के नेपालीमा विज्ञान हुँदैन ?

के नेपालीमा विज्ञान हुँदैन ?

के नेपालीमा विज्ञान हुँदैन ?

आज नेपाली शिक्षा जगत निकै आलोचित छ | कक्षा १० होस् वा १२ दूवैमा सबैभन्दा विद्यार्थी असफल हुने विधा नै अंग्रेजी हो | ग्रामीणभेकमा पढेका अधिकांश विद्यार्थीहरू अंग्रेजीको डरले माथिल्लो कक्षामा पढ्न जान बाट डराउँछन् | शिक्षाका विषयमा केही लेख्नु र भन्नुभन्दा पहिला तीनबटा प्रसंग उल्लेख गर्छ चाहन्छु |
(१) मेरो भतिजीले यस पटक एसइइ उत्तीर्ण गरिन् | उनी मेरो जन्मस्थल पर्वतको विहादीबाट विज्ञान पढ्न (Science) पढ्न काठमाडौं आएकी छन् | मैले स्थानीय सरकारी +२ बालोद्धार मा.वि.मा भर्ना गरिदिएँ | विज्ञानका शिक्षकले भन्नुभयो “विद्यालयमा विज्ञानको अंग्रेजी माध्यमबाट पढाई हुन्छ” ! त्यो दिन देखि अंग्रेजीको डरले भतिजीको उत्साह घटेको छ | उनी विज्ञान पढ्न चाहन्छिन् तर अंग्रेजीको डरले उनी आक्रान्त छन् | नेपालीमा विज्ञानका पुस्तक छैनन् |
(२) आफ्नै क्याम्पसमा विज्ञानका प्राध्यापक राजेन्द्र गौतम र खुला विविका पूर्व उपकुलपति प्रा. डा. इन्द्र सरसंग प्रसंगवस यही कुरा चल्यो | स्वाभाविक रूपमा विज्ञानका प्राध्यापक द्वयलाई मैले सोधें “के अंग्रेजी नजान्ने तर विज्ञान पढ्न इच्छुक भाईबहिनीका लागि अंग्रेजी माध्यमबाट विज्ञान पढ्नुको विकल्प छैन ? के नेपाली जान्नेलेमात्र वा अंग्रेजीमा अभिरुची नभएकाले नेपाली भाषामा विज्ञान पढ्दै हुँदैन ? उहाँ दूवैको लगभग एकै जवाफ थियो “सायद शिक्षानीति तर्जुमा गर्दा नेपाली भाषामा पनि विज्ञान पढ्न/पढाउँन सकिन्छ भन्ने चिन्तन नभएका र विदेशी-आर्थिक सहयोगले अंग्रेजी जान्ने मात्र ज्ञानी र सभ्य हुन्छन् भन्ने मनोरोगबाट ग्रस्त भएका व्यक्तिहरूको संलग्नता भएर होला होला, सधैं शिक्षानीति निर्माणको तहमा नेपालीको प्रवेशलाई कुण्ठित गरिन्छ |”
(३) सन् २०१८ मा म र हाम्रो मनोविज्ञान विभागका डा. नारायण प्रसाद पौडेल १५ दिने न्यादरल्याण्डको यात्राको प्रसंगमा तेहाका ५ बटा सरकरी विद्यालयहरूको भ्रमण गर्ने, शिक्षाको माध्यम र तौरतरिका बुझ्ने र शिक्षामन्त्रिसहित बरिष्ट शिक्षाविद्हरूसंग विचारविमर्श गर्ने मौका मिल्यो | न्यादरल्याण्डको कुनै पनि सरकारी वा निजी विद्यालयहरूले कक्षा चारबाट मात्र विदेशी-भाषा पढ्ने व्यबस्था गर्दा रहेछन् | विद्यार्थीका लागि कक्षाचार देखिनै एउटा (एक पेपर) विदेशी भाषा र अर्को छिमेकीको भाषा पढ्नु पर्ने अनिवार्य नियम रहेछ | सामान्यता विदेशी र छिमेकी भाषाको समापन कक्षा १२ को परीक्षा दिएपछि मात्र हुँदो रहेछ | जव हामीले “नेपाल सरकारले विद्यालयहरूमा नर्सरी देखिनै अंग्रेजी भाषा सिकाउने नीतिमा कामगरिरहेको छ” भन्ने जानकरी दियौं, उहाँको अत्यन्त संक्षिप्त तिप्पीणी थियो “यो दुर्भाग्यपूर्ण हो |”
छिमेकी जर्मनीमा झन् कुनै विद्यालयहरूमा अंग्रेजी पढ्नु अनिवार्य रहेनछ | स्वेच्छिक विषयका रूपमा अंग्रेजी पढाउने गरिँदो रहेछ | विज्ञानसहित संपूर्ण विद्यालयका पाठ्य-पुस्तक तेहाका मानक भाषा (डच) उपलब्ध रहेछन् | तर अचम्मको कुरा के भने कक्षा ४ देखि कक्षा १२ सम्म एक पेपरमात्र अंग्रेजी पढ्ने विद्यार्थीहरूको अंग्रेजी “राम्रो” मानिँदो रहेछ |
यी तीनप्रसंगको आ-आफ्नो पृष्टभूमि छ | नेपालमा २०२९ सालदेखि विद्यालयहरूमा भारतको नक्कल गर्दै अंग्रेजी लादिएको हो | मैले लादिएको शब्द पूर्णसमझमा गरेको छु | सरकारी विद्यालयका अधिकांश विद्यार्थी असफल हुनुमा यही “अंग्रेजी” प्रमुख कारक रहेको छ | नेपाली भाषा र मानसिकतासंग गोरू बेचेको नाता नभएको अंग्रेजीले नेपालका धेरै बालबालिकाको जिन्दगी बर्वाद गरेको छ | तर यस विषयको उठाउन न नेपाल सरकारले गर्छ, न शिक्षाविद्हरूले नै गर्छन्, सार्वजनिक बहसमा यी कुराहरू आउँछन् | नेपालीहरूको लागि अंग्रेजी र अंग्रेजी मानसिकता बोकेका इंग्लिस दलालहरू “दुर्भाग्यका चोइटा” भएका छन् | छिमेकी भारत, पाकिस्तान, न्यादरल्याण्ड. जर्मनीमा विज्ञानको भाषा “राष्ट्रभाषा” छ भने नेपालमा नेपाली भाषामा विज्ञान किन हुन सक्दैन ? मेरा भतिजीहरू अमेरिका, बेलायतका अंग्रेजी भाषी नागरिकका छोराछोरी होइनन् | राज्यले अंग्रेजी विज्ञानमा लादेर मेरा भतिजा/भतिजीहरूको आत्मसम्मान, पढ्ने चाहना र नेपाली भाषाको प्राकृतिक ज्ञानलाई नष्ट पार्ने अपराध गरेको छ | राज्य अपराधी छ | राज्य, विदेशी प्रतिमान बोकेका शिक्षाविद् र विदेशी संघसंस्था मिलेर गरेको यो अपराधको दण्ड मेरा भतिजा/भतिजीहरूले भोग्नु परिरहेको छ |
मैले अंग्रेजी भाषाका विरुद्ध लेखेका यी हरफहरू अंग्रेजी भाषाका विरुद्ध होइन | अंग्रेजी भाषामा अभिरुचि भएकाले मज्जाले सिकुन् | आफ्ना बालबालिकालाई सिकाउँन् | अंग्रेजी वैश्विकभाषा हो र यो जान्नु सबैका लागि हितकारी नै छ | प्रश्न के हो भने जव विश्वका विकसित राष्ट्रहरू जर्मनी/ न्यादरल्याण्ड/चीनले आफ्नै मातृभाषामा विज्ञान/मेडिकल/इन्जिनियरिंगसहित