घृणावादी रिम्पोछे

घृणावादी रिम्पोछे

घृणावादी रिम्पोछे

एउटा सन्त, रिम्पोछे वा लामाको मुख्य उद्देश्य आफ्नो धर्म, संस्कृति तथा परंपराको रक्षा गर्नु, प्रचारप्रसार गर्नु र शिक्षा दीक्षा दिनु हो | कुनै पनि महान् आचार्यहरूले शास्त्रार्थको प्रयोजन बाहेक कसैको आलोचना, निन्दा तथा हिंसाको कुरा गर्दैनन् | निश्चयनै वैदिक, जैन र बौद्ध भारतवर्षका महान् परम्परा हुन् | यी संस्कृतिका विचमा सैद्धान्तिक दार्शनिकतहको वैचारिक भिन्नता बाहेक व्याबहारिक भिन्नता देखिन्न |
मैले व्यक्तिगत रूपमा श्रीधर राणालाई चिनेको छैन र अव चिन्नु पनि छैन | राणाले आफ्नो अहङ्कार प्रकट गर्न महान् सन्त खप्तड वावाको समेत नाम दुरुपयोग गरेका छन् | साथै, स्वनामधन्य स्व. अर्याल एवं अन्य आचार्यहरूलाई पनि अज्ञानी भएको अप्रत्यक्ष आरोप लगाएका छन् | सत्य हो कि भगवान् बुद्धले आफ्ना पूर्वगुरुहरूलाई दीक्षा दिएका थिए तर यी व्यक्ति को बौद्ध रिम्पुच्छेबाट दीक्षित भएर “रिम्पोछेको सम्मानित पद प्राप्त गरेका हुन् भन्ने कुनै पनि प्रबचनमा सुनिदैन | यिनका प्रबचनमा बौद्ध धर्मको शिक्षा कम र हिन्दू धर्म, संस्कृति तथा परम्परा र हिन्दु-बौद्धहरूको एकताप्रति दुर्भाव बढी सुन्न सकिन्छ | बोधिसत्व प्राप्त गरेका कुनै पनि बौद्ध रिम्पुच्छे, तोग्पा, लोचावा वा अन्य कुनै पनि कनिष्ट धर्मगुरूले समेत हिन्दू धर्मको तेजोबध हुने गरी आलोचना गरेको सुनिन्न | यिनको मुख्य लक्ष बौद्ध धर्म, संस्कृति तथा दर्शनको चर्या गर्नु नभई नेपाली मौलिक बौद्ध धर्म र सनातन धर्मका विचको सहकार्य, सहृदयी सम्बन्ध तथा अन्तरसम्बन्धलाई ध्वस्त पार्नु रहेको सुन्न सकिन्छ |
केही वर्ष अगाडी ममा २१ वर्षसम्म गुफामा वसेर एकान्तमा बौद्ध साधना गरेको जानकारी प्राप्त गरेको हुँदा व्योम कुसुम (आकाश-फूल, जुन कुनै पनि अवस्थामा अस्तित्वशील हुनै सक्दैन )विद्याधर महायोगी भनिने श्रीधर राणा रिम्पोछेसंग भेट्ने र उहासंग सत्संग गर्ने निकै रहर जागेको थियो | त्यस बखत “उहाँको इच्छा नभई कसैले भेट्न सकिन्न” भन्ने जानकारी प्राप्त भयो | मैले ठिकै छ भनेर भेट्ने प्रयत्न गरिन किनभने यो नक्कली गुरूले बौद्धधर्मको उपदेश भन्दा पनि हिन्दू तथा परम्परागत बौद्धको आलोचना गर्न पढी केन्द्रीत भएको भेटें |
पछि, मैले श्रीधर राणाका युट्यूब भिडियोहरू सुन्न थालें | २१ वर्षसम्म साधना गरेर निजले प्राप्त गरेको ज्ञान “सनातन धर्म, संस्कृति परम्पराप्रति घृणा फैलाउनमा” केन्द्रित रहेको भेट्दा दु:ख लाग्यो | योगीको काम भौतिकवादीलाई अध्यत्मिकतासंग जोड्ने, अनात्मासंग जोड्ने, सभ्यता तथा संस्कृतिहरूलाई जोड्ने हुनुपर्छ | यदि कसैले आफुलाई योगी भन्छ तर समाजलाई तोड्ने काम गर्छ भने त्यो योगी कसरी हुन्छ ? यो व्यक्तिले आफ्नो प्रबचनमा काठमाडौंका रैथाने बौद्धहरूलाई “बुद्धु, कर्मकाण्डी तथा अज्ञानी”का रूपमा अपमान गरेको छ भने अर्कोतिर नाकका आधारमा धर्मको व्यापार गरेको छ |
आफ्नो जीवनकालमा भगवान् बुद्ध तथा नागार्जुन, विज्ञान भिक्षुआदि प्राचीन बौद्ध दार्शनिकहरू र दलाईलामाहरूले समेत वैदिक संस्कृतिको आलोचना गरेका छैनन् | कुनै धर्मको आलोचना गर्नु भन्दा पनि उनीहरूले धर्म, सङ्घ र बुद्धको शरणलाई बढी ध्यान दिएका छन् | शुद्ध रूपमा बुद्धचर्यामा लागेका आचार्यहरूले आफ्नो आध्यात्मिक शिक्षा, दीक्षा र साधनमा ध्यान दिएका छन् | यी कृतघ्न रिम्पोच्छेको कुरा सुन्दा भविष्यमा भगवान् बुद्धलाई नै चेलो बनाउने उद्यम गर्दैछन् | नवबुद्धयान अर्थात् अम्बेडकरवादीहरूको (घृणावादी) र श्रीधरका विचमा तुलना गर्दा अम्बेडकरले थेरवादको हत्या गरेका छन् भने यिनले महायानलाई गिजोलेका छन् | साथै, ब्रह्मा विष्णु, तथा शिवलाई समेत अवैदिक तथा श्रमण परंपराका हुन्, हिन्दूहरूले जालसाजी गरेर “वैदिक बनाएका हुन्” जस्ता काल्पनिक इतिहास लेखेका छन् | यो भन्दा बढी हास्यास्पद केही हुनै सक्दैन |
श्रीधर राणाले भगवान् बुद्धलाई श्रमण अर्थात् जैनहरूको शिष्य भएको काल्पनिक भाष्य स्थापित गर्ने प्रयत्न गरेको देखिन्छ | अचम्मको कुरा के भने महाविद्वान मण्डन मिश्रले १४ लाख बौद्धहरूलाई मारेको, भगवान् शंकराचार्यले सेना लिएर बौद्धहरूको हत्या गरेको र बौद्धहरूको हत्या गर्न हिन्दूहरूले मुस्लिमहरूलाई सघाएको जस्ता नितान्त काल्पनिक इतिहास रचेका छन् | नयाँ -नयाँ जोगी बनेको राणा नेपाल मण्डलमा सहअस्तित्वमा रहेका हिन्दू र बौद्धको एकता कत्ति पनि मन परेको छैन | यो व्यक्ति साधक होइन, साधकको रूपमा नेपाली हिन्दू बौद्ध परम्परालाई ध्वस्त पार्न आएको हो भन्ने कुरामा शङ्का गर्न पर्दैन |
मानौं विष्णुका दश अवतार मध्ये बुद्ध होइनन् रे तर पनि परापूर्वकालदेखि नै वैदिकहरूले आफ्नो सङ्कल्पमा समेत “बुद्धावतारे” भन्दै बुद्धलाई उच्च सम्मान दिएका छन् | यी जडवादीहरूलाई “हिन्दूहरूले बुद्धको सम्मान गर्दा पनि समस्या छ र यदि कसैले बुद्धलाई आलोचना गर्यो भने पनि समस्या छ ! सन् २०१७ मा मलेसीयाले हिन्दूहरूलाई “अल्लाह”को नाम लिन पाइदैन भनेर उर्दी गरेको थियो, सायद, घृणावादी कित्ताका नक्कली बौद्धहरूले विश्व ब्यापारसंघमा “बुद्ध”को नाममा एकाधिकारको लागि निवेदन दिंदै छन् | बुद्धिज्ममा नयाँनयाँ खरानी घसेको श्रीधरहरूले जतिसुकै घृणा फैलाए पनि बुद्ध समस्त नेपालीका हुन् रहने छन्, घृणावादले जित्ने छैन |
नयाँ जोगीले खरान बढी घस्छ भन्थे, रहेछ | २१ वर्षसम्म बौद्ध साधना गरेको व्यक्ति एतिविध्न घृणावादी हुनै सक्दैन | बुद्धको करुणा नजान्ने र नमान्ने व्यक्ति रिम्पोछे हुनै सक्दैन | प्राचीनकालदेखि नै सहअस्तित्वमा रहेर एकआपसमा समन्वय गर्दै आ-आफ्ना धार्मिक विश्वासको अभ्यास गर्दै आएको नेपाली बौद्ध तथा हिन्दू संस्कृतिका लागि यस्ताको अर्थ छैन |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *