सत्य आफै बोल्छ !
केही कथाहरूले चिन्तनलाई प्रभावित पार्छन् र व्यबहारलाई पनि प्रभावित पार्छन् | छान्दोग्योपनिषद्को चौथो अध्यायको चौथा खण्डका प्रारम्भमा जबालाका छोरा सत्यकाम जाबाल छोराको मन छुने प्रसंग छ |
बालक जाबाल पढ्न चाहन्छन् तर तेस समयको चलनअनुसार पढ्नका लागि विद्यार्थीले आफ्नो गोत्रसहित जानकरी दिनुपर्थ्यो | (आज पनि विद्यार्थीले परिचय खुल्ने जन्मदर्ता प्रमाणपत्र विद्यालयमा पेस गर्नुपर्छ नत्र पढ्न पाइन्न) उनले आमालाई आफ्नो परिचय सोधे |
बालक जावाल गौतम ऋषिका आश्रममा पुग्छन् र ऋषिलाई प्रणाम गरेर आफ्नो इच्छा व्यक्त गर्छन् | ऋषिले परिचय माग्दा जावाल भन्छन् “मैले आफ्नो गोत्र आफ्नी आमासंग सोधेको थिएँ तर उहाँले मेरो गोत्र भन्नु भएन, मलाई मेरो गोत्र थाहा छैन तर म जावाली र सत्यकामको छोरा जावाल हुँ |”
निर्भिकतापूर्वक जावालले “गोत्र थाहा छैन” भनेको सुनेर ऋषि गौतमले तुरुन्त ती बालकसंग समिधा मगाएर ब्रतबन्ध गरिदिए र शिक्षादीक्षा दिन थाले | गोत्र थाहा नभएका बालकलाई गौतमले शिक्षादीक्षा दिने निर्णय गर्दा उनले भने “तं होवाच नैतदब्राह्मणो विवक्तुुमर्हति समिधं सोम्याऽऽहरोप त्वा नेष्ये न सत्यादगा इति… ।।५।। एउटा ब्राह्मणले बाहेक यसरी निर्भिकतापूर्वक सत्यसत्य कुरा अरूले बोल्न सक्दैन | तेसैले यो बालक मेरो गुरुकुलमा अध्ययन गर्न सर्वथा योग्य छ |
आजभोली हरेक विद्यालय वा कार्यालयहरूमा “honesty is the best policy” लेखिएको हुन्छ | सत्य पनि पोलिसीअनुसार प्रयोग हुन्छ | जाबालको प्रसंगले प्रष्ट पार्छ जसले निर्भिकतापूर्वक केवल सत्य बोल्छ र गर्छ, त्यही ब्राहमण हो | सत्य पोलिसीको विषय नभएर व्यबहारको विषय हो | जावालको सत्यले आफ्नो परिचय आफैले दिएको छ | ऋषिको तपस्या र अनुभवले सत्यको परिचयलाई जस्ताको तस्तै स्वीकार गरेको छ |
पोलिसी अनुसार सत्यको व्याख्या गरिंदा सत्यको घांटी रेटिने गरिन्छ | यदि कसैले निर्भिकतापूर्वक जावाललेझैं सत्यको व्यबहार गर्छ भने त्यो ब्राह्मण हुन्छ भन्ने वेदको प्रष्ट संदेश छ | सधैं छलझेल गर्ने, सत्यको घांटी रेट्ने तथा आफ्नो निजी स्वार्थका लागि सत्यको फरक व्याख्या गर्नेहरू ब्राह्मण होइनन् | यदि कसैले सत्यकाम जावालको सत्य स्वीकार गर्छ भने त्यसको ब्राहमणत्व निर्विवाद हुन्छ |
उपनिषद् को यो सत्यकथालाई जातिवादमा ढाल्न वा तथाकथित अधिकारवादसंग प्रासंगिकता स्थापित गर्न जावाललाई वेश्यापुत्र अर्थात् जावालीलाई बेश्या भन्ने गरिएको पनि भेटिन्छ | उपनिषद् को यो सुन्दर प्रसंगलाई “आधुनिकताको जलप दिन अनर्थ जोड्नेहरू इतिहास र संस्कृतिका हत्यारा हुन् | सावधान हौँ | कथाको सत्य जस्ताको तस्तै पस्किनुपर्छ | फलानो मान्छे, फलानो जाति वा फलानो पन्थ रिसाउला भनेर मोडिफाई गर्न मिल्दैन र हुँदैन |

