्ययोजना हो भने नीतिहरू समेटिएको पाठ्यक्रम नै नीतिशास्त्र हो |
(२) नीतिशास्त्रको काम के हो ?
नीतिशास्त्रको कार्यचाहिं सम्बन्धित व्यक्ति, समाज र राष्ट्रका लागि असल अर्थात् आचरणको पहिचान, व्याख्या र कार्यान्वयन र कमसल आचरणहरूलाई न्युनिकरण गर्ने उपाय सुझाउनु हो | निर्धारित गरिएका कर्महरू गर्नुनै असल आचरण हुन् | असल आचरण गर्नेलाई पुरस्कार दिनु र कमसल आचरण गर्नेलाई दण्ड-सजायको व्यबस्था गर्नु पनि नीतिशास्त्रकै काम हो | उदाहरणका लागि वैदिक समाज र सभ्यताका अनुयायीहरूका लागि “आमावुवाको सम्मान गर्नुपर्छ, आचार्य अर्थात् गुरुको सम्मान गर्नुपर्छ, अतिथिको सेवा गर्नुपर्छ, दया, करुणा, दान, क्षमा, विश्व बन्धुत्वको भावना, सहयोगआदि कर्महरू असल आचरण हुन् | यी आचरणहरूको सङ्ग्रह नै वैदिक नीतिशास्त्र हो | जसले यी आचरणहरू सम्पादन गर्छन् समाजले असल व्यक्ति भनेर पुरस्कृत गर्छ भने स्वर्गको रूपमा जीवनपछि उसले पुरस्कार प्राप्त गर्छ | कमसल आचरण गर्नेले समाजवाद “खराव व्यक्तिका रूपमा दण्ड प्राप्त गर्छ भने मृत्युपछि नर्कको दण्ड भोग्नुपर्छ | असल र कमसल आचरणको परिभाषा सम्बन्धित समाजले आवश्यकता र उपयोगिताका आधारमा गर्छ |
(३) नीतिका निर्धारकतत्व के हुन् ?
नीतिका निर्धारक तत्वहरूमा धर्म, राज्य, ईश्वर तथा व्यक्ति स्वयंलाई मानिएको छ | धर्मका नियमहरू नै धार्मिक नीति हुन् | विश्वमा धेरै धर्म छन् र ती धर्मका धार्मिक नीतिहरू फरकफरक छन् | धार्मिक नीतिहरू सबैका लागि मान्य हुँदैनन् | उदाहरणका लागि हिन्दूहरूको धार्मिक नीतिले गौहत्यालाई पाप भनेको छ तर यहुदी, इसाई र मुस्लिमहरूका लागि गौहत्या गर्नले कुनै पाप हुँदैन | तेसैले धर्मका नीतिहरू निकै साँघुरा हुन्छन् र पूर्वाग्रही पनि हुन्छन् | यसै गरी, राज्यले राष्ट्र, समाज र व्यक्तिका लागि निर्धारण गर्ने नियमहरू पनि “नीति” नै हुन् | यी नीतिहरू पनि सर्वमान्य हुँदैनन् | कहिलेकाहीं राज्यसत्ताको दुरुपयोग गरेर आत्मघाती नीति समेत अनिवार्य बनाइन्छ | राज्यले निर्माण गर्ने नीतिहरू स्वेच्छिक र अनिवार्य गरी दुई प्रकारका हुन्छन् | अनिवार्य नियम पालन गर्नु पर्छ, नगर्नेले दण्ड-सजाय भोग्नुपर्छ | धर्ममा आधारित राज्यले “कुरान वा वाइवल”का नियमहरूलाई नै नीतिको मान्यता दिएका हुन्छन् | केही व्यक्तिगत निर्णयलाई नैतिकताको मानदंडका रुपमा स्वीकार गर्छन् | एतिविध्न कुरा हुँदाहुँदै पनि “नीति” नितान्त धर्म, संस्कृति, समाज र आवश्यकताका आधारमा निर्धारित हुने तत्व हुन् |
(४) को नैतिक हो र को अनैतिक हो ?
हामीले धेरै पटक फलानो मान्छे नैतिक, फलानो मान्छे अनैतिक, फलानो मान्छे धार्मिक, फलानो अधार्मिक, फलानो सदाचारी फलानो भ्रष्ट्राचारी, फलानो महात्मा फलानो पापात्मा, फलानो धार्मिक फलानो अधार्मिकजस्ता कुराहरू सुनिरहेका हुन्छौं | विश्वका धेरैजसो समाजले आफ्ना नागरिक वा सन्तान “शुभ, असल र नैतिक होउन्” भन्ने चाहन्छन् | तर प्रश्न प्रश्न उठ्छ कि मान्छे नैतिक किन बन्नुपर्छ ? असल किन बन्नुपर्छ ? नैतिक किन बन्नुपर्छ ? असलमा, यी सबैको जवाफ हो – मानवको सामाजिक व्यबहार सकेसम्म एकअर्काका लागि सहयोगी र सम्मानित बनाउन | निश्चयनै प्राणी मध्ये मान्छे नै एकमात्र एस्तो प्राणी हो जससंग स्वतन्त्ररूपमा निर्णय गर्ने क्षमता छ, इतिहासलाई संगै लिएर हिड्ने क्षमता छ, आफुले जानेको कुरा अर्कोलाई सिकाउने क्षमता छ | नीतिशास्त्र पनि यही क्षमताका वरिपरी नै घुम्छ | जसले स्वेच्छाले गरेको कर्मको जिम्मेदारी लिन्छ, त्यो नैतिक मानिन्छ | जसले आफ्नो लागि तोकिएको काम निस्वार्थ भावले सम्पादन गर्न तेसलाई असल भनिन्छ | जसले निर्णय गर्ने क्षमताको प्रयोग आफ्नो र अन्यको कल्याणका लागि उपयोग गर्छ उसलाई सदाचारी भनिन्छ | यदि कसैले सम्पदान गरेको कामले ऊ स्वयं, उसको परिवार र राष्ट्रलाई सहज हुन्छ भने तेस्तो कार्य शुभ मानिन्छ | नैतिकताका सबै विषयहरू स्वेच्छिक हुनुपर्छ भन्ने छ तर कतिपय राज्य, धर्म, समाजले तोकेका नियमहरू मानवीय हुँदैनन् | तर पनि सामाजिक तथा राष्ट्रीय परिवेशमा नैतिक मानिन्छ | चूरो कुरा के हो भने यदि कसैले अर्काको दवावमा परेर वा बलत्कारद्वारा काम गरेको छ भने नैतिक दायित्वको विषय हुँदैन | तेसैले नैतिक निर्यणहरूमा सधैं कर्तालाई निर्णय गर्ने र कर्म गरे स्वतन्त्रता प्राप्त भएको मानिन्छ |
(५) हामीले किन बालबालिकालाई असल बन्न प्रेरित गर्नुपर्छ ?
तपाईं आफ्ना बालबालिकालाई किन असल बनाउन चाहनुहुन्छ ? सामान्यतया यस्ता प्रश्नको ठीकठीक जवाफ सर्वसाधारणसंग हुँदैन | सर्वसाधारणले परम्परागतरूपमा समाजले असल भन्दै आएका कार्यहरू, बोलीहरूलाई “असल” मान्छ | यस्ता कार्यहरू धार्मिक समूहको सदस्यका रुपमा धार्मिक क्रियाकलापमा समावेश हुने, राजनैतिक व्यक्तिका रूपमा राज्यका नियमहरू पालन गर्ने तथा व्यक्तिगत रूपमा विनम्रता, करूणा, दया, दानआदि नियमअनुसार जीवन यापन गर्ने पद्धतिको पालन गर्नुलाई असल बन्नु पर्छ भन्ने गरिन्छ | तर नीतिशास्त्रीहरूले असल बन्नुको उद्देश्य, पूर्णता, सुख तथा सन्तोष प्राप्त गर्नु भएको बताएका छन् | केही व्यक्तिहरू जीवनमा पूर्णता प्राप्त गर्न असल कर्म गर्छन्, केही व्यक्तिहरू असल कर्म गर्छन् किनभने यसले सन्तोष प्राप्त हुन्छ भने केही अन्यले असल कर्म गर्छन् किनभने यसो गर्दा आनन्द प्राप्त हुन्छ | असलमा कर्मको ऊठान इच्छाबाट आरम्भ हुन्छ र सङ्कल्प स्वतन्त्रताका आधारमा कर्म सम्पादित भएपछि मात्र राम्रो-नराम्रोका रूपमा फल प्राप्त हुन्छ | यदि फलानोले गरेको कर्मको फल त्यो व्यक्ति निवास गर्ने समाज, संस्कृति, राष्ट्र वा परिवारका अनुकुल हुन्छ भने त्यो असल मानिन्छ, नत्र कमसल भन्दै दण्डसजायको व्यबस्था पनि हुन्छ |
(६) नैतिकताको मानदण्ड के हुन् ?
यसरी नैतिकताका मानदण्डहरू नितान्त परिवार, समाज, धर्म, राष्ट्र तथा व्यक्तिगत आधारमा निर्धारित हुन्छन् | एकै प्रकारको कर्म फलानो समाजका लागि नैतिक, असल हुन्छ भने अर्को समाजका लागि अनैतिक हुन सक्छ | तर महाराज मनुले दशबटा धर्मका लक्षणहरूलाई वैश्विक नैतिक चरित्र बन्ने सम्भावनाका रूपमा प्रस्तुत गरेका छन् – असल कुरा धारण गर्ने, क्षमा गर्ने, इन्द्रीयहरूलाई नियन्त्रण गर्ने, चोरी नगर्ने, मानसिक तथा शारीरिक रूपमा पवित्र रहने, नयाँनयाँ कुराहरूप्रति जिज्ञासा राख्ने, नयाँ कुरा सिक्ने र पुरानो कुरा विद्याका रूपमा सम्झने, सत्य बोल्ने र व्यबहार गर्ने र अनावश्यक रीस नगर्ने – दशबटा नैतिक आदर्शहरू विश्वका सबै बौद्धिक व्यक्तिका लागि कर्ममा रुपान्तरण भएको इच्छा गर्न मिल्छ | तर नैतिकताका केही पूर्वमान्यताहरू जसमा मानसिक रूपमा स्वास्थ्य व्यक्ति, स्वतन्त्र व्यक्ति र सामाजिक व्यक्ति हुनु आवश्यक हुन्छ |
(७) के नैतिकताको कुनै अन्तिम मानदण्ड हुन्छ ?
विश्वको कुनै पनि व्यक्तिले फलानो कर्म नै अन्तिम नैतिक कर्तव्य हो भनेर सबैका लागि तोक्न सक्दैन र मिल्दैन | यदि तपाईं वैदिक समाजको अङ्ग हुनहुन्छ भने आमावुवा, आचार्य, अतिथिआदिको सम्मान गर्ने, धर्मका दश लक्षणहरू पालन गर्ने, आफ्नो समाजमा प्रचलित सामाजिक, धार्मिक तथा सांस्कृतिक नियमहरूको पालना गर्ने र पालना गर्न उत्प्रेरित गर्नुनै नैतिकता हो | हरेक व्यक्ति नैतिक बन्नुपर्छ किनभने नैतिकताले तपाईंमा सहयोगीपनको अभिवृद्धि गर्छ र तपाईं आफु जन्मेको, हुर्केको समाज र विश्वमा तपाईंको आफ्नो स्वीकार्यता बढाउछ | हरेक समाजका लागि नैतिकता भविष्यको आदर्श हो जुन हरेक व्यक्तिले प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ | अनुकुल व्यबहार नैतिकता हो भने प्रतिकुल व्यबहार अनैतिकता हो र यस वाहेक पनि धेरै कुरा हो भन्ने बुझ्नुपर्छ र समाज, राष्ट्र, संस्कृति तथा मानवताको प्रतिकूल व्यबहार गर्नु हुँदैन |
स्वस्तिअस्तु
