वैदिक दर्शनको दार्शनिक पद्धति

वैदिक दर्शनको दार्शनिक पद्धति

वैदिक दर्शनको दार्शनिक पद्धति

वैदिक दार्शनिक चिन्तन र पद्धति दुवै आध्यात्मिक उत्स प्राप्तिको उद्देश्यबाट आरम्भ भएको हुँदा आधुनिक विज्ञानका केही अध्येताहरूले “विज्ञानका दृष्टिकोण”ले वैदिक चिन्तन महत्वहीन भएको आरोप लगाएका छन् | खासगरी मार्क्सवादी चिन्तनहरूले मार्क्सवादी चिन्तनलाई सबैभन्दा बढी “बैज्ञानिक” भन्दै अन्य चिन्तनहरूको महत्वलाई होच्याउने प्रयत्न गर्छन् र होच्याएका पनि उदाहरण छन् | के साच्चिकै वैदिक दार्शनिक (जैन र बौद्धसहित) आधुनिक विज्ञानका दृष्टिकोणले अनुपयोगी नै छन् त ?
१. वैदिक दार्शनिक चिन्तनको आरम्भ (Origin of Vedic Theorem)
वैदिक दार्शनिक चिन्तनको आरम्भ विश्वको प्राकृतिक अस्तित्वको उपस्थितिप्रति जिज्ञासाबाट आरम्भ हुन्छ | ऋग्वेदका दुई सूक्तहरू : हिरण्यगर्भ सूक्त र नासदीय सूक्त यसका उदारहण हुन् |नासदीय सूक्तले (ऋग्वेद १०/१२९) ले प्राकृतिक विश्वको अस्तित्वप्रति स्वाभाविक जिज्ञासा प्रकट गर्छ भने हिरण्यगर्भ सुक्त (ऋग्वेद १०/२२१) ले उक्त जिज्ञासाको समाधान दिने प्रयत्न गर्छ | जसरी विज्ञानले बाह्य पदार्थको उपस्थितिलाई विश्लेषण गरेर अन्वेषणको यात्रा आरम्भ गर्छ, त्यसरी नै वैदिक दर्शनको प्रारम्भिक प्रश्न र त्यसको उत्तर बहिर्मुखबाट भित्रतिर प्रवेश गर्छ |
पढेलेखेका विद्वानहरूले असम्भव विषयबस्तुहरू विच पनि आन्तरिक सम्बन्ध खोज्ने र ती सम्बन्धहरूलाई “विज्ञानसम्मत भएको” प्रमाणित गर्न खोज्ने प्रयत्न गर्छन् | उदाहरणका अब्राहमिक (यहुदी, इसाई तथा मुस्लिम)हरूले आस्थालाई प्राथमिकतामा राखेर बडोपूर्वाग्रह पूर्वक विज्ञान र आफ्नो आस्थामा सम्बन्ध जोडेको पढ्न पाइन्छ | आस्थाका आधारमा वैदिक दार्शनिक चिन्तन र सांस्कृतिक व्यबहारलाई “विज्ञानसम्मत” भएको प्रमाणित गर्न खोज्नेहरूमा केही हिन्दू, जैन तथा बौद्धहरू पनि छन् | तर के वैदिक दार्शनिक चिन्तन र पद्धति साच्चिकै आधुनिक विज्ञानसंग मिलेर हिड्न सक्छ त ? विज्ञान पढेर विज्ञानमा विश्वास गर्ने होऊन् वा विज्ञान नपढी कन विज्ञानवादलाई बोकेर हिड्ने होउन् ? दूवैले दार्शनिकहरूसंग प्रश्न गरिरहेका हुन्छन् |
२. वैदिक दार्शनिक पद्धति (Methods)
वैदिक दार्शनिक चिन्तनको उदय प्राकृतिक विश्वको अस्तित्वसंग जोडिएको भए पनि भौतिक, मानसिक र आध्यात्मिक दु:ख निवारण गरेर मोक्ष (स्वतन्त्रता) प्रदान गर्नु पर्ने लक्षगत चिन्तनका साथ वैदिक दार्शनिक विचार अगाडी बढेको प्रष्टसंग सबैले बुझ्न सकिन्छ | स्वाभाविक रूपमा, तेस बखत आधुनिक “यन्त्र विज्ञान”को विकास भएको थिएन | तर आधुनिक विज्ञानको लागि सहयोग हुने पद्धतिको विकास भने प्राचीन वैदिक दार्शनिकहरूले अत्यन्त सुक्ष्मरूपमा गरेका थिए |
(a) प्रायजसो सबै सूत्रग्रन्थहरूको आरम्भ “अथातो….जिज्ञासाबाट हुन्छ | ब्रह्मसूत्रले अथातो ब्रह्म जिज्ञासा (उप्रान्त ब्रह्मका विषयमा जिज्ञासा आरम्भ हुन्छ) भन्दै ब्रह्म-विषयक छलफल आरम्भ गरेको छ | ऋग्वेदको पहिलो सूक्तले सिधै “जिज्ञासा” शब्दको प्रयोग नगरे पनि अग्नी, पुरोहित, यज्ञ र यज्ञफलका विषयमा जिज्ञासा प्रकट गरेको छ | उपनिषद् जिज्ञासाकै परिणाम हुन् | यसको विश्वका कुनै पनि दार्शनिक, इतिहासकार वा वैज्ञानिक अध्येताले यो तत्थ्य अस्वीकार गर्न मिल्दैन | अब्राह्मिक धर्ममा “जिज्ञासा” अपराध मानिन्छ | बाइबलको जेनेसिसमा इभले फलप्रति जिज्ञासा गर्नुनै “पाप”को कारण बन्यो |
(b) प्रश्नोत्तर पनि वैदिक दर्शनको दोस्रो महत्वपूर्ण पद्धति हो | श्रीकृष्णले गीतामा “परिप्रश्नेन सेवया” (गीता ४/३४) प्रश्न गर्न र उत्तरप्राप्त गर्न अभिप्रेरित गरेका छन् | गीताको पद्धतिलाई हेर्दा र पढ्दा अर्जुनले श्रीकृष्णलाई ठाउँठाउँमा निर्मम प्रश्न गरेका छन् र कृष्णले पनि ती प्रश्नहरूको क्रोधरहित भएर उत्तर दिएका छन् | जिज्ञासा र प्रश्नोत्तर विधिलाई श्रुति र स्मृतिका माध्यमबाट पुस्तान्तरण गरिन्थ्यो | जिज्ञासा र प्रश्नोत्तर आधुनिक विज्ञानको सबैभन्दा महत्वपूर्ण र अनिवार्य अंग हुन् |
(c) वैदिक दर्शनको तेस्रो सबैभन्दा महत्वपूर्ण पद्धति “प्रमाण” पनि हो | यस विधिअन्तर्गत प्रत्यक्ष, अनुमान, उपमान, शब्द, अर्थापत्ति, एतिह्य तथा अनुपलब्धिआदि प्रमाण हुन् | जिज्ञासा, प्रश्नोत्तर विधि र ती विधिहरूको प्रमाणीकरणका लागि प्रमाणहरू वैदिक दर्शनको आफ्नो मौलिक विशेषता हो | संक्षेपमा प्रत्यक्ष (Perception): इन्द्रियद्वारा प्राप्त ज्ञान (Chakrabarti, 1999), अनुमान (Inference): तर्कद्वारा स्थापित निष्कर्ष, उपमान (Comparison): ज्ञात कुराबाट अज्ञात वस्तुको ज्ञान, शब्द (Verbal Testimony): वेद वा प्रमाणिक स्रोतबाट प्राप्त ज्ञान, अर्थापत्ति (Postulation): अप्रत्यक्ष कारणबाट गरिने निष्कर्ष, अनुपलब्धि (Non-apprehension): कुनै वस्तुको अनुपस्थितिबाट प्राप्त ज्ञान हो | आधुनिक विज्ञानसंग प्रमाणका सवालमा यी विधि वाहेक अन्य कुनै विकल्प छैन |
(d) वैदिक दर्शनशास्त्रका विषयमा सबैभन्दा बढी आलोचना यसका केही पूर्वस्थापित मान्यताहरूका कारण हुने गर्छ | ईश्वर, आत्मा, कर्म, स्वर्ग-नर्क र मोक्ष – वैदिक दर्शनका अनिवार्य पूर्वमान्यता हुन् | हो, जैन, बौद्ध तथा चार्वक्हरूले केही पूर्वमान्यताहरूलाई अस्वीकार गरेका छन् तर पूर्ण अस्वीकार चाहिं गरेका छैनन् | उपर्युक्त तीनबटा पद्धतिको लक्ष मोक्ष (Liberation) हो | मान्छे चेतनशील मात्रै होइन बौद्धिक प्राणी पनि हो | यदि मोक्षलाई अलौकिक विषय नमान्ने हो भने रोगमुक्ति, शोकमुक्ति, भोकमुक्ति, जीवन-मुक्तिजस्ता संसारका स्वतन्त्रताहरू पनि मोक्ष नै हुन् | वैदिक पद्धतिले क्रमशः आधिभौतिक, आधिदैविक स्वतन्त्रताप्राप्तिपछि पूर्णस्वतन्त्रता अर्थात् मोक्षको परिकल्पना गर्छ | आधुनिक विज्ञानको लक्ष पनि चेतनशील मान्छेले प्रकृतिउपर विजयप्राप्त गरेर जन्म, मृत्यु, रोग तथा बृद्धावस्थाबाट सधैंको लागि मुक्तिप्राप्त गर्नुनै रहेको छ | फरक एत्ति हुन्छ कि वैदिक दर्शनशास्त्रले उपरोक्त सबै पद्धतिहरू संगै लिएर अगाडी बढ्छ भने आधुनिक विज्ञानले केवल इन्द्रीयप्रत्यक्ष वा कार्यकारणसंग अगाडी बढ्छ |
यसरी वैदिक दर्शनको विचार र पद्धति अभिनिर्मित भएको छ | जहाँ बहुलता, एकता र एकता र बहुलताका विचमा समन्वय छ | यसले बैचारिक वा दृष्टिकोणलप उदारता स्थापित गर्छ र व्याबहारिक रूपमा पनि “निषेधात्मक – पद्धतिको अवलम्बन गर्दैन | इन्टरनेटको युगसंगै विश्वभरिका पद्धतिहरू छताछुल्ल भएर वाहिर आउँदा वेद, उपनिषद, षड्दर्शन, तन्त्रदर्शनआदिले बाँचेको परम्परा आज पनि उत्त्तिकै उदार छ र बहुलवादी छ | विज्ञानमा उदारता वा सहृदयता नहोला तर पद्धति भने जिज्ञासा, छलफल, प्रमाण र मुक्तिका रूपमा (प्राप्तिका रूपमा) पूर्णस्वतन्त्रताको कामना गरिन्छ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *