जय श्रीराम
आजभोली “जैश्रीराम” शब्द निकै लोकप्रिय छ | यसको लोकप्रियता २०९० ताका भारतीय अयोध्याको बाबरी मस्जिदसंग जोडिएको छ | तेसबेला भारतीय जनता पार्टीले “जैश्रीराम”को नारा लगाएर पार्टीसंग हिन्दूहरूलाई जोडेको थियो | नेपालमा पनि भारतीय शैलीको “जयश्रीराम”को अभ्यास बढ्दो छ | निसन्देह यस्तो हुनुमा नेपाली हिन्दूहरूप्रति बढ्दो घृणावाद र धर्मनिरपेक्षताको नाममा हिन्दुहरूप्रति अपहेलना हो |
अहिलेको भारतीय जनता पार्टीको सरकार तेही “जैश्रीराम”को नाराबाट आर्जन गरेको लोकप्रियताले बनेको हो | हालै अयोध्यामा नवनिर्मित राम मन्दिर पनि १९९० ताकाको “जैश्रीराम”कै निरन्तरता हो र आसन्न चुनावमा जैश्रीरामको प्रभावकारिताको परीक्षण पनि |
रामानन्द सागरले बनाएको रामायण सिरियलमा हनुमानले “जयजय श्रीराम”को नारा लगाएर वानर सेनालाई युद्धका लागि उत्साहित गर्थे | भारतीय जनता पार्टीले सन् १९९० पछि यही “नारा”लाई भारतीय जनतालाई (हिन्दू) पार्टीसंग जोड्न प्रयोग गरिरहेको छ र सफल छ |
आलोचकले जे-जस्तो कुरा गरे पनि लोकतन्त्रमा बहुमतको शक्ति हुन्छ | जैश्रीरामले भारतीय जनता पार्टीलाई बहुमत दिएको हो र दिने छ | जैश्रीरामको आलोचना गर्ने समुदायले बहुमत प्राप्त गर्न जैश्रीराम भन्दा लोकप्रिय नारा ल्याउन सक्नुपर्छ |
भारतीय प्रवासमा रहेर लामोसमयसम्म शिक्षा प्राप्त गरियो | त्यो अवसरमा तेहाका हिन्दी, मारवाडी तथा हरियाणवी भाषी गाउँगाउँमा पुग्ने अवसर मिल्यो | गाउँका मान्छेहरू मुस्लिम होस् वा हिन्दू भेट्दा र छुट्टिदा “रामराम जी” भन्थे | गतवर्ष राजस्थानको एउटा दुर्गम गाउँ “कमलसर” पुग्दा तेहाका पुजुर्गहरूले “रामराम सा” भन्दै स्वागत गरे |
रामराम जी, रामराम सा, सीतारामजी, जय सीताराम” भारतीय समाजको प्राकृतिक “नमस्ते” हो भने “जैश्रीराम” चाहिं राजनैतिक आवरणमा हिन्दू जागृतिको लागि विकसित भएको नया “सम्बोधन” हो | तेहा प्राकृतिक नमस्तेका रूपमा रामराम सा, रामराम जीको प्रयोग हुन्छ | हिन्दू स्वाभिमान (अभिमान, अहङ्कार, राजनैतिक शक्ति प्रदर्शनका लागि) जैश्रीरामको उपयोग हुन्छ |
जसले जति आलोचना गरे पनि एउटा तत्थ्य सत्य हो कि “जैश्रीराम”ले भारतीय हिन्दूहरूलाई हिन्दुत्वको आफ्नो पहिचान संस्थागत गर्न राजनैतिक शक्तिका रूपमा एकीकृत गरेको छ | जैश्रीरामले यस पटकको चुनावमा पनि भारतीय जनता पार्टीलाई दिल्लीमा स्थापित गर्ने लक्षण देखेको छु | तर कसैले पनि भविष्य देख्न सक्दैन |
नेपाली हिन्दूहरूको मन दुखेको छ | यहाँका तथाकथित समाजवादी तथा उदारवादी समूहहरूले नेपाली रैथाने हिन्दूहरूलाई “शरणार्थी, आक्रमणकारी, शोषक, विभेदकारी”जस्ता घृणावादी शब्दहरूको प्रयोग गरेर मन दुखाएका छन् | देशको ८१% जनसंख्याको प्रतिनिधित्व गर्ने समुदायले “हिन्दू अस्मिता”को उठाउँदा विदेशी र अवान्छित सरह व्यबहार (राजनैतिक रूपमा) गरिने तीतोसत्य भोग्नु परिरहेको छ |
महाशक्ति पार्वतीको आठदिनसम्म उपासना गरेर नवौं दिन भगवान् सीतारामको सुशासनको सम्झना गर्नु राम्रो हो | शक्तिको उपासनाले सुशासनको आगमन हुन्छ | जातिवाद, क्षेत्रवाद, विदेशवाद र घृणावादको स्रोत नेपालबाट सुक्नुपर्छ र सुक्दै छ | नेपालीहरूमा आफ्नो जरोकिलोको चाहना मौलाउँदै छ |
आजको यथार्थ हो – नेपाली हिन्दूहरूले पनि नेपाली हिन्दू पहिचानको रक्षा गर्ने “जैश्रीराम”को खोज गरिरहेका छन् | नेपाली हिन्दू समुदायमा पुनर्जागरणले प्रवेश पाएको छ तर यसको एकीकृत नेतृत्व गर्दै राजनैतिक शक्तिमा रुपान्तरित गर्ने शक्ति अझैं गर्भमा छ वा सङ्गठित छैन | नेपालीलाई वैदिक संस्कृतिप्रति आत्मविश्वास जगाउने र हीनताबोध बाट मुक्ति दिने “जय श्रीराम” चाहिएको छ |
चाहियो भन्दैमा नक्कल गर्न आवश्यकता छैन | नेपाली हिन्दू जागरणमा घृणावादको अभाव हुनुपर्छ तथा नेपालका रैथाने विविधतालाई शक्तिको रूपमा बुझ्ने दृष्टिकोण हुनुपर्छ | भाषा, भूगोल, वर्ण तथा नाकका आधारमा हालका राजनैतिक शक्तिहरूले प्रवर्धन गरेको पहिचानको विकल्पको रूपमा सहयोग, सम्मान तथा उदारता हुनुपर्छ | रामकै नाममा पनि घृणावाद स्वीकार्य हुनुहुँदैन तर सम्मानको नाममा आत्मसमर्पण अस्वीकार्य हुनुपर्छ |
जय महाशक्ति पार्वती

