चिनारी

चिनारी

चिनारी

केही व्यक्ति वा समुदायलाई लाग्छ, दर्शनशास्त्रको प्राध्यापकले आफ्नो मौलिक परिचय दिने सांस्कृतिक, धार्मिक तथा सामाजिक परिचय विर्सेर सधैं निरपेक्षतावादी चिन्तन अवलम्बन गर्दै आफ्नो परिचय त्याग्नुपर्छ ! यस्तो पूर्वाग्रही चिन्तन राख्ने व्यक्ति वा समुदायले व्यक्तिको व्यक्तिगत, सांस्कृतिक, सामाजिक तथा धार्मिक स्वतन्त्रतामा अंकुश लगाउन आग्रह गर्छ |
एउटा मान्छे जुन समाज, परिवेश, धर्म, संस्कृति तथा परंपरामा हुर्किएको र जन्मिएको हुन्छ, उसको व्यक्तित्व र परिचय त्यहीं हुन्छ | उदाहरणका लागि अमेरिका पुगेका नेपालीहरूको नागरिकता अमेरिकी बन्न सक्छ तर सांस्कृतिक, धार्मिक तथा सामाजिक परिचय “नेपाली अमेरिकी” बन्छ | व्यक्तिको वा समाजको मौलिक र आधारभूत परिचय वा चिनारी मेटिन्न |
मैले जस्तोसुकै शिक्षादीक्षा प्राप्त गरे पनि, जुनसुकै राष्ट्रको नागरिकता वा राजनैतिक विचार अवलम्बन गरे पनि, म नेपाली हुँ, म वैदिक सनातनी हुँ र म बहुलवादी सांस्कृतिक परिवेशमा हुर्किएको हुँ भन्ने तत्थ्यलाई इंकार गर्न सक्दिन | हो, व्यक्तिले नयाँ धर्म, संस्कृति तथा परिवेश अपनाए पनि आफ्नो मूल चिनारीसंग अलग हुनै सक्दैन, कमेकम मानसिक रूपमा यो सारै जटील विषय हो | सबै थोक परिवर्तन गरे पनि स्मरणमा रहेका मूल्यहरू परिवर्तित हुनै सक्दैनन् तर हामीले परिवर्तनको नाटक मन्चन गर्न सक्छौं |
निश्चय नै मलाई मेरो धार्मिक, सांस्कृतिक, सामाजिक तथा परिवारगत परिचय राम्रो लाग्ने हुँदा धेरैजसो आफ्नो सामाजिक, सांस्कृतिक तथा धार्मिक जीवनमा भएका अस्वीकार्य विषयवस्तुलाई पनि राम्रो देख्न र ठान्न सक्छु तर एउटा चेतनशील मान्छे भएको नाताले आफ्नो परिवेश भन्दा बाहिरबाट प्रवेश गरेर सामाजिक, धार्मिक तथा सांस्कृतिक खलल उत्पन्न गर्ने नव-आगन्तुक व्यबहारहरूलाई पनि राम्ररी चिन्न सक्छु | नराम्रो, कमसल र मेरो मौलिक चिनारीमा हस्तक्षेप गरेर विकृत गर्ने व्यबहारको आलोचना गर्ने अधिकार र कर्तव्य दूवै मेरो/हाम्रो हो भन्ने ठान्छु |
परिवर्तनलाई कसैले रोक्न सक्दैन र रोकिए पनि क्षणिक हुन्छन् तर व्यक्तिको व्यक्तित्व र त्यो व्यक्तित्व निर्मित हुनका लागि उपयोग भएका मूर्त तथा अमूर्त साधनहरू परिवर्तनीय हुँदैनन् किनभने ती तिहासका विषय हुन्छन् | मैले वा अर्कोले नमान्दैमा म नेपाली नहुने होइन | निश्चयनै मेरो व्यक्तित्व र अस्तित्व निर्माण हिन्दू धर्म, संस्कृति, परम्परा, सामाजिक परिवेश र त्यहाँ उपलब्ध मूर्त तथा अमूर्त सम्पदाहरूको भूमिका छ | मेरो परिचय र अस्तित्व यही भएको हुँदा, म छोड्न सक्दिन र मेरो अस्तित्वलाई चुनौति दिने विचार वा व्यबहार विरुद्ध प्रतिकार गर्न पनि छोड्दिन | मेरो लागि सबैभन्दा महत्वपूर्ण कर्तव्य नै यही हो |
मैले अन्यको चिनारीमा प्रश्न उठाउने होइन, मेरो प्रश्न र प्रतिकार अन्यले मेरो चिनारी विरुद्ध गरेका क्रियाकलाप विरुद्ध हो | मैले मान्छु, हरेक समाज आ-आफ्नो संस्कृति, परम्परा र धार्मिक जीवनमा सबैभन्दा खुसी हुन्छ | तर त्यो जीवन दर्शन त्यागेर अर्को स्वीकार गर्ने अधिकार पनि व्यक्तिसंग छ नै | म धर्मनिरपेक्षता र धर्मनिरपेक्षतासंग मिसिएर आएका घृणावादी पहिचानवाद र विदेशी-प्रतिमानहरूको स्वागतवादका विरुद्ध रुष्ट छु किनभने मैले भोगिरहेको छु कि उनीहरू मेरो चिनारीउपर आक्रमण गर्दैछन् |
यदाकदा वैज्ञानिक खोजहरूको पनि आलोचना हुनुपर्छ | यदि विज्ञानका खोजहरू प्रकृतिलाई नष्ट गर्छन्, एकमात्र प्राणीहरूको निवासस्थान पृथ्वीको प्राकृतिक व्यबस्थामा खलल पुर्याउँछन् भने | यसैगरी, मेरो जन्म नै हिन्दू परिवारमा भएकोले मेरो जीवन दर्शनभित्र अर्कालाई स्वीकार गर्ने प्राकृतिक क्षमता छ | यदि कसैले यही क्षमतामा प्रहार गर्छ भने मैले प्रतिकार गर्नैपर्छ | मैले विश्वका कुनै पनि धर्म, संस्कृति, परम्परा तथा व्यबस्थाहरूलाई नराम्रो मान्दिन | विविधता नै प्रकृति र ईश्वरको नियम हो | यदि कसैले विविधता नष्ट गरेर एकलकाटे धार्मिक व्यबस्था, एकलकाटे राजनैतिक घृणावाद र असहिष्णुताका बीऊहरू रोप्छ भने त्यसको प्रतिकार गर्छु | यसो नगरे मेरो सभ्यता सधैंका लागि निर्जीव इतिहास बन्ने छ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *