मातृभूमिमा पितृसत्तात्मक शब्दको व्यापार

मातृभूमिमा पितृसत्तात्मक शब्दको व्यापार

मातृभूमिमा पितृसत्तात्मक शब्दको व्यापार
सुनेअनुसार भारतको मणिपुर, मेघालय, मिजोरम, अरुणाचल तथा मेघालयमा खासी, गाह्रो, चक्मा जयंत्याजस्ता आदिवासी समुदायहरू छन् जहाँ महिलाहरूले विवाह गरेर पुरुषहरूलाई घर भित्त्र्याउने गर्छन् | सन् १९४७ पछि यी क्षेत्रहरूमा व्यापक इसाईकरण भयो | बाइबलले महिलालाई “पुरुषले प्रयोग गर्ने बस्तु” ठान्छ र जिससले प्रष्ट रूपमा पुरुषहरूका वरावरी गर्न महिलाहरूलाई रोक लगाएका छन् | इसाईकरणसंगै यी क्षेत्रहरूमा महिलाले आफ्नो परम्परागत अधिकार गुमाउंदै आजको मितिमा पुरुषहरूको “सेवा” गर्न बाध्य पारिएका छन् |
सन् २०१९ मा मैले खासी समुदायबाट दर्शनशास्त्रमा प्रोफेसर बनेका माओले बताएअनुसार उपर्युक्त समुदायमा कान्छी छोरीलाई मात्र सम्पतिको अधिकार हुन्छ | कान्छीछोरीलाई मन परे अन्य दिदीबहिनीले अंश पाउँछन् | पुरुषहरूलाई सम्पत्तिमा कुनै अधिकार हुँदैन | सन् १९४७ भन्दा पहिला यी क्षेत्रहरूमा रानीको अधिकार चल्थ्यो | माओले बताएअनुसार इसाई बने पनि केही समुदायमा सांस्कृतिक रुपमा “महिला-प्रधान” रितिरिवाज चलिरहेको छ तर इसाईकरणले निकै कमजोर भएको छ |
प्रो. माओले आफ्नो सम्पूर्ण तलव पत्नीलाई बुझाउनु पर्छ | सांस्कृतिक रूपमा उनी घरमूली होइनन् | घर, परिवार, सामाजिक निर्णयहरू लिने अधिकार महिलामा निहित हुन्छ | पत्नीको नाममा समाजले उनलाई चिन्छ अर्थात् फलानीको लोग्ने ! महिलाको अनुमति विना कुनै पनि काम सम्भव छैन | सबैभन्दा रोचक कुरा त के भने उपर्युक्त समुदायहरूमा पुरुषको गोत्र वा थर हुँदैन, महिला प्रधान समाज भएको कारण महिलाको गोत्र-थर नै सबैको थर हुन्छ | माओका अनुसार सन् १९४७ सम्म सबैले हिन्दू धर्म मान्थे तर आजको मितिमा धेरै इसाई भैसकेका छन् तर जुन हिन्दू छन्, तिनले आफ्नो मौलिक परम्पराअनुसार नै परिवार चलाइरहेका छन् |
हिन्दू समुदायमा जीवित रहेको उपर्युक्त परम्पराले हिन्दुहरूमा महिला विरोधी रितिरिवाज बलियो छ र हिन्दू समाज पितृसत्तात्मक छ भन्ने आरोपलाई अस्वीकृत गर्छ | हिन्दुहरूलाई मातृसत्तात्मक समाज भए पनि कुनै असजिलो हुँदैन र पितृसत्तात्मक हुँदा पनि स्वीकार्य छ भन्ने प्रमाण उपर्युक्त जनजातिआदिवासीको चलनले प्रष्ट पार्छ | (केही सीमित रूपमा उपर्युक्त चलन मैले सुनेअनुसार नेपालको डोल्पो, मुस्तांगमा छ रे !)
पितृसत्तात्मक शब्द र सोच दूवै युरोपेलीहरूले खोजेका र स्थापित गरेका शब्द हुन् | अब्राह्मिक रिलिजनले महिलाहरूप्रति गर्ने भेदभावले आक्रान्त भएर युरोपेली महिलाहरूले पितृसत्तात्मक संरचना विरुद्ध विद्रोह गरेका हुन् र तेहाका लागि त्यो उचित नै ठहरिन्छ | नेपाली र भारतीय समाजमा “पितृसत्तात्मक” शब्दको उपयोग कम्युनिस्टहरूको प्रवेशसंगै भएको हो भन्न मिल्छ | निश्चय नै सैद्धान्तिक रूपमा नेपाली समाज “पितृसत्तात्मक” नभए पनि व्याबहारिक रूपमा विद्यमान छ | महिलाहरू पुरुषहरूको तुलनामा विभेदमा परेका छन् तर इसाईहरूका विरुद्ध युरोपेली महिलाहरूले आरम्भ गरेको आन्दोलनलाई (जहाँ देशलाई फादरल्याण्ड भन्ने गरिन्छ) मातृभूमि (वैदिक, जैन, बौद्ध र चिनिया परम्परामा जन्मभूमिलाई मातृभूमि भनिन्छ) पुरुषहरूलाई गालीगलौज गर्नेहरूले इतिहास पढ्नुपर्छ |
हिन्दू समाजमा महिलाप्रति विभेद छैन भन्नु अनुचित हुन्छ तर युरोप र अमेरिकाको इतिहासमा तेहाका पुरुषहरूले महिलाप्रति गरेको चरमविभेदलाई नेपाली समाजमा बुझ्नु मूर्खता र विदेशीहरूको सिखो बाहेक केही होइन | बरू नेपाली समाजमा प्रचलित मातृभूमि, मातृकुल प्रधान चालचलनहरू, महिला गुरूहरू बन्ने चलनहरू र महिलालाई पहिलो मान्यता दिने प्रचलन “सीताराम, लक्ष्मीनारायण, राधाकृष्ण”लाई महिलाहरूको बर्चश्व र अधिकार स्थापित गर्ने दिशामा प्रयोग गर्नुपर्छ | सेमेटिक रिलिजनहरूमा “महिला गुरू” वा महिला “देवी” हुने कुराको कल्पनासम्म गरिन्न | आजको मितिमा कुनै पनि महिला मुल्ला, मौलवी, फादर वा पास्चर छैनन् | यही आँखाले नेपाली समाजलाई “पितृसत्तात्मक” भनेर गालीगलौज गर्दैमा महिलाहरू अधिकार सम्पन्न हुँदैनन् | एउटा अतिवादबाट अर्कोअतिवादतिर लैजाने सिद्धान्त र क्रियाकलापहरूलाई बेलैमा मन्थर पार्नुपर्छ |
पितृसत्तात्मक शब्दको कल्पना फादरल्याण्डका विरुद्ध विकसित भएको हो यसको नेपाली समाजसंग कुनै साइनो छैन | नेपाल आमा पनि भन्ने र पितृसत्तात्मक व्यबस्था विरुद्ध लड्छु भन्नु निकै विरोधाभाषी छ | पुरुष होस् वा महिला दूवैले उपर्युक्त शब्दसंग “प्रगतिशीलता, आधुनिकता र विकास”लाई जोड्नुको अर्थ छैन | महिलाको उत्थानका लागि आवश्यक सुविधाहरू प्राप्त गर्नु उनीहरूको मौलिक अधिकार हो तर पुरुषहरूलाई घारेहात लगाएर, पुरुषहरूसंग शत्रुतापूर्ण व्यबहार गरेर, पुरुषहरूलाई गालीगलौज गरेर प्राप्त हुने भनिएको “अधिकार” तासको घरझैँ हुन्छ | शिक्षा, स्वास्थ्य, स्रोतसाधन र काममा पहुँच मुख्य कुरो हो | महिलाहरूले अहिले पुरुषले ओगटीरहेको ठाउँ ओगट्न सफल हुनुभनेको अधिकार प्राप्त होइन अपितु अर्को शोषणको आरम्भ हो |
अधिकार र कर्तव्य, राम्रो र नराम्रो, उचित वा अनुचित नीतिशास्त्रका विषय हुन् | नीतिशास्त्रका विषयहरू स्थानीय समाजले तय गर्छ | राष्ट्रले त्यसको प्रतिनिधित्व गर्छ | व्यक्तिले कर्तव्य ठानेर उत्तरदायित्व लिन्छ | एकातिर पितृसत्तात्मक पक्षको कठोर आलोचना गर्ने अर्कोतिर महिलालाई विज्ञापनका माध्यमबाट उपभोग्य सामग्री (Commodity) का रूपमा स्थापित गर्न खोज्नुको अर्थ छैन | कुनै पनि महिला अधिकारवादीहरूले एउटा फलामको कारसंग किन अर्धनग्न महिलाको फोटो छापिन्छ, किन हरेक रक्सीका विज्ञापनहरूमा महिलाको शरीर प्रयोग हुन्छ, किन प्रत्येक कण्डमका डब्बाहरूमा पुरुषको नभएर महिलाको फोटो हुन्छ ? जवाफ खोज्ने प्रयत्न गर्नुपर्छ | निश्चयनै, प्रत्येक महिलाले महिला भएकै नाममा असमानता खेप्नु दुर्भाग्यपूर्ण हो तर विवाहित पुरुषसंग दोस्रो विवाह गर्ने विषयमा पुरुषलाई मात्र दोष दिनु सही होइन | पुरुषले फकाउँदैमा फकिनुमा महिला पनि दोषी हुन्छन् |
विज्ञानको विकाससंगै धेरै परम्परागत मान्यताहरू बदलिएका छन् | सोच र चालचलन, आवश्यकता र परिवेश बदलिएको छ | तर वैदिक हिन्दु समाज होस् वा जैन वा बौद्ध समाज जसरी प्राचीनकालदेखि नै महिलाहरूलाई देवी, गुरू मानेर पूज्ने र आदर गर्ने परम्परा चलिरहेको छ, तेसैले आजको समाजमा पनि हिन्दुहरूमा महिलाहरू गुरूका रूपमा, जैनहरूमा साध्विका रूपमा र बौद्धहरूमा आनीका रूपमा जीवन्त छन् | पितृसत्तात्मक शब्दलाई “मुक्ति” ठान्ने चिन्तनसंग रुल्मुलिएकाहरूले “महिलाहरूलाई देवी मानेर पूजा गर्यो भने महिलालाई देवीका रूपमा पुज्नु भन्दा अधिकार देऊ” भन्दै विरोध गरिन्छ – बिडम्बना यहीं छ | तेसैले आफ्नो मौलिक संस्कृतिको सम्मान गर्दै महिलाहरूलाई सुशिक्षित गर्न, सामान अधिकार प्राप्त गर्न, अवसरहरू सुनिश्चित गर्न र सम्मान सृजना गर्न काम गर्नुपर्छ | पुरुषहरूको आलोचना गरेर, पुरुषहरूलाई गालीगलौज गरेर “अधिकार प्राप्त हुन्छ” भन्नु दिवास्वप्न सरह हुने छ |
पितृसत्तात्मक नेपाली समाजका कारण महिलाहरू पछाडी परेका हुन् भने उप्रान्त महिला अधिकार कर्मीहरूले खासी, गाह्रो, जयंत्या आदिवासीहरूले परम्परागत रूपमा अभ्यास गर्दै आइरहेको “मातृप्रधान सत्ता”को अभ्यास गरौँ | के खागजको स्वदेशी मातृसत्तात्मक समाजको अभ्यास गर्न “महिला अधिकारवादी”हरू तयार छन् ? अथवा “खागज” पनि वैदिक हिन्दू समाजको प्राचीन अभ्यास भएकोले अस्वीकार्य ठहरिने छ ? अथवा नारीअधिकारवादीहरूका लागि केवल विदेशी अधिकारवाद मात्र स्वीकार्य हुने हो ? उत्तर प्राप्त गर्न सम्भव छैन | अधिकारवादी आन्दोलनले महिलालाई धेरै सचेत बनाएको तत्थ्य स्वागतयोग्य छ तर पितृसत्तात्मक सत्ताको विरोधका नाममा “मातृभूमि”मा विश्वास गर्ने र अभ्यास गर्ने वैदिक, जैन र बौद्ध समुदायप्रति अभद्र टिप्पणी गर्ने कुरा स्वागतयोग्य छैन |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *