ब्राह्मणको ब्रतबन्ध गर्ने उमेर !

ब्राह्मणको ब्रतबन्ध गर्ने उमेर !

ब्राह्मणको ब्रतबन्ध गर्ने उमेर र वैदिक नागरिकता !

ब्राह्मण बालकको ब्रतबन्ध गर्ने ठीकठीक उमेर ८ वर्षको हुँदाहुन्छ तर कुनै कारणवस ब्रतबन्ध गर्न नजुरे वा नमिले १६ वर्षको उमेर काट्न दिनुहुँदैन |
तेसैले ब्राह्मण बटुकको ब्रतबन्ध १६ वर्षको उमेरभित्र सम्पन्न गरिसक्नुपर्छ | बालकले”१६ वर्षको उमेर काट्न आँटेपछि “जोर महिनामा ब्रतबन्ध गर्नुहुँदैन” भनेर १७ वर्ष कुर्न हुँदैन | १६ वर्ष काटेर गरिएको ब्रतबन्धको शास्त्रका दृष्टिकोणले कुनै अर्थ छैन | ब्रतबन्ध गर्नु र नगर्नुको मूल्य हुँदैन |
यदि कुनै ब्राह्मणले १६ लाई “जोर वर्ष मानेर” ब्रतबन्ध गर्नुहुँदैन भन्नुहुन्छ भने त्यो अर्धसत्य हो | १६ वर्ष काटेपछि ब्राह्मण बटुक “ब्रात्य” हुन्छ | ब्रात्यको अर्थ हो १६ वर्षपछि गरिएको ब्रतबन्ध पूर्णरूपले पितृहरूका लागि स्वीकार्य हुँदैन | तेसैले यदि आफ्ना बटुकहरूको ब्रतबन्ध गर्ने छ भने १६ वर्ष कटाउनु हुँदैन |
यदि तपाईंको आफ्नो बालक वा आफन्तका बालकहरू १६ वर्षको उमेरमा हिड्दै छन् र वैदिक नियमअनुसार ब्रतबन्ध गर्न चाहनुहुन्छ भने ब्रतबन्धको तयारी गरिहाल्नुस् | शास्त्रहरू विश्वास र श्रद्धा गर्नेहरूका लागि हुन्, आस्था, श्रद्धा र विश्वास नहुनेका लागि ब्रतबन्धजस्ता संस्कारको कुनै अर्थ छैन | आजभोली ब्रतबन्धलाई पनि “इभेन्ट”का रूपमा लिने चलन बढेको छ | ब्रतबन्ध होस् वा विवाह आर्थिक-समस्या अथवा अस्वस्थ्य प्रतियोगिताको अवसर बन्नु हुँदैन | आफुले सक्ने गरौँ, नसक्ने नगरौं |
साच्चिकै भन्नुपर्दा शास्त्रीय हिसावले १६ वर्ष काटेपछि ब्रतबन्ध गर्नु भनेको केवल “खानापूर्ति” गर्नु हो | मैले धेरै पटक पशुपतिको आर्यघाटमा छोराहरूले सर्टमाथिबाट जनै लगाएको देखेको छु | यस्तो आडम्वर नगरे पनि हुन्छ |
हाम्रो छोराको ब्रतबन्धमा उपस्थित भएर आशिर्वाद दिनुहुने, ब्रतबन्धको तयारीमा खट्नु हुने, सहयोग गर्नुहुने र बर्तुनमा आउन धेरै चाहना भए तापनि विविध अनिवार्य कारणहरूले आशिर्वाद दिन आउन नसक्नेहरूप्रति पनि कृतज्ञता ज्ञापन गर्छु | अपर्झट ब्रतबन्ध गर्ने निर्णय गरिएको हुँदा समयको अभावले गर्दा धेर्रैलाई निमन्त्रणा गर्न सकिएन : उहाहरूसंग विनम्रतापूर्वक क्षमा माग्छु | ब्रतबन्ध निर्विध्न सम्पन्न भएकोमा श्रीगणेश, पशुपतिनाथ, जगन्माता पार्वती तथा पितृहरूको कृपाप्रति नतमस्तक छौं |
वैदिक नागरिकता !
संस्कारपछि द्विजत्व प्राप्त हुन्छ | संस्कारात् द्विज उच्यते
उपनयनको अर्थ हो ब्रह्मसूत्र धारण संस्कार सिक्नु तथा वेदआदि पढ्न गरेर गुरुका निकट जानु | ब्रतबन्धको अर्थ हो – ब्रह्मसूत्र (जनै) धारण गरेर २५ वर्षसम्म ब्रह्मचर्य धारण गर्दै आफ्नो अभिरुचिको शिक्षा ग्रहण गर्ने मातापिता, आफन्तहरूलाई साक्षी राखेर सङ्कल्प गर्नु | सङ्कल्प अनुसारको कार्यमा बाँधिनु नै ब्रतबन्ध हो | नेपालीमा “बर्तुन” भनिन्छ, कसरी यो शब्द बन्यो विद्वानहरूले जानुन् |
ब्रतबन्ध गर्नु भन्दा पहिला पूर्वांग गरिन्छ | पूर्वांगमा गणेश, कलशआदिको पूजनसहित मुख्य रूपले चौसठ्ठी योगिनीहरूको आराधना गरिन्छ | यी मातृ’शक्ति हुन् | यी ६४ मातृशक्तिको आराधना गरेपछि तोकिएको ब्रतबन्ध “मोरो” परे पनि रोकिन्न | तेसैले पूर्वांगले ब्रतबन्ध सुनिश्चित गर्छ |
ब्रतबन्ध संस्कारभित्र कर्मकाण्डका धेरै रोचक क्रियाकलाप हुन्छन् | सबै अनिवार्य र महत्वपूर्ण हुन्छन् तर ब्रह्मसूत्र धारण, गायत्री मन्त्र ग्रहण र वेदारम्भ यसभित्रका मुख्य पक्ष हुन् | ब्रतबन्ध नगरी कुनै पनि बालक वेदको अध्ययन गर्ने अधिकारी हुँदैन र गायत्री जप्ने अधिकारी पनि हुँदैन | शास्त्रको नियम यही हो | नमान्नेका लागि केही भन्नु छैन |
युट्यूबमा सुनेर वा पढेर गायत्री मन्त्र कन्ठस्थ पार्न सकिन्छ तर गायत्रीमन्त्रको आध्यात्मिक ब्रह्मतेज प्राप्त गर्न गुरूबाट मन्त्र ग्रहण गर्नुपर्छ | अधिकार र गुरुमुखबाट ग्रहण नगरेको गायत्री बालबालिकाले युट्यूव हेरेर हवाईजहाज चलाउन सक्छु भनेजस्तै हो | बुझिन्छ, जानिन्छ तर मोक्ष प्राप्तिको लागि अधिकार प्राप्त हुँदैन |
वैदिक शास्त्रहरूले ब्रतबन्ध नगरेका व्यक्तिले गरेको कर्मकाण्ड देवता, ऋषि तथा पितृहरूले अस्वीकार गर्छन् भनेका छन् | तेसैले जुनसुकै देवकार्य, ऋषिकार्य वा पितृकार्यमा अधिकारिक रुपमा सहभागी हुन ब्रतबन्ध अनिवार्य हुन्छ | मैले धेरै पटक घरमा स-साना बालकहरूको ब्रतबन्ध नहुँदै आमावुवा वा अभिभावकको मृत्यु हुँदा क्रिया गर्नका लागि अन्य कुटुम्बबाट सहयोग प्राप्त गरिन्छ | ब्रतबन्ध नगरेका बालकले आफ्ना आमावुवाको क्रियासमेत गर्न मिल्दैन | साथै, हाम्रो समाजमा ब्रतबन्ध नगरेका बालबालिकाका लागि कुनै कुरा बार्नु पर्ने हुँदैन तर ब्रतबन्ध गरेपछि एकादशी, पूर्णिमा, औशी, जूठो, सूतक सबै लाग्छन् अर्थात् बार्नुपर्छ | ब्रतबन्धलाई मैले “वैदिक नागरिकता” भन्ने गरेको छु |
वैदिक संस्कारहरूमा विश्वास गर्ने ब्राह्मणले आफ्ना बालकको ब्रतबन्ध १६ वर्षको उमेर भित्र, क्षेत्रीले १८ वर्षभित्र र वैश्यले २२ वर्षभित्र अनिवार्य रूपमा गर्नुपर्छ | त्यसपछि गरिएका ब्रतबन्धले अधिकार प्राप्त गर्दैन | डोरो झुड्याउने कामलाई इभेन्ट भनिन्छ, ब्रतबन्ध होइन |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *