सरल जीवन अर्थात् सुखी जीवन
जीवन घुम्दो रेखा होइन | मान्छेको बुद्धिले जीवनलाई रहस्यमय बनाएको हो, असजिलो, दुरुह र कठिन बनाएको हो | धेरै नियमन, निर्देशन, नियन्त्रण र अप्राकृतिक जीवनशैलीले जीवन सहज हुँदैन | जीवनलाई प्राकृतिक रूपमा बग्न दिनु पर्छ | साथै, स्वीकार्नुपर्छ कि जीवनको प्रबाहलाई रोक्न सक्ने क्षमता कसैमा छैन | मानवको बौद्धिक क्षमता केवल अबरोध उत्पन्न गर्ने छ | खाने नियम, लगाउने नियम, हिड्ने नियम, सुत्ने नियम, बोल्ने नियम, काम गर्ने नियम, काम नगर्ने नियम, नखाने नियम : यी सबैले जीवन सजिलो हुँदैन | हामीले जीवनलाई धेरै नियमका भारी बोकाएका छौँ |
जीवनको नियमलाई मान्छेले निर्माण गरेको होइन | मान्छेले चाहेर मान्छे निर्मित भएको होइन | जन्म, जीवन र मृत्यु यी सबै प्राकृतिक प्रबाह हुन् | रोग, बृद्धावस्था र मृत्यु पनि सहज प्रक्रिया हुन् | यी सबैलाई सहज रुपमा लिंदा जीवन समस्या होइन समाधानका रूपमा प्राप्त हुने छ | जीवनको अर्थ नै सक्रियता, निस्कृयता र बुझाई हो | जीवनलाई सहज ठाने सहज बन्छ | जीवनलाई असजिलो ठाने असजिलो हुन्छ | यसको अर्थ – जीवनलाई सरल र सहजरूपमा बुझौं भन्नु नै हो | मैले धेरै पटक, धेरै ठाउँमा र व्यक्तिहरूसंग अनुभव गरेको छु – मान्छेहरू आफ्ना महत्वाकांक्षाका दास हुन्छन् | आफ्नो महत्वाकांक्षी स्वभाव र सोचका कारण जीवनको प्रबाहमा अबरोध खडा गर्छन् | बुद्धि र मनले लगाएका अनावश्यक अवरोधहरू हटाउने काम गरौँ | जीवन बग्न थाल्छ |
मान्छेको चेतना अवरोधहरूका लागि होइन | जीवनको सहजताका लागि हो | एकैछिन पढ्न रोकिएर विचार गरौँ “जीवनको सरल प्रबाह” रोक्ने काम कसरी भएको रहेछ ? के जीवन सरल र सहज बगिरहेको छ ? यदि छैन भने सबैभन्दा जिम्मेवारी आफ्नै हो | एकपल्ट प्रकृतिलाई हेरौं – प्रकृतिमा जीवनका लागि कुनै फरक नियम छैनन् | प्रकृतिका नियमहरू सबैको जीवनका लागि एकैसरह छन्, भेदभावपूर्ण छैनन् | सायद, मान्छेले चेतनाले निर्माण गरेको “भेदभाव” सबैभन्दा बढी सरलताको अवरोधक बिन्दु हो | तर त्यो विन्दुमा उभिएर रोकिने आवश्यकता छैन | एकैछिन रोकौं, अबरोधलाई चिनौं र जीवनको प्रबाहलाई फेरी बग्न दिउँ | मैले बुझेको प्राकृतिक रूपमा रोकिनु पनि प्रबाहकै अर्को सुखद पक्ष हो | सायद, त्यस्तो विन्दुलाई मान्छेहरूले “ध्यान” भन्छन् |
चेतना मान्छेको विशेषता हो | ईश्वरले मान्छे निर्माण गरेको हो कि मान्छेले ईश्वरको निर्माण गरेको हो प्रष्ट छैन | ईश्वर मान्नेले मानुन् | ईश्वर नमान्नेले नमानुन् | धेरै धर्महरू ईश्वरसंग जोडिएका छन् | ठूलो सङ्ख्यामा मान्छेहरू धार्मिक छन् तर ईश्वर मान्दैनन् | जैनहरू बौद्धहरूले ईश्वर मान्दैनन् | भन्नेले त सांख्य र बैशेशिकले पनि ईश्वर चिन्दैन भन्छन् | तर यी धर्म होइन | यिनको कुनै धार्मिक सम्प्रदाय छैन | एउटा कुरा सत्य हो – धार्मिकहरूले प्राकृतिक जीवनमा धेरै अंकुश लगाएका छन् | ईश्वरले प्राकृतिक जीवनमा अवरोध उत्पन्न गर्दैन | जीवनमा व्यवधान खडा गर्दैन | धार्मिकतामा धेरै अवरोध छन् | ईश्वरले जीवनको प्राकृतिक प्रबाह रोकेको भए जीवन स्वतन्त्र हुने थिएन | चेतना मुक्त हुने थिएन | तर्क आलोचनात्मक हुने थिएन | मैले अनुभव गरेको छु : ईश्वरले स्वायत्तता रूचाउँछ | सरलता रुचाउँछ, सहजता रूचाउँछ किनभने सरलता र सहजतामा मान्छे सजिलो अनुभव गर्छ | यही सजिलोपन जीवन हो |
जीवन सरल रेखा हो | अवरोधहरू चेतनाका निर्मिति हुन् | असजताहरू मान्छेले प्रकृति विरुद्ध गरेका संघर्षहरू हुन् | सत्य हो कि सङ्घर्ष गर्नुपर्छ तर सङ्घर्षको बाटोलाई स्वार्थको जलप दिंदासाथ दु:ख बन्छ | जन्मनु सरल रेखा हो | हुर्कनु अर्को सरल रेखा हो | जीवनका विभिन्न अवस्थाहरू (बाल्य, किशोर, प्रौढ, वृद्धावस्था) यी सबै सरलरेखा हुन् | भौतिक, मानसिक र आध्यात्मिक आवश्यकता र त्यसको पूर्ति पनि सरलरेखा नै हो | एतिमात्र होइन, मृत्यु जीवनरूपी सरलरेखाको अन्तिम विन्दुहरू हो | जुन उमेरमा मृत्यु भयो, सरलरेखा त्यहीं टुंगिन्छ | मृत्युलाई कठोर ठान्नु, मृत्युलाई देवत्वकरण गर्नु, दानवीकरण गर्नु सरलता विरुद्धको बौद्धिक सङ्घर्ष हो | जुन दिन मान्छे जन्मेको थियो, त्यही घडीमा सरलरेखाको अन्तिम विन्दु कोरिएको थियो | मृत्युको कुनै उमेर हुँदैन सरलरेखामा कुनै अवरोध हुँदैन |
धेरैले गुनासो गर्छन् : जीवन चिन्न सकिएन | जीवन रहस्यले भरिएको छ | तर दुवै अर्धसत्यमा छन् | जोसंग जीवन छ, उही बाँचिरहेको छ | जीवन नभएका को कुनै प्रबाह हुँदैन | तेसैले आफुले पाएको जीवन सरलरेखामा बाँचौं | यसलाई रहस्यको भूमरीमा देखाएर आफु र अर्कालाई भ्रमित नपरौं | तपाईंसंग भएको जीवननै तपाईंको आफ्नो हो | यो तपाईंले चौविसौं घण्टा अनुभव गरिरहनु भएको छ | मेरो जीवन मेरो अनुभवबाट वाहिर छैन | मेरो जीवनका हरेक अवस्थाहरूको म साक्षी बनिरहेको हुन्छ | मैले आफ्नो चेतनालाई आफ्नो जीवनको साक्षी बन्नबाट रोक्न सक्दिन | मेरो जीवन हरेकपल, हरेकक्षण मसंग छ | त्यो जीवन म नै हुँ | एतिसहजता र सरलतापूर्वक अनुभूत भइरहेको जीवन कसरी रहस्यमय हुन्छ ? मेरो जीवन नै मेरो अस्तित्व हो र यो सधैं सरलतापूर्वक मैले अनुभूति गरेअनुसार कै छ |
मान्छेसंग बुद्धि छ | बुद्धिले सधैं जित्न खोज्छ | बुद्धिले सधैं समस्यालै व्यक्तिगत ठान्छ | बुद्धि रुखो हुन्छ, कठोर र स्वार्थी हुन्छ | जव मान्छेले केवल बुद्धिसंग काम गर्छ, ऊ विवेकहीन हुन्छ | बुद्धिको बलमा गरेका निर्णयहरू आत्मघाति हुन सक्छन् | किनभने बुद्धिका निर्णयहरूको गहिराईमा स्वार्थ लुकेको हो | कृष्णले गीतामा अर्जुनई धेरैपटक स्वार्थ र त्यसका कमसलपक्षको कुरा भनेका छन् | भन्नुपर्छ, बुद्धिसंग प्राकृतिक जीवनशैलीमा रमाउने विकल्प हुन्छ तर अहङ्कार र जीतको स्वार्थले त्यसलाई अप्राकृतिक बनाउँछ | आफै दु:खहरू खोजेर, त्यसमा सुखी भएको नाटक मन्चन गर्दै एउटा चलाख व्यापारीको भूमिका निर्वहन गर्छ | प्रकृतिसंग टाढिने कुनै पनि निर्णयले मान्छेको जीवनप्रबाहमा अवरोध उत्पन्न हुन्छ | अनि, उसँग त्यसै अप्राकृतिक अनुभूतिलाई सुखको जमा लगाएर जिउने विकल्प हुँदैन | बुद्धिको प्रयोगले कुनै पनि व्यक्ति बुद्ध बन्न सक्क्दैन | बुद्ध बनाउन सक्ने क्षमता केवल विवेकमा हुन्छ |
बुद्धिको फन्दामा परेको मान्छेले अप्राकृतिक निर्णय गर्दैजान्छ | आफैले बुनेको जालमा फँस्दै जान्छ | बुद्धि गलत हुँदैन तर जव बुद्धिमा स्वार्थ र अहंकार, तृष्णाको जलप पोतिन्छ त्यसको विवेकीय पक्ष कमजोर हुन्छ | बुद्धिको सबैभन्दा ठूलो अहङ्कार “जित्न खोज्नु” हो | बुद्धिले संसारका हरेक जीव-अजीव सबैलाई जित्न चाहन्छ | तिनलाई आफ्नो नियन्त्रणमा राखेर भोग्न चाहन्छ | मान्छेले निर्माण गरेका १६०००+ परमाणु बमहरूले मान्छेको कसरी कल्याण गर्छन् र गर्न सक्ने छन् ? कसैले जवाफ दिन सक्दैन | जित्नका लागि बुद्धिले गरेका अनेकौं भयानक भूलहरू छन् | सायद, मान्छेलाई तित्नै पर्ने नशा लागेको छ, त्यसैले हरेक ठाउँमा बुद्धिको उपयोग गरेर जीवनमा अवरोध सृजना गर्छ | सरल, सहज, सुखी र आनन्दित जीवनमा बुद्धिको कम र विवेकको बढी प्रयोग हुन्छ | बुद्धिले उत्पन्न गर्ने सबैभन्दा ठूलो र गहिरो भ्रम भनेकै “सधैं जित्नु पर्छ भन्ने जिद्दीपन र विश्वभरिका महंगा, भव्य तथा मीठा साधनहरूमा अधिकार जमाएपछि सुख प्राप्त हुन्छ” भन्ने विश्वास सृजना गर्नु हो |
मान्छेले आफ्नो जीवन प्रकृतिमा बग्न दियो भने सधैं खुसी हुन सक्छ | खुसी खोज्नु पर्दैन | विहानीपखको निन्द्रा खुल्दा मन र शरीर दूवै प्रसन्न हुन्छ | विहानीपख पूर्वतिरबाट चिहाइरहेका सूर्यका किरणमा आनन्दको अमृत बग्छ | प्रकृतिको हरियोपन होस् वा टम्म फैलिएका वादल र तिनबाट खसीरहेका पानीका थोपाहरूमा आनन्दको सागर बग्छ | यी सबै मान्छेको आँखाका माध्यमबाट मनको गहिराइमा उत्रिएर आनन्द प्रदान गर्छन् | चराचुरुंगीको चीरवीर होस् वा स-साना बालबालिकाको कोमल स्पर्श सबैमा प्राकृतिक खुसी नै हुन्छ | मैले हरेक क्षण, हरेक पल र हरेक स्वासमा प्रकृतिका प्रबाहमा आनन्द नै प्राप्त गरिरहेको हुन्छ | मैले प्रकृतिलाई बुद्धिका माध्यम जित्ने जिद्दी छोडेको धेरैभयो | जव मलाई प्रकृति र त्यसका कुनै पनि अवयवलाई जित्नुनै छैन भने मलाई हारको स्वाद लाग्दैन | म अजातशत्रु बनेर प्रकृतिसंग रमाउंछु | जीवनलाई सहज र सरलरूपमा बग्न दिन्छु | मैले मेरो अनुभूतिका विषयमा कसैलाई प्रमाणित गर्नुछैन | कसैको सहमति आवश्यकता छैन | प्रकृतिले यही भन्छ |