शास्त्रीय धार्मिकता र व्याबहारिक धार्मिकता

शास्त्रीय धार्मिकता र व्याबहारिक धार्मिकता

शास्त्रीय धार्मिकता र व्याबहारिक धार्मिकता

आफ्नो मौलिक शास्त्रअनुसारको जीवन भएन भन्ने गुनासो, हिन्दू, जैन, बौद्ध, यहुदी, इसाई तथा मुस्लिम समुदायका धार्मिक अगुवाहरू गरेको यत्रतत्र सुनिन्छ | स्वाभाविक रूपमा वैदिकहरूले आफ्ना शास्त्रले निर्दिष्ट गरेको बाटो नै सबैभन्दा असल हो भन्छन् भने अन्य धार्मिक समुदायहरूमा पनि यही अडान हुन्छ | अब्राह्मिक रिलिजनहरूले आफ्नो बाहेक अर्कोको बाटोलाई शास्त्रीय रूपमा नै अस्वीकार गर्छन् भने अलि उदारवादी धर्महरूको आग्रह पनि “हाम्रो नै धर्म असल हो” भन्ने हुन्छ |
प्रश्न शास्त्रीयता कै हो | के आजको वदलिँदो परिवेशमा सम्बन्धित धर्मका अनुयायी वा अगुवाहरूबाट पूर्णतया शास्त्रीय जीवनशैली पालन गर्न/गराउन सम्भव छ ? धर्मका प्रतिमानहरू अपरिवर्तनीय हुन्छन् | सानोतिनो परिवर्तनका लागि कठोरतम प्रायश्चित्तको व्यबस्था छ | उदाहणका लागि वैदिक हिन्दूहरूका लागि संस्कृति र सभ्यताको आधार वर्णाश्रम व्यबस्था हो | तर वास्तविक जीवनमा वर्णाश्रम आफैमा अत्यन्त सिथिल, आलोचित र केवल ब्रतवन्ध, विवाह र मृत्युसम्म सीमित भएको छ |
मुस्लिम देशहरूमा बाहेक धेरैजसो धार्मिक समुदायका परम्पराहरूमा आधुनिक कानुनले पनि “अनुपयुक्त” मानेर प्रतिबन्ध नै लगाएका छन् | बालबालिका, महिला तथा समुदायहरूको विश्वदृष्टिकोण परिवर्तन भएको छ | सम्बन्धित व्यक्ति वा समुदायले आफ्नो मौलिक संस्कृति, सभ्यता वा परिचयका रूपमा शास्त्रीय धार्मिकताको कुरा गर्नु स्वाभाविक हो तर पूर्णशास्त्रीय जीवनमा हिड्नेहरू औंलामा गन्न सकिने अवस्था छ | आफुलाई महान् विद्वान्, धर्मसंस्कृतिका प्रबक्ता वा संरक्षकका रूपमा प्रस्तुत गर्ने “अगुवा”हरूको जीवनशैलीमा पनि प्रष्टसंग “स्खलन” देख्न सकिन्छ | उनीहरूले र तिनका चेलाचेलीहरूले आफ्नो र आफ्ना गुरुको जीवनशैलीको बचाऊ गर्न जतिसुकै तर्क दिए पनि शास्त्रीय दृष्टिकोणले स्खलित भएकालाई स्खलित नै भनिन्छ | सत्य तीखो हुन्छ |
-अन्य धर्मका तुलनामा हिन्दू संस्कृति परिवर्तनलाई आत्मसात् गर्ने क्षमताको छ तर यसले पुर्व रचना भएका/स्थापित गरिएका धार्मिक सांस्कृतिक परम्पराहरूलाई निराकरण गर्न मिल्दैन | “यस्तो त कुनै शास्त्रमा लेखिएको छैन वा प्रक्षेपित हो” भनेर आफ्ना शास्त्रहरूका तत्कालीन चिन्तनहरूको आलोचना गर्नुभन्दा “ती हिजोका सत्य हुन्, आजका होइनन्” भन्ने आँट गर्नु स्वस्थ्य र समयोचित हुन्छ | इतिहासलाई गालीगलौज गर्नेहरू “हीनताबोधले” भरिएका मनुवा हुन् | विश्वका जुनसुकै संस्कृति र सभ्यतामा क्रूरता तथा हिंसामात्र होइन असल पक्ष पनि छन् | शास्त्रमा लेखिएका आजको लागि कमसल वा बर्जित मानिने व्यबहारहरूले विश्वभरी मान्यता पाएकै थिए | मान्छेलाई कमरा/कमारी बनाएर बेच्नेकिन्नेप्रथाले विश्वका संस्कृतिहरू भरिएका थिए तर आज छैन |
मलाई लाग्छ, हरेक धार्मिक समुदायले “शुद्ध धार्मिकताको आदर्श”को कुरा मात्र गरिरहेको छ | कुनै पनि आफ्नो मौलिक शास्त्रअनुसारको जीवन यापन गर्ने बास्तविकता चाहन्न | सायद, मुस्लिम समुदायहरू अलि शास्त्रीय देखिए पनि तिनीहरूमा पनि परिवर्तन हुँदैछ | प्रश्न फेरी सुरुकै आउँछ – के आजको परिवेशमा शुद्धशास्त्रीय जीवनशैलीअनुसार जीवन यापन गर्न सम्भव छ ? छ भने कसरी र छैन भने कस्ता परिवर्तनहरू सापेक्षित छन् ? उदाहरणका लागि प्राचिन शास्त्रीय धर्मका कतिपय प्रावधानहरू आधुनिक समाजको न्यायव्यबस्थासंग बाझिएको हुँदा खारेज भएका छन् | यदि कसैले पालना गर्न चाहे त्यस्तो व्यक्ति वा समुदाय राज्यबाट दण्डित हुन्छ |
सम्भवत: उपर्युक्त समस्याहरू भविष्यमा आउने र प्रश्न गरिने जानेर होला हिन्दू धर्ममा ऋषिहरूले “सामान्य धर्म”को पनि कल्पना गरेका छन् | मलाई थाहा छैन कि यस्तो सामान्य धर्मको परिकल्पना अब्रह्मिक वा जैनबौद्धना छ कि छैन | के आज शास्त्रीय धार्मिक जीवनशैली आफैमा शास्त्रीय आदर्श बन्न पुगेको हो ? साढे आठ अरव जनसंख्या भएको विश्वलाई सरदार अस्सी करोड जनसंख्या भएको विश्वले अभ्यास गरेका “धार्मिक-आचरणले” धान्न सक्ला ? बढ्दो नास्तिकतालाई एउटा उदारहणका रुपमा ग्रहण गर्न सकिन्छ तर अर्कोतिर विश्वको ७८% जनसंख्या धार्मिक छ भन्ने तत्थ्य पनि नकार्न सकिन्न |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *