पृथ्वीनारायण शाह र स्वामी विवेकानन्द

पृथ्वीनारायण शाह र स्वामी विवेकानन्द

पृथ्वीनारायण शाह र स्वामी विवेकानन्द

हिन्दुहरू आफ्नो उदारतावादी संस्कृति र बहुलवादका कारण सधैं सङ्कटमा परेको इतिहास छ भने आज पनि उपर्युक्त स्थिति वदलिएको छैन | बामपन्थी र धर्मनिरपेक्षतावादी राजनीति गर्नेहरूले धर्म र धार्मिकतालाई खासै महत्व दिंदैनन् तर आजको मितिमा पनि विश्वको ८६.४% जनसंख्याले कुनै नकुनै धर्म मानेकै छन् | यहुदी, इसाई र मुस्लिम समुदायले “प्यागोन” (मूर्ति पूजक) भन्दै अपमान जनक तरिकाले सम्बोधन गरिएका हिन्दुहरूले जतिसुकै मित्रतापूर्ण सम्बन्ध स्थापित गर्न खोजे पनि ती समूहले स्वीकार गरेका छैनन् | राष्ट्रहरू बलियो भएका ठाउँमा धर्मान्धता अर्धनिन्द्रित छ भने रिलिजनहरू बलियो भएको ठाउँमा रिलिजनतन्त्रभित्र प्यागोनमात्र होइन तिनका आफ्नै समूह पनि अपहेलनाको सिकार भएका छन् |
बौद्ध वा जैनहरू पनि हिन्दू संस्स्कृतिसंग विद्रोह गरेर स्थापित भएका धार्मिक समुदाय हुन् | तिनले कहिल्यै पनि हिन्दू देवीदेवताका मन्दिरहरू तोडेंनन्, आगो लगाएनन् | काठमाडौँ उपत्यकामा पहिलो र अन्तिम पटक आक्रमण गरेको समसुद्दिन इलियास (सन् १३४७) हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको लिंग नै ध्वस्त गरिदियो | स्वयम्भू चैत्यमा आगो लगाएर ध्वस्त बनायो | तेतिले पनि चित्त नबुझेर पुस्तकालयहरू र पसलहरूमा आगो लगायो | यदि कसैले मुसाई-समुदायको इलियास मानसिकतामा हिन्दुहरूप्रति सहृदयता उत्पन्न भएको छ भन्ने ठान्छन् भने गलत हो | एक-दुईजना व्यक्तिहरूको उदारतालाई मुसाई-धर्मको उदारताका रूपमा व्याख्या गर्न मिल्दैन |
ठिकै हो कि हिन्दुहरूले आफ्नो उदारता र बहुलतावादी संस्कृतिलाई त्याग्नु हुँदैन तर बहुलतावादी जीवनदर्शनलाई आफ्नो अस्तित्वको विनाशको कारण बन्नबाट रोक्ने काम पनि सनातनीकै हो | राजा पृथ्वीनारायण शाह र स्वामी विवेकानन्दले आ-आफ्नो समयको आवश्यता र परिवेशअनुसार एकलवादीहरूलाई देश निकासा गर्ने र हिन्दु संस्कृतिभित्र (धर्मपरिवर्तन होइन मानसिक परिवर्तन गरेर) भित्र्याउने काम गरे | राजा पृथ्वीनारायण शाह स्वामी विवेकानन्द भन्दा दुरदर्शी ठहरिन्छन् | विवेकानन्दले दरिद्रनारायणको कुरा गरे भने शाहले सुशासन स्थापित “प्रजालाई मोटा” बनाउने र “असली हिन्दुस्थाना” निर्माण गर्ने घोषणा गरे |
इतिहासको यो पाटोबाट शिक्षा लिएर नेपालमा अनपढ तर अत्यन्त साहसी तथा स्वधर्म संस्कृतिप्रति कटिबद्ध गोर्खाली रजौटा पृथ्वीनारायण शाहले इसाईहरूलाई देश निकाला दिए भने भारतीय सन्त स्वामी विवेकानन्दले तिनकै भाषा (अंग्रेजी)लाई स्वधर्म प्रचारको माध्यम बनाएर हिन्दू धर्म र संस्कृतिको सहृदयी विज्ञान विश्वसम्म पुर्याएर, सुन्ने र पढ्ने जतिलाई मानसिक रूपमा हिन्दू तुल्याए | आजको मितिमा सद्गुरु भनिने जग्गीहरूले पनि अंग्रेजी भाषाबाट नै वैदिक संस्कृतिको प्रचारप्रसार गरिरहेका छन् |
इतिहासका विषयमा आ-आफ्नो दृष्टिकोणबाट व्याख्या गर्न मिल्छ | पृथ्वीनारायण शाहले किर्तिपुरेहरूको नाक काटेको होस् वा आफ्नै जेठानहरूको हत्या नै गरेको होस् अथवा किरात प्रदेशमा मारकाट गरेर यलम्बरवादीहरूको दोहोलो नै परेको किन नहोस् नेपाल एकीकरण र हिन्दू संस्कृतिको पुनर्जागरणमा यिनको योगदानलाई स्वीकार गर्न करै लाग्छ | यो स्वीकारोक्ति घृणाले होस् वा श्रद्धाले असहमत नेपाली र विदेशीहरूको बाध्यता हो | यी नेपाली नायक भएको कारणले मलाई मन पर्ने मध्ये पहिलो व्यक्ति हुन् | आलोचकहरूप्रति मेरो थोरै गुनासो छ, धेरै होइन | समालोचक बन्न सके सबैको कल्याण हुन्छ |
राजा पृथ्वीनारायण शाहको मूर्ति र फोटो दूवै काल्पनिक नै हुन् | कलाकारले अलि बढीनै शाहलाई देवत्व कारण गरेर चित्र बनाएका होलान् | उनी ठ्याकै आजभोली पाइने चित्रपट भन्दा नितान्त फरक होलान् भन्ने ठान्छु | मेरो मस्तिष्कमा एउटा ५० वर्षीय माध्यम आय श्रोत भएको गोर्खाली कृषकको सम्झना आउँछ |
यस्तै तत्कालीन भारतीय बङ्गालमा जन्मेका स्वामी विवेकानन्दले पृथ्वीनारायण शाहको उमेर भन्दा पनि कम समयमा वैदिक संस्कृतिलाई वैश्विक रूपमा चिनाउन मदत गरे | आफ्नो सानो उमेरमा भारतीय वैदिक दर्शनलाई “व्याबहारिक वेदान्त”को रूपमा व्याख्या गरेर रहस्यवाद र केवल संस्कृतवादको गूफाबाट वाहिर निकाले | उनले आफ्ना धेरैजसो प्रबचन अंग्रेजीमा दिएका थिए | यिनको व्यक्तित्व, स्वदेश, स्वधर्म तथा जनताप्रतिको करूणा मेरो लागि सधैं मन पर्ने विषय रहेको छ |
संयोग नै मान्नु पर्छ कि यस पाली यी दूवै महापुरुषहरूको जयन्ती एकै दिन परेको छ | नेपालीहरूले राजा पृथ्वीनारायण शाहलाई सम्झिरहेका छन् भने भारतीयहरू स्वामी विवेकानन्दलाई | हामी सबै मिलेर एस्तो अवस्था र व्यबस्था सृजना गर्नु पर्यो सम्पूर्ण भारतले राजा पृथ्वीनारायण शाहलाई हिन्दू संस्कृतिका आधुनिक पुनर्जागरणका नायकका रूपमा स्वीकार गर्दै जन्मजयन्ती मानोस् र नेपालीहरूले स्वामी विवेकानन्दलाई हिन्दू धर्म, संस्कृति तथा परम्परालाई अंग्रेजी माध्यमले विश्वलाई चिनाउने पुरोधाका रूपमा सम्मान गर्न सकून् |
पढेलेखेका धेरैजसो नेपालीले स्वामी विवेकानन्दलाई चिन्छन् तर धेरैजसो भारतीयहरूले राजा पृथ्वीनारायण शाहलाई चिन्दैनन् | भारतको अयोध्यामा राम मन्दिर उद्घाटन हुँदै गर्दा हरेक भारतीयले राजा पृथ्वीनारायणको असली हिन्दुस्थाना”लाई चिन्ने बातावरण सृजित गर्नुपर्छ | हुन त यो लेख पढ्दै गर्दा केही आफुलाई धर्मनिरपेक्षतावादी र उदारवादी ठान्ने घृणावादीहरूलाई असहज होला तर स्वदेश, स्वधर्म र बहुलतावादी चिन्तनका सवालमा हिन्दूहरू अझैं बौद्धिकरूपमा पहिचानवादी हुनै पर्छ | प्रत्यक्षरूपमा पृथ्वीनारायण शाहले र अप्रत्यक्ष तर बौद्धिक रूपमा स्वामी विवेकानन्दले यही प्रेरणा दिएका हुन् |
स्वस्त्यस्तु

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *