माता-संस्कृति

माता-संस्कृति

माता-संस्कृति

माता संस्कृति नेपालको मौलिकता मध्येको एउटा हो | मिति २०७६/१/२१ का दिन संयोगले एकजना ७२ वर्षीय मातासंग भेट हुने मौका मिल्यो | सपरिवार आफ्नो घर मै वसेर विश्वलाई “अम्वे”को भक्तिमा लगाउने र मुक्त गराउने उहाको सङ्कल्प सुनियो | उहाले फोटो खिचाउन मान्नु भएन र नाम पनि उल्लेख नगर्न अनुरोध गर्नुभयो | मैले उहाँको विचारलाई सम्मान गरेर उहाको नाम र ठाउँ गोप्य नै राखेको छु |
निज ७२ वर्षीया मातासंगको एकघण्टे भेटघाटले मभित्र माताहरूसंग सत्संग गर्ने हुटहुटी निम्त्यायो | मैले माता-संस्कृति बुझ्ने जमर्को गरें |
तेसपछिका हरेक दिन मैले कुनै न कुनै एकजना मातासंग नियमित भेट गरिरहेको छु | मैले भेटेका केही माताहरू २३ वर्षमात्रका पनि छन् | ब्राह्मण, क्षत्री, नेपाली, परियार, तामांग, नेवार, राई-लिम्वु, राजवंशी, गुरुङ र मगर बंशमा जन्मिए छन् | धेरैजसो माताहरू आफ्नो परिवारसंगै वसेको पाएँ भने केही माताहरू एकल जीवन व्यतित गरिरहेका छन् भने केहीले आश्रम नै निर्माण गरेर “देवी”का रूपमा पूजित हुँदैछन् |
एकजना आश्रमधारी माताको दर्शन गर्न नै १००८ रुपैया लाग्ने भनेपछि मैले पैसातिरेर दर्शन गर्ने विचार त्यागें |
मैले भेटेका सबै माताहरू साकाहारी छन् | उनीहरूले आफ्नो घरमा देवीको मन्दिर स्थापना गरेका छन् र धेरैजसोले हरेक अष्टमीका दिन आफ्ना भक्तजनहरूलाई आशिर्वाद दिने गरेको पाइयो | धेरैजसो माताहरू भक्तजनको समस्या निको पार्न काम्ने गरेको देखें | तर एस्तो कमाई वारे उहाँहरूले “थाहा नै नहुने” भन्नुभयो |
झारफुक गराउन , आफ्नो भविष्य जान्न र रोगबाट मुक्त हुन्, भूतप्रेत, बोक्सीआदिबाट मुक्त हुन भक्तजनहरूले मातासंग सहयोग लिंदा रहेछन् | केही माताहरूले मैले दक्षिणा दिन खोज्दा स्वीकार गर्नुभएन भने केही मातहरूले फलफुल किनेर ल्याइदिन अनुरोध गर्नुभयो भने केहीले स्वेच्छालेले दिएको रकम स्वीकार्नु भयो |
मैले विनम्रता पूर्वक माताहरूलाई आफ्नो पारिवारिक पृष्ठभूमि र माताका रूपमा आफ्नो रुपान्तरणका विषयमा बताइदिन अनुरोध गर्दा ५०% माताहरू सहमत हुनुभयो | केही “माता”को कुनै पारिवारिक पृष्टभूमि हुँदैन भनेर पन्छिनु भयो भने केहीले आफु आफ्नो विगत सम्झन मन गर्नुभएन | मैले उहाँको इच्छाको सम्मान गर्छु |
यो माता संस्कृतिको सबैभन्दा उम्दा पक्ष भनेकै हरेक माता जातपातबाट माथि उठेको भेटें | माताहरू जुनसुकै जातपातका भए पनि सबैले सम्मान गर्ने गरेको र झुकेर प्रणाम गर्ने गरेको बुझें |
हाम्रो समाजले “सन्यासी” बनेको जुनसुकै जातजातिका स्त्री-पुरुषलाई जातिपातिका रूपमा होइन ईश्वरीय अंश वा शक्तिका रूपमा सम्मान गर्दा रैछन् भन्ने बुझें | मैले आफ्नै आँखाले देखें – परियार थरकी माताको दर्शन गर्ने, उहाको हातबाट प्रसाद ग्रहण गर्नेहरूमा ब्राह्मण नै बढी रहेछन् |
मैले सुनेअनुसार काठमाडौं उपत्यकाभित्र मात्रै ३०० जनाभन्दा बढी माताहरूको अस्तित्व छ | केही माताहरूले त झन् आफ्नो जीवनकाल मै आफ्नो मन्दिर बनाएर, आफ्नो फोटोको आराधना गर्न लगाएको मन्दिर पनि देखें |
मैले भेटे मध्येका ३ जनाले आफु पार्वती देवीको प्रत्यक्ष अवतार भएको बताए भने धेरैले “आफुले देवीबाट शक्ति प्राप्त कसरी गरें ?” भन्ने समेत वर्णन गरे | मैले के पाएँ भने पतिहरूले पनि आफ्नी पत्नी मातामा रुपान्तरण भएपछि नमन र वन्दन गर्दा रहेछन् | यो हाम्रो पितृसत्तात्मक भनिने समाजको अर्को रूप हो |
यो महिलाहरूलाई आध्यात्मिक गुरुको रूपमा स्वीकार्ने हिन्दूहरूको महान् परम्पराको निरन्तरता हो | मानवाधिकारको कोकोहोलो गर्ने अमेरिका र युरोपमा समेत महिलाले एस किसिमको सम्मान प्राप्त गर्ने कल्पना समेत गरेका छैनन् |
उदाहरणका लागि योगमाया बालविधवा थिइन् | उनले दोस्रो विवाह गरे पनि सफल भएन | उनी जोसमनी सन्त परम्परामा दीक्षित भइ “माता”मा रुपान्तरित भइन् | तेसपछि के राजा के रंक उनका अनुयायी बने | तेस बखतको समाजले पनि “माता”मा रुपान्तरित महिलालाई अवहेलना गरेन, बरू उच्चतहको संम्मान नै गर्यो |
निकै प्रगतिशील मानिने इसाई-समाजले आधिकारिक रुपमा आजसम्म कुनै महिलालाई गुरूका रुपमा स्वीकार गरेको कुनै उदाहरण छैन | वैदिक हिन्दू सनातन संस्कृतिको यो परम्परा विश्वमै अद्वितीय छ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *