Govinda Sharan

दर्शनशास्त्र किन पढ्ने ?

दर्शनशास्त्र किन पढ्ने ?

दर्शनशास्त्र निकै परिचित विषय हो | राजनीति, अर्थनीति, समाजनीति, धर्मनीति तथा नीतिक्षेत्रमा अभिरुचि राख्ने, पत्रकारिता, न्याय, लेखन, तथा अनुसन्धानमा अभिरुचि राख्नेहरूले दर्शनशास्त्रका विषयमा केही नकेही बुझेका हुन्छन् | चिन्तन, मनन तथा सिद्धान्त अभिनिर्माणमा क्रियाशील व्यक्तिहरूका लागि दर्शनशास्त्रको अध्ययन/अध्यापन अनिवार्य नै हुन्छ |
परम्परागत दर्शनशास्त्रमा तत्व-मीमांसा, ज्ञान मीमांसा, तर्क मीमांसा, नीति मीमांसा र सौन्दर्य मीमांसाको अध्ययन/अध्यापन हुन्छ | सत्यको छिनोफानो गर्न तत्व-मीमांसाले परमतत्व, जगत, जीवको उत्पत्ति, काम र सीमा बुझ्ने भगीरथ प्रयत्न गर्छ | मान्छेले कसरी ज्ञान प्राप्त गर्छ, ज्ञानको उपयोगिता के हो र ज्ञानका सीमाहरू के हुन् भनेर निर्धारण गर्ने क्रिया ज्ञानशास्त्र हो भने तर्कलाई सत्यको खोज, स्थापनाका लागि तर्कशास्त्रको प्रयोग र उपयोग हुन्छ |
मान्छेको असल बन्न चाहन्छ | मान्छेले परमसुख, शान्ति र सन्तोष प्राप्त गर्न चाहन्छ तर किन मान्छे असल हुनुपर्छ ? भन्ने प्रश्नको तार्किकतवरले समाधान गर्ने प्रयत्न नीतिशास्त्रले गर्छ | यसलाई आचरणको विज्ञान पनि भनिन्छ | तेस्तै हरेक व्यक्ति सुन्दर, सभ्य र भव्य देखिन चाहन्छ | सुन्दरता (मूल्य) मानसिक हुन्छन् कि बाह्य हुन्छन् भनेर सौन्दर्यशास्त्रके जानकारी दिन्छ |
आफु र आफुलाई धानिरहेको विश्वका विचको सम्वन्ध जान्ने र बुझ्ने क्रममा विज्ञान र धर्मको विकास भएको हो | आफ्नो अस्तित्वको श्रोत र आफु वरिपरी रहेको दृश्य, श्रव्य, स्पर्शयोग तथा स्वादसंग आफ्नो सम्वन्धको सत्यता तथा प्राणीका रूपमा आफ्नो उपस्थितिको रहस्य बुझ्ने जिज्ञासा मानव जातिको ऐतिहासिक स्वभाव हो | मान्छेको चेतना शक्तिले काम गर्दासम्म भविष्यमा पनि फरक तवरले अन्वेषण जारीनै रहने छ | आत्मा, परमात्मा, परमतत्व यी सबै विषयहरूको खोज र तीसंग आफ्नो सम्वन्ध खोज्ने विद्यानै दर्शनशास्त्र हो | यस अर्थमा विश्वको हरेक मान्छे “सानो” दार्शनिक नै हो |
दर्शनशास्त्रको अध्ययन/अध्यापनले सिकिने पहिलो दक्षता हो – प्रश्न गर्न सिक्नु | मान्छे सधैं प्रश्न गरिनै रहन्छ | प्रश्न नगर्ने हो भने विकासको प्रक्रिया सधैंका लागि अवरुद्ध हुन्छ | दर्शनशास्त्रले हरेक व्यक्तिलाई प्रश्न गर्न र तेसको ठीकठीक उत्तर प्राप्त गर्न अभिप्रेरित गर्छ | पशुपक्षी, प्रकृतिले प्रश्न गर्दैनन् | प्रश्न