चौथो पुरुषार्थ र गीता

चौथो पुरुषार्थ र गीता

चौथो पुरुषार्थ र गीता

वात्स्यायनले कामसूत्र नामक ग्रन्थमा धर्मको विभाग जैमिनी र मनुको मनुस्मृति एवं मीमांसासूत्रलाई, कामको विभाग आफु वात्स्यायनले ग्रहण गरेको बताएका छन् भने अर्थको विभागचाहिं चाणक्यले ग्रहण गरेको पनि उल्लेख गरेका छन् | धर्मको विभाग जैमिनी-मनुले, अर्थको विभाग चाणक्य र कामको विभाग आफुले ग्रहण उल्लेख गरेर चौथो मोक्षको विभागका विषयमा केही लेखेका छैनन् |
मेरो विचारमा वात्स्यायनले मोक्षको विभाग महर्षि वेदव्यासको श्रीमद्भगवद्-गीतालाई दिनु पर्थ्यो | वेदले धर्म, अर्थ र कामको सेवन पछि “चतुर्थे किं करिष्यति” अर्थात् तिम्रो जीवनको अन्तिम लक्ष के हुनुपर्छ भनेर सोधेको प्रश्नको उत्तरमा सम्पूर्ण वैदिक अध्यात्मिक शास्त्रहरू निर्माण भएका छन्. सम्प्रदायहरू खडा भएका छन् | सम्पूर्ण शास्त्रहरू र सम्प्रदायले मोक्षका सवालमा दिएका विचारहरू महत्वपूर्ण र फलदायी छन् तर श्रीमद्भवद्-गीता ती सबैको सारतत्व भएकोले बुझ्न, अनुसरण गर्न र साधना गर्न सजिलो छ |
वात्स्यायनले वैदिक सनातन धर्मभित्र अनेकौं सम्प्रदाय र पन्थहरू र मोक्षका सवालमा मतभिन्नता देखेर/बुझेर सम्भवत: मोक्षको सबैभन्दा प्रभावशाली सिद्धान्तका विषयमा मौन रहेका हुन सक्छन् तर अद्वैतवेदान्ती आचार्य शङ्कर, विशिष्टाद्वैतवादी रामानुज, द्वैताद्द्वैतवादी निम्बार्क, दवैतवादी मध्व, अचित्यभेदभेदवादी आचार्य चैतन्यका अनुयायीहरू र प्रमुख शैवआचार्य अभिनव गुप्तले गीताको व्याख्या गर्दै, यसको सम्पूर्णता स्वीकार गरेकै छन् |
गीताहरू अनेकौं छन् तर दार्शनिक र व्याबहारिक दूवै पक्षलाई बडो सरल र व्यवस्थित तवरले पस्कने गीताचाहिं श्रीमद्भगवद्-गीता नै हो | सबै गीताहरू बेजोड छन् तर निरपेक्षभावले कर्तव्यको विवेचना गर्दै व्यक्तिगत स्वतान्त्र्यलाई महत्व दिने कुरामा श्रीकृष्णको गीत अतुलनीय छ | एउटा दर्शनशास्त्रको विनम्र विद्यार्थी भएको नाताले मैले गीताका अनेकौं प्राचीन संस्कृत व्याख्याहरू, नेपालीका अनुवादहरू तथा हिन्दी एवं अंग्रेजी अनुवादहरू पढें | ती सबै महत्वपूर्ण हुँदाहुँदै पनि कृष्णलाई आफ्नो चिन्तनको समर्थकका रूपमा उभ्याउन खोजेको भेटें | यसलाई अस्वभाविक ठान्दिन तर पाठकका लागि मैले नेपाली भाषामा गीताको अनुवाद गरें | अनुवाद गर्ने काम ऐनाजस्तो हुँदैन | केही फरक पर्छ तर मलाई लाग्छ, मैले संस्कृत भाषासंग न्याय गरेको छु |
उपर्युक्त प्राचीन उदाहरण बाहेक सबैभन्दा रोचक तत्थ्य त के हो भने गीताको विषयवस्तु रिलिजन र रिलिजीयसिटी भन्दा विशिष्ट स्थान राख्छन् | गीताको ज्ञान हिन्दु, मुस्लिम, इसाई, बौद्ध, जैन, किराती वा नास्तिक जोसुकैका लागि खुला छ | गीता स्वयंले आफुलाई हिन्दू, मुस्लिम, इसाई वा अन्य सम्प्रदायको ग्रन्थ हुँ भनेर घोषणा गरेको छैन | गीता मानवमात्रको साझा ग्रन्थ हो | यो सबैका लागि खुला छ | एउटा कुरा भन्नैपर्छ, गीताका उपदेशकर्ता भगवान् श्रीकृष्ण र अर्जुनको अस्तित्वलाई अस्वीकार्य गर्नेहरूका लागि गीताको ज्ञान कमाउने साधन हुन सक्छ, मोक्षको मार्ग होइन |
मोक्षको नाम र स्वरूपको विषयमा मतभेद भए पनि “मोक्ष”का विषयमा वैदिक, जैन, बौद्धहरू विच कुनै मतभेद छैन | गीताले प्रष्ट रूपमा ज्ञान, भक्ति र कर्मको निरन्तरताले निष्काम कर्मको प्राप्ति र निष्काम कर्मबाट मोक्षको मार्गचित्र निर्धारित गरेको छ | गीता सबैजसो प्राचीन आचार्यहरूलाई स्वीकार्य हुनुको कारणचाहिं यसको बहुलवादी सिद्धान्त र स्वधर्म (मौलिकता)प्रतिको सद्भाव हो | एकलवादीहरूवादी (Monist) र एकेश्वरवादीहरूका लागि गीताको मौलिकमहत्व बुझ्न सजिलो हुँदैन | बात्स्यायनले आजको मितिमा कामसूत्र लेखेको भए निर्धक्क भएर गीतालाई मोक्षको मार्गभित्र भनेर लेख्थे र कुनै पनि विवाद हुने थिएन |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *