भारतवर्षीय परिपेक्षमा धर्म र दर्शन छुट्टिन सक्छन् ?
१. धर्म र दर्शनको उत्पत्ति फरक अवस्थामा भएको हो भने उद्देश्य पनि फरक फरक हुनु स्वाभाविक हुन्छ | डरले धर्म र जिज्ञासाले दर्शनशास्त्रको आरम्भ भएको शास्त्रीय मान्यता छ | साथै, धर्म र दर्शनका सवालमा वैदिक र पाश्चात्य परिभाषामा गहिरो विमति पनि देखिन्छ | नेपाली परिपेक्षमा धर्म र दर्शन अभिन्न, अन्योन्याश्रित तथा मौलिक प्रकृतिका छन् | तर केही नेपाली स्वयम्भू “दार्शनिकहरू”ले नेपालमा पनि धर्म र दर्शन अलग हुनुपर्छ भन्ने आन्दोलनमा छन् | प्रश्न के हो के वैदिक, जैन, बौद्ध तथा अन्य भारतवर्षीय दार्शनिक चिन्तनहरूलाई धर्मबाट अलग गर्न सकिन्छ त् ? यस विषयमा दुई भारतीय दार्शनिक रोय र चट्टोपाध्यायले निकै कलम चलाएका छन् | दुर्भाग्यवस यी दूवै मार्क्सवादी दार्शनिक हुन् | यी मध्ये दोश्रोले “भारतीय दर्शन कति मृत र कति जीवित” भन्ने कितावनै लेखेर भारतीय धर्मसंग दर्शनको सम्बन्ध विच्छेद गर्ने मार्ग सूझाए | यो आन्दोलनलाई धर्मनिरपेक्षतावादमा विश्वास गर्ने “समाजवादी राजनीतिज्ञ”हरूले समेत अप्रत्यक्षरूपमा समर्थन जनाएको पाइन्छ |
नेपालमा पनि केही बामपन्थी चिन्तकहरू जसमा गोपीरमण उपाध्याय, मोदनाथ प्रश्रित, राजाराम रेग्मी, वेदुराम भुषाल, गोविन्द भट्ट, नारायण चालिसे तथा विष्णु प्रभात आदिले आजसम्म “धर्म र दर्शन” अलग पार्नु पर्छ भन्ने आन्दोलन गरिरहेका छन् | पछिल्लो समयमा नेपालको प्रतिष्ठित नेपाल प्रज्ञा प्रतिष्ठान” पनि यसमा सहभागी भएकोजस्तो लाग्छ | चिन्तनको क्षेत्रमा काम गर्नेले धर्म र दर्शनलाई अलग पर्छु भन्नु अस्वाभाविक मान्न मिल्दैन तर यस्तो प्रयासमा विरोधाभास र असम्मेयता छ भने प्रश्न गरिनुपर्छ |
२. वैदिक चिन्तन परम्परालाई (ऐतिहासिकरूपमा षड्दर्शनसहित जैन, बौद्ध, शिख, शाक्त, शैव दार्शनिक चिन्तन वैदिक नै हुन्) बुझेका तर आफुलाई बौद्ध भन्ने महापण्डित राहुल संस्कृत्यायनले भारतवर्षीय परम्परामा दर्शन तथा धर्मलाई फरक गर्न मिल्दैन भनेर यस विषयमा चर्चा गरेका छैनन् | नेपालकै हकमा पनि प्रसिद्ध मानववादी चिन्तक जय पृथ्वीवहादुर शाहले भारतवर्षीय धर्म र दर्शनअली फरक गर्नुपर्छ भन्ने विचार राखेको भेटिन्न | गोविन्द लोहनी पनि बामपन्थी विचारक हुन् तर यिनले पनि भारतीय धर्म र दर्शन अलग हुनुपर्छ भनेर लेखेको देखिन्न भने अर्का वामपन्थी विचारक मोहन बैद्यले पनि “हिमाली दर्शन”मा मार्क्सवादी दृष्टिकोणले भारतवर्षीय दर्शनको समीक्षा गरे पनि “भारतवर्षीय दर्शन र धर्म” अलग हुनुपर्छ भन्ने मान्यता प्रकट गरेको भेटिन्न |
भारतवर्षीय परिवेश र यहाँको धर्म र दार्शनिकताको परिवेश राम्ररी बुझेको कुनै पनि व्यक्तिले “प्राचीन वैदिक परम्परामा धर्म र दर्शनलाई अलग गर्न सकिन्न” भन्ने तत्थ्य स्वीकार गर्दै समालोचनाको बाटो अवलम्बन गर्छ | धर्म र दर्शनका सवालमा केवल पश्चिमेली माइन्ड-सेट भएका र धर्मलाई सधैं रिलिजनका रूपमा बुझ्ने र बुझाउने अव्यवहारिक दृष्टिकोण भएका व्यक्ति वा समुदायले भारतवर्षीय परिवेशमा धर्म र दर्शनलाई छुट्याउने पक्षमा वकालत गर्छ | तर यस्तो वकालत पनि तेस बखत तुहिन्छ जव उसले आफुलाई “बौद्ध धर्म प्रगतिशील छ” भन्दै आफुलाई बौद्ध निकट बनाउने प्रयत्न गर्छ |
३. ईश्वरशास्त्र र धर्मशास्त्र – यी दुई नितान्त भिन्न विधा हुन् | सेमेटिक रिलिजनहरूमा थिओलोजी (ईश्वरशास्त्र) को प्रभुत्व हुन्छ भने वैदिक संस्कृतिमा धर्मशास्त्रको महत्व देखिन्छ | धर्मशास्त्रले सदाचार, मानवता, धृति, क्षमा, दम, अस्तेय, करूणाआदि गुणहरूको प्रवर्धनलाई महत्व दिन्छ | वैदिकहरूले ईश्वर र विना ईश्वर धार्मिकताको अभ्यास गर्छन् भने थिओलोजीका पक्षधरहरूका लागि ईश्वरीय आदेश नै सर्वोच्च धार्मिकता, सदाचार र नैतिकता हुन्छ | सदाचारको जगमा उभिएको धार्मिकता र ईश्वरको एकलकाटे निर्णयमा उभिएको धार्मिकता एउटा हुनै सक्दैनन् | दार्शनिक सिद्धान्तगततहमा हेर्ने हो भने थिओलोजी र धर्मशास्त्र विरोधी “अभ्यास” हुन् | भारतवर्षीय सम्प्रदायहरूबाट दार्शनिकता अलग्याउनुको अर्थ एकलकाटे ईश्वरको आदेशमा प्रश्न उठाउन नपाउने माइन्ड-सेट स्थापित गर्न सघाउनु हो |
मूलत: पाश्चात्य वा सेमेटिक (यहुदी, इसाई तथा इस्लाम) रिलिजनमा ईश्वर तथा तिनको छोरा वा दूतको अस्तित्वका विषयमा सवाल उठाउन मिल्दैन | सवाल उठाउनेहरू र नमान्ने (अर्को धर्म मान्ने) दूवै “एथेइस्ट” हुन्छन् | एथेइस्टहरूलाई ईश्वरले नर्कको दण्ड दिन्छ | सबैजसो सेमेटिक रिलिजनहरूले धर्मपरिवर्तन गराएर (नास्तिक र अर्को धर्म मान्ने) ईश्वरको “रीस”बाट मान्छेलाई जोगाउन प्रयत्न गर्छन् | यस्तो प्रयत्न नेपाली समाजमा पनि भैरहेको छ | नेपाली होस् वा भारतीय दुवै ठाउँमा “भारतवर्षीय चिन्तनबाट धर्म र दर्शन अलग हुनुपर्छ” भन्ने माइन्ड-सेट “जहोवा, गड वा अल्लाह”को आदेश नमान्नेहरू स्वर्ग जान नपाउने हुँदा धर्म परिवर्तन गरेर पुण्यको काम गर्नुपर्छ भनेझैं “एथेइस्ट” हुनको लागि भारतवर्षमा पनि धर्म र दर्शन अलग हुनुपर्छ” भन्ने चिन्तनका रूपमा विकसित भएको हो | मूलत: भारतवर्षीय धर्म र दर्शनलाई अलग्याउनु पर्छ भन्नेहरू र सेमेटिक रिलिजन मान्नेहरूले “मेरो मात्र धर्म सत्य”का विचमा चिन्तनगत सहकार्य बुझ्न सकिन्छ |
४. यदि रिलिजन र धर्मलाई एकै डालोमा राखेर “भारतवर्षमा पनि धर्म र दर्शन अलग हुनुपर्छ” भनिएको हो भने तार्किक र व्यबहारिक दूवै अर्थमा औचित्यहीन छ | रिलिजनले आफुभिन्न कसैको अस्तित्वलाई अस्वीकार गर्छ भने धर्ममा “आफ्नो मान्ने तर अरूलाई अस्वीकार नगर्ने” परम्परा छ | जुन हामी नेपाली र भारतीयहरूले (यहुदी, इसाई र मुस्लिम) वाहेकले मान्दै आएका छौँ | यदि धर्म र दर्शनलाई अलग गर्नुपर्छ भन्ने आन्दोलनको प्रयोजन “अनिश्वरवादी”हरूको सङ्ख्या बढाउनु हो भने सांख्य, वैशेषिक, बौद्ध तथा जैनहरूले ईश्वरको अस्तित्व मान्दैनन् तर सहकार्यमा कुनै न्यूनता छैन | यदि धर्म र दर्शनलाई अलग्याने कारण “नास्तिक” बढाउनु हो भने स्वयं मार्क्सवादीहरू नास्तिक होइनन् किनभने मार्क्सवादको अस्तित्वलाई स्वीकार गर्छन् | पश्चिममा धर्म र दर्शनविच शत्रुतापूर्ण सम्बन्ध भएको कारण धर्म र दर्शन अलग हुनुपर्ने बाध्यता थियो | नेपालीको बस्तुगत स्थिति नितान्त फरक छ | यहाँ धर्म र दर्शन अलग हिड्नु पर्ने कुनै आवश्यकता नै छैन |
५. प्रश्न उठ्छ भारतवर्षीय परिपेक्षमा धर्म र दर्शन अलग हुँदा फाइदा-वेफाइदा को-कसलाई हुन्छ ? मूलत: भारतवर्षीय परिपेक्षमा धर्म र दर्शनका विचमा अन्योश्रित सम्बन्ध छ | सेमेंटिक रिलिजन र यसको सांस्कृतिक छहारीमा विचारको स्वतन्त्रता कुरा उठाउँदा ब्रुनो र दरसिकोहको हत्या गरिएको थियो | प्रोस्टेस्टेन्टलाई क्याथोलिकले र सुन्नीले सियाहरूलाई आज पनि बाँच्न दिंदैनन् | वैदिक, जैन र बौद्धहरूले आफ्ना बैचारिक मनभिन्नतालाई शास्त्रार्थ गरेर साम्य गर्थे | पराजित हुँदैमा “नष्ट” हुनु पर्दैनथ्यो | सबैभन्दा आलोचित दार्शनिक चार्वाकलाई समेत वेद, उपनिषद तथा सङ्कलक माधवाचार्यले सर्वदर्शनसङ्ग्रहमा स्थान दिएकै छन् | बैचारिक रूपमा र व्याबहारिक रूपमा भारतवर्षीय धर्म र दर्शनलाई अलग्याउने आन्दोलनको अर्थ “सेमेटिक-रिलिजन”हरूलाई प्रोत्साहन दिनु पनि हो | नेपाली र भारतीय परिपेक्षमा यो आन्दोलन बलियो हुँदै गर्दा “धर्मपरिवर्तनकारी शक्तिहरूका गतिविधिहरू ह्वात्तै बढेको देखिन्छ |
वास्तवमा अनिश्वरवादी आन्दोलन सर्वसत्तावादी तथा आलोचकहरू वा असहमतहरूलाई सीधै “नर्क”मा जाक्ने “अल्लाह वा परमेश्वर” विरुद्ध आरम्भ भएको थियो | भौतिकवादीहरूले अनिश्वरवाद वा ईश्वरवादका पक्षमा त्यति कुरा गर्न पर्दैन | नभएको काल्पनिक विषय “ईश्वरको पक्ष वा विपक्ष”मा बोल्नुको कुनै अर्थ छैन | भौतिकवादीहरूले धर्म र दर्शन अलग हुनुपर्छ भन्ने आन्दोलन गर्नुको कुनै औचित्त्य पनि छैन | पश्चिमा (सेमेटिक रिलिजन) परिवेशमा धर्म र दर्शनका विचमा शत्रुतापूर्ण सम्बन्ध छ | रिलिजनहरूले दार्शनिकहरूलाई मृत्युदण्ड दिएका प्रसस्त उदाहरणहरू छन् | तर भारतवर्षीय परिपेक्षमा एउटा दार्शनिक नै धर्मको संस्थापक हुन्छ र धर्मले दर्शनलाई दर्शनले धर्मलाई एकआपसमा सघाएका हुन्छन् | सबैको आलोचना गर्ने निरिश्वरवादी “चार्बाक”हरूलाई समेत “आलोचक विचार”का कारण मृत्युदण्ड दिएको कुनै प्रमाण पाइन्न |
६. निरीश्वरवाद, नास्तिकता र भौतिकवाद फरकफरक दार्शनिक चिन्तनको जगमा उभिएका छन् | नेपाली परिपेक्षमा जो-जसले धर्म र दर्शनलाई अलग गर्नुपर्छ भन्ने मान्यतामा काम गरिरहेका छन्, सर्वप्रथम आफु कुन् वर्गमा पर्छु भन्ने प्रष्ट पार्नु जरुरी छ | भारतवर्षमा विकसित भएका धेरैजसो धर्महरूको व्याबहारिक आचरणको स्रोत त्यसको दर्शन हो | धर्महरूबाट दार्शनिकता अलग गर्नु भनेको तिनको प्राण निकाल्नु हो | यदि कथन्चित धर्मबाट दर्शन र दर्शनबाट धर्म अलग भए भने नास्तिकता वा अनिश्वरवाद वा भौतिकवादको प्रवर्धन हुनुको सट्टा “सेमेटिक रिलिजन”को लागि उर्वरता प्राप्त हुने छ | दार्शनिकताको बलियो जगमा निर्माण भएका वैदिक, बौद्ध, जैन,सीख, किरात”आदि सम्प्रदायहरूबाट दर्शन अलग हुन सक्ने कुनै सम्भावना छैन |
अर्को कुरा, पश्चिमा दार्शनिक प्रतिमानहरू र वैदिक दार्शनिक प्रतिमानहरू फरक छन् | “धर्मबाट दर्शनलाई अलग्याउनु पर्छ” भन्ने वैचारिक स्रोत पश्चिमा दार्शनिक प्रतिमानबाट प्राप्त हुन्छ | व्याबहारिक अर्थमा, भारतवर्षीय संस्कृतिमा उपर्युक्त प्रतिमान स्थापित हुँदै जानुको अर्थ – धार्मिक, सांस्कृतिक, सामाजिक, राजनैतिक तथा बैचारिक आत्महत्या” समेत हो | यदि पश्चिमा समाजमा वैदिक प्रतिमानहरू स्थापित हुँदै जान्थे भने परिणाम “आत्महत्या” नै निस्किन्थ्यो | तेसैले भारतवर्षीय धर्मबाट दर्शनशास्त्रलाई अलग्याउने आन्दोलन औचित्यहीन छ | बरू, वैदिक सम्प्रदायमा क्रमशः विकसित र व्यबहारमा देखिएका अन्धविश्वास, कूतर्क तथा असंगति विरुद्ध चिन्तनको धार प्रखर होस् तर विदेशी चिन्तनगत प्रतिमानरूपी बन्दुकले मौलिकताको हत्याको समर्थन गर्न मिल्दैन | समर्थन गर्दा दर्शन र धर्मकातहमा अन्योश्रित “सभ्यता”मा विपत्ति हुन्छ | वैदिक संस्कृतिअन्तर्गत धर्म र दर्शनको अन्योश्रित सम्बन्धलाई पूर्णतया सुरक्षित, सम्बर्धन र वैश्विकतहमा स्थापित गर्न क्रियाशील बनौं | यही हाम्रो मौलिक जिम्मेवारी र कर्तव्य हो |
दर्शनशास्त्र तार्किता, जिज्ञासा तथा सिद्धान्त निर्माणको अभ्यास हो | धर्म र धार्मिकता विश्वासका आधारमा पूर्णता, सन्तोष तथा मोक्ष प्राप्त गर्ने अभ्यास हो | आजको मितिसम्म दूवैको उपयोगिता मान्छेका लागि हो | कुनै पनि पशुले धार्मिकताको अभ्यास गर्दैन, उ उसले दार्शनिकताको अभ्यास गर्छ | यदि बैदिक, बौद्ध, जैन, किरातसंस्कृतिको महत्वपूर्ण पक्ष धर्म र दर्शनको एकै ठाउँमा अभ्यास गर्नु हो भने विश्वका हरेक चिन्तकका लागि गौरवको विषय हुनुपर्छ | सकारात्मक दार्शनिकताको अभ्यास गरौँ, कूतर्क र पूर्वाग्रहको होइन |