नगर्नेहरू यथास्थितिमा रहन्छन् | प्रश्न गर्न सक्नुको अर्थ हो – प्रश्नकर्ता एउटा चेतनशील प्राणी हो र उसले आफ्नो र विश्वको वीचको औचित्य खोज्न, बुझ्न र बुझाउन चाहन्छ | यदि हामी ठीकठीक तवरले प्रश्न गर्न सक्छौं भने ठीकठीक उत्तर पनि प्राप्त हुन्छन् | मान्छेले गरेका सम्पूर्ण विकासका क्रियाकलापहरू प्रश्नकै उत्तर हुन् |
मान्छे जिज्ञासु प्राणी हो | उसले अन्य मान्छेले प्राप्त गरेका उत्तरहरूको विश्लेषण, संस्लेषण तथा मूल्यांकन गर्छ | मुल्यांकन गर्दा मुल्यांकनकर्ताले धेरै विषयवस्तु जानेको बुझेको र निर्णय गर्ने क्षमता प्राप्त गरेको हुनुपर्छ | दर्शनशास्त्रले हरेक मान्छेलाई अझैं बढी, अझैं बढी “जान्न” प्रेरित गर्छ | असलमा, दर्शनशास्त्र जान्ने, बुझ्ने, मूल्यांकन गर्ने तथा जानेबुझेको कुरालाई अर्कोमा प्रेषित गर्ने चेतनशील क्रियाकलाप हो | वैदिक दर्शनमा जान्नुको लक्ष मोक्ष प्राप्ति हो भने पाश्चात्य दार्शनिकहरूका अनुसार जान्ने प्रक्रियाले मानवीय चिन्तनशक्तिलाई अझैं बढाउँन मदत गर्छ | मनोविज्ञानले यो तत्थ्य सिद्ध गरेको छ | तेसैले अथातो ब्रह्म जिज्ञासा भनेर वेदले अझैं बढी बुझ्न र जान्न प्रेरित गरिरहेको छ |
दर्शनशास्त्र ज्ञानको जीवन्त इतिहास हो | मान्छेले जुन बखत “जान्ने, बुझ्ने र प्रश्न गर्ने क्षमता प्राप्त गर्यो, तेशी बखतदेखि दर्शनको दृष्टिकोण विकसित भयो | विश्वको प्रत्येक व्यक्ति “छोटा दार्शनिक” नै हो | मानसिक रूपमा स्वास्थ्य व्यक्तिहरू चिन्तन र कर्म नगरी बस्न सक्दैनन् | यसरी दर्शनशास्त्र विश्वका हरेक घरमा फैलिएको छ | प्राचीनकालदेखि नै विभिन्न नाम, रूप र रङ्गमा दर्शनशास्त्रको अध्ययन/अध्यापन र अभ्यास गरिदै छ | आज अन्य विषयहरूका तुलनामा विश्वभरी दर्शनशास्त्रका सिलेवसहरू पढाइन्छन् | विश्वको जुनसुकै देश र कुनामा दर्शनशास्त्रको पढाई हुन्छ | विज्ञानको दर्शन, धर्मको दर्शन, नीतिको दर्शन, न्यायको दर्शनआदिआदि | हरेक विषयका आफ्नै दृष्टिकोण हुने र त्यो दृष्टिकोणले विषयवस्तुलाई सिद्धान्तको तहमा संरक्षित गर्ने हुँदा दर्शनशास्त्र सबैतिर छ सबैसंग छ |
उत्सुकताका सवालमा सम्पूर्ण मानवहरू बालबालिकासरह नै हौँ | अनन्त आकाशमा फैलिएको विशालकाय ब्रह्माण्ड होस् वा अनन्त अनुपरमाणुले निर्मित भएको आफ्नो शरीर किन नहोस् ? सधैं उत्सुकताका विषय हुन्छन् | मान्छेले आफूभित्र र आफुवाहिरको विश्वलाई जान्न चाहन्छ | यो चाहनाले प्रश्नैप्रश्न जन्मिन्छन् | ती प्रश्नहरूलाई शीर्षक बनाएर मान्छेले बुझ्ने प्रयन्त गर्छ | दर्शनशास्त्र पढ्ने र पढाउने व्यक्तिमा “शीर्षक” निर्माण गर्ने अदभूत क्षमताको विकास हुन्छ | दार्शनिक दृष्टिकोणले शीर्षक अर्थात् सिद्धान्त निर्माण गर्ने आधारशीला खडा गरीदिन्छ | त्यो शिर्षकसंग सहमत र असहमत सबैले उत्सुकतापूर्वक पक्ष, विपक्ष र समालोचनामा मत दिन्छन् | यही दार्शनिक दृष्टिकोण युक्त शास्त्रार्थले ज्ञान, विज्ञान र विकासका लागि सम्भावनाका ढोकाहरू खोल्छ | सबै विचारहरू व्यबहारमा रुपान्तरित नहोलान् तर विचारनै भएको भए व्यबहार पनि निर्मित हुने थिएनन् |
हामी मान्छे सधैं चिन्तन गर्छौं, मनन र तर्क गर्छौं | दर्शनशास्त्रले चिन्तनको विराट इतिहाससंग वर्तमानलाई जोड्छ र भविष्यका लागि योजना तर्जुमा गर्छ | प्रारम्भिक मानव चिन्तन सरल थियो भने आजको चिन्तन निकै कम्प्लेक्स बन्दै गैरहेको छ | फलत: कुनै वेला केवल भोजन प्राप्ति र आत्मरक्षामा केन्द्रीय मानवीय चिन्तन हजारौं करोड़ प्रकाशवर्ष टाढाका ब्रह्माण्डका विषयमा सोच्न थालेका छौँ | विगतमा अदभूत तथा अज्ञेय ठानिएका विषयहरू सहज र सरल बनेका छन् भने चिन्तनशक्तिको दिशाअझैं सुदुर विश्वको खोजमा केन्द्रीत छ | सीमितताबाट असीमितता, मृत्युबाट अमृततिर, अन्धकारबाट प्रकाशतिर, अतिविशालता र अति सूक्ष्मतातिर अभिप्रेरित हुँदैछ | दर्शनशास्त्रको अध्ययन नगरी मानवीय चेतना, बुद्धि तथा तर्कको इतिहास बुझ्न सकिन्न |
आजभोली समालोचनात्मक चिन्तन पद्धतिको निकै मांग छ | सभागिता, समानता, समानुपातिक तथा सम्मान यी सबै तत्थ्यहरू आजको समाजका लागि आवस्यक ठानिएका छन् | एकल चिन्तन, एकल धर्म, एकल संस्कार, एलक देवतावादले एस्तो समाजको सृजना हुने कुनै सम्भावना छैन | दार्शनिक चिन्तनले व्यक्तिलाई “एकपटक धेरै दृष्टिकोण”मा काम गर्न र समस्याहरूको समाधान गर्न मदत गर्छ | एकेश्वरवादमा विश्वास गर्नेहरूका लागि होस् वा मेरो गोरुको सोह्रै टक्का भन्ने सामाजिक मान्यतामा चल्ने समाजका लागि होस्, दर्शनशास्त्रले बहुलवादी दृष्टिकोणबाट सोच्न र व्यबहार गर्न मदत गर्छ | दर्शनशास्त्रले व्यक्ति तथा समाजलाई कट्टरतावादी दृष्टिकोणबाट मुक्त भएर उदारतावादी दृष्टिकोण स्वीकार गर्न र भिन्नतालाई सम्मान दिन शक्ति प्रदान गर्छ | दर्शनको अर्थ हो – वैचारिक, व्याबहारिक तथा धार्मिक स्वतन्त्रताको उपयोग गर्ने अभियान तर विवेकपूर्ण तरिकाले | यदि तपाईंले दर्शनशास्त्र पढ्नु भएको छैन भने स्वतन्त्रतालाई कसरी विवेकपूर्ण तरिकाले प्रयोग गर्न सकिन्छ भन्ने कलाबाट बंचित रहनु हुने छ |
दार्शनिक चिन्तन भएको मान्छे केही बढी जिज्ञासु हुन्छ | फलत: उसको अध्ययन र रुचिको क्षेत्र पनि बढी हुन्छ | दर्शनशास्त्र पढ्ने व्यक्ति शब्द र भाषा खेलाउन सक्ने अदभूत क्षमता हुन्छ | दर्शन मिसिएको साहित्य बढी स्वीकार्य हुन्छ | दर्शनसंग ओतप्रोत भएको ज्ञान आध्यात्मिक शान्ति, सन्तोष र पूर्णता प्राप्त गर्छ | दार्शनिकहरूलाई समाजले विश्वास गर्छ अर्थात् सामाजिकरूपमा दार्शनिक अन्य व्यक्तिहरूका तुलनामा विश्वनीय र स्वीकार्य हुन्छ | दर्शनसंग मिसिएको पत्रकारिता विवेकशील हुन्छ | दर्शनसंग जोडिएको व्यापार मानवीय हुन्छ | दर्शनसंग जोडिएको मान्छे सदाचारी हुन्छ, दर्शनसंग जोडिएको मान्छेको निर्णय क्षमता अन्यका तुलनामा विवेकपूर्ण तथा सत्यसंग निकट हुन्छ | सबैभन्दा महत्वपूर्ण कुरा – दर्शनशास्त्रले मानवसमाजलाई मात्र होइन विश्वको लागि कल्याणकारी मार्गप्रदर्शन गर्ने क्षमता राख्ने हुँदा राष्ट्र र समाजका लागि बढी स्वीकार्य हुन्छ |
विश्वका दार्शनिक दृष्टिकोणको विकासलाई हेर्ने र बुझ्ने हो भने मानव तथा प्रकृतिको कल्याणमा केन्द्रीत रहेको पाइन्छ | ग्रीकमा थेल्सबाट आरम्भ भएको मानिएको दार्शनिक चिन्तनले पश्चिमा जगतलाई “भौतिक प्रगतिशील” बनाएको छ भने वेदवाट आरम्भ भएको दार्शनिक चिन्तनले सम्पूर्ण भारतवर्षीय समाजलाई समानुपातिक र अन्तरमुखी बनाएको छ | लाओत्सेबाट आरम्भ भएको चिनिया दर्शनले चिनिया समाजलाई कर्मयोगी (workaholic) बनाएर प्रगतिको पथमा अग्रसर बनाएको छ | नेपाली समाज वैदिक दार्शनिक दृष्टिकोणको जगमा अभिनिर्मित भएको हुँदा भौतिक रूपमा तेति विकसित छैन सम्पूर्ण पृथ्वीलाई “कुटुम्ब” ठानेर कसरी व्यवहार गर्नुपर्छ भन्ने तत्थ्य विश्वलाई सिकाउने सिंहासनमा छ | नेपालको दार्शनिक चिन्तनले विश्वलाई सुरक्षित र परिवार बनाउने दिशा निर्देशन दिन सक्षम छ |
दर्शनशास्त्रलाई धर्मशास्त्रको एउटा शाखा ठान्ने भूल गर्नु हुँदैन | दर्शनशास्त्र धर्मको दास होइन | दर्शनशास्त्रले धर्म होस् वा विज्ञान, राजनीति होस् वा अर्थ नीति यी सबैमा रहेको अविवेकमा प्रहार गर्छ र अधिकतम विवेकयुक्त मानवीय समाजको परिकल्पना प्राप्त गर्न निरन्तर क्रियाशील रहन्छ | दर्शनशास्त्रले मानव समाजलाई स्वतन्त्रताको विवेकपूर्ण तवरले प्रयोग गर्न र गराउँन बुद्धिलाई उपयोग गर्छ | तेसैले दर्शनशास्त्र सबैले अध्ययन गर्नुपर्छ |

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *