बोल्नु र लेख्नु पर्ने सत्य !!
नुवाकोट, धादिंग, ललितपुरका प्राचीन धार्मिकस्थलको दर्शन गर्ने क्रममा ती प्राचीन मन्दिरहरूमा नयाँ बुद्धका मूर्तिहरू स्थापना गरेको देखियो | स्थानीयसंग जिज्ञासा राख्दा “स्थानीय विकासे बुद्धिष्टहरूले जवर्जस्ती मूर्तिहरू राख्ने र त्यस्तो नगर्न अनुरोध गर्दा धम्की दिने, जातीय मुद्दा लगाउने धम्की दिने” गरेको बताए | देख्नेलाई ओअनी प्राचीन मन्दिरका बिचमा नयाँ निर्माण भएका बुद्हधका मूर्रूतिहरूको उपस्थिति अचम्म लाग्छ !
परम्परागत बौद्ध मन्दिरहरूमा हिन्दु-देवीदेवताको पूजाआज्ञा हुँदैन | ती बौद्ध स्तुपा, गुम्वाहरूमा कुनै पनि हिन्दुले आफ्ना आराध्यदेवको मूर्ति राख्न अनुरोध गर्दैनन् न जवर्जस्ती गर्छन् | फेरी सनातनी मन्दिरहरूमा जवर्जस्ती बुद्धको मूर्ति किन राख्ने ? हो, उपत्यका र देशका अनेकौं पूजास्थलहरू हिन्दु-बौद्धहरूका साझा छन् र तिनमा आ-आफ्नै परम्पराअनुसार पूजाआजा चलिनैरहेका छन् | यदाकदा, बौद्धमार्गका प्राचीन मान्यताहरू विरुद्ध घृणावादीहरूले “हिन्दुहरूले कब्जा गरेको” भन्दै सहिष्णुता विथोल्ने प्रयत्न गरेको भेटिन्छ तर जनताहरूको सचेतना, एकआपसी सद्भावका अगाडी घृणावाद टिक्दैन | दुई सनातनी संस्थाहरूको एकआपसी प्रेम रहन्छ नै |
नेपाल र नेपालीलाई चिन्ने विश्वभरीका मान्छेलाई राम्ररी थाहा छ कि नेपालमा हिन्दु र बौद्ध संस्कृति एकआपसमा निकै घुलमेल भएको छ | आज पनि विश्वविद्यालयहरूमा बौद्ध दर्शन, धर्म पढाउने हिन्दू गुरू नै हुनुहुन्छ भने हिन्दू धर्म, संस्कृति पढाउनेहरूमा शाक्य, बज्राचार्य हुनुहुन्छ | बौद्ध र हिन्दूहरूका शास्त्रीय ग्रन्थहरू संस्कृत वा पालीमा भएको हुँदा सजिलो भएको हो | तर केही सेमेटिक कट्टरतावाद र केही धर्मपरिवर्तन गरेर आफुलाई भगवान् बुद्ध भन्दा पनि बढी बौद्ध ठान्ने स्वयम्भुहरूले सधैं हिन्दू र बौद्धहरूका विचमा घृणावादको, असहिष्णुताको विषवृक्ष रोप्न चाहिरहेका छन् | सर्वसाधारण नेपालीले पनि बुझ्नु पर्ने तत्थ्य के हो भने हिन्दू र बौद्ध फरकफरक धर्म हुन् | यी दूवैलाई एक हुन् भन्नुको कुनै औचित्य नै छैन तर दूवै सहअस्तित्वमा रहेर आ-आफ्नो धार्मिक आस्थाको अभ्यास गर्छन् र गर्नुपर्छ भन्ने तत्थ्य जगजाहेर छ | उपर्युक्त किसिमका उत्छ्रिन्खलहरू बुद्धको शान्त संस्कृतिमा प्रवेश गरेपछि विनम्र बौद्धहरूलाई निकै कष्ट हुन्छ | विनम्र बौद्ध र हिन्दू दुवैले आफ्नो साधनाको बढी माया गर्छन् | यही कुरा घृणावादीलाई पच्दैन |
हिन्दु धर्मका आधिकारिक व्यक्तिहरू (विद्वानहरू) यी घृणावादी विरुद्ध बोल्न चाहन्नन् | अतिक्रम, घृणावादी अभिव्यक्तिहरू र वैदिक सनातन धर्मको घृणावादी आलोचना सहेर बस्नुहुन्छ | घृणावादीहरूसंग डिफेन्सिभ बन्नु पर्ने कुनै कारण छैन | विद्वानहरूले प्रतिकार नगर्दा घृणावादीको मनोबल बढ्छ | अतिक्रमणकारीहरूले “बूढानीलकण्ठ र मुक्तिनाथ हिन्दूहरूले कब्जा गरेका हुन्” भन्न थाले | बुद्धको मूर्ति निर्माण गर्नु, मूर्तिस्थापना गर्नु राम्रो काम हो तर ती मूर्तिहरू हिन्दूहरूका पूजास्थलहरूमा जवरजस्ती स्थापना गर्नु अनुचित र निन्दनीय कार्य हो | कुनै पनि हिन्दूले बौद्धहरूले निर्माण गरेको गुम्बामा शिव, कृष्ण, राम वा कालीको मूर्ति स्थापना गरेको देख्न सक्नु हुन्न तर हरेक हिन्दुले आफ्नो पूजास्थलमा भगवान् बुद्धको मूर्ति अवश्य स्थापना गर्छ | यी घृणावादीहरूलाई हिन्दूहरूले स्थापना गरेको बुद्ध मन पर्दैन | मूर्तिस्थापना बहानामात्रै हो, घृणावाद त्यो मूर्ति स्थापनाको सारतत्व हो |
यदि अधिकारका नाममा कुनै घृणावादीले अर्काकाको पूजास्थल अतिक्रमित गर्ने प्रयत्न गर्छ भने त्यसको प्रतिकार नगर्नु उचित हुँदैन | दुष्टले दुष्टता गर्छ भने त्यसको उचित जवाफ दिनुपर्छ | प्रतिकार नगर्दा दुष्टहरूको मनोबल बढ्छ र सज्जनहरू विस्थापित हुन्छन् | घृणावादी रिसाउलान् भनेर अन्याय र अतिक्रमण सहनु उदारता होइन, विनम्रता होइन कायरता हो | अन्त्यमा मैले कहीं सुनेको थिएँ “सास रोकिनुमात्र मृत्यु होइन, असत्य र अनाचार विरुद्ध बोल्न नसक्नु, पाखण्ड विरुद्ध उभिन नसक्नु पनि मृत्युनै हो | भगवान् बुद्ध र उहाँका विनम्रअनुयायीप्रति सधैं नमन र अतिक्रमणकारी र घृणावादी विरुद्ध असहमति रहनेनै छ |
स्वस्त्यस्तु

