मातृभाषामा विज्ञान कहिले पढ्न पाइन्छ ?
“हामी एक्काइसौं शताब्दिमा छौँ, विज्ञानमा विश्वास गर्छौं र बैज्ञानिक साम्यवाद वा समाजवादका आधारमा नेपाललाई विश्वको उन्न्त्तम देश बनाऊछौं” भन्दै कुर्लने राजनैतिक नेता र तिनका झोलेहरूले आज २०८१/०९/९ का दिन सम्म पनि ११ कक्षाको लागि मातृभाषा नेपालीमा पाठ्यपुस्तक तयार पारेका छैनन् र नेपाली बालबालिकाले ११ कक्षा भन्दा माथि आफ्नो मातृभाषामा विज्ञान पढ्न पाउंदैनन् भन्दा तपाईंहरूलाई कस्तो लाग्ला ? तर यो एकदम सत्य हो | आजको मितिसम्म कक्षा ११पछि नेपाली बालबालिकाले विज्ञान पढ्न विदेशीको भाषा अंग्रेजी जान्नु पर्ने बाध्यकारी व्यबस्था छ | अंग्रेजी विद्यालयमा पढ्नेका लागि विज्ञानको ढोका खुला छ तर नेपाली मध्यमा पढेकाहरूका लागि नीतिगततह मै विज्ञानको ढोका बन्द छ – सत्य यही हो |
मैले धेरै पटक उठाएको र आफैले भोगेको कुरा हो – नेपाली राजनैतिक शक्ति र तिनको झोला बोकेर हिड्ने शिक्षाक्षेत्रका व्यक्तिहरूले नेपाल र नेपालीलाई पटक्कै माया गर्दैनन् जति विदेशी र विदेशी शिक्षालाई गर्छन् | यसो भन्दा धेरै राजनैतिक शक्तिहरूसंग हिड्ने व्यक्ति वा समुदाय मसंग रिसाउला तर सत्य यही हो कि नेपाली राजनैतिक शक्तिहरू र तिनका झोलेहरूले नेपाल र नेपालीका लागि काम गर्दैनन् | यस कुराको ज्वलन्त उदाहरण हो – नेपाली भाषामा विज्ञानको पठनपाठन नहुनु र नेपाली जनताका छोराछोरीलाई जवर्जस्ती अंग्रेजी भाषा लादिनु | एउटा भाषाका रूपमा अंग्रेजी पढ्नुपर्छ, जान्नुपर्छ तर मातृभाषाको हत्या गरेर विज्ञान, म्याथजस्ता प्राविधिक विषयहरू पनि अंग्रेजी माध्यममा पढ्न बाध्यकारी बनाउनेहरू विदेशीका गोठाला नै हुन् | मेरा भतिजीहरूलाई विज्ञान पढ्न रोक्नेहरू पनि यिनै हुन् |
नेपालमा अंग्रेजीको विकासका लागि २०२७ सालदेखि सरकारीस्तरबाट नै प्रयास गरिएको छ र यो प्रयास २०८१ सालमा ५९% विद्यार्थीहरू कक्षा १० को अंग्रेजी, अंग्रेजी माध्यममा पढिने विज्ञान र म्याथमा फेल भएर सफल भएको छ ! यदि सरकार र तिनका झोले शिक्षविद् हरूले अंग्रेजी भाषाको एउटा पेपर राखेर अन्य सबै नेपाली माध्यामबाट पठन/पाठन गराउन आरम्भ गरेको भए देशको यस्तो स्थिति हुने थिएन | अंग्रेजी पुस्ता र नेपाली पुस्ताका विचमा विभेद हुने थिएन | अंग्रेजी पढेका मात्र जान्ने हुन्छन् भन्ने कु-मनोविज्ञानको विकास हुने थिएन |
अंग्रेजी कुनै पनि नेपालीको मातृभाषा होइन तर भाषाको रूपमा यसको वैश्विक महत्व छ | यसको अर्थ, नेपालीको हत्या गरेर अंग्रेजी सिकाउनु र सिक्नुपर्छ भन्ने कु-मनोविज्ञान रोप्नेलाई विश्वका सबै गालीगलौज गर्नुपर्छ र सक्नेले गरूँन् पनि | मैले गाउँबाट बल्लबल्ल १० पास गरेर आएकी मेरी भतिजीलाई उनको इच्छाअनुसार कक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने गरी भर्ति गरें र त्यो पनि सरकारी विद्यालयमा | तर शिक्षकहरूले “विज्ञान विषय केवल अंग्रेजीमा मात्र उपलब्ध छ” भनेपछि बाध्य भएर अर्को विषय रोज्नु पर्यो | यस अर्थमा, नेपाली राजनीति र तिनका झोले शिक्षासंग सरोकार राख्नेवाल बौद्धिक हत्यारा हुन् र यिनै बौद्धिक हत्याराहरूका कारण नेपाली बालबालिकाले आफ्नै भाषामा विज्ञान पढ्न पाएका छैनन् | मैले शिक्षक/शिक्षिकालाई दोष दिन्न | दोषीहरू तपाईं चिन्नुहुन्छ |
सन् १९४८ देखि सरकारले अंग्रेजी भाषामा गरेको लगानीको केवल १०% मात्र विज्ञानका पुस्तकहरू नेपालीलगायतका नेपाली मातृभाषा अनुवाद गर्न लगाएको भए कक्षा १ देखि विद्यावारिधिसम्म आफ्नै भाषामा विज्ञान पढ्ने पुस्ता तयार हुन्थ्यो | चिनीया समाजले विज्ञान पढ्छ तर आफ्नै भाषामा पढ्छ, चीनले राम्रै विकास गरेको छ | बेलायतमा बाहेक कुनै पनि युरोपेली देशमा विज्ञान पढ्न अंग्रेजी चाहिन्न | छिमेकी भारतमा राज्यको भाषाअनुसार विज्ञानका पाठ्यपुस्तक उपलब्ध छन् र विद्यार्थीले आफ्नै मातृभाषामा विज्ञान पढ्न सक्छन् | तर विश्वको नेपालमात्र एस्तो दुर्भाग्यशाली राजनैतिक शक्ति भएको देश हो जहाँका बालबालिकाहरूले तथाकथित २१सौं शताब्दिमा पनि विदेशी भाषामा विज्ञान पढ्न बाध्य पारिएका छन् |
नेपालमा तथाकथित प्रगतिशीलहरूको बाहुल्यता छ | समाजवादीहरूको पनि बलियो उपस्थिति छँदैछ तर यी सबैले मिलेर नेपाली भाषाहरूलाई समृद्ध बनाउन विज्ञानलाई मातृभाषामा पढाउने व्यबस्था गर्नेतिर ध्यान दिनुको सट्टा नीतिगततह मै नेपाली भाषाको हत्या गर्ने हत्यारो “अंग्रेजीकरण”लाई मलजल गरिरहेका छन् | भाषा सिक्नु राम्रो हो सिक्नुपर्छ तर मातृभाषाको हत्या गरेर विदेशी भाषा र संस्कृतिसंग सति जान प्रोत्साहन गर्ने नेपाली राजनैतिक शक्ति र तिनका झोले शिक्षाविद्हरूलाई इतिहासले माफ गर्ने छैन |
म सार्वजनिक माध्यमबाट सरोकारवाललाई सोध्दै छु – मेरी भतिजीहरूले आफ्नै भाषामा विज्ञान कहिलेदेखि पढ्न पाउँछन् ? तिमी पोलिसी लेभलमा बसेका छौँ, तिमीसंग प्रसस्त पैसा छ, बोर्डिंग स्कूलहरूले पनि तिम्रो “पोजिसन” हेरेर तिम्रा बालबालिका, नातिनातिना र आफन्तलाई नि:शुल्क अंग्रेजी माध्यममा पढाइ देलान् तर गाउँका सरकारी स्कूलमा विहान एकडोको घाँस काटेपछिमात्र पढ्ने मेरो भतिजीले विज्ञान पढ्ने आफ्नो चाहना कहिले पूरा गर्न पाउने छिन् ? यो प्रश्नको उत्तर आउने छैन, मलाई थाहा छ तर प्रश्नको उत्तर नदिनेहरू भविष्यको नेपालका बैज्ञानिकहरूका असली हत्यारा हुन् | नेपाल र नेपालीलाई विज्ञानको पहुँचबाट टाढा राखेर शोषण गर्ने शोषक हुन् |
एउटा भाषाका रूपमा जतिधेरै माया अंग्रेजीभाषाप्रति हुनुपर्छ, त्यति छ तर आफ्नो मातृभाषाप्रति अंग्रेजी भाषाको भन्दा हजारौं गुणा माया छ | तिमीहरू भित्र रहेको २१औं शताब्दिको दम्भ असलमा विदेशीहरूको दासता हो | तिमीहरूको पोलिसीले गर्दा म अंग्रेजी माध्यमबाट पढ्न बाध्य पारिएको छु | तिम्रो अंग्रेजी मोहका कारण मेरा भतिजी, भतिजा, नातिनातिना, छोराछोरीहरूलमा रहेको “बैज्ञानिक”ले आत्महत्या गरेको छ | यस्तो आमहत्यारा तिमीहरू हौँ | फेरी पनि सोध्दै छु “तिमी र तिम्रो संसदले मेरी भतिजीको नेपालीमा विज्ञान पढ्ने र बैज्ञानिक बन्ने रहर पूरा गर्न विज्ञानका पुस्तकहरू नेपाली मातृभाषामा पठनपाठन मिलाउने कानून कहिले बनाउंदै छौं ? मेरा भतिजीहरूको विज्ञान पढ्ने चाहनालाई कहिले सम्बोधन गर्दैछौँ ?
सरकार र सरकारी झोलेहरूले बालबालिकालाई मातृभाषामा विज्ञान पढ्न अबरोध उत्पन्न गरे पनि केही युवाहरूले आफ्नै प्रयासमा विज्ञानका सामग्रीहरू नेपाली भाषामा तयार गर्ने प्रयत्न गरिरहेका छन् | जसमा बर्दियाका नारायण पराजुली आदि छन् | मलाई लाग्छ, विदेशी भाषाका झोलेहरूले नारायणहरूको प्रयासलाई सकेसम्म अवरोध गर्ने छन् | नेपाली राजनैतिक चिन्तनले विज्ञानलाई नै कठै-विचारा बनाइदिएका छन् | सायद, यो लेख पढेपछि (पढ्ने छैनन्) अख्तियारवालाले आफ्ना विदेशी स्वामीहरूसंग विज्ञानको भाषाका विषयमा सोध्ने छन् र भाषिक विवाद निम्त्याउने छन् |

