शिक्षाक्षेत्रमा पर्वतबाट “मल्लवाद”
सरकारी विद्यालयहरूलाई “झोलावाद”बाट मुक्त गर्ने अचुक औषधि पर्वतको पैंयु गाउँपालिकाले आरम्भ गरेको छ | शिक्षा क्षेत्रमा यो बालेन कदमलाई मैले “मल्लवाद” भन्न रुचाएं | यो कामले (निर्णयले) थर मल्ल झैं, काम पनि मल्ल (पहलमान) फलिभूत हुने छ भन्ने विश्वास राख्न मिल्छ | यो मल्लवाद “झोलावाद” विरुद्ध एउटा आन्दोलन बनेर उभ्रनु पर्छ | जेहोस्, आरम्भ पैयुँले गरेको छ, पर्वतेले यो आन्दोलन स्रुरु गरेको छ |
जे कुरामा पनि अमेरिका र बेलायतसंग दाज्ने र तिनै पश्चिमाहरूको राजनैतिक प्रतिमानलाई वोकेर राजनैतिक साम्राज्य खडा गरेको नेपाली नेतृत्वले ती देशहरूका राजनैतिक दल र कर्मचारीहरूले (राष्ट्रपतिलेसमेत) आफ्ना सन्तानहरूलाई सरकारी विद्यालय मै पढाउछन् भन्ने कुरा जनतालाई भन्दैनन् | अनि, बालबालिका बसेको भन्दा २८ मिनट भन्दा परका विद्यालयहरूले आफ्नो क्षेत्र वाहिरका विद्यार्थीलाई भर्ना लिन पनि पाउंदैनन् भन्ने तत्थ्य पनि बोल्दैनन् | मल्लवादले विहान सात बजे निजी विद्यालयको बसमा चढेर ९:३० बजे विद्यालय पुग्ने र बेलुका ३:३० मा विद्यालयको बसमा चढेर ६:३० मा घर पुग्ने अधोषित अपराधको दण्ड पाइरहेका बालबालिकाले पनि राहत प्राप्त गर्ने छन् |
गुणस्तरीय शिक्षाको नाममा निर्दोष बालबालिकाको अमूल्य बाल्यकालला दैनिक ४-६ घण्टा वसको सीटले हसुरी रहेको छ | अभिभावक, शिक्षक, जनप्रतिनिधि, सरकारका कारिन्दाहरू “मेरा छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गरिरहेका छन्” भनेर मख्ख परिरहेका छन् | बालबालिकाको बाल्यकालले सरापेको सरापले तिम्रो बुढ्यौली सबैभन्दा दु:खद, एक्लो र तनावपूर्ण बन्ने छ | प्रतिनिधि खोज्न शहरिया तथाकथित “उच्चतह”का महंगा घरका एक्ला निवासी “बूढाबूढी” भेट्दा हुन्छ | बालबालिकाको बाल्यकाल खाएका अभिभावकहरूको बुढ्यौली एक्लोपनले खाँदै छ | सत्य यही हो |
“मल्लवाद” विरुद्ध धेरै एनजिओ/आइएन्जिओ, शिक्षाविदहरूको घोर आपत्ति आउने छ | विश्वको आठौं र नेपालको पहिलो शिक्षालय “त्रिविवि” थलिएर लड्न आँटेको छ तर झोलेहरू नयाँनयाँ विवि स्थापित गर्न सफल भएका छन् | सरकारका मान्छेहरूनै सरकारलाई असफल तुल्याएर व्यापार गर्न कस्सिएपछि “मल्लवाद”को उदय हुनैपर्छ | यदि यो मल्लवाद चर्चापरिचर्चाका लागि मात्र हो भने घोषणामा सिमीत हुन्छ, होइन भने हरेक वडाको विद्यार्थीलाई तेसै बडाको विद्यालयमा पढ्न अनिवार्य बनाउनु पर्छ | विद्यालयलाई पूर्वाधारयुक्त बनाउन मदत गर्नुपर्छ, साथै अंग्रेजीवादबाट उभ्रिनुपर्छ |
मैले “मल्लवाद” भन्ने नामकरण गरें किनभने राजनैतिक चेतनाका नाममा राजनैतिक दलहरूले विद्यालयका शिक्षकहरूलाई “झोले” बन्न विवस गरेका छन् र “झोले” बनेपछि स्वामीहरूको सेवा गर्नु बाध्यता बन्छ | जे-जस्तो तरिकाले नियुक्त होस्, शिक्षक, शिक्षक नै हो | झोला बोक्नु पर्दा पीडा हुन्छ तर दशैंको बोकाझैं जहाँ गए पनि झोला बोलाउनेहरूकै जगजगी छ | पैयुँ गापाले एस्तो निर्णय गर्दा आफ्नै पार्टीका झोलावादको ठूलो विरोध सहनु पर्ने छ | अरूको त कुरा नै नगरौं |
आफ्ना बालबालिका कहाँ पढाउने भन्ने निर्णय गर्न व्यक्ति स्वतन्त्र हुनुपर्छ तर विश्वबाट ऋण लिएर शिक्षाक्षेत्रम लगानी गर्ने अनि, झोलेहरू भर्ति गरेर शिक्षा, शिक्षक/शिक्षिका तथा जनताको मानमर्दैन गर्दै शिक्षाको समान अधिकारबाट बन्चित राख्दै “धनिहरू निजी विद्यालयमा र गरीवहरू सरकारी विद्यालयमा” भन्ने अघोषित परियोजना सुनिश्चित गर्न सघाउनेहरूका लागि यो “मल्लवाद” ठीक हो भनेर स्वागत गर्नुपर्छ | विद्यालय/कलेजमा पढाउने शिक्षक/शिक्षिकालाई “राजनैतिक दल वा तिनका भ्रात्री संगठनहरूको सदस्यता लिन र तेसको झोला बोक्नबाट रोक्नुपर्छ | आस्थाका आधारमा मतदान गर्न पाउने अधिकारबाट बन्चित गर्न मिल्दैन |
तर संविधान प्रदत्त अधिकारलाई प्रयोग गर्दै निजी लगानी गरेर शिक्षा-सेवा गरिरहेका उद्यमीहरूको उद्योगमा भएको लगानीका विषयमा पनि सोच्नु पर्छ | लेख्दैगर्दा अलि बढी लेखें कि जस्तो पनि लाग्यो तर पर्वतेले आरम्भ गरेको यो आन्दोलन नेपाली व्यापी होस् भन्ने चाहना राख्छु | तेसैले यो लेखें, झोलावादीको सरापले मलाई पोल्नेछैन | मैले प्रयोग गरेको “झोले” शब्द निकै अप्रिय हो तर झोलावाद विरुद्ध उभिने र क्षिक्षाप्रतिको दायित्व पालन गर्नेहरूका लागि यो उर्जा नै हो किनभने झोलावादबाट सबैभन्दा बढी पिरोलिने “दायित्वप्रति समर्पित” शिक्षकशिक्षिका नै हुन् |

