123 : मोबाइल-पुराण
स्थान : पार्टीप्यालेस, समय : ८:३० बेलुका
“मैले आफ्नो बाबुलाई भात ख्वाउन सजिलो हुन्छ भनेर मोबाइल देखाउँदै ख्वाउंदै गरें | अहिले आएर मोबाइल नभईकन ज्यान गए भात खान मान्दैन |
“मैले पनि यसो होमवर्क गराउंदा “मोबाइल हेर्न दिन्छु, एत्ति गर” भनेर मोबाइल हेर्न दिन्थें, अहिले मोबाइल नभई होमवर्क गर्न/भात खान मान्दैन |
“मैले चाहिं काम गर्न सजिलो हुन्छ भनेर ट्याव खोलेर हेर्न दिने गरेको, अहिले आएर जति भन्दा पनि ट्याव छोड्न मान्दैन, हेर्न नदिए खाना नै खाँदैन, होमवर्क गर्दैन, रोएर हैरान पार्छ |
“मेरो केटाको त कुरा नै भनि नसक्नु छ | पहिले माया लागेर मोबाइल हेरेहेरोस् भनेर दिएँ, अहिले चौविसौं घण्टा कम्प्युटरमा झुण्डिएर दिक्क पारेको छ | खै, १० कक्षा कसरी पास गर्छ | म त साह्रै दिक्क भएको छु |
“मेरो बाबुलाई मोबाइलको लत लगाउनुमा मेरै दोष छ | मलाई दाईले धेरै पटक आफुले काम गर्छ लाग्दा बालबालिकालाई खेल्न पठाउनु तर मोबाइल नदिनु भन्नुभएको थियो तर मानिन | अहिले बाबुको यो लत छुटाईदिने मान्छे पाए जतिपैसा पनि तिर्न तयार छु |
त्यो पार्टीप्लेसको छेउमा केही महिलाहरू उभिएर एकआपसमा माथिल्लो कुरामा भलाकुसारी गरिरहेका थिए | उनीहरू निकै चिन्तित देखिन्थे | यी घरघरका समस्याहरू हुन् | बालबालिकामा मोबाइल, कम्प्युटर ग्याजेटको लत बढ्दो छ | आज पनि आमावुवाहरूले आफ्ना बालबालिकालाई “भुलाउन/फकाउन” मोबाइल/कम्प्युटर/टेलिभिजनको उपयोग गरीनैरहेका छन् | बालबालिकाको स्क्रीनप्रति बढ्दो मोहले आमावुवालाई निकै चिन्तित बनाएको छ |
आमाहरूको चिन्ता सुनेपछि मलाई बोल्न मन लाग्यो | मैले क्षमा माग्दै बोल्ने अनुमति मांगे | ती सबै पूर्वपरिचित भएकोले सहजमा स्वीकृति दिए | मैले भने
“आफुले मोबाइल हेर्ने/ टेलिभिजन हेर्ने तर बालबालिकालाई हेर्न नदिने होमवर्क गर्न कर गर्ने लगभग हामी सबैको वानी छ | आफुले रमाइलो गर्दा बालबालिकालाई रोक्न मिल्दैन | हामीले मन बलियो बनाएर केही काम गर्न मिल्छ –
(१) बालबालिकालाई मोबाइल/टेलिभिजन/कम्प्युटर हेर्ने दैनिक निश्चित समय तोकिदिने र त्यो समयमा उनीहरूले के हेरीरहेका छन् ? ध्यान दिने तर रोकाटोकी नगर्ने
(२) आफुले मोबाइल/टेलिभिजन हेर्ने तर केटाकेटीलाई “होमवर्क गर् | न हेर्, अर्को कोठामा गएर बस्” भन्नुको सट्टा उनीहरूसंग बसेर होमवर्क गर्न सघाउने वा होमवर्क गरेको हेर्ने र स्यावासी दिदै गर्ने टेलिभिजन वा मोबाइल अफ गरिदिने वा साइलेंटमा राख्ने
(३) यदि मोबाइल हेरेर खाना खाने बानी परेको छ भने उप्रान्त खाना ख्वाउंदा/होमवर्क गर्दा मोबाइल नदिने/नदेखाउने | केही दिन रुन्छन्, कराउँछन्, लामोसमय बानी परेकाहरूले खाना समेत छोड्छन् तर मोबाइल नदिने | केही दिन कठोर भएर नियम पालन गरेपछि ती आफ्नो बाटोमा आउँछन् | यसैसमय मोबाइल/कम्युटरको लागि “दैनिक समय तोक्ने” र त्यो समय हेर्न दिने | स्क्रीन समय दैनिक १: ३० घन्टा भन्दा बढी हुनै हुँदैन |
(४) बालबालिकालाई मोबाइल हेर्यो भनेर गालीगलौज गर्ने, परिचितसंग “यो मोबाइलले बिग्रेको छ” भन्दै कुरा लाउने वा पिट्ने गर्नु हुँदैन | यसले बालबालिकाको मन दुख्छ | उनीहरू अझैं बढी बिद्रोही हुन्छन् | बरू, बालबालिकालाई “मोबाइल धेरै हेर्दा पढ्न मन लाग्दैन, मोबाइल हेर्न तलतल लाग्छ, आफ्नो काम गर्न असजिलो हुन्छ” भन्दै आफु सहयोग गर्न तयार रहेको जनाउ दिने |
(५) सकिन्छ, भने बालबालिकासंग घरभित्र चेस, बाघचाल, योग, ध्यानजस्ता खेल खेल्ने र वाहिर टेवल टेनिस, फुटवाल, ब्याडमिन्टनजस्ता खेल खेल्ने
(६) बालबालिका जिज्ञासु स्वभावका हुन्छन् | एक पटक कुनै कुराको बानि लागेपछि त्यसको लागि उनीहरू मरिहत्ते गर्छन् | तपाईंले नियम बनाएपछि त्यो नियममा अडिनु पर्छ | बालबालिकाको आँशुमा पग्लिनु हुँदैन | तपाईंले लागु गरेको नियमको परिणाम आउन कमसेकम २ महिना लाग्छ |
अन्त्यमा मैले भनें “हामी सबैको घरको कथा उस्तै हो | हामीले बालबालिकालाई साच्चिकै माया गर्छौं भने मैले भनेका कामहरू गर्न आरम्भ गरौँ |
मैले ती महिलाहरूसंग भलाकुसारी गरेको ठ्याक्कै १९ दिन वितेछ | ती मध्ये तीनजनाले “दाई, तपाईंले भनेको कुरा ठीक रहेछ | मेरो बाबुमसंग खेल्न थालेको छ | छोरीले तोकेको समयमा टेलिभिजन हेर्न पाउँदा दंग परेकी छ | मेरो बाबुले मोबाइल नभए पनि भात खान थालेको छ” भने खुसी प्रकट गरिसकेका छन् |
तपाईंको के विचार छ ?

