दर्शनशास्त्र बुझौं
(१) दर्शनशास्त्र के हो ?
दर्शनशास्त्रले परमसत्यको विषयमा जिज्ञासा, खोज तथा निर्णय दिने प्रयत्न गर्छ | वर्तमानमा दर्शनशास्त्र भने तत्व विज्ञान, नीति विज्ञान, तर्क-विज्ञान ज्ञान-विज्ञान र मूल्य विज्ञानको उत्पत्ति, कार्य र सीमा तोक्ने प्रयत्न गर्छ | असलमा, वैदिक दर्शनशास्त्र परमतत्व (ब्रहम, परमात्मा, ईश्वर)लाई प्राप्त गर्ने ठीकठीक बाटो हो | पाश्चात्य दार्शनिक परम्परामा दर्शन केवल परमसत्यको खोजी र ज्ञान, मूल्य, तर्कका विषयको बौद्धिक छलफल हो |
(२) दर्शन कसरी बन्छ ?
दर्शनशास्त्रको उत्पत्ति मानवको जिज्ञासु स्वभावबाट भएको हो | मान्छेले प्राकृतिक रूपमा बुद्धि प्राप्त गरेको छ जसका कारण उसले आफ्ना विगतका अनुभवहरू स्मृतिमा राख्न सक्छ, वर्तमानलाई विगतका अनुभवका आधारमा उपयोग गरिरहेको हुन्छ भने भविष्यका लागि योजनाहरू बनाउँछ | विश्वका अन्य जीवले एस्तो विशेषता प्राप्त गरेका छैनन् | तसर्थ दर्शनको निर्माणमा बाहिरी विश्वसंग आफ्नो सम्वन्ध, आन्तरिक (मन, बुद्धि, आत्मा, परमात्मा) आदि प्रतिको जिज्ञासा तथा मृत्यु, रोग, डर, भावना इत्यादिसंग तुलनाका आधारमा हुन्छ |
(३) दर्शन बन्ने आधार के के हुन् ?
-दर्शनको निर्माणका लागि पहिलो आधार हो मान्छे | मान्छेको बौद्धिक क्षमता, विश्वको उपस्थिति, जीवको अस्तित्व, अस्तित्वको अनुभूति, निरन्तर परिवर्तित भैरहेको विश्व, मानवीय जीवन, जीवनको लक्ष, आत्माको अनुभूति, शुभलाभ, पापपुण्य, सदाचार-दुराचारआदिका व्यबहार र आफ्नो र अर्काको अस्तित्व तथा दु:ख निवारणको प्रयत्न र आनन्द प्राप्तिको चाहना इत्यादिले दर्शनशास्त्रको निर्माणमा सहयोग गर्छन् | यस बाहेक धार्मिक, राजनैतिक, सांस्कृतिक, जीवन मूल्यका समस्याहरू र तिनको पहिचानको आवश्यकताले पनि दर्शनशास्त्रको निर्माणका लागि आधार प्रदान गर्छन् | उपरोक्त सबै मध्ये बौद्धिक क्षमता भएको र निर्णय गर्न सक्ने मान्छेको अस्तित्व नै सबैभन्दा बलिया दर्शनशास्त्रका आधारभूत तत्व हुन् |
(४) सिद्धान्त के हो ?
एक वा एकभन्दा अधिक भौतिक, मानसिक तथा आध्यात्मिक समस्याहरूहरूको समाधान गर्ने क्रममा मान्छेले गरेको बौद्धिक प्रयत्न र तेसबाट प्राप्त भएको प्रतिफलको पुनरागमन, पुनरावलोकन तथा प्रयोगको योग्यता स्थापित हुने बौद्धिक विषय नै सिद्धान्त हो | सिद्धान्तको आधार बौद्धिक कल्पना, भौतिक, मानसिक तथा आध्यात्मिक समस्या हो | यदि कुनै पूर्वकल्पनाको युक्ति बारम्वार प्रयोग गर्दा पूर्ण अथवा आंशिक रूपमा उपरोक्त समस्याहरूको समाधान प्राप्त हुन्छ वा समस्या स्थापित हुन्छ भने यस्तो आधारलाई “सिद्धान्त” भनिन्छ |
(५) सिद्धान्त कसरी निर्माण हुन्छ ?
कुनै पनि सिद्धान्तको निर्माण हुनका लागि “उपयुक्त समस्या” उपस्थित हुनै पर्छ | इतिहास, बर्तमान परिस्थिति, आवश्यकता, जिज्ञासा, असन्तोष तथा नयाँ कुरा गर्ने अदम्य चाहनाआदिले सिद्धान्तको निर्माण हुन्छ | सिद्धान्त निर्माण अचानक हुँदैन | उदाहरणका लागि बौद्धिक मान्छेको स्वच्छन्दतालाई नियमित गरेर मानवीय समाजलाई सभ्य बनाउन “नीतिशास्त्र”को निर्माण भयो | लेनदेनका समस्याहरूलाई समाधान गर्न “अर्थशास्त्र”को निर्माण भयो | यसैगरी मानसिक समस्याहरूलाई बुझ्न र ती समस्याहरूको समाधान गर्न “मनोविज्ञानका सिद्धान्त”हरू निर्माण भए | नेपाल राष्ट्रको बर्तमान समस्याको राजनैतिक समाधान प्राप्त गर्न “राज्यराष्ट्र”को सिद्धान्त निर्मित भयो | संसारमा लाखौंलाख सिद्धान्तहरू छन् र तिनले कुनैनकुनै समस्याको समाधान गरेको हुनुपर्छ |
(६) सिद्धान्तका आधार के के हुन् ?
कुनै पनि सिद्धान्तको ठ्याक्कै यही आधार हो भन्न सकिन्न तर भौतिक, मानसिक तथा आध्यात्मिक समस्याहरू र मान्छेको बौद्धिक क्षमता नै सिद्धान्तका प्रमुख आधार हुन् | कुनै पनि कुकुर वा विरालो सिद्धान्तकार हुनै सक्दैन | पशु वा प्राकृतिक बस्तुहरूका लागि कुनै सिद्धान्त वा जीवन दर्शन हुँदैनन् | तेसैले देश, काल, परिवेश, आवश्यकता, धार्मिक, सांस्कृतिक, राजनैतिक तथा आर्थिक अवस्था, सिकाई, बुझाई, संज्ञान, भावना, सम्बन्ध र ऐतिहासिक आवश्यकता नै सिद्धान्तका आधार हुन् | सामान्यतया सिद्धान्तहरू सबैको लागि हुनुपर्छ तर बौद्धिक व्यक्तिहरूले आफ्नो पूर्वाग्रहलाई स्थापित गर्न काल्पनिक सिद्धान्तहरूको निर्माण पनि गर्छन् | उदाहरणका लागि आर्यआक्रमणको सिद्धान्तलाई लिन सकिन्छ | यो काल्पनिक सिद्धान्त आज पनि केही वर्गका लागि “सत्य र तत्थ्यलाई बोल्ने” सिद्धान्त बनेको छ |
(७) के दर्शन र सिद्धान्त बीच एकआपसमा सम्बन्ध छ ?
मूलत: दर्शनशास्त्रले परमतत्व सम्बन्धि समस्याहरूको विश्लेषण र समाधानको प्रयत्न गर्छ | तर सबै प्रयत्नहरू सफल र सबैका लागि स्वीकार्य नै हुन्छन् भन्ने छैन | तर दर्शनशास्त्रले सिद्धान्तहरूको निर्माण गर्न सहयोग गर्छ किनभने दर्शनशास्त्र एउटा बृहद दृष्टिकोण हो जसले स्वतन्त्र रूपमा जीव-जगत र तिनको एकआपसी सम्बन्ध र तथा वियोगका लागि “सैद्धान्तिक” आधार निर्माण गर्छ | सिद्धान्त समस्या समाधान भएपछिको अवस्था हो भने दर्शनशास्त्र चाहिं समस्याहरूको विश्लेषण गरेर बुद्धिलाई समाधान खोज्न दिने उत्प्रेरक बौद्धिक क्रिया हो | यदि सिद्धान्त समस्याको अनुकुल छ भने सर्वसाधारणका लागि बढी स्वीकार्य हुन्छ यदि प्रतिकुल छ भने अर्कोतहको समस्याको खोज र समाधानका लागि दर्शनशास्त्रतिर फर्किन्छ | यसरी दर्शनशास्त्रले सिद्धान्तको निर्माण गर्ने हुँदा यी दूवै विज्ञानहरू बीच अत्यन्त घनिष्ट सम्बन्ध हुन्छ |
(८) के दर्शन वा सिद्धान्तले मानव जीवनलाई प्रभावित पार्छ ?
समस्या होस् वा तेसको समाधान दूवै मान्छेका बौद्धिक क्षमतामा निर्भर छन् | पशुजगत प्राकृतिक प्रवृत्तिबाट संचालित हुन्छन् | मान्छेले सधैं प्रकृतिलाई चुनौति दिने प्रयत्न गर्दै आएको छ | प्रकृतिलाई चुनौति दिने चिन्तन शक्ति भएको मान्छेले देखेको वा समाधानका लागि प्रस्तावित गरेको सिद्धान्तले मानवीय जीवनलाई सकारात्मक नकारात्मक प्रभाव पार्छ नै | प्रसिद्ध दार्शनिक नेइल र बुडरले भनेका छन् “एउटा दार्शनिकले सिद्धान्त निर्माण गर्दा ईश्वर अत्यन्त विचलित हुन्छ | यदि सिद्धान्त मानवीय वा प्राकृतिक कल्याणका लागि उपयोगी ठहरियो भने ईश्वर खुसी हुन्छ | यदि प्रतिकूल ठहरियो भने ईश्वरके आफ्नो सृष्टि जोगाउन सिद्धान्तकारको मुख ताक्नु पर्छ | उदाहरणका लागि एटम बमको सिद्धान्तका आधारमा बम निर्माण गर्ने र त्यसलाई नकासाकी तथा हिरोसिमामा विनाश गर्ने मान्छेकै सिद्धान्तको व्याबहारिक रुपान्तरण हो |
(९) दार्शनिक दृष्टिकोण र सिद्धान्त
दार्शनिक दृष्टिकोण र सिद्धान्त निर्माण निकै अनुभव, मिहिनेत र समस्याको गहन ज्ञानका आधारमा हुन्छ | सिद्धान्तहरू आफैमा असल-कमसल हुन्छन्, निरपेक्ष हुँदैनन् | तेसैले हरेक सिद्धान्त धार्मिक (असल आचरण भएको र चिन्तन भएको) व्यक्तिबाट व्याबहारिक रुपान्तरणमा जानुपर्छ | अर्थशास्त्रको नियम वा सिद्धान्त जान्नु र तेसको लोककल्याणका लागि प्रयोग गर्न विवेकको पालना गर्नु फरकफरक अवस्था हुन् | उदाहणका लागि “घुस्याहालाई कार्यालयमा प्रवेश छैन” भनेर लेखेको पर्चा ढोकामा टाँसेर कार्यालय छिर्ने घुस्याहालाई कसैले नियन्त्रण गर्न सक्दैन | उ आफैले उच्च धार्मिकतामा विश्वास गरेर “घूस खान्या दिन्या देशका शत्रु हुन्” तत्थ्यलाई आत्मसात गर्यो भने घूस स्वीकार्न नै सक्दैन | सिद्धान्त त्रुटीपूर्ण भए तेसको परिणाम पनि त्रुटीपूर्ण नै आउँछ | यदि सिद्धान्त परिपक्व र त्रुटीपूर्ण छैन भने परिणाम पनि त्रुटीरहित हुन्छन् |
स्वस्तिअस्तु |