अन्य विषय पढाएर “बैज्ञानिक” उत्पादन गरिरहेको छ भने नेपालले अंग्रेजीमा विज्ञान लादेर वा अंग्रेजी लादेर कति विश्वस्तरीय बैज्ञानिक, लेखक वा विश्वलाई प्रभावित पार्न सक्ने राजनैतिक नेतृत्व उत्पादन गर्यो ? “विज्ञान, म्यानेजमेन्ट, शिक्षाआदिको मूलभाषा अंग्रेजी हुनुपर्छ” भन्ने मान्यता बोक्नेहरूले जवाफ दिनु पर्छ, तर पोषित शिक्षाविद्, सरकारले आफ्ना जनतालाई जवाफ दिनुभन्दा शिक्षालाई हतियार बनाएर शिक्षाक्षेत्रमा घूपपैठ गरेका अमेरिकी, बेलायती निकायहरूलाई जवाफ दिनु पर्ने कुरालाई बढी आवश्यक ठान्छन् | मनोविज्ञानका अनुसन्धानहरूले मातृभाषामा प्राप्त हुने ज्ञान र सिकाई सबैभन्दा अब्बल हुने प्रमाणित गरेको १०० वर्ष व्यतीत भैसकेको छ |
विद्यालय शिक्षालाई “गरिव र धनि”को बनाएर विभाजन गर्ने नीति र कानून बनाउने सरकार अपराधी हो | यदि आजको मितिमा बोर्डिंग स्कूलहरूले अंग्रेजी माध्यमबाटलाई महत्व दिएर पढाइरहेका छन् भने तिनलाई दोष दिन मिल्दैन | अंग्रेजी स्कूलहरूले कानुनले दिएको अधिकार प्रयोग गरेर शिक्षाको व्यापार गरिरहेका छन् | साच्चिकै भन्ने हो भने यी बोर्डिंगहरूले नेपालको अंग्रेजी सरकारको नाक जोगाइदिएका छन् | सायद, सरकार प्रमुखहरूले शिक्षाका क्षेत्रमा अंग्रेजीलाई बलियो बनाउन अनुदान दिने विदेशी संस्थाहरूलाई बोर्डिंग-उत्पादनहरू देखाएर जवाफ दिने गरेका छन् | हामी नेपालीहरूको दुर्भाग्य नै भन्नुपर्छ कि हामीले सधैं समाजवादी, साम्यवादी सरकार बनाउनेलाई जिताएका छौँ तर उनको मनमा मेरा भतिजीहरूको “नेपालीमा विज्ञान पढ्ने चाहना, मेडिकल पढ्ने चाहना, इन्जीनियरिंग पढ्ने चाहना अंग्रेजी नजान्ने यथार्थता र अंग्रेजी पढ्न अनिच्छा”को कुनै पर्वाह छैन |
विश्वमा नेपालीमात्र यस्तो सरकारी संयन्त्र र राजनैतिक नेतृत्व भएको देश हो जसले ७२ वर्षदेखि अंग्रेजीमा खरबौं लगानी गर्दा पनि सधैं असफलता प्राप्त गर्दै आएको छ | मेरा/भतिजीहरू कि अंग्रेजीमा फेल हुन्छन् कि बल्लबल्ल पास भए पनि विज्ञान पढ्न पाउन्नन् | नेपाली (नेपालका सबै मातृभाषासहित) भाषीहरूसंग गोरू बेचेको नाता नभएको अंग्रेजी लाद्न गरेको लगानीको केवल १०% मात्र नेपाली भाषामा विज्ञानसहित अन्य पाठ्यपुस्तक तयार पार्न गरेको भए, नेपालले विश्वस्तरीय बैज्ञानिक, चिन्तक र राजनैतिक नेतृत्व प्राप्त गर्ने थियो | मैले लेखेको यो फरफलाई प्रमाणित गर्न चीन/न्यादरल्याण्ड र जर्मनका आ-आफ्नो मातृभाषामा उच्चशिक्षा प्राप्त गरेर वैश्विकतहको स्थान प्राप्त गरेका नागरिकहरू पर्याप्त छन् | सरकारहरूको अंग्रेजी मोह नित्याएको महामारी कहिले रोकिन्छ थाहा छैन | आजको सत्य के हो भने अंग्रेजी पढ्नेहरू विदेश जान्छन्, नेपालका लागि काम लाग्दैनन्अं | नेपालमै बसेर नेपाल बनाउछु भन्ने सोच भएका भतिजा/भतिजीहरूलाई सरकारले नै अग्रेजी बालबालिकाले विज्ञानजस्ता विषयहरू आफ्नै मातृभाषामा पढ्न पाउने अधिकारबाट बन्चित राखेको छ ! यो भन्दा अविश्वनीय केही होला ! साथै, अंग्रेजी भाषाका माध्यमबाट नेपाली धार्मिक, सांस्कृतिक, सामाजिक तथा राजनैतिक मूल्यहरूमा परेको कू-प्रभाव सोच्नै नसकिने छन् |
अंग्रेजी भाषा जान्नु पर्छ, यसले धेरै अवसरहरूको ढोका खोल्छ तर २००७ सालदेखि जति पैसा सरकारहरूले अंग्रेजीको विकासका लागि लगानी गरे त्यसको केवल १०% पैसा नेपाली भाषामा विज्ञानका पुस्तकहरू तयार पार्न लगानी गरेको भए अंग्रेजी भाषाको आतंकमा परेर विद्यार्थीहरूले विद्यालय छोड्ने थिएनन् | नेपालला शिक्षाविद् र सरकार मिलेर आफ्नो मातृभाषामा ज्ञान/विज्ञान पढ्न पाउने विद्यार्थीहरूको मौलिकअधिकार हननको अपराध गरेका छन् | काठमाडौं, पोखराका बोर्डिंग स्कुल तर केही निजी विश्वविद्यालयहरूले नेपालको पूर्णप्रतिनिधित्व गरेका छन् भन्ने भ्रमबाट मुक्त हुनुहोस् | कक्षा १२ को परीक्षामा अनुत्तीर्ण मध्ये धेरैजसो अंग्रेजी लागेका हुन् र कक्षा १० मा पनि यही भएको छ | विज्ञानको भाषा अंग्रेजी हुन्छ भन्ने अपराधपूर्ण काइते तर्कमा न अल्झिनु होला, यदि यस्तो हुन्थ्यो भने चीन, जर्मनी, बेलायत बाहेक अधिकांश युरोपेली देशले आधुनिक विज्ञानहरू पढ्न पढाउन, अंग्रेजीकै उपयोग गर्थे, मातृभाषामा पाठ्यपुस्तक तयार पार्ने थिएनन् !
अन्त्यमा, अरूकसैके प्रश्न गरोस् नगरोस् तर मैले सधैं प्रश्न गरिरहने छु “मेरा भतिजीहरूले नेपाली भाषामा विज्ञानजस्ता विषयहरू पढ्न पाउने अधिकार पाउनु पर्छ कि पर्दैन र कसैले अंग्रेजी पढ्न चाहन्न भन्छ भने उसले आधुनिक विषयहरू (अंग्रेजी भाषा) बाहेक मातृभाषामा पढ्न पाउने व्यबस्था केहीले हुन्छ ? प्रसिद्ध अमेरिकी शिक्षाविद् जन डुइलाई सम्झन्छु “तपाईं जतिधेरै मातृभाषामा पोख्त हुनुहुन्छ, त्यतिनै तपाईंको विनिर्माणशक्ति उच्चस्तरीय हुन्छ | धेरै भाषा जान्नु राम्रो हो तर लादिएको भाषामा कुनै पनि विनिर्माण असम्भव छ |”

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *