दर्शनशास्त्रका सीमा बुझौं

दर्शनशास्त्रका सीमा बुझौं

दर्शनशास्त्रका सीमा बुझौं

सत्य हो कि दर्शनशास्त्रका प्राथमिक प्रतिमानहरू सम्पूर्ण चिन्तन जगतमा व्याप्त छन् | तर यसको अर्थ ती सबै विषयगतविधाहरू दर्शनशास्त्र हुन् भन्ने हुँदैन | धर्मको दर्शनशास्त्र हुन्छ तर धर्म आफैमा दर्शनशास्त्र होइन | धर्मशास्त्रको आफ्नै मौलिक क्षेत्र छ | संस्कृतिको दर्शनशास्त्र हुन्छ तर संस्कृति आफैमा दर्शनशास्त्र हुँदैन | राजनैतिक दर्शनशास्त्र हुन्छ तर विधागत रूपमा राजनीतिशास्त्रको आफ्नो मौलिक अस्तित्व छुट्टै छ | यसैगरी विज्ञान, समाजशास्त्र, मनोविज्ञानआदिलाई बुझ्नुपर्छ |
आजभोली नेपालमा शास्त्रीय विधामा अनेकौं लेखकका अनेकौं पुस्तकहरू प्रकाशित भएका छन् | यो गौरवको कुरा हो तर ती मध्ये केही पुस्तकहरूले मात्र दर्शनशास्त्रीय विधाको पूर्ण वा आंशिक सम्मान गरेका छन् | धेरैजसो कृतिहरूले धर्म, राजनीति, संस्कृति, अर्थनीति वा अन्य विधाका विषयवस्तुहरूलाई बलात्कारपूर्वक दार्शनिक विधाका रूपमा प्रस्तुत गर्छन् | पुस्तक वा लेखको शीर्षकमा दर्शनशास्त्र झुण्डिएको भए पनि विषयवस्तुचाहिं धर्म, संस्कृति, संस्कार वा राजनैतिक पूर्वाग्रहले भरिपूर्ण छन् | उदाहरणका लागि हालै प्रज्ञाप्रतिष्ठानले प्रकाशित गरेको नेपाली दर्शनका पछिल्ला अध्यायहरूलाई साँस्कृतिक अध्ययनमा केन्द्रीत छन् |
अर्कोतिर बजारमा दर्शनशास्त्रको नाममा कम्म्युनिस्ट साहित्यहरूको बिगविगी छ | कार्लमार्क्स उम्दा विचारक, समाजसुधारक हुन् र यिनले दिएका विचारले विश्वलाई प्रभावित पारेको, यो सत्यबाट भाग्न मिल्दैन तर द्वन्दात्मक भौतिकवाद बाहेकका दार्शनिक चिन्तनहरूलाई “दार्शनिक चिन्तन”नै नमान्ने/नठान्ने बलमिचाई उचित हुँदैन | कार्लमार्क्सले “अर्थशास्त्रको दार्शनिक स्वरूप”को राम्रो व्याख्या गरेका छन् | मार्क्सवादी चिन्तनको आधार अर्थ भएकोले सम्पूर्ण मार्क्सवादी चिन्तनलाई अर्थको दर्शनशास्त्रका रूपमा पहिचान गर्नुपर्छ र गरिएको छ |
दर्शनशास्त्रमा कलम चलाउनेहरूले दर्शनशास्त्रका आधारभूत पूर्वमान्यताहरूलाई राम्ररी बुझेको र आत्मसात् गरेको हुनुपर्छ | साथै, वैदिकधाराका दार्शनिक चिन्तनको प्रक्रिया र पश्चिमा दार्शनिक चिन्तनका बिचको प्राविधिक फरकपन र समानताको विषयमा पनि सुसज्जित हुनैपर्छ | उदाहरणका लागि सम्पूर्ण वैदिक तथा प्राचीन चिनिया दर्शनशास्त्रहरूको सम्बन्ध दैनिक जीवनसंग गाँसिएको छ भने मार्क्सवादी चिन्तनसहित सम्पूर्ण पश्चिमा दार्शनिक प्रणाली दर्शनशास्त्रका सम्पूर्ण विधिहरूलाई बिशुद्ध “बौद्धिक प्रक्रिया” मानेर आरम्भ हुन्छ | यी मध्ये द्वन्दात्मक भौतिकवाद सिद्धान्त र प्रयोगिकताका विचमा रुल्मुलिएको छ | नेपाली प्रगतिशील धाराका दार्शनिक कृतिहरूमा एस्तो रुल्मुल प्रष्टसंग भेट्न सकिन्छ |
पूर्वीय होस् वा पाश्चात्य, जातीय होस् वा धार्मिक अथवा व्यक्तिगत सिद्धान्त नै किन नहोस्, सम्बन्धित चिन्तनले “दर्शनशास्त्र” कहलाउनका लागि न्युनतम परमतत्व केहो र त्यसको स्वरूप कस्तो छ ? ज्ञान कसरी उत्पन्न हुन्छ र त्यसका सीमाहरू के हुन् ? तर्कको उत्पत्ति र सत्यसंग तर्कको सम्बन्ध कस्तो हुन्छ? मान्छेको कर्तव्यको स्वरूप कस्तो छ र कस्तो हुनुपर्छ ? मूल्य तथा सुन्दरता के हो ? मानवजीवनसहित विश्वको अन्तिम लक्ष वा गन्तव्य के हो ? जस्ता आधारभूत प्रश्नको उत्तर भएकै हुनुपर्छ | हो, यी प्रश्नहरूलाई फरकफरक तवरले ब्याख्या गर्न सकिन्छ तर दर्शनशास्त्रको परिभाषाभित्र पर्न संगठीत वा असंगाठीत रूपमा स्रजकले उपर्युक्त प्रश्नहरूको वा प्रश्नमा एउटा वा एकाधिक प्रश्नको उत्तर दिएकै हुनुपर्छ | अन्यथा, दर्शनशास्त्रले अराजक स्वरूप धारण गर्छ र पाठकहरूमा धर्म नै दर्शनशास्त्र भएको, राजनीतिशास्त्र नै दर्शनशास्त्र भएको, संस्कृतिको अध्ययननै दर्शनशास्त्र भएको भ्रम सृजना गर्छ |
धर्ममा डर हुन्छ, समर्पण हुन्छ | दर्शनमा जिज्ञासा र विस्मय हुन्छ | संस्कृतिमा समुहिकता र कर्मकाण्डको चेतना हुन्छ | राजनीतिमा शक्ति र त्यसको प्रयोग गर्ने विधि हुन्छ | समाजशास्त्रले समाजको निर्माण, क्रियाको तत्थ्यहरू वारे चर्चा गर्छ | यी सबैमा दर्शनशास्त्र हुन्छ तर यी सबै दर्शनशास्त्र पटक्कै होइन | महाकवि लक्ष्मीप्रसाद देवकोटाले पाँचबटा चाहिने कुरामा “धर्म”मा आधारित दर्शनशास्त्रका पूर्णस्थापित मान्यतालाई प्रष्ट पारिदिएका छन् | पश्चिमाहरूले रिलिजनको दर्शन छुट्टै निर्माण गरेका छन् | जवसम्म हामी रिलिजन र दर्शनको मूल समझनै फरक छ भन्ने तत्थ्य स्वीकार गर्दैनौं, वैदिक र पाश्चात्य दर्शनशास्त्रको मर्नलाई बुझ्न सक्दैनौं | कार्लमार्क्सको आँखाले पढ्ने दर्शनशास्त्रको क्षेत्र निकै साँगुरो छ |
नेपाल र भारतजस्ता देशमा अनेकौं स्थानीय रैथाने जातजातिका धार्मिक, सांस्कृतिक तथा नैतिक चिन्तनहरू छन् | ती सबै विचारमा न्युनाधिक दार्शनिक प्रतिमानहरू पाइन्छन् | यी प्रतिमानहरूलाई प्रष्टसंग बुझ्न रैथाने चिन्तनभित्रका तत्वमीमांसा, ज्ञानमीमांसा, नीतिमीमांसा, मूल्यमीमांसा र तर्कमीमांसा विषयक उत्तरहरूलाई व्यवस्थित रूपमा सङ्ग्रह गर्नुपर्छ | यसरी विषयगत उत्तरहरू सङ्कलन गरेपछि त्यहाँ रहेका राजनैतिक, सांस्कृतिक, सामाजिक अध्ययनका विषयहरू सजिलै छुट्टिन्छन् | साथैं, व्याबहारिक दर्शनशास्त्र वा प्रायोगिक दर्शनशास्त्रको पाटो (वैदिक, जैन, बौद्ध तथा बोन) पनि पृथक् हुन्छ | यसो गर्दा दर्शनशास्त्र ठानेर सांस्कृतिक विषयहरू लेख्नु पर्ने समस्याको अन्त्य हुन्छ |
पाश्चात्य दार्शनिक सम्प्रदायहरूले दर्शनशास्त्रलाई रिलिजनको दासत्वबाट मुक्त गर्न आज पनि आन्दोलन गरिरहेका छन् भने धृति, क्षमाआदिका दश गुणहरूलाई नै धर्म मान्ने हिन्दू वैदिकहरूले धर्मको बाटो अबलम्बन गर्दै क्रमशः अर्थ, काम तथा अनन्त: मोक्षको लक्ष प्राप्त गर्न साधना गर्छन् | यसो गर्दा नैतिकता, आत्म तथा परात्माको मूल्यांकन, स्वतन्त्रता, समर्पण तथा ज्ञानप्रतिको गहिरो समर्पण स्वत: स्थापित हुँदै जान्छन् | ऋषिले दर्शनको साक्षात्कार, गर्छन्, मुनिहरूले त्यसको साधना गर्छन् | आचार्यहरूले ती सिद्धान्तहरूलाई शिक्षादीक्षामा रुपान्तरित गर्छन् भने उपाध्याय तथा शिक्षाशिक्षिकाले उपर्युक्त सिद्धान्तहरुलाई सर्वसाधारणका लागि व्याबहारिक रुपान्तरण गर्न सिकाउँछन् |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *